अड्डाको एउटा कार्यक्रम थियो केहि दिन पहिला। वार्षिक रुपमा यहि समयमा हुने रे। दिनभरि भाषण, छलफल, बिभिन्न पुरस्कार वितरण आदि भईसकेपछि बेलुका छ बजेबाट भोज थियो। (‘भोज’ भनेर ठेट नेपालीमा ‘पार्टी’ भन्न खोजेको हो।)
भाषणहरु कति बुझियो, कति बुझिइएन। छलफलमा पनि सकेसम्म सकृय भएर आफ्नो जापानी भाषाले भ्याएसम्म विचार राखियो। तर विभिन्न चरणका वीचमा हुने १०-१५ मिनेटका छुट्टीका समय कटाउन भने बडा मुश्किल भयो। अढाइसयजति सहभागीमध्ये ८० प्रतिशत भन्दा बढी धुम्रपान गर्ने थिए होलान्। त्यो कुहिरीमण्डलमा गएर को संग कुरा गर्नु!? विदेशीमा एकजना दक्षिण कोरीयाली पनि छन् म बाहेक, तर ती झन उधुमका ‘चुरौटे’ परेछन्! फेरि दश वर्षभन्दा बढी जापान बसिसकेका र अड्डामै पनि झण्डै पाँच वर्ष पुराना भईसकेका उनी जापानीहरुसंगै गफमा मच्चिँदै थिए।
एउटा ‘ब्रेक’मा ‘हाम्बाइकी’ बाट चिया निकालेर पिउँदै थिएँ, आफ्नै ‘बुच्योउ’ आईपुगे। यी पनि ‘चेन स्मोकर’नै हुन्, यो ‘ब्रेक’मा भने के भएछ यीनलाई?!
यताउताका कुरा हुँदा-हुँदै कताबाट धर्म-सर्मको कुरा शुरु हुन थालेछ!
“नेपालमा मान्छेहरु धर्ममा त्यस्तो विश्वाश राख्छन् उसो भे! हामी जापानीहरु भने खास मतलब गर्दैनौं। भनेपछि तिमीहरुको समाजमा नैतिकता बढी होला, हाम्रोमा भन्दा, हैन?”
के जवाफ दिउँ भनेर म रनभुल्ललमा परें। धर्ममा विश्वाश गर्छु भन्नेहरु बढी छन् भन्दैमा हाम्रो समाज असाध्यै नैतिक छ भन्ने कुरा मलाई पटक्कै लाग्दैन। उल्टो हाम्रो भन्दा भ्रष्ट र अनैतिक समाज पाउन गाह्रो हुने दिन आउँदैछ।
“खोइ अरु कुरामा त थाहा भएन तर काममा इमान्दरिता र पेशागत नैतिकताको कुरा गर्ने हो भने छँदै-छैन भन्दिए हुन्छ।“ भनिसकेपछि एकचोटि चाहिँ किन भनें हुँला भन्ने लागेको हो, तर साँचो कुरो भनेर केहि बिग्रदैंन भन्ने विचारले जित्यो त्यल्लाई। नेपालको बारेमा हुँदै-नभएका गफ हान्न पनि भएन। फेरि आफूले सगरमाथा र बुद्ध ‘बेच्न’ धेरै पहिलेबाटै छोडिसकेको।
“हा हा हा! त्यस्तो पो हो!”
****************
एउटा छलफलमा आफ्नो समूहमा परेको एउटा केटाले “तँ किन जापान आएको?--- “ भनेर सोध्यो।
“पढ्न आएको नि! अब काम पनि गर्ने!”
“हैन, अमेरिका-यूरोप नगएर किन जापानै आ’को त नि?”
यो प्रश्नको सामना धेरैचोटि गरिसकेको छु, जापान आउँदाका शुरुवाती दिनहरुबाटै। जापानी युवाहरुमा एक किसिमको हीनताबोध छ, अमेरिका-यूरोपको सन्दर्भमा। उनीहरुले त्यस्तरी हीनताबोध पालेर बस्नुपर्ने ठूलै कारण छ जस्तो लाग्दैन मलाई। उनीहरुले हीनताबोध पाल्ने हो भने हामीले त सामूहिक आत्महत्यानै गरे पनि भयो!
“धेरै ठाउँमा कोशिश गरेको हो, पहिला यता मिलेकोले यतै आएँ।“ साँचो कुरा बताएँ मैले उसलाई। मान्छे हेरीकन ‘जापान एकदम मन पर्ने भएर अन्त कतै नगएर यता आएको हो।‘ भनेर गफ पनि दिने गरेको छु मैले।
बेलुका ‘भोज’मा अर्को एउटा केटोले पनि त्यस्तै कुरा ग-यो।
“नामासुते, मेरो नाम ताकाहाशी हो!” भोजको आधा-आधीतिर होला, एकजना ६०-६५का ब्यक्ति आईपुगे मसंग कुरा गर्न।
“नमस्ते!----“ छक्क परें म।
उनले जानेको नेपाली भने त्यत्ति रहेछ। त्यसपछि मसंग ‘जिङ्लिश’ (Japanese+English) मा कुरा गर्न थाले उनी। एकछिनपछि पूरै जापानीमा दिन थाले। पाँच पटक नेपाल पुगेका रहेछन् उनी, सबैभन्दा लामो बसेको चाहिँ चार महिना। लुम्बिनी र अरु एक-दुई ठाउँ बाहेक प्राय:जसो काठमाण्डौं उपत्यकामा बिताएका रहेछन्। काठमाडौंको कहि एक शेर्पाको घरमा बसेर तिब्बती परम्पराको बौद्ध धर्मको बारेमा अध्ययन गरेका रहेछन् उनले।
“तिमीहरुको देशमा राजा राख्ने-नराख्ने प्रसंगमा चुनाव पनि हुनेवाला थियो यहिताका हैन? के हुँदैछ?”
नेपालको राजनीतिको बारेमा पनि राम्रै जानकारी राख्दा रहेछन् भन्नुप-यो अब।
“भएन, माओवादीहरुले हुन दिएनन्।“
“हँ?! झन् उनीहरु त सबभन्दा धेरै राजाविरोधी होइनन् र?”
“होला, तर राजासंगसंगै आफैंपनि सकिने भए, त्यसैले हुन नदिएका होलान्। जनताले मन पराए पो!” प्रचण्डको आजभोलिको ‘राष्ट्रवादी’ दिव्यदृष्टि अथवा पहिलैदेखिको ‘कार्यगत एकता’ आदिको बारेमा कुरा गर्न मेरो जापानी शायद पर्याप्त पनि थिएन र मैले गरेकै भएपनि ताकाहाशी बूढाले कुन हिसावले बुझ्थे कुन्नि!
“जनताले मन पराउँदैनन् रे?! जनताले मन नपराएपछि कसरी उनीहरुले भन्दैमा चुनाव रोकिन्छ त?”
“उनीहरुसंग सेना छ नि त!” मेरो पिडालाई मैले एकै वाक्यमा अटाएँ। बन्दूकको राज चलेको मेरो मुलुकको पिडा उनले बुझ्नसक्ने सम्भावना कमै छ।
कुरो धेरैतिर मोडियो। पछि अरु केहि ब्यक्तिहरु पनि मिसिएका थिए गफमा।
“एउटा कुरा सोध्न मन लागेको थियो मलाई। नेपालमा नेपाली नागरिकता नभएको ब्यक्तिको नाममा घरजग्गा किनबेच गर्न सकिन्छ कि सकिन्न हँ?” छुट्टिने बेलामा सोधे ताकाहाशी बूढाले।
“खोई, थाहा भएन।“ वास्तवमै थाहा छैन मलाई। अहिलेसम्म यो प्रसंगको कुरा पनि चलेको छैन कहिल्यै आफ्नो जमातमा।
“मेरो साथी तिब्बती शरणार्थी हो, काठमाडौंमा बस्छ, तर नेपालको नागरिकता छैन। उसको लागि केहि गर्दिन मन लागेको थियो।“ अलि भावुक थिए उनी यतिखेर।
उनीसंग छुट्टिँदा भोज पनि सकिने बेला भईसकेको थियो। बियर कति खाईयो कुन्नि याद भएन, तर म सग्लै थिएँ भनेपछि धेरै खाईएको रहेनछ कि! यसपछि भने बियर खान मन लागेन, ‘उ लोन च्या’ पिउन थालें।
पछि घरतिर फर्कने बेलामा बाहिर देखें, ताकाहाशी बूढा आकाशका तारा गन्दै चुरोट तान्दै थिए।
“एक छिन है! जापानी भाषामा छ नि, मान्छेको नामको पछाडि जोड्ने ‘सान’ भन्ने, नेपालीमा त्यस्तो केहि छ?” उनले सोधे।
“छ नि, नेपालीमा पनि मान्छेको नामको पछाडि ‘जी’ जोड्ने चलन छ।“ मैले उत्तर दिएँ।
भित्रबाट एकदम कममात्रै उज्यालो चुहिएर बाहिर आएको थियो, तैपनि उनले नोटबुक निकालेर टिपे।
“नेपा-रु हेइवा नि नात्ते होशीइ ने! ” (नेपालमा शान्ति भइदिए हुन्थ्यो है!) लेखिसकेपछि उनले भने।
“सोउ देस ने! आरिगातो गोजाईमास!” नेपालप्रतिको उनको सदभावका लागि उनलाई हृदयदेखिनै धन्यबाद दिँदै म घरतिर लागें।
हाम्बाइकी=भेण्डिङ्ग मेशीन, बुच्योउ=विभाग प्रमुख
जापानमा सबै बिदेशीको अनुभव उस्तै। नमस्कारम् प्रभु।
ReplyDeleteबसन्तजी,
ReplyDeleteतपाँईको र मेरो अड्डा साट्नु पर्ला जस्तो छ। जापानीहरु चुरोटे हु्न्छन भन्ने सुनेको थिएँ तर मेरो अड्डामा चाँहि ८० प्रतिशत भन्दा बढि नचुरोटेहरु रैछन। सँगै चुरोट खाने साथिनै भेटिदैन। चुरोटले धेरै ठाउँमा अफ्ठ्यारो गरेपनि यस्तै भोजहरुमा चाहिँ नयाँ साथी बनाउन खुबै सजिलो हुन्छ।
अनि, आफु अलि नयाँनै परेर हो कि के हो अझै सगरमाथा र बुद्ध बेचेर चलिराछ। :D तर, अचेल त यस्ता भोजहरुमा अन्नपूर्ण पदयात्रा र नेपालमा पाईने चराहरु, जनाबरहरुको गफ दिन थालेको छु। कसो एक दुई जना त नेपाल नजालान भनेर। यहाँ आएदेखि काग कराएको र भगेँरा उडेको बाहेक देखेको छैन।
अलि बेरमै भए पनि धित मर्ने गरि लेख्नु भएकोमा बधाइ छ।
प्रो.
Namaskar ma Jwai ko.
ReplyDeleteRamro lagyo!
Happy New Year!
बसन्तदाइ,
ReplyDeleteहजुरको लेख रचना बाट मैले जापान र त्यहाको रहनसहनको बारेमा धेरै कुरो बुझ्ने मौका पाइकीछु। धन्यवाद हजुरलाई ,हामीसंग यसरी बाँडचुड गर्नु भएको मा।
म नि कहिले'मरो देश यस्तो उस्तो' भन्दै हुन्छु मेरो विदेसी साथीहरुसंग तर उनीहरु शगरमाथा र माछापुछ्रे को उदाहरण भन्दा अहिले नेपालको राजा र राजनैतिक उथुलपुथुलको कारणबाट बढि चिन्न थालेकारहेछन :(
यो सगरमाथा र लुम्बिनी चैं मैले भन्नै छोडें। बास्तवमा भन्नी हो भने, म जापान आएदेखि नै सगरमाथाको कुरा आफैंले ल्याएको छैन। यसो गफ दिन परो भने आर्किटेक्चरको कुरा गर्छु। पगोडा शैलीको मन्दिर (जापानमा पनि छन्) नेपालीले बना'को हो भन्छु। भाषाहरु धेरै भ'को कुरा गर्छु, मान्छेहरु सोझा भ'को कुरा गर्छु, ट्रेकिङ् र -याफ्टिङ् गर्न मजा आउँछ भन्छु। यो सगरमाथा नेपालमा हुन न हामीले केही देन दिएका छम्, न यसलाई राम्ररी सम्हाल्न सक्या छम् (मैले त देख्या पनि छैन)। विज्ञापन गर्न मन मान्दैन।
ReplyDeleteहिजो, मेरो बोसले याहुको न्युज देखा'र भन्यो - "नेपाली एयरलायन्सले त उडान बन्द गरेछ नि!" मोरो पढ्दै गयो, "नेपालको एकमात्र राष्ट्रिय एयरलायन्स्, जम्मा २ वटा प्लेनले सबै उडान धानिरा'कोमा २-३ महिना अघिदेखि इन्जिन ट्रबल भएर उड्न छाडेको छ। बिचमा उडेको एउटा पलेनमा पनि के के को ट्रबल भएर ------"
गफ सुनिरा' साइडकी केटीले भनी, "कोवा---ई!"
अब, के भन्नी? कल्लाई ग'र भन्नी?? क्यै हुने वाला हैनन्!
अस्तु:।
जय होस्।