
जिम्मेवार राजनीतिज्ञ हुँ भन्नेहरुले अलिक सोच-बिचार नगरी बोलेको राम्रो हुन्न, हारेको पिडा होस् वा जितेको उन्माद-दुबै अबश्थामा आफूलाई सन्तुलित राख्न सक्नुपर्छ। विगतका आफ्नै बोलीहरुलाई पनि अलि हेक्का राखेर बोल्दा झन राम्रो हुन्छ।
प्रसंग हिजोको माओवादी आमसभाको हो। 'चमत्कार' को कुरा गरेर नथाक्ने कम्युनिष्ट पार्टी माओबादीका नेता प्रचण्डले 'चमत्कार'कै शैलीमा आफू बाहेक अरु सबैका विरुद्ध विष-वमन गरेका रहेछन् र सबै प्रकारका 'धम्की' पनि दिएका रहेछन्। के माओवादीमा यति चाँडै जीतको दम्भ पलाउन थालीसकेको हो र अधिनायकबादको उस्को 'पुरानो' सपना फेरि ब्युँतिएको हो अथवा कार्यकर्ताले ताली पड्काउन् भनेर अलिक चर्का 'खुराक' पस्केका हुन् उनले?
उनले अरु दलका बिरुद्ध बोलेका कुरालाई एक हदसम्म स्वाभाविक मान्न सकिएला, किनभने राजनीतिको नियमै त्यस्तै हो, अरु दलले पनि त्यसै गर्छन्। तर मलाई सबभन्दा चित्त नबुझेको भने उनले स्वतन्त्र सञ्चार माध्यमहरुलाई दिएको धम्की हो। हुनत उनले कान्तिपुरको मात्रै नाम तोकेका छन् तर उनीहरुले स्विकार गरुन् या नगरुन्, कान्तिपुर स्वतन्त्र र ब्याबसायिक नेपाली सञ्चारमाध्यमको पर्याय हो। यसका नराम्रा पक्षहरु पनि होलान् तर महान नेपाली मिडिया क्रान्तिको शुरुवात हुनुमा कान्तिपुरको पनि ठूलो हात छ। वर्तमान लोकतन्त्र र गणतन्त्रका लागि कान्तिपुरको योगदान कुनै पनि दलको भन्दा कम छैन र आगामी दिनहरुमा पनि देशलाई कान्तिपुरजस्तो सशक्त सञ्चार माध्यम अत्याबश्यक छ। बुद्धिमान नेताहरुको कर्तब्य त यो हुन आउँछ कि भविष्यमा कान्तिपुरजस्तै सशक्त सञ्चारगृह अरु दुई-चारवटा पनि खडा हुन् भनेर त्यसै अनुसारको वातावरण तयार गर्ने। देशको सञ्चार-जगत जति बलियो भयो, लोकतन्त्र र हाम्रो नवजात गणतन्त्र पनि त्यत्तिकै स्वस्थ भएर हुर्कन सक्छ। अब देशमा आफ्नो अधिनायकबाद लाद्ने मनशाय छ कसैको भने कुरो बेग्लै हो, किनभने त्यस्ता नियत हुनेहरुले पहिलो प्रहार सञ्चार जगतलाईनै गर्छन्। विश्वको इतिहास हेर्दा अधिनायकबाद त्यस्तै ठाउँमा हावी भएका छन् जहाँ कि त सञ्चार माध्यम सशक्त र विकसितनै थिएनन् अथवा कुनै कारणले नष्ट हुँदै गएका थिए। माओवादीहरुको यस्ता 'धम्की' बढ्न थाल्नु अत्यन्त ठूलो चिन्ताको विषय हो। खतरा कान्तिपुरलाई मात्रै होईन, अरु सबै सञ्चारगृहहरुलाई पनि हो। कान्तिपुरलाई खान खोज्ने 'बाघ'ले मलाई भने खाँदैन भनेर चूप नलागेकै राम्रो।

र यो खतरा लोकतन्त्र स्वयंका लागि पनि हो र गणतन्त्रका लागि पनि हो, किनभने उनीहरुको जनगणतन्त्र भनेको राजतन्त्रको अर्को रुप 'श्रीपेच नलगाएको राजतन्त्र' हो। उदाहरण उत्तर कोरीया छ। खतरा देशकै लागि हो, उनीहरुको यो अधिनायकबादी रहरले देशलाई अर्को ठूलो द्वन्द्वमा धकेल्न सक्छ। तर एउटा कुरा स्पष्ट के जानीराखे हुन्छ माओवादी नेताहरुले भने ज्ञानेन्द्र शाहको अधिनायकबादलाई धूलो चटाउने नेपाली जनताले उनीहरुको अधिनायकबादी 'रहर'को पनि सही जवाफ दिनेछन्।
वाइसीएलको देशब्यापी आतंकको कान्तिपुरले पहिल्यैदेखि सहि रिपोर्टिङ गर्दै आएको छ। सञ्चार माध्यमले भएका कुराको रिपोर्टिङ नगरेर के को गर्ने त? अब हामीले जित्यौं, त्यसैले हाम्रो विरोध गर्न पाउँदैनौ कसैले, हामीलाई ढोग सबैले भन्ने आशयले बोल्नु नयाँ नेपालको नेताको रुपमा आफूलाई पेश गरेका ब्यक्तिका लागि सुहाउने कुरा हो? प्रचण्ड र माओवादीहरुलाई रिस उठेको अर्को कारण भर्खरै उनीहरुका कार्यकर्ताहरुद्वारा गरिएको रामहरि श्रेष्ठको हत्या बारेको ब्यापक रिपोर्टिङ हो भन्ने कुरामा शंका छैन। कान्तिपुरजस्ता सञ्चार माध्यमहरुले यो विषयलाई प्राथमिकता नदिएको भए माओवादीहरुले त्यसै गुपचुप पार्ने थिए यो घटनालाई। यस्ता जघन्य हत्या विगतमा पनि नभएका हैनन् माओवादीबाट, उनीहरु खुल्ला राजनीतिमा आएपछि पनि भएका छन्। त्यतिखेर माओवादीहरुको जघन्यताको विरोधमा यस्तो माहौल उठ्न सकेन, त्यसैले न त माओवादी नेतृत्वले माफी माग्नु प-यो, न आयोग बनाउनु प-यो, न आफ्ना कार्यकर्ताहरुलाई कारवाहीको 'नाटक' गर्नुप-यो र न त २० लाखको क्षतिपूर्तिनै दिनुप-यो। यो सबै गर्नुपरेकोमा कान्तिपुरलाई दोष दिएका हुनसक्छन् माओवादीहरुले। तर उनीहरुले हेक्का राख्नुपर्ने कुरो के हो भने कान्तिपुरले जति बिस्तृत रिपोर्टिङ यो घटनाको गरेको छ, त्यत्तिकै विस्तृत रिपोर्टिङ भैरवनाथ गणले गरेको हत्याकाण्ड, मैना सुनुवारको हत्याकाण्ड र गौर हत्याकाण्डको पनि गरेको छ। सबैले आफ्नो गुणगान र जयजयकार मात्रै गरुन् भन्ने चाहना छ भने ज्ञानेन्द्र र प्रचण्डमा के फरक भयो?
त्यतिमात्रै हैन, संविधानसभाको चुनावपछि सबैभन्दा ठूलो दलको रुपमा उदाएकोले सरकारको नेतृत्व माओवादीलेनै गर्न पाउनुपर्छ भनेर माओवादी आफैंले भन्दा बढी वकालत कान्तिपुरले गरेको छ। माओवादीहरु किन देख्दैनन् यो तथ्यलाई?! चुनावपछिका सम्पादकीयहरुमात्रै हेरपनि हुन्छ, दशवटाभन्दा बढी त माओवादीकै समर्थनमा लेखिएका होलान्। कुनै 'वाद', 'विचारधारा' वा 'पथ'का चश्मा लगाएका आँखाले सन्तुलित विचार देखिन्नन्, चश्मा उतार्नै पर्छ।
अर्को एक ठाऊँमा उनले '----माओवादीलाई धन्यवाद दिनुपर्ने हो । हाम्रो समानुपातिकका कारण कांग्रेस, एमालेको इज्जत रह्यो ।' पनि भनेका रहेछन्। होला, समानुपातिकका कारणलेनै कांग्रेस, एमालेको इज्जत रहेको होला, तर यो समानुपातिक कस्को भनेर कसरी भन्ने? संविधान सभाको चुनाव पूर्ण समानुपातिक प्रणालीबाट हुनुपर्छ भनेर पहिला एमालेले प्रस्ताव राखेको होईन र? त्यतिखेर कांग्रेससंग मिलेर माओवादी पूरै प्रत्यक्ष मतदान प्रणालीको पक्षमा गएको थियो। पछि आफू जित्ने आत्मविश्वाश नभएपछि मंसिरमा हुनुपर्ने चुनाव भाँड्नमात्रै माओवादीले फेरि समानुपातिकको नारा उचालेको थियो। यो कुरा मान्छेहरुले अझै बिर्सिसकेका छैनन् भनेर हेक्का हुनुपर्ने हो प्रचण्डलाई।
यस्तरी लज्जास्पद हार बेहोर्नुपर्ला भनेर कांग्रेस र एमालेको दिमागले नसोचेको सही हो तर अर्को सत्य के पनि हो भने यस्तरी 'छप्पर फाड्के' जीत आईलाग्ला भनेर माओवादीले पनि भेउ पाएको थिएन। माओवादी जीतको रन्कोमा छ त्यो बेग्लै कुरो हो तर जनताले सबैका अनुमानलाई हावा खुवाईदिएका हुन्। यत्तिको जीतको भेउ पहिल्यै भए माओवादी न कहिले प्रत्यक्ष- कहिले समानुपातिकको 'पेण्डुलम' बन्नेथियो न त कथित 'राष्ट्रवादी' दरबारीया र पूर्व-पञ्चहरुसंग घाँटी जोड्ने अभियानमा लाग्ने थियो। चुनावअघिको माओवादी हताशा कस्तो थियो भन्ने कुरा यति चाँडै कसैले पनि बिर्सिसकेका छैनन्।
वर्तमान नेपाली राजनीतिका 'जीत' र 'हार'का कारणहरु धेरै छन्। तर एउटा पाटोबाट हेर्दा, माओवादीले कांग्रेसलाई धन्यबाद दिए हुन्छ बरु। एमालेविरुद्ध खाल्डो खन्न उसलाई सघाएको कांग्रेसलेनै हो। माओवादी र कांग्रेस दुबैले के सोचे भने एमालेलाई चोइट्याउँदानै आफ्नो फलिफाप हुन्छ, र मिलेर एमाले विरुद्ध खाल्डो खन्न थाले। चुनावी परिणामका लागि धेरथोर त्यो 'खाल्डो'पनि जिम्मेवार छ।
यो कुरो बेग्लै हो कि माओवादीसंग मिलेर एमालेलाई पुर्न आफूले खनेको खाल्डोमा कांग्रेस आफैंपनि जाकियो।
