March 24, 2013

रोगहरु र 'भूपीकरण'को नयाँ रोग

विश्व साहित्यमा के कसो छ कुन्नि, तर नेपाली साहित्यमा भने कवितालाई 'सबैभन्दा धेरै लेखिने' र 'सबैभन्दा कम पढिने' बिधाको रुपमा लिईन्छ।

यतिखेर, यसले माथि उल्लेखित आफ्ना दुई उपाधिहरुमध्ये 'सबैभन्दा धेरै लेखिने'लाई भने गुमाउनै थालीसकेको हो कि जस्तो पनि लाग्छ मलाई त।

अचेल मेरा धेरै शनिबारहरु पोखरामा नियमित भईरहने कुनै न कुनै साहित्यिक कार्यक्रमहरुमा सहभागी भएर बित्छन्। मुक्तक वा गजलकै लागि भनेर आयोजित कार्यक्रमहरुमा कविता वाचन हुने कुरो भएन तर मुक्तक, गजल, कविता, गीत आदि जे वाचन गरेपनि हुने 'साझा' कार्यक्रमहरुमा कविता अत्यन्त थोरै वाचन हुन्छन्। वाचन गरिएका रचनाहरुको उग्र बहुमतमा जहिले पनि गजल हुन्छ। हुनत, गजलमै पनि धेरैजसो क्षणिक वाहवाही र तालीका लागिमात्रै लेखिएका अल्पायु हुन्छन् तर कूल संख्या धेरै भएपछि गुणस्तरीय रचनाको पनि संख्या बढ्ने सम्भावना त हुन्छ नै।  नेपाली गजलको यतिखेरको आँधी र बाढीले कुन दिशा लिन्छ, त्यसलाई भविष्यकै जिम्मामा छोडौं अहिलेलाई र कुरा गरौं कविताकै। 

नेपाली कविताको एउटा प्रमुख समस्या भनेको जसले पनि कविता लेख्ने, जे विषयमा पनि कविता लेख्ने र जे लेखे पनि त्यसलाई कविता देख्ने हो। कसैले लेख्न पाउने अधिकारमाथिको हस्तक्षेप होईन यो, केवल मैले देखेको कुरालाई यहाँ लेखेको हुँ। लेख्न सबैले पाऊँछन्, त्यसमा सन्देह छैन तर 'जे पनि लेख्ने' धेरै हुँदै जाँदा मान्छेले त्यो विधालाई गम्भीरतापूर्वक लिन छोडिदिन्छन्। पद्य कवितामा यो समस्या धेरै देखिँदैन, त्यसमा एउटा स्पष्ट नियम र सीमामा बस्नुपर्ने हुन्छ तर गद्य कवितालाई भने मान्छेहरुले शैलीगत अराजकताको पर्याय बनाएका छन्। बिम्बहरुलाई घचेटघाचट-ठेलमठेल गराएर हरफहरुलाई लामो-छोटो बनाएपछि कविता बनिहाल्छ भन्ने मान्यताले जरा गाडेको छ, कतिपय 'कविता' त सामान्य कुराकानीका अंश जस्ता पनि लाग्छन्। मान्छेहरु के बुझ्दैनन् वा बुझेर पनि बुझ पचाऊँछन् भने जतिसुकै 'स्वच्छन्द' वा शैलीगत स्वतन्त्रता बोकेको भए पनि गद्य कविताले चिनिने 'आधुनिक' शैलीका हरेक 'सफल' कवितामा एउटा आन्तरिक शैली र लय स्पष्ट देख्न सकिन्छ। कविता 'प्राविधिक' विधा होईन, यो एउटा विशुद्ध भावनात्मक विधा हो र यस्तो विधालाई कुनै न कुनै स्पष्ट लय र शैलीबिना प्रस्तुत गर्नै सकिँदैन; कवितापिच्छे छुट्टै शैली र लय होला, त्यो बेग्लै कुरो हो। 

यसैले कवितामा भावनाको प्रधानता हुनुपर्छ, घटनाको होईन। कुनै घटनाले उब्जाएका भावलाई कविताले बोक्ने क्रममा घटनाहरु उल्लेख गर्नैपर्ने भएपनि सकेसम्म कम हुनुपर्छ। कवितामा घटनाक्रमहरु बढी ओईरिए भने त्यो कुनै निबन्ध वा कथाजस्तो बन्छ, अझ बिग्रेको स्थितिमा 'बिग्रेको समाचार' बन्छ। हुनत, निबन्ध वा कथापनि मानव भोगाई र भावनालाई ब्यक्त गर्ने बिधाहरु हुन् तर ती अलि बढी 'प्राविधिक' र घटनाप्रधान हुन्छन्। तिनको एउटा स्पष्ट उद्देश्य हुन्छ, आफ्नो सन्देशलाई जसरी हुन्छ आफूले चाहेजसरी ब्याख्या गरेर पेश गर्नका लागि ती काम लाग्छन्। उपन्यास तिनैको संयुक्त र विस्तारित रुप हो। तर कवितामा त्यस्तो ब्याख्या हुनुहुँदैन, कवितालाई आफूले चाहेजसरी ब्याख्या गर्न पाठकहरुले मात्र पाऊनुपर्छ, स्वयं कविले पनि पाउनुहुँदैन। कविले कविताको आत्मा सृजना गरेर छोडिदिनुपर्छ र त्यसमा शरीर भर्ने काम पाठकहरुले गर्न पाउनुपर्छ। कविको काम झिल्का फ्याँकिदिने हो, आगो बाल्ने काम कविताका पाठकहरुको हो। यसैले कविताहरु छोटा हुनुपर्छ। यो मेरो ब्यक्तिगत मान्यता हो, असहमति जनाउन यहाँहरु स्वतन्त्र हुनुहुन्छ।    
    
कविता लेखनमा नेपालका धेरै नेताहरु र प्रशाशकहरुको पनि अचम्मलाग्दो 'लोभ' देखिन्छ। तीमध्ये थोरैले मात्र राम्रो लेख्छन्, धेरैले चाहिँ कविताकै बेईज्जती लेख्छन्। यो कुरो बेग्लै हो कि आफ्नो पहुँच र चिनजान प्रयोग गरेर तिनीहरुले सजिलै प्रकाशित हुने अवसरहरु भने पाईरहन्छन्। कतिपय कार्यक्रमहरुमा यस्ता नेता र प्रशाशकहरुका पट्यारलाग्दा लामा टपर्टुईँया 'कविता'हरु सुन्न बाध्य भएको छु म। ती कुनै समाचारजस्ता लाग्छन्, कुनै 'बिग्रेका' कथाजस्ता लाग्छन् र कुनै त के हुन् पत्तै हुँदैन। यो लोभ कहिलेकाहिँ 'राम्रा' र 'स्थापित' कविहरुमा पनि पलाऊँदो रहेछ क्या र। २-३ शनिबार पहिलाको कान्तिपुर कोसेलीमा श्रवण मुकारुङ्गको 'शिवले पिसाब फेरेको---' कविता छापिएको थियो। उनको त्यो कविता उनका यस अघिका कविताहरुको उचाईलाई बिल्कूल नसुहाउनेगरी बाउन्ने थियो। उनले प्रयोग गरेका बिम्बहरु हामीले बुझ्दैनौं होला वा यो बिम्बहरुको नयाँ प्रयोग होला जो हामीजस्ताको दिमागको वशमा छैन होला-यो स्विकार्न पनि सकिन्छ, तर शैलीका हिसाबले पनि त्यो एउटा कविताजस्तो बिल्कूलै छैन। कुनै दन्त्यकथाका हरफहरुलाई लामोछोटो बनाएर पेश गरेजस्तो छ। उनले यसलाई दन्त्यकथा, नीतिकथा वा लघुकथाको रुप दिएको भए बरु बेश हुन्थ्यो होला। फेरि यो कविताले कविता कन्सर्टमा ब्यापक 'वाह! वाह!!' र ताली अनि पुरस्कार पनि पाएको हो रे। त्यो 'वाह! वाह!!' र ताली त्यो 'कविता'मा जम्मा गरिएका केहि उट्पट्याङ्ग शब्दहरुको उट्पट्याङ्ग प्रयोगले पाएका हुन् भन्ने मेरो ठहर छ, पुरस्कारचाहिँ कुन निर्णायकले किन दिए भेऊ पाउन सकेको छैन।

साहित्यिक रचना छाप्ने कुरामा कोसेली र नेपालका अरु धेरै पत्रिकाहरु रचनाभन्दा पनि रचनाकारको अनुहार र पहुँच-चिनजान हेरेर निर्णय लिने हुँदा कोसेलीमा कविता छापिनुपनि अर्को अनौठो भएन। 

नेपाली कवितामा थपिएको नयाँ रोगचाहिँ आपसी 'भूपीकरण' को हो। राजधानीका साहित्यिक सिण्डिकेटहरुमा ब्यापक रुपमा फैलिईरहेको यो रोगको लक्षण के हो भने 'क' ले 'ख' लाई 'तँ त आजभोलिको भूपी होस्।' भनिदिन्छ, 'ख' ले 'ग' लाई 'हाम्रो जमानाको भूपी तैं होस्।' भनिदिन्छ र फेरि 'ग' ले 'क'लाई 'भूपीको खास उत्तराधिकारी तैं होस्।' भनिदिन्छ। यसरी "तैं बाहुन, मै बाहुन---" को शृंखला चलीरहने क्रममा पाँच-सात जनाबाट 'भूपी'को उपाधि पाएपछि कुनै 'कवि' आफूलाई साँच्चिकै 'भूपी' ठान्नथाल्छ र आफैंपनि आफूलाई भूपी घोषणा गर्नथाल्छ। यसरी अहिले नेपाली कविताबजारको सिण्डिकेटमा दारुपानमित्रघोषित र स्वघोषित 'भूपी'हरुको बिगबिगी छ।

म भूपीलाई अत्यन्तै श्रद्धा गर्छु। उहाँले नेपाली कवितालाई एउटा नयाँ उचाई र एउटा सुन्दर आयाम दिनुभएको छ। उहाँका कविताहरु नेपाली भाषाको सौन्दर्य, मिठास र शक्तिका अनुपम उदाहरण हुन्। अब अर्को कवि भूपी हुनसक्दैन तर उहाँजत्तिकै प्रभावशाली भने बन्नसक्छ। कुनै कवि भूपीजत्तिकै प्रभावशाली होला, उसले त्यस्तै उचाई छोला तर ऊ भूपीकै 'फोटोकपी' बनेर हिँड्दा भने त्यो सम्भव छैन। हरेक कविको आफ्नै छुट्टै विशिष्टता हुन्छ, छुट्टै शैली-लय हुन्छ र ऊ फैलिने छुट्टै आयाम हुन्छ। आफूलाई आफ्ना समकालीनहरुभन्दा  'पृथक' र उम्दा देखाउन बलजफ्ती गरिने यस्ता 'भूपीकरण' हरुको हावादारीतामा कुनै शंका छैन। 

यसरी नयाँ-नयाँ रोगहरु थपिँदै गएपछि नेपाली कविता कसरी 'निरोगी' होस् तः)

4 comments:

  1. सान्दर्भिक लेख!!
    विशेष 'भुपीकरण'को कुरो साह्रै घत लाग्यो :)
    यसबारेमा आफुले पनि अलि अलि चाल पाएको भएर होला कि सायद!!

    ReplyDelete
  2. चित्त बुझ्यो । म पनि कविता लेखिटोपल्छु कैलेकाहीँ फेरि पनि मलाई तपाईंले अनुभूत गर्नुभएझैं हुन्छ अचेल कविताहरू पढ्दा - आफ्नै कविता पनि । कविता हुन् कि गोबरका गुइँठा जस्तो ।

    ReplyDelete
  3. सही विषय र उम्दा तर्क एवं दृष्टिकोण ।

    ReplyDelete
  4. विचार अत्यन्तै चित्तबुझ्दो लाग्यो । यी कैयन् प्रसंगको आफू पनि साक्षी रहेको छु, पाठकका रुपमा र समकालीन सिर्जनयात्री रुपमा । अहिलेको हाम्रो साहित्यिक चौतारी गुटबन्दी, हदबन्दी र पावन्दीको माखेसाङ्लोले पिल्सिएको छ ।

    भूपीको कुरामा, आफूमा विश्वास नहुँदा 'भूपीकरण'को बैशाखी टेकेर आड लाग्दा हुन् कतिपय । तर त्यसबाट भूपी कति प्रभावशाली र तिक्खर रहेछन् भन्ने बल पनि साबित हुन आउँछ । हरेक समयको साहित्यिक वृत्तमा अघिल्लो पुस्तालाई देउता, आदर्श र प्रेरणा माने पनि आफ्नो गोरेटो नठम्याई धरै छैन । पुरानै देउताको शक्तिलाई सम्मान गरे पनि मूर्तिपूजा गरेर इतिहासकै दैलोमा पसारो परिरहनु वर्तमानकै आत्मदाह हो भन्ने लाग्छ ।

    श्रवण मुकारुङको कविताले बीबीसीले काठमाडौंमा गरेको कविता कन्सर्टमा चुटकिलासरह वाहवाही पाए पनि पत्रिकामा छापिएर आएपछि बौद्धिक पाठकबाट धेरै आलोचना खेप्यो । त्यो बतास कवि मुकारुङसम्म पुग्यो-पुगेन कुन्नि ! र यस ब्लगमा उल्लिखित मुकारुङको कविताले पुरस्कार पाएको कुरा अलिक गलत भएर आएछ । खासमा कविता कन्सर्टमा रचना वाचनका लागि छानिएका १० भन्दा बढी कविलाई जनही १०-१० हजार रुपैयाँ पारिश्रमिक दिइएको हो ।

    ReplyDelete