September 29, 2008

अर्को एउटा राजनीतिक जमघटमा

नेपाली कांग्रेसका यूवा नेता नविन्द्र राज जोशी र कान्तिपुरका पत्रकार राजाराम गौतम जापानमा छन् यतिखेर। हिजो नागोयामा उनीहरुको स्वागतमा एउटा कार्यक्रम राखिएको थियो नेपाली जन-सम्पर्क समितिको तर्फबाट।

कार्यक्रममा जाने योजना बनाएको थिएँ। आफ्नै पुस्ताका नेताहरुसंग अन्तर्कृया झन बढी हुनुपर्छ जस्तो लाग्छ मलाई किनभने हामी तिनै यूवा नेताहरुसंग नेपालको ‘भविष्य’का साझेदार हौं। अर्कोतिर, नेपालको बारेमा नेताहरुभन्दा पत्रकारहरुबाट समग्र जानकारी पाइने हुँदा पत्रकार गौतमसंगको कुराकानी पनि फलदायकै हुने लागेको थियो। नेताहरुमा जानकारी नहुने होइन, तर सामान्यतया उनीहरुको प्रस्तुति एकोहोरो र आफ्नो दल विशेषलाइ उच्च देखाउने उद्देश्यबाट प्रेरित हुन्छ।

राजाराम भाइ र म फेरि एउटै गाउँका दाजुभाइ प-यौं। इ-मेलमा यदाकदा सम्पर्क भईरहेपनि नभेटेको तीन-चार वर्षै भइसकेको थियो। त्यो पछिल्लो भेट पनि छोटो थियो। यसैले गाऊँको बारेमा, गाऊँका साथीहरुको बारेमा ‘अपडेट’ हुने मौका पनि मिल्नेभयो।

विशेष कारणवश म ज्यादै ढिला पुगें। कार्यक्रम लगभग सकिईसकेको थियो। अन्तिममा, नविन्द्रराज जोशीज्यूबाट सहभागीहरुका केहि प्रश्नहरुको उत्तर दिईँदै थियो। उनको प्रस्तुति स्पष्ट र तर्कपूर्ण थियो। तर सहभागीहरुमा ‘खानपीन’ भित्रको ‘पीन’ले असर देखाउन थालेको थियो। धेरै-जसो साथीहरुको कुरा एकदम incoherent हुन थालिसकेको थियो। हामीलाई ‘पीन’ पछिमात्रै ‘सिरियस’ कुरा गर्ने जंग चल्छ, त्यतिखेरको कुराको अदि, मध्य र अन्त्यमा कुनै सम्बन्ध नहुने हामी सबैलाई थाहा हुँदाहुँदै पनि।

पछि नेपालका सभासदहरुले साइकल चढेर संविधानसभा भवन जाने कुराको समर्थनमा जोडदार कुरा भयो र तुरुन्तै चन्दा पनि उठाउन थालियो, जापानमा बसेका नेपालीहरुको तर्फबाट केहि साइकलहरु उपहार दिई अभियानको शुरुवात गर्न। कुरो राम्रै हो, सबै सभासदले मानेर चढिदिए झन राम्रो हुने थियो।

कार्यक्रम सकिएपछि गाऊँको बारेमा, साथीहरुको बारेमा ‘अपडेट’ भइयो राजाराम भाइबाट। पत्रकारिताको आँखाबाट देखिने नेपालको समसामयिक राजनीतिलाई पनि अलिअलि बुझ्न पाइयो।

7 comments:

  1. जमघट भएपछि खानपीन गर्नै पर्ने र पिन गर्न थालेपछि आँखा नदेख्ने बानि हाम्रो पहिचान नै हो ।

    साईकल उपहार दिने कुरा ज्यादै ठिक लाग्यो तर बढे भाई ले नयाँ नयाँ बस दिईसके क्यार ... अब कस्ले चढला र त्यो साईकल ।

    ReplyDelete
  2. हो भन्या यो साईकल उपहार दिने कुरा चैं साह्रै चित्तबुझ्दो लाग्यो तर के चढ्लान् र ?

    ReplyDelete
  3. हामीलाई ‘पीन’ पछिमात्रै ‘सिरियस’ कुरा गर्ने जंग चल्छ, त्यतिखेरको कुराको अदि, मध्य र अन्त्यमा कुनै सम्बन्ध नहुने हामी सबैलाई थाहा हुँदाहुँदै पनि। Probably you are correct! by the way, I think, our leaders behave 'differently'; when they are 'inside' & 'outside' of Nepal. While traveling abroad, they seem to talk more rationally than they actually act & show themselves back home...
    *** *** ***
    I take this opportunity to extend my best wishes of Vijaya Dashami to all the well-wishers & friends...May this great festival of Dashain bring good fortune & prosperity in your life. May the blessings of Goddess Durga always be with you and your dear ones. Happy Dashain!!!

    ReplyDelete
  4. तपाईंलाई दशैको शुभकामना छ है।

    ReplyDelete
  5. basant g , saikal pani dherai bahyena ra? huna ta nepali sabhasad hun kehi pani 6ad dainan ni tapailai thaha 6 ki 6in? pahad ,khola , himal ta pachaaun sak6n ...
    ...bahadur po 6n!ssssssss

    ReplyDelete
  6. सबै साथीहरुलाई धन्यबाद! दशैंको शुभकामना!

    दिलिप दाइ, बडे भैयाले बस उपहार दियो, त्यतिसम्म त केहि थिएन। नयाँ बन्नेवाला संविधानमा पनि चार-पाँच बुँदा 'उपहार' घुसाइदेला भन्ने पो पिर छ।

    दीपकजी, चढ्लान् जस्तो त मलाई पनि लाग्दैन।

    दीपेन्द्रजी, नेताहरु विदेशमा आउँदा देशमा भन्दा 'भलाद्मी' देखिने कुरा भने साँचो हो, यस बीचमा धेरै नेता भेटियो नागोयामा, अनुभवै भयो। कारण धेरै छन् होला। विदेशमा आएपछि नेपालीमा अलि-अलि सूझबूझ त्यसैपनि पलाउँछ कि कुन्नि?! फेरि हाम्रो नेपालमा नेता धेरै भलाद्मी र इमान्दार भयो भने त्यो गतिलो नेतामै गनिदैंन।

    शेर्पाजी, धन्यबाद।

    पुलामीजी, सभासदहरुको सक्कली अनुहार बिस्तारै देख्दै गईएला। राम्रो देखिनेछ भन्ने कामना गरौं अहिलेलाई।

    ReplyDelete
  7. BASANTA JEE
    HAPPY VIJAYA DASHAMI YOU TOO ..

    ReplyDelete