August 10, 2017

उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्!

उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्
यसै गरी दिन-दिनै उनलाई मार्नेछन्
उनी संगै दिन-दिनै हामीलाई मार्नेछन्
दिन-दिनै उनलाई मार्नेछन्
र एक दिन
उनलाई सधैंका लागि मार्नेछन्
एउटा आष्थालाई मार्नेछन्
उज्यालोलाई मार्नेछन्
शिकार ढुकेर बसीरहेछन् गिद्धहरु
मौका पाउनसाथ मार्नेछन्

डा गोविन्द के सी लाई मारेर उनीहरु-
शहरको नामी भट्टीमा छिर्नेछन्
डा के सी लाई सम्झँदै उनीहरु
कुखुरका फिला मगाउनेछन्
बुंगुरका साँप्रा मगाउनेछन्
कलेजो, जिब्रो र गिदी मगाउनेछन्
सके सम्म रातो रक्सी मगाउनेछन्
अनी उनीहरु-
डा गोविन्द के सीको मासु खानेछन्
फिला उधार्नेछन्
साँप्रा चपाउनेछन्
भुटेर खानेछन्
पोलेर खानेछन्
साँधेर खानेछन्
कलेजो, गिदी, जिब्रो सब खानेछन्
र डा गोविन्द के सी को रगत पिउनेछन्

भोलिपल्ट शोकसभामा-
उनीहरुको रुवाइ सबैभन्दा चर्को हुनेछ
उनीहरुले ल्याएको माला सबैभन्दा गह्रौं हुनेछ
उनीहरुको शोक मन्तब्य सबैभन्दा लामो हुनेछ
उनीहरुकै मात्र अनुहार हुनेछ टिभीले देखाउने मलामीमा 

उनीहरुले-
डा गोविन्द के सी को भव्य शालिक बनाउनेछन्
सडक, चोक र गल्लीलाई उनको नाम दिनेछन्
उनको नाममा पुरष्कार दिनेछन्
उनको नाममा छात्रवृत्ति बाँड्नेछन्
उनको नाममा विदेश घुम्नेछन्
उनको नाममा पाँचतारे अस्पताल खोल्नेछन्
र त्यसमा ‘गरीबलाई प्रवेश निषेध!’ टाँस्नेछन्

उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्
यसै गरी दिन-दिनै उनलाई मार्नेछन्
उनी संगै दिन-दिनै हामीलाई मार्नेछन्
दिन-दिनै उनलाई मार्नेछन्
र एक दिन
उनलाई सधैंका लागि मार्नेछन्
हामीलाई सधैंका लागि मार्नेछन् 

July 24, 2017

पोखराको महानगर यात्रा

तीन दशक अघिसम्म काठमाण्डौंमा जता हेरेपनि फाँट देखिन्थ्यो । चक्रपथ बाहिर मात्र होइन, चक्रपथभित्रै पनि ठूल्ठूला फाँटहरु थिए ।  तीनवटा ‘कोर’ सहर, त्यसपछि खुला फाँट अनि ग्रामीण बस्तीहरुको एउटा योजनाबद्धता र लय थियो । ग्रामीण बस्तीहरु कम उब्जाऊ जग्गामा थिए, फाँटमा घर विरलै बन्थे ।

काठमाण्डौं एउटा अत्यन्त उर्बर उपत्यका हो । यहाँको कृषिले विगतमा सृजना  गरेको समृद्ध सभ्यताको झलक अझै छँदैछ । पञ्चायतकालसम्म त्यहाँ जनसंख्याको चाप धेरै थिएन । २०४६-४७ साल पछिको खुला राजनीतिक र आर्थिक वातावरणमा काठमाण्डौंमा जनसंख्याको चाप बढ्न थाल्यो । राज्यको काठमाण्डौंकेन्द्रित सोचका कारण देशका अरु भागमा विकासको साह्रै सुस्त भएकाले शिक्षा, स्वास्थ्य उपचार र रोजगारीका लागि काठमाण्डौं सबैको गन्तब्य बन्यो । २०५१ सालदेखिको हिँसात्मक द्वन्द्वले विष्थापित गरेको जनसंख्याको ठूलो भाग राजधानीतिरै गयो । पहिलो मधेश आन्दोलनमा आन्दोलनकारीद्वारा लेखेटिएका पहाडियाहरुको गन्तब्य पनि काठमाण्डौंनै बन्यो ।

काठमाण्डौंमा यसपछि मनपरी बस्तीहरु बस्न थाले । राज्यले बस्ती विकासको गतिलो मापदण्ड बनाउन नसक्दा र  भएकै मापदण्ड पनि लागू गर्ने इच्छाशक्ति नदेखाऊँदा काठमाण्डौं अनियन्त्रित र अराजक शहरीकरणमा फँस्यो । यो अनियन्त्रित र अराजक शहरीकरणले काठमाण्डौंका फाँटहरु मासेर एउटा कुरुप कंक्रिट जंगलमात्रै सृजना गर्यो । कुरुप कंक्रिट जंगल फैलिएर चक्रपथबाहिर निक्लिएर अहिले त्यसले काँठका फाँटहरुलाई पनि एक-एक गरी निल्दैछ ।  ठूलो जनसंख्या र योजनावीहिन बस्ती र पूर्वाधार निर्माणका कारण काठमाण्डौंको यातायात, खानेपानी, फोहरमैला लगायतको व्यवश्थापन अतिनै जटिल भएको छ । काठमाण्डौंको जमीन, पानी र हावा चरम प्रदूषित भएको छ ।  त्यहाँ उद्यान लगायतका खुल्ला स्थानहरु एकदमै कम छन्, परम्परागत रुपमा रहेका सार्वजनिक चौरहरु पनि मासिईसकेका छन् । समुदाय वा राज्यले ठूला उद्यान बनाउन चाहेपनि अब जग्गा बाँकी छैन । कुनै ठूलो बिपत्तिमा उद्धार कार्य समेत राम्ररी गर्न नसकिने स्थिति २०७२ बैशाखको भूकम्पमै देखिईसकेको छ । अनियन्त्रित शहरीकरणका कारण मठ-मन्दिर लगायतका साँस्कृतिक सम्पदाहरुको संरक्षण हुन सकेको छैन, चाडपर्व र जात्राहरु समेत अतिक्रमित भएका छन् । काठमाण्डौंलाई ब्यबश्थित गर्न असम्भवजस्तै भईसकेको छ ।

पोखराको बारेमा लेख्न खोजिएको लेखमा काठमाण्डौंको दुर्गतिलाई शुरुमै उल्लेख गर्नुको कारण पोखराका लगि काठमाण्डौंको अनुभव सर्वाधिक महत्वको सन्दर्भ सामाग्री भएकाले हो । काठमाण्डौंको गल्तीबाट पोखराले सिक्नैपर्छ । एउटा सहरको रुपमा आफ्नै अनुभव र गल्तीबाट मात्र सिक्ने सुविधा, अवसर र समय पोखरासंग छैन न त देशका अरु सहरसंग नै  छ । त्यसो गर्ने सोच हामीमा आयो भने पोखरा पनि काठमाण्डौंजस्तै point of no return मा पुग्नेमा कुनै सन्देह छैन । पोखराले अनियन्त्रित जनसंख्याको चाप र योजनावीहिन सहरीकरणबाट आफूलाई बचाउनै पर्छ ।

फाँट मासिने कुरा नै हेर्ने हो भने पोखरामा पनि तिब्र गतिमा भईरहेको देखिन्छ । कुँडहर-चाउथे, बिरौटा लगायतका फाँटहरु कंक्रिट जंगलले भरिईसके । लेखनाथ क्षेत्रका फाँटहरु पनि तिब्र गतिमा मासिने क्रममा छन् । पोखराको जनसंख्या बृद्धिदर र नयाँ घर निर्माण हुने दर देशमै सबैभन्दा धेरै मध्ये पर्छ । सन् २०१० देखि २०१५ को अवधिमा समग्र कास्की जिल्लाको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो भने तत्कालीन पोखरा उप-महानगरको जनसंख्या बृद्धिदर ५.२१ प्रतिशत थियो । यसरी बढ्न सक्ने जनसंख्यालाई योजनाबद्ध तरिकाले ब्यवश्थापन नगर्ने हो भने यी र अरु फाँटहरु पूरै मासिने अवश्था आउन धेरै समय लाग्दैन ।

उब्जाउ जमीन कुनै पनि देश वा क्षेत्रको महत्वपूर्ण सम्पत्ति हो र खाद्य आत्मनिर्भरता आत्मविश्वाशको स्रोत हो । महानगरमात्रैको तथ्यांक उपलब्ध हुन सकेन तर महानगरको अर्थतन्त्र कास्की जिल्लाको अर्थतन्त्रको प्रमुख हिस्सा भएकाले  समग्र कास्की जिल्लाको तथ्यांककै आधारमा पनि एउटा चित्र बनाउन सकिन्छ । हालैका तथ्यांक हेर्दा कास्की जिल्ला आलुमा मात्र आत्मनिर्भर देखिन्छ, अरु खाद्य उत्पादन आवश्यकतभन्दा उल्लेख्य कम छ । अन्न बालीमा आत्मनिर्भरता ७४ प्रतिशतमात्रै छ भने तरकारी बालीमा ९० प्रतिशत छ । तेलहन र दलहनमा आत्मनिर्भरताको स्थिति अत्यन्त कम क्रमश: ३ र ४ प्रतिशत मात्रै देखिन्छ । पशुजन्य उत्पादनका हकमा पनि यो भन्दा राम्रो स्थिति छ भन्ने लाग्दैन ।

पंक्तिकारको आशय सबै कुरामा आत्मनिर्भर हुनैपर्छ, हुनसक्छ भन्ने भने होइन । कुनै पनि ठाउँ सबै थरी कृषि उत्पादनमा पूर्ण आत्मनिर्भर हुन सम्भव छैन, तर आत्मनिर्भरताको स्थिति जति धेरै भयो उति राम्रो हो । खेतीयोग्य फाँटहरु मासिँदै जाँदा स्वाभाविक रुपमा यो आत्मनिर्भरता कम हुँदै जान्छ र सहर खाद्य सामाग्रीमा बढी परनिर्भर हुँदैजान्छ । खाद्य सामाग्रीको ठूलो अंश बाहिरबाट आयात गर्नुपर्ने अवश्थाले महानगरको समृद्धियात्रालाई बाधा त दिन्छ नै, कुनै प्राकृतिक वा भू-राजनीतिक संकटका बेला सजिलै खाद्य संकट पनि सृजना हुन सक्छ ।

पोखराको परिचयको आयाम बिस्तार हुँदै छ । देशका सर्वाधिक संभावनायुक्त प्रदेशहरु मध्येको एक प्रदेश नं ४ को क्षेत्रीय राजधानी यहीँ रहने लगभग निश्चित छ, यहाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्दै छ र भविष्यमा कोरला नाका हुँदै चीन र नेपाल बीचको सम्पर्क बढ्ने क्रमको केन्द्रमा पनि पोखरा नै हुनेछ । यसरी पोखरा एउटा गतिशील पर्यटकीय र ब्यापारिक राष्ट्रिय-अन्तर्राष्ट्रिय ‘हब’ बन्ने छ । यसैले पोखराको भावी योजना बनाउँदा यी तीनै कुराहरुलाई केन्द्रमा राख्नुपर्ने हुन्छ । पोखराको स्वरुप यी तीन कुराका माध्यमबाट बिस्तारित हुने गतिबिधिहरुलाई धान्न सक्ने गरी आधुनिक र सुविधासम्पन्न हुनुपर्छ, अर्कोतिर यसको सौन्दर्य पनि मासिनु हुँदैन ।

पोखरालाई कस्तो बनाउने भन्ने कुराको प्रस्थानबिन्दू ‘पोखराले के के गर्ने?’ भन्ने हो । पर्यटन, औद्योगीकृत कृषि-पशुपालन, सेवामूलक उद्योग, उत्पादनमूलक उद्योग, वित्तीय सेवा, शिक्षा, स्वास्थ्य सेवा आदि मध्ये कुन-कुन आर्थिक गतिविधि र उद्योगलाई पोखराले आफ्ना केन्द्रीय वा मुख्य उद्योगका रुपमा लिने र ती मुख्य उद्योगलाई सघाउन आवश्यक पर्ने अरु कुन-कुन उद्योगलाई कुन तहसम्म अपनाउने भन्ने बारेमा एउटा स्पष्ट अवधारणा बन्नुपर्छ । यसले अल्पकालीन र दिर्घकालीन दुबै थरी योजना निर्माणमा सहजता दिनेछ ।

पोखरा भरतपुर महानगर जस्तो एउटै समथर भौगोलिक निरन्तरतामा अवश्थित छैन । समथर भौगोलिक निरन्तरता हुँदा एउटा केन्द्रीय (कोर) भागको वरिपरि सहर विस्तारित हुँदै जान्छ जुन सम्भावना यहाँ छैन । साबिकका पोखरा उप-महानगर, लेखनाथ नगर र गाभिएका गाविसहरु-सबै फरक-फरक भौगोलिक विशेषताका छन् । यसैले पोखराको विकास योजना केहि जटिल हुनजाने निश्चित छ । पोखरा पहिलदेखिनै बढी विकसित भएको र महानगर स्तरीय संरचनाहरु पनि यहीँ रहने भएकाले यो स्वाभाविक रुपमा महानगरको केन्द्रका रुपमा रहन्छ । तर बढी केन्द्रीकरणले  साबिकका गाविसहरु मात्र होइन लेखनाथ क्षेत्रसमेत छायामा पर्न जाने खतरा देखिन्छ । यस्तो हुनु स्वयं पोखराकै लागि समेत लाभदायक हुन सक्दैन । यसैले प्रादेशिक संसद, प्रदेशका प्रशाशनिक पूर्वाधार र प्रदेश तहका सांगठनिक संरचनाहरुलाई लेखनाथमा राखेर लेखनाथलाई महानगरको अर्को केन्द्रका रुपमा विकास गरिनुपर्छ । ठूला सहरहरुका केन्द्रीय (कोर) भाग सामान्यतया प्रशाशनिक र ब्यापारिक-आर्थिक केन्द्रका रुपमा रहेका  हुन्छन्, बसोबासका केन्द्रका रुपमा भने सुविधासम्पन्न ‘स्याटेलाइट सिटी’हरु विकास गरिएका हुन्छन् ।  सहरी जनसंख्याको उल्लेख्य भाग दिनभरि सहरमा काम गर्छ र रातको समय बिताउन यस्ता ‘स्याटेलाइट’ तिर फर्कन्छ ।  यसो गर्दा सहरको केन्द्रीय भागको व्यवश्थापन जटिलताहरु कम हुन्छन् । यसैले पोखरा महानगरको विकासका लागि  दुइ केन्द्र र धेरै उपकेन्द्र (स्याटेलाइट)को अवधारणा आवश्यक पर्छ ।

साबिकको पोखरा भित्रै पनि महानगरपालिकाको  वडा नं १ देखि १२ ‘कोर’ पोखराको रुपमा रहने देखिन्छ । यी वडाहरु वरिपरिका सहरीकरण हुन थालेका भागहरुलाई ‘कोर’ पोखराको बाहिरी वृत्तका रुपमा योजनाबद्ध विकास गर्न सकिन्छ ।  निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अत्यन्त निकटतका कारण कोर पोखरामा अग्ला भवनहरु बनाएर बढ्दो जनसंख्या र बढ्दो ब्यापारिक गतिबिधिहरुको व्यवश्थापन गर्न सक्ने सम्भावना देखिँदैन । यसैले भएको सीमित जमीनलाई अत्यन्त सावधानीसाथ प्रयोग गर्नु पर्ने हुन्छ । फेरि एउटा आधुनिक महानगर बन्ने महत्वाकांक्षा राखिसकेपछि पोखरासंग फराकिला सडकहरु र व्यवश्थित सार्वजनिक यातायात त हुनुपर्छ नै, साथमा प्रशश्त उद्यानहरु, संग्रहालयहरु, ग्यालरीहरु, थिएटरहरु आदि पनि हुनुपर्छ । पोखराको प्राकृतिक सौन्दर्यसंग सामञ्जस्य हुने गरी यस्ता संरचनाहरुको स्वरुपमा पनि सौन्दर्य चेत झल्किएको हुनुपर्छ । यी जटिलता र सीमितताहरुको माझबाट पोखरा निर्माणका उचित योजना निकाल्न निश्चयपनि ब्यापक अध्ययन र विमर्श आवश्यक पर्छ।

महानगरभित्रका पुरुन्चौर, भरतपोखरी आदि जस्ता क्षेत्रमा छरिएर रहेका बस्तीलाई एकत्रित गरेर योजनाबद्ध र सुविधासम्पन्न साना सहरहरुको निर्माण गर्न सकिन्छ । यस्ता सहरहरु महानगरका उपकेन्द्रहरु हुनेछन् । यी उपकेन्द्रहरु कृषि, कृषिमा आधारित उद्योगहरु र पर्यटनका माध्यमबाट गतिशील हुन सक्छन् । यी सहरहरु कोर पोखराको जनसंख्याको एक अंशको आवासीय प्रयोजनका लागि पनि उपयुक्त हुन्छन् ।  आवश्यकता हेरी यस्ता सिटीहरुको निर्माण पोखरा महानगर नजिकका गाउँपालिकाहरुमा समेत गर्न सकिन्छ । यसका लागि सम्भाव्य ठाउँहरुको बृहत् भौगर्भिक अध्ययन गरी उपयुक्त निर्माण योजना तयार पारिनुपर्छ ।

बृहत् भौगर्भिक अध्ययन, वर्गीकरण र अभिलेखीकरण कोर पोखराकै पनि आवश्यक छ ।  चर्चामा आएजस्तो पर्वत वा तनहुँका भाग समेतलाई गाभेर ‘बृहत् पोखरा’ बनाउन शुरु गर्नका लागि प्रादेशिक र केन्द्रीय तहकै योजनाहरु आवश्यक पर्छ, जसका लागि चाहिने स्थायित्व र इच्छाशक्ति हाम्रो देशको राजनीतिमा सृजना भइसकेको देखिँदैन । पोखरा-लेखनाथ महानगरले आफ्नै सीमा र बढीमा कास्की जिल्लालाई आधार मानेर योजना बनाउन शुरु गरिहाल्नुपर्छ र यहि भौगोलिक सीमालाई उपयोग गरेर पनि यसले एउटा व्यवश्थित महानगरको स्वरुप लिनसक्छ ।

नयाँ प्रशाशनिक संरचना अनुसार पोखरा-लेखनाथ महानगरपालिकाले कास्की जिल्लाको २३ प्रतिशत भूभाग ओगटेको छ भने यहाँको जनसंख्या कास्कीको कूल जनसंख्याको ८४ प्रतिशत छ गाउँबाट सहरतिरको बसाइँ सराइको तिब्रताका कारण जमीन र जनसंख्याको वितरणमा रहेको यो असन्तुलन भविष्यमा अझ बढ्ने निश्चित छ । पोखरा-लेखनाथ महानगरभित्रै पनि यो असन्तुलन छ । वि.सं. २०६८ सालको जनगणनामा पोखरा उप-महानगरको सहरी क्षेत्रको जनघनत्व २,८३०.७९ प्रति वर्ग कि.मी. थियो भने लेखनाथ नगरको सहरी क्षेत्रमा ५३४.१४ प्रति वर्ग कि.मी. मात्रै थियो । पोखरा र लेखनाथका ग्रामीण भेगहरु र महानगर बनाउने क्रममा गाभिएका गाविसहरुको जनघनत्व यो भन्दा धेरै कम छ । कास्कीका गाउँपालिकाहरुमध्ये रुपा गाउँपालिकाको जनघनत्व १५३ छ भने बाँकी अरु तीनको ६८, ४० र ३२ प्रति वर्ग कि.मी. मात्रै छ । यो असन्तुलित वितरणले गर्दा एकातिर महानगरको व्यवश्थापन जटिल हुन जान्छ भने अर्को तिर ग्रामीण भूभागमा रहेका जमीन र जंगलजस्ता स्रोतको उपयोग हुन नसकी खेर जान्छ । यसरी खाली रहेको पहाडी भूभागलाई महानगरले औद्योगिक रुपले उपयोग गर्न सक्छ । पोखरा वरिपरिको पहाडी भूभाग पर्यटन मात्र होइन काष्ठ उद्योग, जडीबुटी, फलफूल, औद्योगीकृत पशुपालन आदिका लगि धेरै सम्भावना बोकेको क्षेत्र हो । अहिलेसम्म पर्यटनमा बाहेक अन्य क्षेत्रमा काम हुन सकेको छैन । पर्यटनमै पनि सम्भावनाको केहि अंशको मात्रै काम भएको छ ।  यी सबै सम्भावनाहरुको उचित दोहन गर्न सक्ने हो भने महानगरको समृद्धिमा ठूलो टेवा पुग्नेछ ।

आवश्यक सम्पूर्ण पूर्वाधारहरु निर्माण गर्न र एउटा गतिशील, जीवन्त सहरका रुपमा समृद्धिको यात्रा अघि बढाउन पोखरालाई उर्जाको निश्चिन्तता चाहिन्छ । यसमा पनि विशेष गरी भरपर्दो विद्युत प्रणाली अपरिहार्य छ । पोखरामा बायोग्यास, सौर्य उर्जा आदि जस्ता नवीकरणीय स्रोतको विकास र प्रयोगको सम्भावना पनि धेरै छन् । अहिले आवश्यक उर्जा, भविष्यमा बढ्ने माग, उपलब्ध हुन सक्ने स्रोतहरु र तिनको विकासका बारेमा महानगरले आफ्नो एउटा स्पष्ट अवधारणा र योजना बनाउनु पर्छ ।

पोखराजस्तो संभावनायुक्त महानगरको विकासका लागि योजना बनाउँदा तत्कालका लागि मात्र नभै दिर्घकालीन दृष्टिकोण हुनुपर्छ । पूर्वाधार निर्माणका योजनाहरुले कम्तिमा आगामी ५० वर्षसम्मको पोखरालाई ध्यानमा राखेको हुनुपर्छ । महानगरसंग स्पष्ट र व्यवश्थित संस्थागत निरन्तरता हुनुपर्छ र एउटा नेतृत्वले शुरु गरेको योजनालाई अर्को नेतृत्वले निरन्तरता दिन सक्नुपर्छ । एउटा नेतृत्वले एउटा घोषणा गर्ने, पछि आउने नेतृत्वले अघिल्लोले शुरु गरेका कामलाई छोडेर अर्को घोषणा गर्ने कार्यशैलीमा अल्झिने हो भने विकसित र व्यवश्थित पोखराले मूर्त रुप लिन सक्ने छैन ।

(यो लेख केहि सम्पादन सहित पोखराबाट प्रकाशित हुने राष्ट्रिय दैनिक 'समाधान'मा मिति २०७४/०३/०६ मा छापिएको थियो)


April 07, 2017

बिदामा के गर्ने?

यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइइ) चैत ११  मा सकिएको छ। एसएलसीबाट नाम फेरेर एसइइको नाममा सञ्चालन भएको पहिलो पटक हो। मूल्यांकन प्रणाली पोहरबाटै परीवर्तीत भईसकेको छ। नाम र मूल्यांकन प्रणाली बाहेक देशको शैक्षिक संक्रमणकालले बाँकी कुराहरुलाई मिलाउन र स्थायित्व दिन बाँकीनै छ। यसैले विगतको एसएलसी र एसइइमा कुनै अन्तर देख्न सकिएको छैन, परीक्षा ठ्याक्कै उहि ढंगले सञ्चालन भयो। विद्यालयहरु, विद्यार्थीहरु र अभिभावकहरुले यसलाई हेर्ने दृष्टिकोण पनि अझै उस्तै छ। कक्षा १२ लाई विद्यालय शिक्षाको अन्त्य मानिईसकेको अवश्थामा कक्षा १० पछिको एसइइलाई यति तामझामका साथ राष्ट्रिय स्तरमै सञ्चालन गरिनुनै आवश्यक छ कि छैन भनेर समेत प्रश्न उठाउन सकिने ठाऊँ छ। यसपछिका ११ र १२ कक्षाहरु कसरी सञ्चालन हुन्छन् भन्ने अष्पष्टताको पनि समाधान भईसकेको छैन।

यो एसइइपछि पनि विद्यार्थीहरुले झण्डै तीन महिनाको बिदा पाएका छन्। यो बिदालाई कसरी बिताउने, कसरी उपलब्धिमूलक बनाउने भन्ने कुरामा विद्यार्थीहरु र अभिभावकहरुको ध्यान जानु जरुरी छ।

आजका विद्यार्थीहरु सानैबाट विद्यालय जान थाल्छन्। शहरी क्षेत्रमा प्रि-नर्सरी, मोन्टेस्सरीका नाममा २ वर्ष वा त्यो भन्दा कम उमेरबाटै विद्यालय शिक्षा शुरु हुन्छ। ग्रामीण भेगमा पनि अचेल बच्चाहरु नर्सरीबाटै विद्यालय जान्छन्। नर्सरीबाट गन्ने हो भने पनि एसइइ सकिँदासम्म विद्यार्थीहरुले १३ वर्षको विद्यालय जीवन बिताईसकेका हुन्छन्।

हाम्रो शिक्षा प्रणालीमा रचनात्मकताको अभाव छ। किताब रटेर सकेसम्म धेरै नम्बर ल्याउनुपर्ने ‘नम्बरमुखी’ प्रवृत्तिले शिक्षालाइ रचनात्मक र बहसमूलक हुनबाट रोकेको  छ। जति-जति कक्षा चढ्दै गयो उति यो नम्बरमुखी प्रवृत्ति बढ्दै जाने र विद्यार्थीहरु किताबमै घोटिने समय पनि बढ्दै जाने हुने गरेको छ। यसले विद्यार्थीहरुलाई निरन्तर मानसिक रुपमा थकाउँछ। किताबकेन्द्रित शिक्षाले ब्यक्तित्वको चौतर्फी विकास हुन पनि दिँदैन। अर्कोतिर, विद्यार्थीहरुको समाजसंगको घुलमिल र चिनजानलाई पनि यसले सीमित गराईदिन्छ। हाम्रो समाज र राज्यले खेलकूदलाई खासै महत्व र इज्जत नदिने हुँदा विद्यालयहरुले पनि खेलकूदमा खासै लगानी गर्दैनन्। यसले गर्दा एसइइ दिएका हाम्रा विद्यार्थीहरु अरु देशका उहि उमेरका विद्यार्थीहरुको दाँजोमा शारीरिक रुपमा पनि कम तन्दुरुस्त  र कम छरिता हुन्छन्।

त्यसैले बिदाका यी तीन महिना विद्यार्थीहरुको शारीरिक र मानसिक पुनर्ताजगीमा लगाउनुपर्छ। यस कुरामा विद्यार्थी र अभिभावकहरु सचेत हुनैपर्छ। ब्रिज कोर्स वा अन्य कुनै नाममा फेरि किताबी रटानमै लगियो भने त्यो शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त हुन सक्दैन।

यसैले यो बिदालाई सकेसम्म उपलब्धिमूलक बनाउने हो भने अभिभावकहरुले आफ्ना बच्चाबच्चीलाई फेरि किताबमुखी-रटानमुखी कृयाकलापबाट जोगाएर बिभिन्न अतिरिक्त कृयाकलापहरुमा लाग्न प्रेरित गर्नुपर्छ। तीन महिना बिदाको कम्तिमा दुई महिना उनीहरुमा शारीरिक र मानसिक पुनर्ताजगी हुनेगरी खेलकूद, संगीत, कला, रचनात्मक लेखन आदि सिक्न लगाउनुपर्छ। त्यस्तै शहरमा रहेका म्युजियमहरु र ग्यालरीहरु चहार्न पठाउनुपर्छ। शहरमा हुने प्रदर्शनी, मेला र कन्सर्टहरुमा दिनभरि घुम्न लगाउनुपर्छ। विश्वप्रसिद्ध साहित्यिक रचनाहरु पढ्ने बानी बसाल्न सकियो यहि बेलामा भने उनीहरुको सोच र ब्यबहारको क्षितिज फराकिलो हुन्छ। हलिउड र अन्य प्रसिद्ध चलचित्र उद्योगका अन्तर्राष्ट्रिय रुपमा पुरष्कृत चलचित्रहरु हेरे भनेपनि उनीहरुको फरक संस्कृतिको ज्ञान त बढ्छ नै, उनीहरुमा तुलनात्मक विश्लेषण-समीक्षाको समेत बानी लाग्छ।

यस्तै, आफ्नै शहर र गाऊँठाऊँको राजनीतिक-साँस्कृतिक इतिहासको खोजी गर्ने, पाकाहरुसंग सोधेर टिपोट बनाउने जस्ता काम गराउन सकिन्छ। फरक समाज र फरक संस्कृतिको अनुभव गराउनका लागि उनीहरुलाई अन्य शहरहरुतिर घुम्न पठाउन सकिन्छ र नेपालको सौन्दर्यमा गर्व गराउन उनीहरुलाई बिभिन्न पदयात्राहरुमा पठाउन सकिन्छ।

विद्यार्थीहरुको यो बिदालाई लक्षित गरेर खुल्ने र चल्ने बिभिन्न इन्स्टिच्युटहरुले पनि किताबी रटानको साटो यस्ता रचानात्मक र मनोरञ्जनात्मक कृयाकलापहरुको सहजीकरण गर्न सके भने समाजको लागि ठूलो गुन हुनेछ।