February 24, 2011

पोखराका 'लगौंटी' बाटाहरु

पोखराका 'लगौंटी' बाटाहरु चरम अराजक छन्! पोखराका 'लगौंटी' बाटाहरु ज्यानमारा छन्!

यी लगौंटी बाटाहरु कतै माझैमा र कतै छेऊ-छेऊतिर भत्किएर 'मिनी लगौंटी' बनिदिन्छन्। अनि शुरु हुन्छ विपरीत दिशाबाट आईरहेका दुई सवारीको त्यै 'मिनी लगौंटी'मा कब्जा जमाउने प्रतिस्पर्धा! जित्ने शानले 'मिनी लगौंटी' माथिबाट गुड्छ, हार्ने छेऊको खाल्डोबाट आफ्नो बाटो लाग्छ, जित्नेलाई आमाचकारी गाली गर्दै। हार्नेले कहिलेकाहीँ पैदल यात्रीलाई 'माया' गर्न पनि पुग्छ। सग्लै उम्कियो पैदलयात्री भने ऊ पनि एक 'जोडदार' गाली ओकल्दै आफ्नो यात्रा जारी राख्छ।

तिनै 'लगौंटी' बाटामा पनि धेरै ठाऊँमा दुबै साईडमा माईक्रोबसहरुले लामो 'विश्राम' गर्दिनाले 'लगौंटी सुरुङ्ग' को सृजना हुन्छ! यसरी खन्दै-नखनी सुरुङ्ग बनाउन यो पृथ्वीमा अन्त कतै पनि नसकिएकाले पोखराका माईक्रोहरुलाई जति बधाई दिए पनि कम हुन्छ।   

पोखराका अलि ठूला बाटाहरु पनि, सडक-ब्यापारले मिचेर, लगौंटीभन्दा ठूलो कदका छैनन्! चिप्लेढुंगाको ठूलो सडकको दुई तिहाईमा ब्यापार हुन्छ र एक तिहाईमा सवारी चल्छन्। ब्यापार गर्ने ठाऊँको रुपमा सडक निर्माण गर्ने कार्य अन्त होला-नहोला, तर मेरो विचारमा यो पनि पोखराले गर्व गर्न सक्ने एउटा ठूलो 'निधि' हो।

पोखरामा सवारीको चाप नराम्रो संग बढेको छ, त्यसैगरी बढेको छ फोहरको डंगुर पनि। पोखराले काठमाण्डौंको अनुभवबाट केहि पनि सिकेको छैन जस्तो छ। हुन पनि, अर्काको अनुभवबाट के सिक्नु?

देशको दोश्रो ठूलो शहर र प्रमुख पर्यटकीय स्थलले कतिञ्जेल लगौंटीका भरमा आफ्नो लाज छोपिराख्ने होला???

4 comments:

  1. यी लगौटीमा सरम छोप्नेहरुलाई कसले पाइन्ट या हाप पाइन्ट लागाउन सिकाइदेला ! हुन् त सरम नै नमान्नेहरु बढी भए कसले पो कुनै उपाय खोज्छ र ?

    ReplyDelete
  2. ओहो, त्यो दीपदेखि लामाचौरसम्मको बाटोको याद दिलाइदिनुभयो । उहिले उहिले यति डरलाग्दो थियो कि मान्छेहरू बरू बाटुलेचौरतिर गएर पैदल लामाचौर हाँकिन्थे ।
    बिचमा सप्रिएको छ भन्थे, फेरि उस्तै भा' होला ।

    तपाईंकै कविता साह्रै सान्दर्भिक छ ।

    Gaalab

    पोखरा-
    जहाँ ढाका टोपी लागाएर झरेको गाऊँलेलाई
    गुण्डाले लुट्छ र ठोक्छ
    कुकुरले भुक्छ र टोक्छ,
    पोखरा-
    जहाँ बस चालक र सञ्चालकहरु
    बिहान सबेरैदेखि सुन्दर "रात्रिभाषा" बोल्छन्
    र यात्रुका कानलाई "पवित्र" पार्छन्,
    पोखरा-
    जहाँ जहाँ उभिएर हेरेपनि तारहरुले
    अन्नपूर्णलाई तीन टुक्रा
    र माछापूच्छ्रेलाई चारटुक्रा पार्छन्,
    पोखरा-
    जहाँ एकै पटक सडकमा
    मोटरहरु र मोटरसाइकलहरु
    गाईहरु र भैँसीहरु
    मान्छेहरु र कुकुरहरु
    भेला हुन्छन्
    र प्रजातन्त्रको सदुपयोग गर्छन्,
    पोखरा-
    जहाँको शब्दकोषमा "सडक" भन्नाले
    प्रत्येक घरको ढल निकास अथवा
    भैँसीको आहाल भन्ने अर्थ लाग्छ,
    पोखरा!
    सौन्दर्यको बस्ती
    जहाँ मनपरी घरहरुको गाँड पलाउँछ
    पोखरा!
    तालहरुको शहर
    जहाँ सडकमा ताल
    र सडक किनारामा छाल हुन्छ ,

    म जहाँ भएपनि-ए पोखरा!
    गुम्दै गएको तिम्रो सौन्दर्य
    र बढ्दै गएको तिम्रो कुरुपता देख्दा
    मलाई रुन मन लाग्छ ।
    http://sajha.org/sajha/html/openthread.cfm?StartRow=1&PageNum=1&forum=300&threadid=25557

    ReplyDelete
  3. ..विचारोत्तेजक लेखको लागी बधाई। वेदनाथ जी को कमेंट धेरै राम्रो छ।

    ReplyDelete
  4. पर्यटन बर्षको यत्रो रटान, प्रमुख पर्यटकीय शहरको यस्तो हालत हुँदा हाम्रा पोखरेलीहरुलाई यतातिर हेर्ने फुर्सत नै नभएको हो कि मनै नभएको हो कुन्नि ! बसन्तजीको यो संदेश सबैकहाँ पुगोस |

    ReplyDelete