February 20, 2011

बिजुलीको कार्यक्रम र रातभरि बिजुली

नेपाल बसाईले मेरो ब्लगलाई 'शहीद' बनाईदेला जस्तो पो भयो बा:)  यस पटक त दश दिन पो कटीसकेछ!
----------------------------------------------------
हिजोको शनिवारको अघिल्लो शनिवार 'नेपाल विद्युत निर्माण व्यवशायी संघ, कास्की' को एउटा कार्यक्रममा सहभागी हुने अवसर मिलेको थियो। धेरै नयाँ कुरा जान्ने मौका मिल्यो। प्रविधिको एउटा पाटो-प्राविधिक विषयको प्राध्यापन-मा संलग्न मेरा लागि प्रविधिको अर्को पाटो-बजारमा 'चलिरहेका' प्रविधिहरुका बारेमा जान्ने अवसर थियो यो। 'नेपाल विद्युत निर्माण व्यवशायी संघ' केहि समय पहिला मात्रै गठन भएको रहेछ र देशका बिभिन्न जिल्लाहरुमा आफ्नो संगठन विस्तार गर्ने चरणमा रहेछ। 

विद्युत निर्माण व्यवशायलाई हाम्रो समाज र राज्यले अझै पनि सम्मानजनक ब्यबहार गरेको छैन। यसलाई सिभिल निर्माणको एउटा सानो भागको रुपमा मात्रै लिईन्छ। विद्युत निर्माण व्यवशायलाई गुणस्तरीय र प्रतिस्पर्धात्मक बनाउन आवश्यक पर्ने नीति-नियमहरु पनि बनेका छैनन् अझै। यो स्थितिलाई बदल्न र समाज र राज्यको नीतिगत तहमा विद्युत निर्माण व्यवशायलाई उचित र सम्मानजनक स्थिति दिलाउने दिशामा काम गर्न यो संस्थाको परिकल्पना गरिएको रहेछ। यो जान्न पाऊँदा साह्रै खुशी लाग्यो मलाई। कार्यक्रमको अन्ततिर आफूलाई दिईएको बोल्ने मौकामा मैले यसलाई आफ्नो पूर्ण समर्थन दिँदै जापानमा यस बारेमा देखेका/बुझेका केहि कुराहरु पनि राखेको थिएँ। 

आयोजक साथीहरुबाट कार्यक्रमका तस्बीर पर्खेर बस्दा-बस्दै आजसम्म आएन। तस्बीर हात परेका भए अलि पहिल्यैनै यसको बारेमा लेख्थें पनि होला शायद।

दिनको १४ घण्टा लोडशेडिङ्ग खप्नुपर्ने स्थिति एकातिर, बिजुलीसम्बन्धी कार्यक्रमहरुमा सहभागिता अर्कोतिर! जिन्दगी यतिखेर यस्तै विरोधाभाषहरुको संयोग बनेको छ:)
----------------------------------------------------------
गत बुधवारको झरीमय दिन बिहानै अपर्झट काठमाण्डुतिर लाग्नुप-यो। त्यो दिन अचम्मै भयो, रातभरि बत्ती गएन! एक मनले सोच्यो, झरीले गर्दा कुलेखानी भरिएछ कि क्या हो! तर अर्को मनले भन्यो, त्यस्तो जाबो रुञ्चे झरीले पनि कुलेखानी भरिन्छ? बत्ती नगएको कारण सोच्दा-सोच्दै निद्रा भने राम्रो परेन:) पछि सुनेअनुसार त्यो दिन औद्योगिक मजदूरहरुले हडताल गरेकोले उद्योगधन्दामा बिजुली खपत नभएपछि जनताका घर-घरले उज्यालो हुने सौभाग्य पाएका रे! कुरो हो कि होईन रामजाने, नभए प्राधिकरणले जाने!

भोलिपल्ट बिहानबाट त फेरि शुरु भईहाल्यो 'तालिकाबद्ध आतंक'। चिप्ले ढुंगो, उहि टुंगो!

4 comments:

  1. तर एकमन ले लागिरह्यो, एकदिन पानी पर्दा त यस्तो हुन्छ, सँधै परे के हुन्थ्यो होला ?
    तर मजदुर को हड्ताल थियो कि थिएन भन्ने चैँ थाहा भएन !

    ReplyDelete
  2. म पनि आठ दिन काठमाण्डौ बसेर फर्कें...लोडशेडिंग हेरेर अचम्म भयें।

    ReplyDelete
  3. ramro cha sir .yo kura pu ko ho ki wrc ko ?

    ReplyDelete
  4. धन्यबाद! Anonymous ब्रो, यो PU, WRC दुबै तिरको होईन। Electrical Contractors' Association, Nepal भन्ने संस्थाले आयोजना गरेको कार्यक्रम थियो।

    ReplyDelete