आफ्नी जीवनसंगिनीलाई सम्झेर वीपी लेख्नुहुन्छ;
“मैले सुशीलालाई नसम्झेको कुनै दिन छैन।----उनीसंग वनारसमा बिताएका भावुक
क्षणहरुको सम्झना आऊँछ। -----मैले उनलाई विना संरक्षण छोडेको छु। उनी सधैं एउटी
कमजोर केटी हुन्। उनलाई अटूट ध्यान, दृष्टि र माया चाहिन्छ। नत्रभने बेमौसमको
दुर्लभ सुनगाभा जस्तै उनी मुर्झाउनेछिन्। उनमा आत्मसम्मानको भाव पनि उत्तिकै धेरै
छ। सम्मानको भाव र निरीह अवश्थाको यो सङ्गमको बेला म नहुँदा उनका लागि अत्यन्त
दु:खदायी हुन्छ। अब उनी बढी आशक्त भएर आफ्नो भवगवानमाथि भर पर्नेछिन् र आफ्नो
नृत्यको सहारा लिनेछिन्। साथमा म नभएसम्म उनीलाई उनका भगवान र नृत्यले बचाउन्
भन्ने कामना गर्दछु। यहाँबाट छुटेपछि म उनको राम्रो हेरविचार गर्नेछु। म धेरै माया
गर्दिँन भनेर उनी भन्ने गर्थिन्। विवेकशील मानिस भएकोले म उनको हेरविचार मात्र
गर्छु रे! (पटनाबाट) प्रस्थान गर्ने दिन उनले मसिनो स्वरमा के भनेकी थिईन् भने;
मैले उनलाई माया गरेको भए जेल जानका लागि म काठमाडौँ फर्किने निर्णय गर्दिँनथे होला।
मेरी प्रिय सुशीला, तिमी गलत छौ। म तिमीलाई तिमीले भनेजति माया गर्दिँन होला,
तिमीलाई पुग्ने गरी माया गर्दिँन होला, तर जे सुकै होस् म तिमीलाई माया गर्छु। यो
मैले आफ्नो कर्तव्य पूरा गरेको मात्र हैन, तिम्रो हेरविचार गर्दा, तिमीसँग रहँदा,
तिम्रो हात समाऊँदा मात्र पनि मलाई आनन्द आऊँछ। नेपाल फर्किने मेरो निर्णय
तिमीप्रतिको माया प्रकट गर्ने उचित तरिका हो भनेर त म भन्दिँन। मेरो राजनीति मेरो
मायाको थप अभिव्यक्ति होइन; नत यसको थप पुष्टि नै। यो एक किसिमले मेरो मायाको
प्रतिद्वन्दी हो भन्ने म स्वीकार गर्छु। मेरी प्रिय, मेरा राजनीतिक प्रतिबद्धताहरु
पूरा हुनुपर्छ। यो सम्पूर्ण जनताको भविष्य र मेरो प्रतिष्ठाको विषय हो। कृपया मलाई
बुझीदेऊ।
फेरि अर्को ठाउँमा;
-----आज चार/पाँच दिनपछि मात्र
नुहाउँदैछु क्यारे। यो कुरा सुनिन् भने सुशीलाले नाक खुम्च्याऊँछिन्। उनी मलाई
हरेक दिन नुहाउन र लुगा फेर्न लगाऊँथिन्। यहाँ म आफूलाई जे मन लाग्यो त्यहि गर्छु,
तर म सुशीलालाई सधैं सम्झिन्छु। यो डायरीको जिल्दामा आफैंले टाँसेको उनको फोटो
नियाल्छु। यो सानो र अलि फुलिसकेको फोटोमा समेत उनी जीवन्त देखिन्छिन्। उनको
आँखाले मसँग कुरा गरीरहेजस्तो लाग्छ। कहिलेकाहीँ फोटो ओल्टाऊँदै पल्टाऊँदै उनका
बारे सोच्छु। कहिले उनी दु:खी देखिन्छिन् त कहिले अलि बूढी जस्ती र मलीन।
कहिलेकाहीँ थकित जस्ती। तर अक्सर उनी मन्द मुस्काईरहेकी नै हुन्छिन्। मुस्कानको
एउटा छनक जसले उनी धपक्क बलेकी छिन्। प्रत्येक पटक उनको तस्बिर हेर्दा भावुक
बन्छु।कहिलेकाहीँ भावुक हुँदै मेरा आँखाहरु रसाऊँछन्। कस्तो हुँदो हो उनलेयो कुरो
थाहा पाईन् भने कि म उनलाई कति माया गर्छु भनेर। उनी बेसै होलिन् र मेरा बारे बढी
चिन्ता लिनन्न् भन्ने आशा र कामना गर्दछु।
अनि एक दिन साँझ एक्लै हुँदा वीपी आफ्नी दिवंगत माताको सम्झनामा यसरी
पोखिनुहुन्छ;
-----साँझ एक्लै हुँदा आमाका बारे सोच्छु। कपुरको बोटको अँध्यारो छायाँ
एकटकले हेरिरहन्छु। मूर्खता या अन्धविश्वासवश त्यो अँध्यारोबाट आमा आउनुहुनेछ
भन्ने आशा गर्छु। म साने छँदा उहाँले कानमा खुसुक्क दीक्षा मन्त्र सुनाउनुभएको
थियो। अनायास त्यो मन्त्र सम्झिन्छु। आफूसंगै ल्याएको उहाँको कपालको एक झुप्पा
हातमा लिएर, उक्त मन्त्र धेरैपटक दोहो-याऊँछु। उहाँ जहाँ भएपनि सुनिरहनुभएको होला
र जहाँ भए पनि दर्शन दिनुहोला भन्ने आशा गर्छु। यो सब वेवकूफी हो तर उहाँको
सम्झनाले मलाई एकदम सताएको छ।
अर्को एक दिन उहाँको स्वास्थ्य परीक्षण गरेर डाक्टर फर्किसकेपछि उहाँ
लेख्नुहुन्छ;
----उनी गएपछि धन्य हुँदै आमालाई सम्झेँ। मलाई बचाऊन उहाँ यहीँ कतै
घुमिरहेजस्तो लाग्यो। मलाई उहाँसंग भेट्न मन लाग्यो।
त्यहि दिन उहाँ अघिल्लो दिनको बयानको बारेमा पनि लेख्नुहुन्छ;
-----तानाशाहीको सबभन्दा गम्भीर अपराध के हो भने यसले पूरै देशलाई दुर्बल
बनाऊँछ। जनताको नैतिकतालाई भ्रष्ट तुल्याउँछ।------एक सय वर्षे राणा निरङ्कुशता र
त्यसपछि शाह अधिनायकवाद अन्तर्गत नेपालीहरुले आफ्नो चरित्र गुमाएजस्तो छ।
नेपालीहरुलाई चरित्र नभएका मानिसहरुको भीडमा झारिएको छ। पतन भएका यस्ता मानिसहरुको
उत्थान गर्नु असम्भव हुनसक्छ। केहि समयपछि तिनीहरु बिखण्डित हुनेछन् र इतिहासबाटै
बिलाएर जानेछन्। मलाई आफ्नो भविष्यको भन्दा पनि यही चिन्ताले सबभन्दा बढी पिरोलेको
छ। मेरो भविष्य त यसै पनि ठगहरुको जमातको हातमा छ।
वीपीले कतै हाम्रो समयको भविष्यवाणी त गरीरहनुभएको छैन त्यहाँ???? हामी
त्यहि बाटोमा जाँदैछौं तिब्र गतिमा।
शाह राजाहरुको दम्भका प्रति उहाँ यसरी पनि रोष् प्रकट गर्नुहुन्छ अर्को
ठाऊँमा;
----रमाईलो त के छ भने भारतका सबभन्दा ठूला राजा अशोक आफूलाई राजा भन्नमा
नै सन्तुष्ट थिए। उनलाई महाराजा समेत भनिनुपरेन। महाराजाधिराज भन्ने कुरा त उनले
सपनामा पनि सोचेका थिएनन्, जबकि उनी सम्राट थिए।
All the very Best!
ReplyDeleteaajakal maaowaadeekaa kitab paDhne belaa sir le BP padhera ulto gangaamaa paudinu bhayo ki jasto chha.
ReplyDeleteanonymous ज्यू, हा हा हा! माओवादीको कुनै एउटा मात्रै पढ्न लायक किताब देखाईदिनुस्, अवश्य पढ्नेछु:) जहाँसम्म 'उल्टो गंगा' को कुरा छ, माओवादीहरु विगत २० वर्षदेखिनै उल्टो गंगामा पौडिने जबर्जस्तीमा छन्। यो जबर्जस्तीले न देशलाई राम्रो गर्छ, न उनीहरुलाईनै।
ReplyDelete