January 11, 2015

राष्ट्रनिर्माताको जन्मघरमा



 (तस्बीर साभारः Border Nepal Buddhi)

२०७१ सालको को नौरथाको षष्ठीका दिन साँझ सपरिवार गोरखा पुगियो

१५ वर्ष जति पहिलाको एउटा झरीमय दिनमा पहिलोपटक गोरखा पुगेको थिएँ। गोरखा बजारबाट हतारमा दरबार उक्लेर हतारमा झरिएको थियो। झरी परीरहेको हुनाले दरबार परिसर पनि पूरा घुमिएन। गोरखनाथको प्रसादको रुपमा रोट खाएर फर्किएका थियौं हामी केहि। त्यै सीमित गोरखा दरबार घुमाईको मेरो सम्झना पनि अत्यन्त मधूरो भईसकेको थियो। यसपालि बजारमै रहेको संग्रहालय भने घुम्न पाईएन, फूलपातीको दिनबाट दशैंका लागि बन्द हुने रहेछ।

गोरखा दरबार हामी नेपालप्रेमी नेपालीको तीर्थस्थल। यसपालि गोरखा दरबार जानु एउटा तीर्थाटन थियो मेरो लागि। उनकै जन्मघरमा उभिएर फेरि एक पटक राष्ट्रनिर्माताप्रति श्रद्धासुमन चढाउन चाहन्थें म, र त्यहीँ बसेर केहि बेर यो देशका बारेमा घोत्लिन चाहन्थें।
साँझ सात बजेतिर बस पार्कमा ओर्लिएर बास र गाँसको खोजी गर्ने र केहि खित्रिङमित्रिङ किन्ने क्रममा गोरखा बजारले त्यति राम्रो प्रभावचाहिँ दिएन। गोरखा बजार पेशेवर बनीसकेको रहेनछ अझै र यसैले ब्यावसायिक विनम्रता पनि बिल्कुलै भेटिएन। एक साँझको मेरो सीमित अनुभव पूरै सत्य नहुन पनि सक्छ, समग्र गोरखा बजारलाई अनुभूत गर्ने हो भने औसत चरित्र यस्तो नहुन पनि सक्छ।

भोलिपल्ट फूलपातीको दिन बिहानै उठेर दरबारतर्फ उकालो लाग्यौं। दरबारसम्म पुने सिँढीको अवश्था राम्रै मान्नुपर्छ तर (शायद) बलि दिनका लगिँदै गरिएका रांगा, बोका आदिलाई त्यो ठाडो सिँढीमा घिच्याएको दृश्यले भने मनलाई अशान्त पारिरहे। दरबारको नजिक पुगेपछि भने सिँढीमा जताततै रगत लतपतिएको देखिन्छ। दरबार परिसरमा रहेका मन्दिरमा दिईने बलिलाई अलिक ब्यवश्थित पार्नुपर्ने देखिन्छ। बलि ल्याउने-लाने बाटोनै फरक पार्न सके राम्रो हुन्छ। 

गोरखा दरबारबाट लगेर काठमाण्डौंमा भित्र्याइने फूलपातीको बारेमा बच्चैदेखि सुने-पढेकाले त्यो फूलपाती कसरी तयार पारिँदो रहेछ र काठमाण्डौं पठाउनुअघि के-के विधिविधान गरिँदो रहेछ भनेर हेर्ने उत्सुकता पनि थियो मनमा। दरबारको सुरक्षार्थ बसेका एकजना सैनिक भाइलाई सोध्दा अल्मलिँदो उत्तर दिए। त्यसपछि दरबार घुम्ने र तस्बीरहरु खिच्ने क्रममा अरु कसैलाई पनि सोधिएन, दरबार परिसरको अव्यवश्था देख्दा त्यहाँ फर्याकफुरुक गरीरहेका कर्मचारीजस्ता मान्छेहरुलाई केहि सोध्ने जाँगर पनि त्यसै मरेर गयो। 

दरबार परिसरमा हाम्रो पछिपछि एकजना १०-११ वर्षकी नानी आईन् र हाम्रो ‘गाइड’ बनिदिने प्रस्ताव राखिन्। त्यस्तो आवश्यकता त केहि थिएन तैपनि हामीले सहर्ष स्विकार्यौं। एकछिन उनी उनले हामीलाई पृथ्वीनारायण शाहको सिंहासन, पृथ्वीनारायण शाहलाई उनकी आमाले तेल घसिदिने ठाऊँ आदि देखाईन्। उनको ‘सहयोग’का लागि उनलाई धन्यबाद दिँदै उनलाई केहि रकम पनि दियौं र उनी खुशी हुँदै कतै लागिन्। दरबारभित्रको स्थिति झन् दयनीय रहेछ। साह्रै फोहर थियो र ती नानीले पृथ्वीनारायण शाहलाई उनकी आमाले तेल घसिदिने ठाऊँ’ भनेर देखाएको स्थानमा बोकाहरु बँधिएका थिए र तीनका अघिल्तिर स्याउला झुण्ड्याइएको थियो। ‘सिँहासन’ धूलो र माकुराको जालोले ढाकिएको थियो। एउटा राष्ट्रिय तीर्थस्थलको यो दुर्गतिले मनलाई कटक्क काटयो। दरबार पछाडिबाट देखिने मनोरम हिमशृंखलाको दर्शनले पनि दुखेको मनलाई निको पार्न सकेन। 

हामी नेपाली आफ्नो इतिहासको जगेर्ना गर्ने कुरामा बिल्कुलै ध्यान दिँदैनौं। इतिहासको जगेर्ना गर्न नजान्नाले नै वर्तमानमा हाम्रो यो दुर्गति भएको हो। इतिहासको जगेर्ना गर्नु, त्यसलाई वस्तुनिष्ठ ढंगले केलाउनु र त्यसबाट पाठ सिकेर अघि बढ्नु सभ्य राष्ट्रको विशेषता हो। हामी त्यो सभ्य स्वभावबाट अझै टाढै छौं। हामी हरेक कुरालाई भत्काउन, बिगार्न र माटोमुनि पुर्न उद्यत छौं। राष्ट्रनिर्माताको जन्मघरलाई त यस्तो वेवास्ता गरेका छौं हामीले भने अरु धरोहरलाई झन् सम्झिने कुरै भएन।

गोरखा दरबारलाई ऐतिहासिक पर्यटन गन्तब्यका रुपमा विकास गरिनुपर्छ। पर्यटक, विशेषगरी ऐतिहासिक रुपमा सचेत आन्तरिक पर्यटकहरु प्रशश्त तान्न सक्ने क्षमता छ यहाँ। अहिले कामै परेर बाहेक कोहि पनि गोरखा जाँदैन। पोखरा, चितवन वा लुम्बिनी जाने पर्यटकहरुको एकदम सानो अंशमात्रै गोरखा पस्छ, त्यो पनि चार-पाँच घण्टाभन्दा बढी समय नबिताई फर्कन्छ। पर्यटकहरुलाई एक दिन एक रात राख्न सक्ने पूर्वाधार र योजना पनि गोरखाले अझै बनाएको छैन। पर्यटकलाई पहिलो गन्तब्यकै रुपमा गोरखा तान्न सक्ने पूर्वाधार, योजना र पेशागत दक्षताको विकासमा गोरखा लाग्नुपर्छ।

गोरखा दरबारलाई सफा र ब्यवश्थित पार्ने काम पहिलो कदम हुनेछ त्यसका लागि। तत्पश्चात गोरखा दरबारमा राष्ट्रनिर्माताकै समयका पोशाकहरु लगाएर फोटो खिच्न सकिने सशुल्क ब्यवश्था गर्न सकिन्छ। राष्ट्रनिर्माताको जीवन, एकीकरण अभियान र तत्कालीन परिवेशसम्बन्धी केहि ऐतिहासिक चलचित्र र डकुमेण्ट्रीहरु दरबार परिसरमै देखाईने ब्यवश्था गर्न सकिन्छ। अर्को कदममा, गोरखा दरबार र वरिपरिका अरु ऐतिहासिक र धार्मिक स्थलहरु र प्राकृतिक सम्पदालाई जोडेर २-३ दिनको पर्यटन प्याकेज निर्माण गरिनुपर्छ।

अलिक ठूलो योजनाका रुपमा राष्ट्रनिर्माताको एकीकरण अभियानका बिभिन्न दिशाहरु पछ्याऊँदै अघि बढ्ने गरी गोरखा बजार-गोरखा दरबारबाट शुरु हुने (वा त्यहाँ आएर अन्त्य हुने) पदयात्रा मार्गहरुको पहिचान गर्न सकिन्छ। त्यस्ता पदयात्रा मार्गहरुमा थुप्रै ऐतिहासिक र प्राकृतिक सम्पदाहरु पर्ने कुरामा कुनै विवाद छैन र शुरु गर्न र ब्यवश्थित रुपमा सञ्चालन गर्न सकियो भने यस्ता पदयात्रा मार्गहरुले देशको ठूलो भूभागको आर्थिक गतिबिधिलाई गति दिन सक्नेछन्। अर्कोतिर लमजुङ, कास्की आदि ठाऊँमा रहेका शाहवंशीय वा त्यस अघिका दरबार र अन्य ऐतिहासिक संरचनाहरुलाई गोरखा दरबारसंग जोड्ने गरी एउटा परिपथ (सर्किट)को परिकल्पना पनि गर्न सकिन्छ। यी ठाऊँमा रहेका गोरखा दरबारभन्दापनि प्राचीन संरचनाहरु झन् संरक्षणवीहिन र बिजोग अवश्थामा छन्। यस्तो परिपथ बन्न सके ती संरचनाहरुको संरक्षणमा पनि केहि काम हुन सक्ने थियो। 

यिनै चिन्तनका साथ यो सानो लेखोटको बिट मार्न चाहन्छु।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहमा हार्दिक श्रद्धासुमन!

December 27, 2014

हार-जीतका कुरा

हेरेरै जितिदिन्छ्यौ तिमी, छोएरै जितिदिन्छ्यौ
कहिले नजरले समेत नछोएरै जितिदिन्छ्यौ
हारमा अभ्यस्त म, जितमा अभ्यस्त तिमी
हाँसेरै जितिदिन्छ्यौ तिमी र रोएरै जितिदिन्छ्यौ ।

October 11, 2014

ब्यापार घाटा

तन्नेरी छोराछोरीहरु सस्तोमा निर्यात गरेर-
खाई-नखाई आयात गरिएका
महंगा खसीबोका रेटेर
रित्तिएको छ दशैं,
साला यो दशैं पनि
एउटा ब्यापार घाटा रहेछ।

May 09, 2014

सजाय


सरकारले बिजुली, स्कूल, लीक बनाएन
जनतालाई यो देशको मालिक बनाएन

हार्नु र झर्नुको पनि सीमा हुन्छ नि यार!
नियतिले जीतलाई हाम्रो नजिक बनाएन

जुन अनुहार देखेपनि वाक्क-दिक्क लाग्छ
यार! भगवानले यौटै नेता ठिक बनाएन

यै तमाशा देखाएर सजाय दिनुथियो शायद
कुनै हुरीले पनि मलाई शालिक बनाएन

February 11, 2014

अराजक मुक्तक


हदैको सोझो र बाठो असाध्यै - दुबै भईदिन सक्छु
तिम्रा रहरमा म राजी र बाध्य - दुबै भईदिन सक्छु
साह्रै मन पर्छन् मलाई तिम्रा यी अराजक योजनाहरु
तिम्रो अराजकताको साधन र साध्य - दुबै भईदिन सक्छु। 

December 28, 2013

बोक्न लायक 'झोला'

गत बुधबार (२०७०, पुस १०) बिहान कृष्ण धरावासीको कथा 'झोला'मा आधारित भएर बनेको सोहि नामको चलचित्र हेरियो। सर्वप्रथम त यो मौका जुटाईदिएकोमा र्याण्डम रिडर्स सोसाइटी अफ नेपाललाई हार्दिक धन्यबाद दिन चाहन्छु।

लाज नमानी भन्नुपर्दा मैले 'झोला' पढेको छैन, मेरो खत्तम समय ब्यवश्थापनले मेरो साहित्य पढाईलाई नराम्ररी बिथोलेको छ। धेरै साथीहरुलेझैं सुन्ने मौका ( 'बुलबुल' लगायतका कार्यक्रमबाट) पनि पाएको छैन। यसैले मैले एकैचोटि कृष्ण धरावासीको कथा पढ्ने र यादव भट्टराईको निर्देशन कला हेर्ने काम गरें हिजोको चलचित्रबाट।

सतीप्रथालाई मूल विषय बनाएको कथाले सय वर्ष अगाडिको नेपाली पहाडी समाजलाई चित्रण गरेको छ। नेपाली चलचित्रहरु सकेसम्म यस्ता सामाजिक-ऐतिहासिक विषयवस्तुमा पस्दै-पस्दैनन् र पसिहाले भने पनि तिनले सामजिक यथार्थलाई राम्रोसंग पस्कनै जान्दैनन्/चाहँदैनन्। यस्ता विषयवस्तुलाई साहित्यले धेरै समाएपनि कथित ‘मूलधार’ नेपाली चलचित्रले समाउने आँट अझै गर्न सकेको छैन् बलिउडको मसला शैलीबाट प्रभावित यो कथित ‘मूलधार’ले आजसम्म गीत, जोकर, फाईट आदि मिसाएर बन्ने ‘ऊँट’ शैलीलाईमात्रै पछ्याऊँदै आएको छ। बेला-बेला फरक धारका चलचित्रले केहि शिक्षा दिन्छन् तर यो कथित मूलधारले ती शिक्षा पटक्कै लिएको देखिँदैन।

‘झोला’ले १०० वर्ष अगाडिको पहाडी नेपाली समाजको चित्रण गर्ने राम्रो प्रयास गरेको छ। प्रदर्शनपछिको अन्तर्कृयामा निर्देशकज्यूले भन्नुभए अनुसार त्यो बेलाको जस्ता घरहरु भएको गाऊँ भेट्न साह्रै मुश्किल पर्यो रे, थुप्रै ठाऊँ चहार्नु पर्यो रे। फिल्म सिटीले यस्तै अप्ठेरोमा साथ दिन्थ्यो शायद। तत्कालीन समाजको प्रतिलिपि तयार पार्न सकिने फिल्म सिटी भैदिएको भए यो ‘झोला’ हामीले अझ चाँडै हेर्न पाऊँथ्यौं होला। त्यस्तै पात्रहरुको संवादको भाषा र शैलीलाई पनि यतिखेरको सट्टा त्यहि बेलामा पुर्याउन सकेको भए अझ राम्रो हुनेथियो। पछि अन्तर्कृयामा पनि अरु केहि सानातिना कमजोरीहरुका कुरा उठेका थिए। सती प्रथाको अन्त्यका लागि चन्द्र शमशेरलाई मात्रै जस नदिई त्यसलाई त्यतिखेरको समाजमा बढेको जागरुकता र विद्रोही भावसंग पनि जोडेको भए पनि हुन्थ्यो जस्तो मलाई पनि लागेको हो, तर अहिले सोच्छु त्यतिखेरको अत्यन्त आतंकित र दमित हाम्रो समाजमा विद्रोह भन्न सकिने विद्रोहनै कति थियो होला र? सतीप्रथाको अन्त्यमा शायद चन्द्रशमशेरकै ‘विवेक’ बढी जिम्मेवार हो कि?

औसत नेपाली चलचित्रहरुभन्दा कलात्मक प्रस्तुतिमा पनि उच्चकोटिको रहेको छ ‘झोला’। तर यस्तै विषयवस्तुमा चीनका निर्देशक चाङ्ग यी मोऊले सन् १९९० को दशकमा बनाएका थुप्रै चलचित्रहरु हेरेर तिनको ‘फ्यान’ बनेको मलाई कलात्मक प्रस्तुतिमा अझ मेहेनत गर्न सकिन्थ्यो जस्तो लाग्यो। चलचित्रले कता-कता डकुमेण्टरीको झल्कोचाहिँ दिन्छ। हुनत यस विषयमा मेरो आफ्नो ज्ञान केहि छैन, म एउटा आम दर्शकको रुपमा यी कुराहरु बोलीरहेछु र निर्माण-निर्देशक समूहका आफ्नै धेरै बाध्यता र सीमाहरु पनि थिए होलान्। अन्त्यमा पृष्ठभूमिबाट बोलिएको “अरु धेरै खाले सतीप्रथाहरु अझै जिऊँदै छन्---“ भन्ने आशयको भनाईलाई अलिक कलात्मक प्रस्तुति पनि दिन सकिन्थ्यो कि?

सबै कलाकारले राम्रो अभिनय पस्केका छन्। समग्रमा, ‘झोला’को दर्शनले मलाई खुशी र गौरवान्वित बनाएको छ। ‘झोला’ को पूरै टिमलाई हार्दिक बधाई! विविधतापूर्ण नेपाली समाजका थुप्रै कालखण्डहरु यस्तै कलात्मक चलचित्रको प्रतिनिधित्व पर्खेर बसीरहेछन्।  ‘झोला’को टिमले अरु धेरै सुन्दर ‘झोला’हरु निर्माण गर्न सकोस्, मेरो हार्दिक शुभकामना! 

December 18, 2013

कसैलाई विपत्ति, कसैलाई रमिता!

प्रसंग अर्मलाको हो, जहाँ एक महिना यता जारी जमीन भासिने क्रम अझै रोकिएको छैन। झण्डै दैनिकजसो नयाँ ठाऊँमा भासिने गरेको छ र जमीन भासिएर बनेका खाल्डाहरुको संख्या यतिखेर १०० नाघिसकेको खबर छ।

नजिकै बसेर पनि म हेर्न पुगेको थिईन अहिलेसम्म। हिजो दिऊँसो एकछिन घुमेर आएँ। अर्मलाको यो जमीन भासिने प्रकृयाका बारेमा विश्लेषण गर्नसक्ने विज्ञ नभएकाले म यहाँ मेरो विचार केहि नराखी केहि समय यता ब्लग र छापामा आएका लेखहरुको सूत्र राख्न चाहन्छु। तपाईँहरुले पढीपनि  सक्नु भयो होला यी लेखहरु। 

पूजाआजा गरेर अर्मलाको सिङ्कहोल रोकिन्न

     

अर्मलामा जमिन भासिनुको भौगर्भिक कारण



हिजोको माहौल हेर्दा भने पूरा रमिता थियो। पोखरा र वरपरका मान्छेहरुका लागि नयाँ घुम्ने ठाऊँ, कुनै नयाँ उद्यान बनेजस्तो वा कुनै भव्य मेला लागेजस्तो थियो। चना-चटपट, बदाम र सुन्तलाका ठेलाहरुका ब्यापार खुब फष्टाएको थियो। मैले सुने अनुसार, हरेक बिदाको दिन यस्तै हुन्छ। स्थानीय मान्छेहरुको पिडा र सुस्केरा 'मेला' हेर्न आउनेहरुको हाँसो-ठट्टा र 'अजासु' विश्लेषणमा हराईरहेको हुन्छ। आफैं रमिते बनियो हिजो, पछि लाज लाग्यो। धेरै रमिते हुन भने मन लागेन, आधा जति 'सिंकहोल' हेरेर फर्किईयो। मलाई लाग्छ स्थानीय जनता, विशेषज्ञ र अरु सरोकारवालाहरु बाहेक अरुलाई त्यहाँ जान-घुम्ननै प्रतिबन्ध लगाऊनुपर्छ। अनावश्यक सन्त्रास र नचाहिँदा हल्लामात्रै फिँजिन्छन् रमितेहरुबाट।

त्यहाँ खिचेका केहि तस्बीरहरु भने राख्ने अनुमति चाहन्छु। 











केहि दशक यता मिचिएको दुहुनी खोलाको पानीले आफ्नो प्राकृतिक निकास नपाएर वरिपरिको जमीनमा छिर्नु र त्यो भेगको भौगर्भिक संरचना कमजोर हुनुको संयोगले अहिलेको स्थिति सृजना भएको ब्याख्या गरिएको छ। दुहुनी खोलालाई प्राकृतिक बहावमा फर्काउन यसरी डोजर लगाएर खोलालाई फराकिलो र गहिरो पार्ने कोशिश गरिएको छ, तर यसले स्थितिमा कुनै सुधार आएको छैन। हिजो हामी पुग्दा खोलाको किनारभन्दा धेरै पर डाँडाको फेदीमा पनि मान्छेहरुको भिड थियो। त्यहाँ दुई ताजा खाल्डाहरु थिए। यसले खोलाको नजिकमात्र नभएर अर्मला समग्र क्षेत्रकै भू-संरचना जोखिमयुक्त देखाऊँछ। तलका दुई तस्बीरहरु त्यहि नयाँ भागको हो। 




   

November 10, 2013

मौसम

दशैं पूरै हिले बन्यो। दशैंजत्तिकै हिले नभएपनि तिहारको मौसम पनि खासै राम्रो भएन। 

मौसम बल्ल रमाईलो भएको छ, पोखराको मौसमजस्तो भएको छ। जाडो बढेको छ, तर सफा दिनको न्यानो र प्यारो घामले आनन्द दिन्छ।

देशको राजनीतिक मौसमपनि तातीरहेछ। अबको नौ दिनमा चुनाव छ। चुनावमा भाग लिनेहरुको सकृयता त बढेकै छ, चुनावको विरोध गरीरहेकाहरुको सकृयतापनि बढेको छ यतिखेर। चुनाव बहिष्कारको नारा दिएको ड्याश माओवादी नेतृत्वको मोर्चाले भोलि 'नेपाल बन्द' गर्दैछ। पहिले लगातार दश दिनको बन्दको घोषणा गरेको उसले अहिले भोलि ( र हल्ला चलेअनुसार पर्सीपनि) को बन्दपछि थप कार्यक्रम घोषणा गर्ने रे! आगामी हिऊँदभरिपनि अन्यौल र अनिश्चितताले देश र जनतालाई सताउने पक्का-पक्की देखिएको छ अब।

मंसिर चारमा चुनाव हुने सम्भावना धेरै देखिएको छ। चुनाव हुनुपनि पर्छ। राज्यको अरबौं खर्च भईसकेको छ, र दलहरु र उम्मेदवारहरुलाई हेरेर खासै उत्साहित नदेखिएपनि जनता चुनाव हुनुपर्छ भन्नेमा देखिएका छन्। आफूले भनेजस्तो विकल्प नभेटेपनि उपलब्ध विकल्पहरुमध्येबाट एउटालाई रोज्ने मनस्थितिमा देश गईसकेको छ।

ड्याश माओवादीको मोर्चाले केहि स्थानमा भाँड्न सक्ला तर देशभरिकै चुनावलाई पर सार्न सक्दैन भने विश्लेषण गरिएको छ। मेरो आफ्नो बुझाई पनि त्यहि हो। तर भोलि-पर्सीका घटनाक्रमहरुले फरक बाटो लिन पनि सक्छन्। कामना गरौं, त्यसो नहोस् र यो देशमा चुनाव होस्। चुनाव भएमात्रै देशले एउटा दिशा समात्ने सम्भावना रहन्छ।