February 10, 2011

'भाग्यमानी' ठाऊँ पनि हुँदा रहेछन्!

अस्ति शनिवार एउटा पारिवारिक भेटघाटको क्रममा पर्वतको कुश्मा पुगिएको थियो। लोडशेडिङ्ग आतंकको डोज बढेर १४ घण्टा पुग्ने खबरले कान 'पवित्र' भईसकेको थियो, र यसैले स्वाभाविक रुपमा कुरो त्यतै मोडियो। कोठाभित्र टिभी बजिरहेको सुनेपछि मोडिएको थियो कुरो।

"आज यहाँ कति बजे बत्ती जाने हो?"
"यहाँ बत्तीनै जाँदैन।"
"ए, हो र! किन नि?"
"मोदी प्रोजेक्ट यहि जिल्लामा छ, त्यहि भएर।"
"ए, हो र!"
"-- यहाँमात्रै होईन, लगभग पूरै धौलागिरि अञ्चलमै लोडशेडिङ्ग छैन।"

हाम्रो कुरो टुंगियो। पछि अर्को ठाऊँमा अरु कोहिसंगको गफगाफमा यो कुरो उप्कियो। "स्याङ्ग्जामा पनि त्यस्तै छ, लोडशेडिङ्ग हुँदैन। कालीगण्डकी प्रोजेक्ट त्यतै भएकोले----" यस्तो तर्क सुनियो। बाँकी परियोजना रहेका जिल्लाहरुमा पनि यस्तै होला।

राज्य (वा प्राधिकरण) को घोषित नीति त्यस्तो होला-नहोला, तर हाम्रो देशको चलन भने त्यस्तै हो। 'लोकल' दादागिरि गरेर यस्ता 'सुविधा' लिने चलन छ। कुनै ठाऊँमा एउटा परियोजना शुरु हुन आँट्यो भने 'लोकल' दादागिरिका भरमा त्यो ठाऊँका 'सक्ने' हरुले रोजगारीदेखि अनेक सुविधाहरु लिन्छन् र त्यतिमात्रै नभएर चाहिने-नचाहिने, सकिने-नसकिने अनेकौं माग राखेर परियोजनाको खर्च र समय दुबैलाई रबरजस्तो तन्काईदिन्छन्।

परियोजनाको निर्माण अवधिमा केहि सुविधा लिने कुरालाई एक हदसम्म जायजै मान्न सकिएला, तर कुनै परियोजना विशेष त्यो जिल्लामा परेकै भरमा देशका अरु भेगले भोगिरहेको 'अन्धकार' त्यो जिल्लाले भने भोग्नु नपर्ने कुरो भने मेरो मनले कुनै हालतमा हजम गर्न सकेको छैन। परियोजना त्यो जिल्लामा परेपनि लगानी त पूरै देशले गरेको होईन र? त्यो परियोजनामा देशका हरेक जिल्लाका, हरेक गाऊँ-शहरका जनताको पसिनाको बराबरी अंश परेको हुन्छ। 

त्यसकारण लोडशेडिङ्ग ती जिल्लाहरुमा पनि हुनुपर्छ। यसरी भाग लाग्दा देशभरिको लोडशेडिङ्गको अवधिमा आधा घण्टा-एक घण्टाजतिको कमी आउन सक्छ। पाँचै मिनेटको कमी पनि ठूलो हुनेछ।

देशका कुनै पनि भागले कहिल्यै लोडशेडिङ्गको मार खप्नु नपरोस्, तर पर्दा सबै भागले बराबरी अंश लिनैपर्छ। यस्ता जिल्ला विशेषमा प्राकृतिक संयोगवश परियोजनास्थल परेका हुन्। यसैलाई ती जिल्लावासीको कुनै 'महान त्याग' र योगदान मान्न मिल्दैन। मान्नेनै हो भने पनि, देशका अरु भागले पनि अरु कैयन क्षेत्रमा धेरै योगदान दिएका हुन्छन्, तिनलाई चाहिँ किन अन्धकार आतंकको बन्दी बनाउने??

9 comments:

  1. मैले पनि केही दिन अघि मात्रै सिन्धुपाल्चोकमा पनि लोडसेडिङ हुँदैन रे, भन्ने सुनेको थिएँ (भोटेकोशी जलविद्युत भएकोले होला सायद) । अब यस्तै तालले कुलेखानी भएकोले मकवानपुरमा पनि लोडसेडिङ नगराउन माग भइसकेको छ र यस्तै जारी रहेमा सहरहरु सबै अध्यारा हुनेमा कुनै शंका नलिए हुन्छ ।

    अल्पबुद्धि, कुबुद्धि र दूर्बुध्दिहरुले देश चलाउनजेल जे पनि हुनसक्छ :(

    ReplyDelete
  2. Malai yo "local dadagiri" man paryo. Thula Thula kura matrai garera jantalaai almalyaune khel dherai bhayo. Janta sano sano kura pura garna nasakera nai dukha bhogdaichha. yesto "local dadagiri" dekhayerai bhayepani aafna abasyakata pura garna saknu pani uniharuko nimti safalta nai ho. Yesto garda arulai samasya parne bho bhanne chha, tara kuro uhi ho - "marta kya nahi karta". Yesto jabarjasti nagare samma desh bikashko jimma liyekaaharuko kaan ma batas lagdaina bhanne kuro dherai palta dherai thaumaa dekhii sakyo.

    CT

    ReplyDelete
  3. ए! त्यस्तो पनि पो हुनेरहेछ ? ब्लगको टाईटल हेरेर सोच्दैथिएँ कुनै ठाउँमा त्याँहाका स्थानिय बासिन्दाले साना खोला/खोल्साहरुबाट आफैं विद्युत उत्पादन गरेर गाउँ झलमल्ल बनाएछन् क्यार भन्ने

    ReplyDelete
  4. मेरो बिचार मा नेपाल का सबै ठाउँ भाग्यमनी नै छन
    हाम्रो देस मा कहाँ अनी कहिले पो बत्ती गाको छ र..........
    कुस्मा, स्याङ्जा,सिन्धुपाल्चोक .......
    रामजी,चरेस जि,झल्लु को घर .........
    या हाम्रो घर भाको ठाउँ (कहिले लाइन आउने भये पो जान्थ्यो )

    ReplyDelete
  5. बसंतजीले उठाएको कुरो विचारनियछ.येसो हेर्दा जुन ठाउँमा श्रोतछ त्यहाँका जनताले तेस्को फाइदा पहिला पाउनुपनि ठिकै हो जस्तो लाग्छ,तर बसंतजी ले लेखेको कुराहरूपनी उचित हो.
    मैले कुनै एक पछयमा आफुलाई राख्न सकिन,दुवैको कुरा ठिक लाग्यो.

    ReplyDelete
  6. सुन्न त मैले पनि नुवाकोटको बिदुर वरपर जाँदैन भन्ने सुनेको हुँ । तर खै मर्स्याङ्दी भएर पनि दमौलिमा त बत्ती आउँदैन । बरु आँबुखैरेनीतिर नजाने होला । अब त त्यहि सेती नदिबाट विजुली निकाल्न बाँकी छ । त्यसपछि हाम्रो भाग्य नि चम्किने हो कि त?

    ReplyDelete
  7. केहि सोच्नै पर्ने सवालहरु उठाउनु भएको रहेछ -बसन्त दाइ यहाँले ! केहि हद सम्म ठिक पनि लाग्यो !

    ReplyDelete
  8. संघीयतामा यस्को असर कस्तो हुनेछ भन्ने कुरा अझै बिचारणीय हुन्छ , एउटा सरकार हुँदा यो हाल छ भने अहिले सम्म बिकास भएका र सडक , बिजुली अनि संचारको कसरी बाँडफाँड हुन्छ भन्ने कुरा ? केन्द्रको सरकारले त्यो गराउन सक्ला ??

    ReplyDelete