April 08, 2008

स्मृतिहरुमा उँघ्दै--------

हिजो दिउँसोबाट आज बिहानसम्म पानी परिरहेको थियो। घरको याद, नेपालको याद अरु बेलामा पनि नआउने होइन, तर झरी परेको बेलामा झन बढी आउँछ।

हिजो 'बेन्तो' किन्न निक्लेको थिएँ। भर्खर पानी पर्न थालेको थियो, तातेको सडकमा पानीका थोपाहरु परेपछि उठेको गन्धले अचानक अलि भावुक बनाइदियो, घरको यादमा। बाल्यकालका केहि स्मृतिहरु एकैचोटि थुप्रिए। कुनै चैतको साँझमा आमाले काटेर ल्याएर थुपारेको घाँसको गन्ध सम्झिएँ र त्यसपछि बाले आँगनमै भैंसी दोहेपछि खाएको काँचो दूधको स्वाद सम्झिएं। घना-हरिया रुखहरु बारीमा गाढा छायाहरु गाडेर उभिइरहेका होलान्, कान्ला-कान्लामा चुत्रो र ऐंसेलु झुलिरहेको होला, चैतको उच्चाटलाग्दो दिनलाई चिर्दै चरी "काफ्फल पाक्यो!" भनिरहेको होला-------

संविधानसभाको चुनावमा नेपालमा हुन पाइएन, यसले अर्को पिडा थपेको छ। भोट हाल्न त जसरी भएपनि जान्छु भनेर धाक दिँदै (!) हिँडेको थिएँ, केहि समयअघिसम्म, तर जान सकिएन। विदेश बस्नेले भोट हाल्ने ब्यबश्था गर्ला सरकारले भनेर ठूलो आशा मैले कहिल्यै गरेको थिईँन, तर समानुपातिकतिरको लागिसम्म मात्रै भएपनि भइदिएको भए हुन्थ्यो। प्रत्यक्षतिरको ब्यबस्था मिलाउनु अलि जटिल कुरो हो। यस्तो अवसरमा लाखौं नेपालीको मतको केहि पनि मूल्य नहुनु अत्यन्त दु:खलाग्दो कुरा हो।

नेपालमा भइदिएको भए के निर्णय हुन्थ्यो कुन्नि, यहाँ कुरा गरेर कहि हुनेवाला पनि छैन। नेपालको हकमा, दल हेरेर भन्दा पनि ब्यक्ति हेरेर भोट हाल्ने निर्णयमा पुगेको हुँ म धेरै पहिला। पहिलो चोटि भोट हालेको २०४८ सालको संसदीय चुनावमा। त्यतिखेर एउटा दलको 'अन्धो' घोडा भएर हिँडेको थिएँ म र भोट पनि त्यहि दललाई हालेको थिएँ। पहिलो परदेश बसाईबाट फर्केर आएपछि २०५४को स्थानीय चुनावमा बिल्कुल ब्यक्तिगत सम्बन्ध हावी थियो मेरो मतदानमा। २०५६(०५७?) सालको संसदीय चुनावमा गाउँनजिकैको जंगलमा बनभोज गईयो, मत खसालिएन। आफ्नो क्षेत्रका उम्मेदबवारहरु कोहिपनि ठीक नलागेकोले मतदान नगरेको हो, कुनै सांगठनिक वा राजनीतिक अभियानको 'घोडा' बनेको भने बिल्कुलै होइन। यसपाली भने 'चोरहरु माझको सबैभन्दा असल चोर'कै स्थिति भएपनि भोट हालिन्थ्यो होला।

ठीकै छ, भोट हाल्न नपाएको पिडा त केहि दिनमा कम भएर जाला।

तर घरको याद भने आइरहनेछ!

यो दोश्रो परदेश बसाईमा चार पटक नेपाल फर्किसकियो तर चारै पटक पारिवारिक दायित्व/ब्याबहारिक झमेलामा डुबेर बिते नेपालमा हुँदाका दिनहरु। दिनभरि देवीथानको चउरमा बसेर बात मार्दै ती सहस्र किरिङमिरिङ नागबेली बाटाहरुलाई आँखाले नाप्न पाईएन, ती नागबेली बाटाहरुका छेउ-छेउमा थपिएका घरहरु गन्न पाइएन, काफल खान भनेर दाजुभाई-साथीहरुसंग हूल बाँधेर पँधालीको वनतिर लाग्न पाईएन----

कहिलेकाहीं सोच्छु, के मान्छेको वयस्क जिन्दगी भनेको कहिले पढाइको नाममा, कहिले पेशाको नाममा मन नलागी-नलागी घस्रेर बाँच्नु र बेला-बेलामा आफ्नो बाल्यकाल/किशोरकाल सम्झेर सुस्केरा हाल्नुमात्रै हो?!

5 comments:

  1. Hey basant da, blogspot kaha gayo Domain Name bata ??? glad to see that now you ar basantagautam.com.
    yas bare ma pachi kehi kura sodhnu paro vane ma hajur lai contact garchu hai...

    And abt your post, you r right, Kehi na kehi byabasta hunai parthyo tapai jasta bidhesiyeka harulai.. but i am too much excited since this is my 1st vote.

    ReplyDelete
  2. के हो , के हो भोट हाल्ने बेलामा जहिले पनि बाहिर परिन्छ। यसपालि पनि फेरि एकचोटि नागरिक अधिकार गुम्यो ।

    त्यसो त नेपाल मै भएको भए पनि मलाई पनि चोरहरु माझको सबैभन्दा असल चोर खोज्न मलाई निक्कै गाह्रो पर्थ्यो होला ।

    मान्छेको वयस्क जिन्दगी बाल्यकाल/किशोरकाल सम्झेर सुस्केरा हाल्नुमात्रै पक्कै होईन होला। मान्छेको मन कहिल्यै बर्तमानमा नबसेर, भूत-कालको संझना र भविश्यको कल्पनामा बिचरण गर्ने भएकोले मात्रै त्यसो भएको होला ।

    भोलिको दिनमा फेरी आजका पलहरु संझना आउदा यी पलहरु पनि रोचक लाग्न सक्छन---तर त्यतिबेला फेरी तत्कालको समयबाट चाहि हामि भागिरहेका हुन सक्छौं । सायद ......

    ReplyDelete
  3. Thank you ametya and Dilip dai. I am sorry to be late in responding.

    Happy New Year 2065!

    ametya, I got my own domain name. But I still publish through blogspot.

    Thank you Dilip dai for your insightful comment.

    ReplyDelete
  4. your posts are really nice. I thank you for being such a responsible blogger from Nepalese Community.

    Keep up the good work

    ReplyDelete
  5. Thank you biddeshbhavana. I feel honored by your kind words of appreciation.

    I hope to write better. I am expecting comments and suggestions from you.

    ReplyDelete