February 27, 2012

शहरका केहि क्षणहरु

पीच सडकमा दौडने शहर र पुलमुनि 'सुत्ने' शहर। 


 अघि पोलमा टाँसिएको नारा पढीरहेका पुलमुनिको शहरका एक 'नागरिक', नारा पढीभ्याएर सुत्न फर्कीएका छन्। तिनको मनमा-मुखमा नेताहरुका विरुद्ध एक आमाचकारी गालीनै छ भन्ने कुरामा म उनान्सय प्रतिशत निश्चित छु।

अर्को एक क्षणमा पुलमुनिको शहरका दुई बासिन्दा यसरी डेण्ड्राईट सुँघेर आफ्नो भोक-रोग-शोकलाई मेटिरहेका थिए।
 
आकाशे पुल छँदाछँदै त्यसको प्रयोग नगरी ब्यस्त सडकबाटै वारीपारी गर्न खोज्नेलाई ट्राफिक प्रहरीले समातेर दुई घण्टा यस्तै 'खोर'मा राख्न थालेको छ अचेल। पचास रुपियाँ जरीवाना पनि गर्छ क्यारे।


पुलमुनिको शहरको एउटा परिवारको भान्सा पनि तयार हुँदैछ अर्को एक क्षणमा। 'खोर'मा नयाँ बसिन्दा आईपुगेका छन्।

पुलमाथि हिँड्ने शहर, पीचमाथि दौड्ने शहर भने यस्तो innovative छ! कस्तो होला यो 'कम्प्युटर चूल्हो? कहिल्यै ग्याँस भर्नु नपर्ने भनिएको छ, के ले बल्ने होला? हाम्रा गाऊँघरका चूल्हामा पनि कहिल्यै ग्याँस भर्नु पर्दैन, त्यहि हो कि?


शहरमा स्कूल-कलेज गएर पढ्न महंगो छ, तर सोझै 'विशेषज्ञ' बन्न भने साह्रै सस्तो छ। यति सजिलै पाईन्छ थेसिस:)


यो शहरको पार्कमा पनि भिड पसेको छ, बजार बसेको छ। साला यो शहरले सास कसरी फेर्छ हँ???????


February 19, 2012

मुक्तकमय साढे दुई घण्टा

पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप)ले आयोजना गरेको 'टिकटमा मुक्तक' कार्यक्रममा गतिला, चोटिला र फूर्तिला मुक्तकहरु सुनेर धन्य भईयो आज।

दुई बजे शुरु हुने भनिएको कार्यक्रम पौने तीनबाट शुरु भयो। पोखरा उद्योग वाणिज्य संघको हल लगभग भरिएको थियो, दर्शक/श्रोता सहभागिता उत्साहजनक मान्नुपर्छ। कार्यक्रमका प्रमुख अतिथि चर्चित गजल स्रष्टा तथा प्राज्ञ बूँद राना हुनुहुन्थ्यो। कार्यक्रमा पोखरेली प्राज्ञहरु सरुभक्त, तीर्थ श्रेष्ठ र हरिदेवी कोईराला पनि उपश्थित हुनुहुन्थ्यो, उहाँहरु त पोयुसांपलाई जन्माउने, हुर्काउने व्यक्तित्वहरुनै हुनुभयो। कवि/गीतकार प्रकट पगेनी 'शिव' र कविवर तेजनाथ घिमिरे पनि कार्यक्रमका आकर्षण हुनुहुन्थ्यो। कार्यक्रममा चितवन, भैरहवा र पर्वत लगायतबाट आउनुभएका कविहरुले पनि आफ्ना मुक्तकहरु सुनाउनुभएको थियो।

झण्डै साढे दुई घण्टा चोटिला मुक्तकहरुको वर्षामा नुहाउन पाऊँदा मन एउटा सार्थक अनुभूतिले भरिएको छ। युवा कविहरुका मुक्तकहरु बेजोड थिए। तिनले देशको माया बोकेका थिए र विकृति र विसंगतिलाई कठोरतापूर्वक मुक्का ठोकेका थिए। तिनमा गरीबि र पिडाप्रतिको समवेदना पनि थियो, अनि थियो जीवनप्रतिका दार्शनिक चिन्तनपनि। धेरै मुक्तकहरुले समसामयिक रमाईलो पनि बोकेका थिए।

अनि मैले देखेको अर्को कुरा, युवा पुस्ता (४० मुनिका) का मुक्तकमा जुन भाव, शैली र प्रवाह थियो, पाका साहित्यकारहरुका मुक्तकमा थिएन। सरुभक्तको आख्यानमा जुन सशक्तता पाईन्छ वा उहाँका आधुनिक कवितामा जुन भिन्दै प्रवाह पाईन्छ, त्यो आज उहाँले वाचन गरेका मुक्तकमा धेरै थिएन। प्रकट पगेनी 'शिव' पनि आज आफ्नो नाम अनुसार जम्न सक्नुभएजस्तो लागेन मलाई। बूँद रानाज्यूले त आफू लामो समय यता मुक्तकभन्दा फरक बाटो हिँडिरहेकोले आफ्ना मुक्तकमा स्तरीयता नखोज्न पहिल्यै हामीलाई भनीसक्नुभएको थियो। मलाई लाग्छ, मुक्तकमा नयाँ पुस्ता धेरै अघि बढीसकेको छ, र नेपाली साहित्यमा मुक्तक आफ्ना दरिला खुट्टामा उभिईसकेको छ; संख्यात्मक र गुणात्मक दुवै हिसाबले।

पोयुसांपले २०३५ सालको माघमा पहिलोपल्ट 'टिकटमा मुक्तक' कार्यक्रम गरेको रहेछ। त्यसयता निरन्तर गरीरहेको छ, सलाम पोयुसंपको यो लगन र निरन्तरतालाई। पोखराको सफलताबाट प्रेरित भएर 'टिकटमा मुक्तक' कार्यक्रम अब देशका धेरै ठाऊँमा हुन थालेका छन्।

यो सत्कर्मले सबैतिर, सधैंभरि निरन्तरता पाईरहोस्!

February 15, 2012

बर्ड फ्लू?

'जा गिर्!' संग सम्बन्धित कामको सिलसिलमा ईञ्जिनियरिङ्ग अध्ययन संस्थान (त्रि. वि.) को कार्यालय, पुल्चोक पुगेको थिएँ। डिन कार्यालय पछिल्तिरको चउरमा दुईटा मरेका काग थिए। त्यहाँका कर्मचारीहरुका अनुसार तिन दिन भित्र पाँच वटा कौवा मरीसके रे यसरी।

केहि समय यता नेपालका पूर्वी क्षेत्रमा देखिएजस्तै बर्ड फ्लूनै हुन नसक्ला र यो पनि? वरिपरि फ्याँकिएका विषाक्त खानाका कारण पनि हुनसक्छ यो, तर दिनदिनै यसरी मर्ने शृंखला जारी रह्यो भने चाहिँ त्यो एउटा भयावह स्थितिको संकेत हुनेछ। कुनै फार्मभित्र पालिएका कुखुराहरुमा मात्र फैलिएको बर्ड फ्लू नियन्त्रण गर्न त धेरै कठिन छ भने खुल्ला रुपमा शहरमा विचरण गर्ने कौवा र परेवाहरुमा पनि यो फैलियो भने नियन्त्रण झण्डै असम्भवनै हुन्छ, विशेष गरी हाम्रो जस्तो, चेतना र परिआऊँदाको तयारी ठ्याम्मै नभएको राज्यमा।

काठमाण्डौंको अनियन्त्रित भिडभाड र फोहर दैनिकीले धेरै महामारीलाई खुल्ला निम्तो दिईरहेको यथार्थले जहिलेपनि आतंकित बनाऊँछ मलाई।   




February 06, 2012

लुटिएपछि:)

दशकपछि नेपाली फिल्म हेरियो, त्यो पनि हलमै गएर।

धेरै सकारात्मक समीक्षा पढीसकिएको र सुनिसकिएको थियो ‘लुट’ को। हेर्न जाने मेसो भने अस्तिमात्रै प-यो। चर्चा अनुसारकै बलियो रहेछ ‘लुट’। ‘लुट’बाट सवा दुई घण्टा लुटिएपछि यथार्थमै मनमा एउटा केहि सार्थक कृति हेरेको अनुभव उत्पन्न भयो र नेपाली फिल्म उद्योगमा अब एउटा नयाँ सकारात्मक दिशा पनि थपिएको भान भयो।

२०५८ सालतिर ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ हो कि ‘दर्पण छायाँ’ हेरेपछि मैले नेपाली फिल्म हेरेको थिईन। मूलधारका भनिने फिल्मका प्रोमो र गीतका दृश्यलेनै विकर्षित पार्छन् ती फिल्मबाट। तैपनि ब्लगमा एउटा पोष्ट बनाउनका लागिनै भएपनि कुनै दिन कथित ‘मूलधार’को कुनै एउटा फिल्म हेरौंला भन्ने सोचाई चाहिँ लगातार मनमा रहेको थियो। यस बीचमा राम्रा भनेर चर्चा पाएका केहि फिल्महरु पनि हेर्ने अवसर जुरेको थिएन।

‘लूट’को सबैभन्दा सकारात्मक पक्ष वा मूलधारका भनिने अरु नेपाली फिल्मसँगको तुलनामा यसको प्रमुख सशक्तता भनेकै यसको मौलिकता र दमदार अभिनय हो। कथा बलिउडको कुनै मसलादार फिल्मबाट नक्कल गरिएको छैन, काठमाण्डौंको यथार्थ परिवेशबाट टपक्क टिपिएको छ। चल्तीको ‘फर्मुला’को गन्ध कतै आऊँदैन। संवादमा पनि पूरै मौलिकता छ, काठमाण्डौं वा अरु कुनै शहरमा युवाहरुको समूहले सडक र भट्टीमा प्रयोग गर्ने शब्दहरु र शैलीलाई जस्ताको तस्तै राखिएको छ तर त्यसले फिल्मलाई अश्लील बनाएजस्तो लाग्दैन, बरु स्वाभाविकता थपिएजस्तो लाग्छ। नाटकबाट आएका कलाकारहरु भएर होला, सबैको अभिनय बेजोड छ।

यसका कमजोरीहरु पनि खोज्न नसकिने होईन तर अहिले हामी राम्रा नेपाली फिल्म हेर्न भोकाएको बेला अलि-अलि काँचो भात पनि खीरभन्दा मिठो लाग्छ, होईन र?

एउटा कुरा के चाहिँ ढुक्क भएर भन्न सकिन्छ भने नेपाली सिने उद्योगले बिस्तारै नयाँ बाटो पक्रने जमर्को गरेको छ। र ‘लूट’को टिमसंग नेपाली सिने उद्योगलाई ‘लुट्ने’गरी फिल्म बनाउने संभावना धेरै छ। अझ स्पष्ट भएर भन्नुपर्दा 'रेखा थापाको तिघ्रा र राजेश हमालको पाखुरा' मात्रै नेपाली फिल्मको प्रतीक होईन रहेछन्।

February 01, 2012

मेरा बीपीमय दिनहरु-३

फेरि ‘फेरि सुन्दरीजल’कै कुरा। तर यसपटक पुस्तकका केहि भावुक अंशहरुको उद्धरण। यो ‘लोभ’लाई कसैगरी त्याग्न सकिन मैले।

आफ्नी जीवनसंगिनीलाई सम्झेर वीपी लेख्नुहुन्छ;

“मैले सुशीलालाई नसम्झेको कुनै दिन छैन।----उनीसंग वनारसमा बिताएका भावुक क्षणहरुको सम्झना आऊँछ। -----मैले उनलाई विना संरक्षण छोडेको छु। उनी सधैं एउटी कमजोर केटी हुन्। उनलाई अटूट ध्यान, दृष्टि र माया चाहिन्छ। नत्रभने बेमौसमको दुर्लभ सुनगाभा जस्तै उनी मुर्झाउनेछिन्। उनमा आत्मसम्मानको भाव पनि उत्तिकै धेरै छ। सम्मानको भाव र निरीह अवश्थाको यो सङ्गमको बेला म नहुँदा उनका लागि अत्यन्त दु:खदायी हुन्छ। अब उनी बढी आशक्त भएर आफ्नो भवगवानमाथि भर पर्नेछिन् र आफ्नो नृत्यको सहारा लिनेछिन्। साथमा म नभएसम्म उनीलाई उनका भगवान र नृत्यले बचाउन् भन्ने कामना गर्दछु। यहाँबाट छुटेपछि म उनको राम्रो हेरविचार गर्नेछु। म धेरै माया गर्दिँन भनेर उनी भन्ने गर्थिन्। विवेकशील मानिस भएकोले म उनको हेरविचार मात्र गर्छु रे! (पटनाबाट) प्रस्थान गर्ने दिन उनले मसिनो स्वरमा के भनेकी थिईन् भने; मैले उनलाई माया गरेको भए जेल जानका लागि म काठमाडौँ फर्किने निर्णय गर्दिँनथे होला। मेरी प्रिय सुशीला, तिमी गलत छौ। म तिमीलाई तिमीले भनेजति माया गर्दिँन होला, तिमीलाई पुग्ने गरी माया गर्दिँन होला, तर जे सुकै होस् म तिमीलाई माया गर्छु। यो मैले आफ्नो कर्तव्य पूरा गरेको मात्र हैन, तिम्रो हेरविचार गर्दा, तिमीसँग रहँदा, तिम्रो हात समाऊँदा मात्र पनि मलाई आनन्द आऊँछ। नेपाल फर्किने मेरो निर्णय तिमीप्रतिको माया प्रकट गर्ने उचित तरिका हो भनेर त म भन्दिँन। मेरो राजनीति मेरो मायाको थप अभिव्यक्ति होइन; नत यसको थप पुष्टि नै। यो एक किसिमले मेरो मायाको प्रतिद्वन्दी हो भन्ने म स्वीकार गर्छु। मेरी प्रिय, मेरा राजनीतिक प्रतिबद्धताहरु पूरा हुनुपर्छ। यो सम्पूर्ण जनताको भविष्य र मेरो प्रतिष्ठाको विषय हो। कृपया मलाई बुझीदेऊ।

फेरि अर्को ठाउँमा;

-----आज चार/पाँच दिनपछि मात्र नुहाउँदैछु क्यारे। यो कुरा सुनिन् भने सुशीलाले नाक खुम्च्याऊँछिन्। उनी मलाई हरेक दिन नुहाउन र लुगा फेर्न लगाऊँथिन्। यहाँ म आफूलाई जे मन लाग्यो त्यहि गर्छु, तर म सुशीलालाई सधैं सम्झिन्छु। यो डायरीको जिल्दामा आफैंले टाँसेको उनको फोटो नियाल्छु। यो सानो र अलि फुलिसकेको फोटोमा समेत उनी जीवन्त देखिन्छिन्। उनको आँखाले मसँग कुरा गरीरहेजस्तो लाग्छ। कहिलेकाहीँ फोटो ओल्टाऊँदै पल्टाऊँदै उनका बारे सोच्छु। कहिले उनी दु:खी देखिन्छिन् त कहिले अलि बूढी जस्ती र मलीन। कहिलेकाहीँ थकित जस्ती। तर अक्सर उनी मन्द मुस्काईरहेकी नै हुन्छिन्। मुस्कानको एउटा छनक जसले उनी धपक्क बलेकी छिन्। प्रत्येक पटक उनको तस्बिर हेर्दा भावुक बन्छु।कहिलेकाहीँ भावुक हुँदै मेरा आँखाहरु रसाऊँछन्। कस्तो हुँदो हो उनलेयो कुरो थाहा पाईन् भने कि म उनलाई कति माया गर्छु भनेर। उनी बेसै होलिन् र मेरा बारे बढी चिन्ता लिनन्न् भन्ने आशा र कामना गर्दछु।

अनि एक दिन साँझ एक्लै हुँदा वीपी आफ्नी दिवंगत माताको सम्झनामा यसरी पोखिनुहुन्छ;
-----साँझ एक्लै हुँदा आमाका बारे सोच्छु। कपुरको बोटको अँध्यारो छायाँ एकटकले हेरिरहन्छु। मूर्खता या अन्धविश्वासवश त्यो अँध्यारोबाट आमा आउनुहुनेछ भन्ने आशा गर्छु। म साने छँदा उहाँले कानमा खुसुक्क दीक्षा मन्त्र सुनाउनुभएको थियो। अनायास त्यो मन्त्र सम्झिन्छु। आफूसंगै ल्याएको उहाँको कपालको एक झुप्पा हातमा लिएर, उक्त मन्त्र धेरैपटक दोहो-याऊँछु। उहाँ जहाँ भएपनि सुनिरहनुभएको होला र जहाँ भए पनि दर्शन दिनुहोला भन्ने आशा गर्छु। यो सब वेवकूफी हो तर उहाँको सम्झनाले मलाई एकदम सताएको छ।

अर्को एक दिन उहाँको स्वास्थ्य परीक्षण गरेर डाक्टर फर्किसकेपछि उहाँ लेख्नुहुन्छ;

----उनी गएपछि धन्य हुँदै आमालाई सम्झेँ। मलाई बचाऊन उहाँ यहीँ कतै घुमिरहेजस्तो लाग्यो। मलाई उहाँसंग भेट्न मन लाग्यो।

त्यहि दिन उहाँ अघिल्लो दिनको बयानको बारेमा पनि लेख्नुहुन्छ;

-----तानाशाहीको सबभन्दा गम्भीर अपराध के हो भने यसले पूरै देशलाई दुर्बल बनाऊँछ। जनताको नैतिकतालाई भ्रष्ट तुल्याउँछ।------एक सय वर्षे राणा निरङ्कुशता र त्यसपछि शाह अधिनायकवाद अन्तर्गत नेपालीहरुले आफ्नो चरित्र गुमाएजस्तो छ। नेपालीहरुलाई चरित्र नभएका मानिसहरुको भीडमा झारिएको छ। पतन भएका यस्ता मानिसहरुको उत्थान गर्नु असम्भव हुनसक्छ। केहि समयपछि तिनीहरु बिखण्डित हुनेछन् र इतिहासबाटै बिलाएर जानेछन्। मलाई आफ्नो भविष्यको भन्दा पनि यही चिन्ताले सबभन्दा बढी पिरोलेको छ। मेरो भविष्य त यसै पनि ठगहरुको जमातको हातमा छ।

वीपीले कतै हाम्रो समयको भविष्यवाणी त गरीरहनुभएको छैन त्यहाँ???? हामी त्यहि बाटोमा जाँदैछौं तिब्र गतिमा।

शाह राजाहरुको दम्भका प्रति उहाँ यसरी पनि रोष् प्रकट गर्नुहुन्छ अर्को ठाऊँमा;

----रमाईलो त के छ भने भारतका सबभन्दा ठूला राजा अशोक आफूलाई राजा भन्नमा नै सन्तुष्ट थिए। उनलाई महाराजा समेत भनिनुपरेन। महाराजाधिराज भन्ने कुरा त उनले सपनामा पनि सोचेका थिएनन्, जबकि उनी सम्राट थिए।

January 26, 2012

मेरा बीपीमय दिनहरु-२


बीपीको 'जेल जर्नल' पढेपछिका कुरा लेखेको थिएँ अलि पहिलेनै यहि ब्लगको कतै। धेरै दिन लगाएर पढेको थिएँ त्यो पुस्तक। बीपीकै अर्को पुस्तक 'फेरि सुन्दरीजल' पढ्न झन् बढी समय लाग्यो। 

मलाई कुनै पनि किताब 'एक बसाई'मै पढ्न मन लाग्छ एउटा किताबै पढीभ्याउने 'एक बसाई'लाई बाल्यकाल र कैशोर्यले आफैंसंग लिएर गईसकेका छन् शायद। 'फेरि सुन्दरीजल' पनि अलि-अलि गर्दै पढियो, दैनिकीलाई दिनको एक-दुई पृष्ठका दरले या भनौं दैनिकीकै रुपमा पढियो:) फेरि चाँडै सकिएला भन्ने डरले मैले लगभग हरेक पृष्ठ दोहोराएर पढें।

२०१७ सालको काण्डपछिको लगत्तैको जेल बसाईलाई 'जेल जर्नल'ले समेटेको छ भने 'फेरि सुन्दरीजल'ले बीपी आफ्नो आठ वर्ष लामो प्रवास त्याग गरेर २०३३ सालको पुस १६ मा देश फर्केपछिको जेल जीवनको एक भागलाई समेटेको छ। नेपालीको भूमिमा टेक्नासाथ पंचायती सरकारले उहाँ र नेता गणेशमान (जीएम)लाई समातेर फेरि सुन्दरीजल जेलमै लैजान्छन्। यसैले किताबको नाम 'फेरि सुन्दरीजल' बन्न पुगेको निश्चित छ। बीपीले अंग्रेजीमा लेख्नुभएको दैनिकीको नेपाली अनुवाद हो यो किताब। अनुवादले बीपीको शैलीमाथि पूरा न्याय गरेको लागेको छ मलाई, किनभने 'फेरि सुन्दरीजल' पढ्दा 'जेल जर्नल'कै निरन्तरताको अनुभूति हुन्छ। 

ईन्दिरा गान्धीको कपटलाई आफूहरु नेपाल फर्किनुका कारणहरु मध्ये एक मानेर आलोचना गर्दै शुरु भएको छ दैनिकी। देश र राजनीतिका कुरा त बीपीको दैनिकीमा नपर्ने कुरै भएन, यस बाहेक बीपीलाई आफ्नो अनुपश्थितिमा आफ्नो परिवार कसरी चल्ला, 'गिरिजाले स्थिति कसरी सम्हाल्ला--?' भन्ने चिन्ताले गाँजरिहन्छ बेलाबेलामा। परिवारका सदस्यहरुको यादमा, प्रशंशामा उहाँ धेरै घोत्लिनुभएको छ, विशेष गरी सुशीलाजीप्रतिको अनुराग, प्रेम र आत्मीयतामा। सुशीलाजीको सम्झनामा धेरै भावुक बनेर, उहाँको फोटो हेरेर घोत्लिनुहुन्छ बीपी। आफ्नी मृत आमाको सम्झना र त्यो सम्झनाले उहाँलाई उर्जा दिने प्रसंगले पनि साह्रै प्रभावित पार्छ हामीलाई। 'जेल जर्नल'मा जस्तै उहाँको शैलजाजीसंगको आत्मीयता पनि ब्यक्त भएको देखिन्छ धेरै ठाऊँमा। शैलजालाई उहाँ अत्यन्त प्रशंशा गर्नुहुन्छ र 'उनी' पनि आफूसंगै भैदिएको भए जेल जीवन कठिन हुने थिएन भन्नुहुन्छ।  

जीएमले कोइराला परिवारको जीवन-चिन्तन शैलीको बहुतै प्रशंशा गर्नुहुँदोरहेछ भन्ने बुझिन्छ। बीपी आफैंपनि आफ्नो परिवारप्रतिको स्वाभिमानलाई खुल्ला उतार्नुहुन्छ, 'कोइराला कुनै परिवारको नाउँ होइन। यो एउटा मनोवैज्ञानिक, नैतिक र आध्यात्मिक चीज हो। यो जीवनको एउटा दृष्टिकोण हो।' भनेर। र उहाँ भन्नुहुन्छ, कोइराला परिवारसंगको लामो सहवासपछि '---जीएम---आफैं कोइरालाझैं बन्न पुग्नुभएको छ--'। बीपीले जीएमको स्वभाव र दैनिकीको पनि धेरै बयान गर्नुभएको छ आफ्ना दैनिकीका पानाहरुमा। जीएमको समय अनुसार चल्ने बानी र क्षमताको बयान बीपी यसरी गर्नुहुन्छ, 'सेकेण्ड सेकेण्डको हिसाब मिल्ने गरी चल्ने उहाँको क्रीयाकलापको आधारमा घडी समेत मिलाउन सकिन्छ।' जीएमका सबलता र कमजोरीहरुको बारेमा पनि विश्लेषण गर्नु भएको छ। विशेष गरी, बयान लिन र मुद्दा चलाउन उहाँ र जीएमलाई छुट्टाईएका दिनहरुमा उहाँले जीएमको उच्च मूल्यांकन गर्नुभएको छ। जीएमपनि नहुँदाको उहाँको एक्लोपनाले हामीलाई समेत सताऊँछ। 

आफनो जीवनको समीक्षा गर्नुभएको छ बीपीले ठाऊँ-ठाऊँमा र उहाँ आफूलाई जीवनसंग 'आत्मसन्तुष्ट' मान्नुहुन्छ। जीवनभरि कहिले राणाले र कहिले दरबारले सताएर अत्यन्त प्रतिकूल भौतिक र राजनैतिक परिश्थितिमा बस्नु परेपनि र खुल्ला राजनीतिमा आफ्नो क्षमताको पूरा उपयोग गर्न नपाएपनि परिश्थिति अनुसार आफूले गरेका धेरैजसो निर्णयहरु सही रहेको ठान्नुहुन्छ उहाँ। नैतिक रुपले आफू जहिलेपनि माथि रहेको लाग्छ उहाँलाई। टाढा पारएको परिवारप्रतिको आशक्तिको भावले अलिकति उदास र हठात् भएपनि राजनीतिक रुपमा आफू दृढ, मृत्यपर्यन्त दृढ रहने ईच्छाशक्ति देखिन्छ उहाँमा। धेरै ठाऊँमा उहाँले जीवन र मृत्युका बारेमा गम्भिर दार्शनिक चिन्तन पनि पोख्नुभएको छ। 

जेल जर्नलमा जस्तै बीपीको अध्ययनशीलता प्रचूर झल्किन्छ यसमा पनि। त्यस्तै लेख्नका लागि कागज यथेष्ट उपलब्ध नहुँदाका पीर पनि छन्। एक पटक त उहाँहरु कागत नपाएर पत्रिकाका छेऊ-छेऊका खाली भाग र ट्वाईलेट पेपरका चक्कामा समेत लेख्ने तयारीमा पुग्नु भएको रहेछ। पछि कागत उपलब्ध भएछ। 

यसमा जेल प्रशाशन, सेना, प्रहरी आदिका बारेमा कुरा त छँदैछ, तत्कालीन नेपाली राजनीतिका (राजा बाहेकका) अरु पात्रहरुका प्रसंग पनि धेरै आऊँछन्। सूर्य बहादुर थापा उहाँको विचारमा पहिले भारतीय एजेण्ट थिए र त्यतिखेर बिस्तारै राजासंग नजिक हुँदै थिए। भारतीय राजनीतिका पात्रहरुका प्रसंग पनि हुनेनै भए, भारत बाहेक अन्तका राजनीतिक पात्रहरुका कुरा पनि छन्। तत्कालीन नवनिर्वाचित अमेरिकी राष्ट्रपति जिम्मी कार्टरप्रति उहाँले निकै भरोसा राख्नुभएको देखिन्छ। 

तत्कालीन प्रशाशनले उहाँलाई उपचारका लागि अमेरिका जान दिएको थियो। अमेरिका बसाईका प्रसंग छैनन्, अमेरिकाबाट फर्केर आएपछि फेरि शुरु भएको जेल जीवनका दैनिकी भने छन्।  

ठाऊँ-ठाऊँमा भेटिने आफ्नो वरिपरिको प्रकृति वर्णन, चराहरुको वर्णन र मानवीय चरित्रको सुक्ष्म अवलोकनले पनि बीपीको संवेदनशील मन र कुशल साहित्य शिल्पको झलक दिन्छन्।
------------------------------------
पढीसक्नुभएको छैन भने पढिहाल्नुस्। ‘फेरि सुन्दरीजल’ एउटा छुटाउन नहुने कृति हो, नेपाली इतिहासको एउटा विशिष्ट कालखण्ड र त्यो कालखण्डका धेरै पात्रहरुको बारेमा बुझ्नका लागि यो दैनिकी अवश्य पनि सहायक सिद्ध हुनेछ। प्रजातन्त्र प्राप्तिका लागि बीपी र जीएमजस्ता नेताहरुले गरेको संघर्ष र त्यागलाई कहिल्यै नबिर्सनु र ती संघर्ष र त्यागका कथालाई आऊँदो पुस्तालाई पनि सुनाउनु हाम्रो दायित्व हो।  

January 18, 2012

शहर र देश

शहर 
जति  पस्यो उति फोहर 
जति  बस्यो उति फोहर 
यो फोहर काठमान्डौमा- 
जो फस्यो उहि फोहर


देश चलेको छ! 

सरकार गरीबीको कथा बाँडेर डलर फलाउँछ
एनजीओ गरीबको फोटो बेचेर डलर फलाउँछ
घर चलाउने-देश चलाउने जिम्मा चाहिँ सानेको-
अरबमा रगत-पसिना रोपेर डलर फलाउँछ 

January 08, 2012

शौचालयको कुरा, बानी बदल्ने कुरा

एघार दिन घर्केर गईसकेछ गाँठे पछिल्लो पोष्टपछि!

(ढिलै भएपनि) यहाँहरु सबैमा नव वर्ष २०१२ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

लेख्ने विषय कति मिलेका थिए कति, भ्याए पो! ति मध्ये पनि विशेष गरी उत्तर कोरीयाली तानाशाह किम जोङ्ग इलको मृत्यु र त्यहाँको मध्ययुगीन-सामन्ती सत्ता हस्तान्तरणका बारेमा केहि लेख्ने मन थियो। यसपछिका कुनै पोष्टमा भए पनि लेख्नेछु।

२०११ को अन्तिम दिन साँझ (पोखराको) लेकसाईडको सडक महोत्सब हेर्न पुगिएको थियो सपरिवार। सडक महोत्सब रमाईलै थियो, भिड पनि उल्कानै थियो र साँझ छिप्पिएर रातमा बदलिँदै जाँदा भिडको बाढी निरन्तर बढीरहेको थियो। पर्यटनमय पोखरा यतिखेर नि:सन्देह पर्यटकमय थियो। देशमा शान्ति-सुरक्षा बढ्दै जाँदा यो भिड बढ्ने निश्चित छ, र त्यसका लागि पर्यटन उद्योगलाई अझ सम्पन्न र व्यवश्थित बनाऊन जरुरी भईसकेको छ। पर्यटन उद्योगलाई कुनै छुट्टै चरीको नामजस्तो गरेर हेर्दा यसलाई विकसित र व्यवश्थित बनाउन सकिन्न, यसलाई प्रकृति संरक्षण, भौतिक पूर्वाधारहरुको विकास, आधुनिक सुविधाहरुको उपलब्धता र सुसंस्कृत मानवीय गुणको संयोजनका रुपमा समग्र रुपमा बुझ्नै पर्ने हुन्छ।

नेपालका शहरहरुको सबैभन्दा ठूला समस्याहरु मध्ये एक पर्याप्त सार्वजनिक शौचालयहरुको अभाव पनि हो भन्ने लाग्छ मलाई। यस्तै अभाव त्यो साँझ पनि अलि-अलि झेलियो। आफूले भए त केहि समय सहिन्थ्यो होला, तर छोरीलाई पनि त्यसै गर्न भन्न सकिएन। खाना खाने बेला भईसकेको पनि थिएन, नत्र त खान पसेकै रेष्टुरेण्टले काम चल्थ्यो होला। पिसाब गर्नकै लागि मात्रै कुनै रेष्टुरेण्ट पनि के पस्नु! 

लेकसाईडमा सार्वजनिक शौचालय (तालबाराही मन्दिरतिर जान) डुंगा चढ्ने घाटमा मात्रै छ। सडक महोत्सबमा लेकसाईडमा लोड शेडिङ्ग हुँदैन तर त्यो घाट भने अँध्यारै थियो, दुई-तीन मधुरा सडकबत्तीहरु मात्रै टिल्पिलाईरहेका थिए। त्यहाँ पुग्दा पुरुष शौचालयमात्रै खुला थियो र त्यहाँ बसेका भाइहरुले आफ्नै हिसाबले महिला र पुरुष दुबैका लागि त्यसको व्यवश्थापन गरिरहेका थिए। उनीहरु एकचोटि पुरुषहरुको मात्र समूहलाई भित्र पठाऊँथे, अर्को चोटि महिलाहरुको मात्र समूहलाई। यसरी 'पालो प्रथा' थियो शौचालय जाने:)

पछि घर फर्कने बेला फेरि छोरीले पिसाब गर्छु भनी। त्यतिखेर अलि परै पुगिसकिएकोले फरि भिड छिचोलेर घाटमै जाने आँट गर्न सकिएन र पछिल्तिरको चउरलाईनै बनाईयो शौचालय। यो 'खुल्ला आकाशमुनिको शौचालय' प्रयोग गर्ने भिड ठूलै थियो र त्यो भिडको आकार पनि बढीरहेकै थियो।

सडक महोत्सवले सडकमै प्रशश्त फोहरपनि उत्पादन गरीरहेको थियो। फोहरहरु फ्याँक्नका लागि ढ्वाङ्गको व्यवश्था भने एकदम कम थियो। पोहरको सडक महोत्सव र  पोखराका अरु केहि महोत्सवहरु पनि हेरेको छु मैले तर यो फोहर फाल्ने ढ्वाङ्गहरुको अभाव भने जहाँ पनि देखिन्छ। यो 'सानो' कुरामा ध्यान दिन सके यस्ता रमाईला महोत्सवहरु सुन्दर पनि हुने थिए।
-------------------------------------------
शौचालयकै कुरा अर्को एक प्रसंगमा पनि। जापानबाट केहि पारिवारिक मित्रहरुको समूह आएको थियो। उनीहरुसंग भेटघाटका लागि ५ तारीख साँझ फेरि पुगियो लेक साईड। खानपीनको कार्यक्रम थियो एउटा नाम चलेको रेष्टुरेण्टमा। गान बजान सहितको रेष्टुरेण्ट, त्यहाँको खाना आदि कुरा सबै स्तरीय थिए, तर शौचालय भने खत्तम! कुन्नि कता हो पढेजस्तो लाग्थ्यो, समाजको सभ्यताको स्तर त्यहाँका शौचालयहरुले देखाऊँछन् भनेर।  यदि यस्तै हो भने, हामीचाहिँ ढुंगेयुगकै स्तरमा रहेको मान्नुपर्ने हुन्छ।
-------------------------------------------
अनि अस्ति शुक्रवार कोरीयाको पुसान विश्वविद्यालयका प्रोफेसरहरुको टोलीसंग एउटा अन्तर्कृया कार्यक्रम थियो। आयोजक थिए पोखरा विश्वविद्यालय र नेपाल ईञ्जिनियर्स एशोशिएसनको पोखरा केन्द्र। एकजना प्रोफेसरले आफ्नो वक्तव्यमा विकासको कोरीयाली अनुभवलाई समेट्दै 'पैसा नहुँदैमा केहि पनि गर्न नसकिने होईन, आफ्नो चिन्तनशैली र बानीलाई बदलेमात्रै पनि धेरै गर्न सकिन्छ।' भनेर भनेका थिए। पछि एकजना नेपाली श्रोता मित्रले 'ल मैले बानी त बदलें रे, देशभक्त र ईमान्दार त भएँ रे, तर पैसा नभई मैले के गर्न सक्छु त?' भन्ने सारको आफ्नो लम्बेतान प्रश्न राखे।

'अवश्य धेरै गर्न सक्नुहुन्छ। उदाहरणका लागि, सडकमा फोहर नफाल्न वा सडक मिचेर घर नबनाऊन तपाईँलाई पैसा आवश्यक पर्छ? अवश्य पर्दैन। त्यहि हो विकासको शुरुवात---।' आत्मविश्वाशी कोरियाली प्रोफेसरको जवाफ पछि ति मित्र र हामी सबै नाजवाफ भएर शिर निहुरायौं।
-------------------------------------------
२०११ र १०१२ को दोसाँधले मलाई सिकाएका पाठ यिनै हुन्। तपाईँलाई नि?