सन् १९९१ को डिसेम्बर २०-२१ तिरबाट
कुरा शुरु भएको थियो।
पेइचिङ्ग भाषा अध्ययन संस्थान
(पेइचिङ्ग यूयान स्युए युआन)मा चिनियाँ भाषा पढ्न थालेको साढे तीन महिना भईसकेको
थियो। त्यतिखेर उक्त अध्ययन संस्थानमा हामी नेपालीहरु २७ जना थियौं। पछि चीनका
बिभिन्न विश्वविद्यालयहरुमा ईञ्जिनियरिङ्ग, चिकित्साशास्त्र आदिमा स्नातक तह पढ्न
छरिनुअघि एक वर्ष चिनियाँ भाषा सिक्दै थियौं हामी। यसपछि त्यहि भाषामै (विषय हेरी)
४ या ५ वर्षे अध्ययन सक्नुथियो। चिनियाँ परम्परागत औषधीशास्त्र पढ्न चाहनेले चाहिँ
चिनियाँ भाषा दुई वर्ष पढ्नुपर्ने रहेछ, दोश्रो वर्षमा चिनियाँ पढ्दै गरेका
त्यस्ता सिनियर पनि दुईजना थिए। एकजना सिनियर चाहिँ चिनियाँ भाषा-संस्कृतिनै
अध्ययन गरीरहेका थिए स्नातक तहमा।
चिनियाँ भाषा गाह्रो भएपनि पढाईको
भार भने खासै थिएन। यसैपनि भाषा भन्ने कुरो पढेर भन्दा परेर जानिने हो, त्यो पनि
विशेष गरी सिकाईका प्रारम्भिक क्षणहरुमा। त्यहि भएर होला, धेरै चिनियाँहरुलाई साथी
बनाउन र सकेसम्म बढी बोल्न प्रोत्साहित गरिन्थ्यो हामीलाई। थोरै साथीहरुले त्यो
‘प्रोत्साहन’लाई गम्भिरतापूर्वक लिन थालीसकेका थिए, तर धेरैजसोलाई सल्लाहले अझै
छोईसकेको थिएन। २७ जना नेपालीको समूह एकै ठाऊँमा भएकाले धेरैजसो भेटघाट, जमघटले
नेपालीकै झुण्डको रुप लिन्थ्यो। अब नेपाली-नेपाली भेला भएपछि पनि चिनियाँ बोल्ने
कुरो भएन। फेरि बेला-बेलामा, र विशेष गरी सप्ताहान्तहरुमा पेइचिङ्गका अरु विश्वविद्यालयहरुबाट
सिनियरहरु पनि आईरहन्थे, कहिले हामी पनि झुण्ड बनाएर कतै पुगिदिन्थ्यौं। यसैले
हामी कक्षामा मात्रै चिनियाँ पढीरहेका थियौं, कक्षा बाहिर भने आफ्नो नेपाली
भाषालाई
नै ‘माझीरहेका’
थियौं।
त्यहि डिसेम्बर २०-२१ तिर एउटा ‘सल्लाह’
पस्यो हाम्रो माझमा, ‘सुविधा’ बेचेर पैसा हात पार्ने।
१९७८ तिरबाट क्रमिक रुपमा खुलापन
अँगालेको चीनमा त्यतिखेरसम्म पनि चिनियाँ जनताले विदेशी उत्पादनका सामानहरु सहजै
किन्न पाऊँदैनथे। चीनमा विदेशीहरुको संख्या बढीरहेको थियो र चिनियाँ सरकारले
विदेशीलाई भने थोरै छुट दिएको थियो, विदेशी उत्पादनका सामान किन्ने। चीनमा
बसीरहेका विदेशीले आफ्नो पासपोर्टको प्रयोग गरेर हङकङ र मकाऊबाट विदेशी उत्पादनका
टिभी, फ्रिज, वाशिङ्ग मेशीन लगायतका घरायसी उपकरणहरु र मोटरसाईकल आदि किनेर ल्याउन
पाऊँथे। हङकङ र मकाओ त्यतिखेरसम्म चीनको अधीनमा फिर्ता आईसकेका थिएनन्। धेरैजसो
विदेशीले आफूलाई दिईएको यस्तो ‘सुविधा’लाई केहि सय डलरमा बेचिदिन्थे।
हामीलाई पनि त्यहि गर्ने र चार सय
डलर हात पार्ने सल्लाह आयो। त्यतिखेर हामीलाई चिनियाँ सरकारले दिने छात्रवृत्ति
प्रति महिना त्यस्तै ६५-७० डलर बराबरको हुँदो हो, नेपाली राजदूतावासले त्यसमै
थपिदिन्थ्यो मासिक २५ डलर। यसैले चारसय डलर हाम्रा लागि थोरै थिएन। केहि साथीहरु
‘यस्तो काम नगर्ने!’ भए। १५-१६ जना केटाहरु भने जाने भयौं। यसैपनि हङकङ वा मकाओ
पुगी आफ्नो सुविधालाई उपयोग गरेर ‘ब्राण्डेड’ सामानहरु किन्न सक्ने हैसियतमा हामी
छँदै थिएनौं, यसैले अलि-अलि दाम पनि हुने र यहि निहुँमा घुमिने पनि हुनाले मलाई
पनि जाने रोजाईनै ठिक लागेको थियो। डिसेम्बरको अन्तिम साता पढाई पनि विदा थियो।
यसका लागि हामी मकाओसंग जोडिएको
बन्दरगाह शहर चुहाई पुग्नुपर्ने थियो। यो चुहाई शन्चन् पछिको दोश्रो ‘विशेष आर्थिक
क्षेत्र’ थियो। त्यतिखेरसम्म मकाओ पोर्चुगलकै अधीनमा थियो। चुहाई पुगेपछि हाम्रो
काम पासपोर्ट बोकेर मकाओपट्टिबाट सामान आयात हुने भन्सार छिर्ने, पासपोर्ट कसैको
जिम्मा लगाउने र भंसारमा कुरेर बस्ने अनि ‘आफ्नो नाम’का सामानले भरिएका ट्रलीहरुको
पछाडि बसेर तिनलाई भंसार कटाएर चीन छिराउने थियो।
फेरि १९९२को जनवरी १ बाट लागू
हुनेगरी चिनियाँ सरकारले यो सुविधा खारेज गरीसकेको रहेछ, यसैले हामीले अर्को महिना
वा अर्को वर्ष जाऊँला भनेर बस्ने संभावना पनि रहेन। ‘काम’ डिसेम्बरभित्रै गर्नु
थियो।
हामी पहिलेका नेपाली
विद्यार्थीमध्ये पनि यस्तो गरीसकेका धेरै रहेछन्। क्वाङ्चौतिर बसेर यो काम
दक्षतापूर्वक गराऊँदै आएका बंगालीहरुको समूहसंग एकजना सिनियरको राम्रो चिनजान
रहेछ। हामीले पेईचिङ्ग छोड्नुअघि उनले ती बंगाली बन्धुहरुलाई फोन गर्दिने,
बंगालीहरुले हामीलाई क्वाङ्चौको रेल स्टेशनमा पर्खिने कुराको निधो भयो।
हामीमध्येका एक-दुई बाठा-पाकाले पनि ती बंगालीका नाम, हुलिया आदि कण्ठ पारे।
२८ गते अपरान्हतिर हामीले पेईचिङ्ग
रेल स्टेशनबाट रेल समात्यौं, हार्ड स्लीपरको टिकट काटेर। त्यतिखेरसम्म पेइचिङ्ग्को
मेट्रो धेरैपटक चढीसकेको भएनि पनि रेलका हकमा भने यो मेरो जिन्दगीकै पहिलो
रेलयात्रा हुँदै थियो, अरु कति साथीहरुको पनि पहिलै थियो शायद। पहिलो रेल यात्राको
रोमाञ्चकता थियो र नेपाली-नेपालीको ठूलो ‘ग्याङ्ग’ पनि। हामीले समूह-समूहमा
बाँडिएर तास खेल्ने, बियर पिउने गरेर बितायौं २४ घण्टा भन्दा बढीको रेलयात्रा।
केहि साथी आफ्नो चिनियाँ भाषाको अभ्यास पनि गर्न थाले। राती तीन घण्टा पनि सुतिएन
होला।
भोलिपल्ट साँझ पर्दा क्वाङ्चौ
पुगियो। स्टेशनबाट निक्लने मुखैमा दुई दक्षिण एशियाली अनुहार हामीलाई छोप्न
आईपुगे। तिनै रहेछन् हामीलाई ‘डलर कमाईदिने’ बंगाली बन्धुहरु। तिनले हामीलाई एउटा
गाडीमा राखेर हुईँकाए। एक ठाऊँमा खाना खान रोकिए बाहेक गाडी रातभरि कुदिरह्यो र ३०
तारीखको बिहानै हामी चुहाई पुग्यौं।
रातभरि केहि देखिएको थिएन,
बिहानीपख खेतीपातीसहितको उष्ण प्रदेशीय फाँट देखिएको थियो। चुहाई पुगेपछि भने
अग्ला-अग्ला घर देखियो, त्यत्ति हो।
त्यहाँ पुगेपछि एउटा रेष्टूरेण्टमा
नित्यकर्म गरेर खाजा खाईयो र लागियो भन्सार गेटतिर, आफ्नो राहदानीको ‘उपयोग’ गरेर
विदेशी/ब्राण्डेड सामान चीन
छिराउन। नौ बजेतिर पुगिएको थियो होला भन्सार गेटमा उभिन। हाम्रा राहदानीहरु पोको
पारेर बागाली बन्धुहरु हिँडेपछि एक घण्टाजति त्यसै अलमल भयो। फर्केर आएर उनीहरुले
हामीलाई दुई-दुई जना भएर बस्न भने। यसरी ७-८ पटक गरेर छिर्ने भयो हाम्रो सामान।
म अन्तिम कि त्यो भन्दा अघिल्लो
‘लट’मा परेको थिएँ। हाम्रा सामान एकै पटक आएका थिएनन्, एउटा ‘लट’को आएको धेरै पछि
मात्र अर्को ‘लट’को आऊँथ्यो। दिऊँसो तीन बज्ने बेला बल्ल मेरो लटको पालो आऊँदा
कुर्दा-कुर्दा हैरान भईसकिएको थियो, यात्राको अनिँदोले पनि आफ्नो असर देखाईरहेकै
थियो। बंगाली बन्धुका ईशारा पाएपछि सामान लादिएर आएका दुई-तीनवटा ठूला-ठूला ट्रलीका
पछि लागियो। ती ट्रलीमा के छन् भन्नेतिर पनि ध्यान गएन। कसैले हामीलाई नराम्ररी
फसाईरहेको पनि हुनसक्थ्यो, त्यो कुराको पनि खासै मतलब भएन त्यतिबेला। भन्सार पास
गर्ने बेलामा राहदानी बुझाईयो। छाप लागेको राहदानी फिर्ता लिईयो, बाहिर आईयो र
पहिल्यै निस्किसकेका साथीहरुको हूलमा मिसियो। अनि को-को सजिलै पास भए र कसलाई
चाहिँ चिनियाँले अलि ‘-याक’ गरे भनेर गफ गर्न थालियो। भन्सार गेट कटेपछि ती
ट्रलीहरु कता लागे थाहा भएन।
सडकमै केहि खाएर एक-डेढ घण्टा
अल्मलिएपछि बंगाली बन्धुहरुसंग गाडी चढियो क्वाङ्ग्चौ फर्किनका लागि। राती दश
बजेतिर बाटोको एउटा रेष्टूरेण्टमा खाना खाईयो। बंगालीहरुले पैसा दिने सूर
ननिकालेकाले एकछिन उनीहरुसंग गल्फती भयो। ‘नदिने कल्ले भनेको छ र? तिमीहरुलाई
आफ्नै चिन्ता छ, हामीले कत्रो खतरा मोलेर यो काम ग-यौं, तिमीहरुलाई के थाहा---?’
भनेर उनीहरु पनि गन्गनाऊँदै थिए। पछि उनीहरुले हामीले छानेका दुईजना ‘पाका’लाई
पैसा दिए र आफैं बाँड्न भने। उनीहरु टिभी हेरेर बियर पिउन थाले र हामी पैसो भाग
लगाउन। सबैका हातमा चारसय डलर बराबरको ‘एफइसी’ परेपछि गन्गन-किच्किच सबै सकियो।
यो ‘एफइसी’ ‘फरेन एक्सचेञ्ज
सर्टिफिकेट’ को छोटकरी रुप हो। त्यतिखेर चीनमा दुईथरी पैसा प्रचलनमा थिए; चीनको औपचारिक
मुद्रा ‘रेन्मिन्पी’ विदेशीले प्रयोग गर्न पाऊँदैनथे। विदेशीले ‘एफइसी’ प्रयोग
गर्नुपर्थ्यो। एक ‘एफइसी’लाई पैसा भन्दा पनि ‘पैसा बराबरको कागजात’ भन्दा अझ ठिक
होला, ‘ट्राभलर्स चेक’ जस्तै। त्यसको केहि समयपछि चिनियाँ सरकारले ‘एफइसी हटायो र
बिदेशीले पनि ‘रेन्मिन्पी’नै प्रयोग गर्न पाउने भए।
गाडी फेरि हुईँकियो र बिहान सबेरै
हामीलाई क्वाङ्ग्चौ ल्याएर छोडिदियो। पेईचिङ्ग जाने रेल साँझमा मात्रै रहेछ। टिकट
काटेर हामी समूह-समूहमा बाँडिएर छरियौं।
हामी छ जना आफ्नो चिनियाँ ‘तोते
बोली’को कनीकुथी प्रयोग गर्दै सोध्दै-खोज्दै सन-यात्सेन मेडिकल यूनिभर्सिटी
पुग्यौं आठ बजेतिर। त्यहाँ अध्ययनरत दुईजना साथीहरु अत्तो न पत्तोसंग हामी आईपुगेको
देख्दा छक्क परे। उनीहरु कक्षातिर जान निस्कँदै रहेछन्। उनीहरुकै कोठामा लम्पसार
प-यौं हामी। बाह्र बजे उनीहरु फर्केर आएपछि उठेर खाना खाईयो र दिनभरि त्यहि
विश्वविद्यालयभित्र घुमियो।
साँझ रेल चढियो। यस पटक ‘सफ्ट
स्लीपर’का थिए हाम्रा टिकट, दाम जो कमाईसकिएको थियो। म परेको क्याबिनमा एकजना
खाईलाग्दा चिनियाँ वृद्धमात्रै थिए, दुईटा स्लीपर खाली थिए। मैले आफ्नो टुटेफुटेको
चिनियाँमा अलि-अलि कुरा गरें उनीसंग। छाओ (ठाओ) थरका ती बूढाबाले आफूलाई
कम्युनिष्ट पार्टीको कुनै तहको अधिकारी भनेको याद छ मलाई।
‘सिन नियान ख्वाए ल!’ (नयाँ वर्षको
शुभकामना!)। बिहान उठेपछि ती बूढाबा र मैले १९९२ शुरु भएको शुभकामना आदानप्रदान
ग-यौं। दिऊँसो पेइचिङ्ग पुगियो।
‘त्यो फ्रिज मेरो हो।‘ पछि कुनै
रेष्टुरेण्टमा खाना खान जाँदा हामीमध्येको एउटाले फ्रिज देखाएर भन्थ्यो।
‘अनि त्यो टिभीचाहिँ मेरो।‘
अर्कोले भन्थ्यो।
‘ऊ! मेरो मोटरसाईकल!’ र मोटरसाईकलहरु
त्यति धेरै नदेखिने त्यतिखेरका चिनियाँ सडकहरुमा कहिलेकाहिँ मोटरसाईकल देख्दा
हामीमध्येको एउटा कराऊँथ्यो।
‘त्यो कालो मोटरसाईकल तेरो होईन
यार, मेरो हो,। तेरो त अलिक निलो छ-----।‘ अर्कोले गफ थप्थ्यो।
चारसय डलरसंग जोडिएका गफ चीन
नछोडुञ्जेलसम्म बेला-बेलामा निक्लिरहन्थे।
(यो संस्मरण 'नेपाल' साप्ताहिकको पछिल्लो अंकमा छापिएको छ, जसलाई तपाईँ यहाँ पढ्न सक्नुहुन्छ; http://www.ekantipur.com/nepal/article/?id=4650 )