April 19, 2008

Stand and Deliver!!

नेपालको संविधानसभा-चुनावको 'आश्चर्यजनक' नतीजा पछिका अडकलबाजीहरु चालू छन् जताततै। माओवादी नेताहरुका मुखबाट चुहिने बिभिन्न कुराका आधारमा यी अडकलबाजीहरु फेरिनु स्वाभाविक छ।

कान्तिपुर अनलाईनले प्रचण्डसंगको कुराकानीको बारेमा लेखेको छ। प्रचण्ड भन्छन् "हामी राजालाई 'सम्मानजनक विदाइ'(Graceful exit)को मौका दिन्छौं।" मलाई एउटा पुरानो कुराको याद आयो। दोश्रो जनआन्दोलनको सफलताको केहि समयपछिको प्रचण्डको अन्तर्वार्ता (शायद बीबीसीसंगको थियो)को कुरो हो। 'तपाईँहरुको नेतृत्वको सरकार बनेको भए के गर्नुहुन्थ्यो?' भन्ने सवालको जवाफमा प्रचण्डले 'सबभन्दा पहिला हामी ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्छौं---' भनेका थिए।

तिब्र उथलपुथलबाट गुज्रिरहेको नेपाली राजनीतिमा दुई वर्ष भनेको लामो समय हो। तर माथिका दुई भनाईमा रहेको भिन्नताको प्रमुख कारण भने 'प्रतिपक्षी मानसिकता' र 'सत्तापक्षी मानसिकता' को भिन्नतानै हो। यो चुनावमा यदि माओवादीले थोरै संख्यामा मात्रै सीटहरु जितेको भए उनीहरुले पूरानै कुरा दोहोराउने थिए। 'प्रतिपक्षी' राजनीति राजनीतिक हिसावले सजिलो राजनीति हो, किनभने जे कुराको पनि विरोध गर्दिए पुग्छ, तर 'डाडु-पन्यू' आफ्नै हातमा आईसकेपछि स्थिति फरक हुन्छ, विरोध र उग्रताको ठाउँ समझदारी र परिपक्वताले लिनुपर्छ।

हुनत, देश र जनताविरुद्धका अनगिन्ती अपराधहरुका लागि ज्ञानेन्द्र शाहलाई गिरफ्तार गरेर कडा सजाय दिए म खुशी हुनेथिएँ (यस्तै निर्णय कथित 'जनयुद्ध' कालका माओवादी ज्यादतीहरुका लागि प्रचण्ड र माओवादीहरुका हकमा पनि गर्न नसकिने होइन), तर सबै कुरो आफूले चाहेजस्तो हुन सक्दैन। देशले थप रक्तपात र अन्यौल भोग्नुनपर्ने बाटोबाट परीवर्तनहरु खोज्नु हाम्रो वाध्यता र दायित्व दुबै हो। यो अवश्थामा ज्ञानेन्द्र शाह र राजतन्त्रको 'सम्मानजनक विदाइ' स्वाभाविक बाटो हो। तर ज्ञानेन्द्र शाह, दरबार र सेनाले कसरी लिएको छ यो कुरालाई भनेर स्पष्ट हुन केहि समय अझै लाग्ला।

दोश्रो जनआन्दोलनपछि कांग्रेस‍-एमालेले आफूलाई एक किसिमले संस्थापन पक्ष वा सत्तापक्षकै रुपमा प्रक्षेपण गर्दै आएका थिए, तर संसद र सरकारमा यथेष्ट भाग ओगटेर बसेपनि माओवादीले आफूलाई जहिले पनि विरोधी र प्रतिपक्षी शक्तिको रुपमा पेश गर्दै आएको थियो। कुनै पनि चुनावमा सत्तापक्षले झेल ग-यो भने "धाँधली" मानिन्छ। प्रतिपक्षले पनि झेल गर्न सक्दोरहेछ भन्ने अर्को 'आश्चर्यजनक' उदाहरण पनि दियो नेपालले दुनियाँलाई। तर प्रतिपक्षले गरेको झेललाई धाँधलीको रुपमा परिभाषा गर्न राजनीतिशास्त्रले दिँदैन शायद। त्यसैले आक्कल-झुक्कल यसो भयो र त्यसो भयो भनेर मुठ्ठी बटारेपनि यो चुनावको नतिजालाई शिरोपर गर्न सबै बाध्य छन्। परिणाम यस्तो हुनुमा कांग्रेस-एमालेको कुरुप विगत, तिनले उठाएका भ्रष्ट उम्मेदवारहरु, दश वर्षमा बदलिएको राष्ट्रिय राजनीतिक परिवेशको तिनले गर्न नसकेको सही विश्लेषण र माओवादीले गरेको जातीय राजनीति जिम्मेवार छन्। वाइसीएलको 'रामलीला' पनि ठूलो कारण हो भने पनि दोष मूलत: काँग्रेस-एमालेकै हो। स्थितिको पूर्ण जानकारी हुँदा-हुँदै र चुनावको धेरै अघिबाटै वाइसीएलको 'रामलीला' देख्दा-देख्दैपनि त्यसलाई नियन्त्रण गर्नसक्ने संयन्त्रविना चुनावमा जाँदाको परिणति यहिनै हो।

आफू काठमाडौंको भएको कारणले त्यहाँबाट एमाले 'बढारिएको' प्रसंग पनि कोट्याइहालौं। एमाले हारेपनि काँग्रेसले छ सीट ल्याएकोमा खुशी लागेको छ। यसपटक काठमाडौंबाट जितेका कांग्रेसका उम्मेदवारहरुमा सबैजसो स्थानीय छन्। एमालेले उपत्यका र विशेष गरी काठमाडौं जिल्लालाई सधैं आफ्ना केन्द्रीय नेताहरुको भ-याङको रुपमा प्रयोग गरेको छ र थोरैमात्र स्थानीय नेतृत्वलाई मौका दिएको छ। अबका दिनमा उसको चेत खुल्ला, स्थानीय नेतृत्वको विकास गर्ला र त्यसलाई बढी अवसर देला भन्ने आशा गरौं।

फेरि फर्कौं माओवादीतिरै। सबैभन्दा ठूलो राजनीतिक दलका रुपमा स्थापित भएपछि उ स्वाभाविक रुपमा 'सत्तापक्ष' को प्रतीक बनेको छ। अब उसले कत्तिको परिपक्वता देखाउँछ, त्यसैमा उसको राजनीतिक भविष्य भर पर्नेछ। हो केन्द्रीय नेताहरु रातारात 'गुलिया' कुराहरु गर्न थालिसके, तर उसको कार्यकर्ता पंक्ति अझै 'रामलीला'मा ब्यस्त छ। माओवादीले वाइसीएल भंग गर्छ कि गर्दैन, विगतका सम्पूर्ण सम्झौताहरु पालन गर्छ कि गर्दैन---, धेरै कुराहरुले उसको नियतलाई छर्लङ्ग पार्नेनै छन्। देशको औद्योगिक-ब्यापारिक क्षेत्रमा शुरु भएको डर-त्रासलाई चाँडै निवारण गर्न सक्षम छन् कि छैनन् उनीहरु? तीन हजार डलरको नारामात्रैले केहि हुनेवाला छैन। देशको आर्थिक तरक्की त औद्योगिक-ब्यापरिक क्षेत्रको भयमुक्त परिवेशविना असम्भव छ। देशको शिक्षित जनशक्तिको ठूलो भाग यसैपनि विदेशमै छ, बाँकी रहेकाहरुमा पनि विदेश पलायनको लहर शुरु हुनसक्छ अब। के माओवादी यो लहर रोक्ने कुरामा साँच्चै गम्भिर छ? अझ विदेश बसिरहेकाहरु पनि फर्केर आउने वातावरण बनाउन सक्छ उसले? माओवादीले आजसम्म बौद्धिक समूहलाई आफ्नो शत्रुको रुपमा ब्यबहार गरिरहेको छ। तर अब यो फेरिनैपर्छ।

अर्कोतिर, माओवादीभित्रका कट्टरपन्थीहरुमा नेपाललाई पनि उत्तर कोरियाजस्तै कथित 'उन्नत समाजवादी' मुलुक बनाउने लोभ जाग्यो र तिनीहरु हावी भए भने देशले अर्को ठूलो दुर्भाग्यको सामना गर्नुपर्नेछ।

अन्त्यमा, माओवादीले देश र जनतालाई अनेकौं सपनाहरु बाँडेका छन्। अनीहरु आफ्ना ज्यादतीहरुलाई बैध बनाउन तिनै सपनाहरुलाई तेर्स्याउँछन्। ठीक छ, जनताले एउटा मौका दिएका छन्। हामीले भन्न सक्ने यतिनै हो; "Stand and Deliver!!"

5 comments:

  1. भन्न जति सजिलो,गर्न त्यतिनै गाह्रो हुँदोर'छ ! अब घुर्क्याउन पाएपो !

    ReplyDelete
  2. अब प्रतिपक्षको भूमिका को पनि राम्रो व्याख्या हुन्छ होला। अझै पनि टाएर बालेर रेलिङ तोड्नु नै प्रतिपक्षको काम ठानिन्छ। यहाँले भने जस्तै "'डाडु-पन्यू' आफ्नै हातमा आईसकेपछि स्थिति फरक हुन्छ"।

    तर यती भैसक्दा पनि पाए सिङै डाडु पन्यु चलाऊने तर बांडेर चलाऊनु भन्दा बरु प्रतिपक्षमा बस्नु नै पार्टी को सुरक्षित भविश्य ठानिन्छ। राष्ट्रिय मुद्धाहरुमा त मिलेर डाडु पन्यु चलएको नै राम्रो हैन र?

    ReplyDelete
  3. निस्चय नै आफु प्रतिपक्षमा हुँदा जुना कुरा गर्नु हुँदैन भनेर चर्को बिरोध गर्छन् आफु सरकार मा गएपछी त्यही कुरा ठीक हो बनेर दोहोर्यौछन, हेरऔ मयोबादी सरकारमा गएपछी प्रचण्डले जस्तै ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्छ कि गर्दैन ?

    good job!!

    ReplyDelete
  4. सजिलो हिसाबमा कुरा गर्ने हो भने "बाऊको होटेलमा" भात खाएर हल्लीनेलाई आफै कमाएर खाँदा जस्तो हुन्छ नेपालको सत्तामा पुगेपछि हाम्रा दलको हालत पनि त्यस्तै हुन्छ होला ।

    राजालाई कारबाहि गर्ने बारेमा दुई ग्लास मात्र जाँड खानेले ४ ग्लास खानेलाई "जड्याँ" भनेको जस्तै मात्रै हुने भएकोले अहिले यो लचकता आएको जस्तो लाग्छ ।

    अर्को कुरा वाइसीएलको 'रामलीला' पनि तुरुन्तै रोकीएला जस्तो मलाई लाग्दैन । अहिलेको ठाँउमा पुग्न यो 'रामलीला'को ठुलो योगदान रहेकोले मलाई त झन अब 'महाभारत', 'कृष्णलिला' र अन्य बिबिध 'महापुराण" पनि चल्छन जस्तो लाग्छ ।

    तर केवल बिगतलाई मात्रे हेरेर अत्यन्त पूर्वाग्रहि भै हाल्नु पनि ठीक होईन, त्यसैले यो अप्रत्याशित मौकाको उनिहरुले कसरि सदुपयोग, उपयोग वा दूरुपयोग गर्छन एकचोटी हेर्नै पर्छ ।

    ReplyDelete
  5. Thank you Aakar. Lets see how they proceed.

    Prajwol, NC and UML have their 'large party' ego shattered badly. So they may feel inferior to join a government under Maoist leadership. But the only good path for the country's future is a coalition governement. Lets hope maoists will show some 'big heart' and NC and UML will forget their ego.

    Badrijee, this 'opposition mentality' seems to be our national character. Maoists don't seem to be different from NC and UML.

    Dilip dai, there is a big possibility of more 'RAMLILA', 'KRISHNALILA', 'MAHABHARAT' etc. as maoist leadership has trained their cadres for the dictatorship. So 'harderliners' (all of them are 'hardliners'!) may try to push that agenda. Besides, YCL doesn't seem to be in control of Prachanda.

    ReplyDelete