November 19, 2010

ACED 2010, Xian - २

अरु दिन कन्फरेन्समै ब्यस्त भएर बिते। १० नोभेम्बरको दिऊँसो फुर्सद निक्लियो। ११ नोभेम्बरको पूरै  फुर्सदको दिन एउटा guided tour का लागि बुक गरेको थिएँ पहिल्यै। यो टूरमा सियानका तीन प्रसिद्ध स्थानहरु समेटिएका थिए। १० नोभेम्बरको आधा दिनका लागि ११ को टूरमा नसमेटिएको City Wall जाने विचार गरें। एक्लै जान मन लागेन। ट्याक्सीमा जाने योजना बनाएको हुँदा अरु कसैसंग मिलेर जाँदा सस्तो पनि पर्ने थियो। तर सबैजसोका आ-आफ्नै झुण्ड र योजना थिए। एकजना ईण्डोनेशियालीले 'म पनि जान्छु, मलाई १५ मिनेटजति लबीमा कुर्दै गर्' भने। तिनले मलाई ४५ मिनेटभन्दा बढी कुराएपछि म एक्लै निक्लिएँ र City Wall पु-याउने एउटा स्थानीय बस समातें।

१९९१ देखी १९९६ सम्म म चीनमा थिएँ। चिनियाँ भाषामै स्नातक तह अध्ययन गरेकाले मेरो चिनियाँ भाषिक क्षमता राम्रै थियो भन्ने मान्छु म। त्यसपछि नेपालमा पनि कहिले चिनियाँ ठेकेदार कम्पनीहरुसंग काम गर्ने, कहिले चिनियाँ भाषा पढाउने र कहिले अनुवादको पनि काम गर्ने गरेर आफ्नो चिनियाँ क्षमतालाई जोगाएकै थिएँ। २००३ मा जापान गएपछि केहि महिनाको जापानी भाषाकक्षाका सहपाठीहरु धेरैजसो चिनियाँ थिए र मेरो चिनियाँ भाषाको अभ्यास जारी राख्न सघाऊ पुगेको थियो। २००५ मा यस्तै एउटा कन्फरेन्समा पेईचिङ्ग (Beijing) जाँदासम्म ठिकै थियो मेरो चिनियाँ क्षमता। त्यसपछि भने चिनियाँ भाषाको अभ्यास छुट्यो। छोरी बोल्ने भएपछि त घरमा जापानी भाषाले कब्जा जमाएजस्तै भयो। यहि क्रममा मेरो चिनियाँ भाषामाथिको पकड ओरालो लागेछ। यसपालि त्यो कुरा प्रमाणित भयो:) चिनियाँ बोल्न खोज्दा मुखमा फ्याट्ट जापानी आईहाल्ने हुँदो रहेछ अचेल। छोटा-छोटा वाक्यहरु पनि बडा मुश्किलले पूरा गरियो।  लेखेको पढ्न बरु त्यति धेरै समस्या भएन।

यहि भाषामाथिको 'गुमेको' पकडका कारण मैले ७ नोभेम्बरको 'फुर्सदिलो' दिन होटलको नजिकै हल्लेर मात्रै बिताएँ, स्थानीय बस चढेर कुनै पर्यटकीय स्थल जाने मन थियो तर आँट आएन। केहि दिन चिनियाँ भाषाको bombardment मा बसिसकेकाले ११ का दिन भने अन्त्यमा मैले बसै चढ्ने आँट गरेको थिएँ:)

जुन लाईनको बस मैले समातेको थिएँ, त्यो लाईनका बसमा बस-कार्डमात्रै चल्ने भनेर लेखिएको पढेको थिएँ बस-बिसौनीमा, तर पैसा तिरेर पनि भईहाल्ला नि भनेर चढें म। हातमा ५ युआनको नोट लिएर चालकलाई देखाऊँदै 'यसले हुन्छ कि हुँदैन?' भनेर सोध्न आँट्दै थिएँ, चालकले पहिला हातको ईशाराले 'हुँदैन!' भने, फेरि लगत्तै 'चढ्! चढ्!' भनेर ईशारा गरे। यसरी म साढे दुई युआनको बस भाडा तिर्नै नपरी City Wall पुगें:)

सियानमा बस रोकिने, मान्छे चढ्ने-ओर्लिने समय एकदम छोटो लाग्यो मलाई।

सियान चिनका प्राचीन राजधानी शहरहरुमध्ये एक हो, जसको बारेमा यहाँ केहि पढ्न सक्नुहुन्छ। City Wall राजपरिवार र अरु सम्भ्रान्तहरु बस्ने क्षेत्रलाई आक्रमणकारीहरुबाट जोगाउन निर्माण गरिएको थियो। Great Wall पूरै चीनको सुरक्षाका लागि थियो भने City Wall सियानको शहरी सम्भ्रान्त वर्गको सुरक्षाका लागि। सियानको पहिलो City Wall को निर्माण कार्य १९४ ईशापू्र्वमै शुरु गरिएको थियो र चार वर्षमा सम्पन्न भएको थियो। त्यो आयताकार पर्खाल २५.७ किमी लामो र १२-१६ मीटर चौडा थियो र यसले लगभग ३६ वर्ग किमीको क्षेत्रफललाई घेरेको थियो। यसपछि पनि बिभिन्न city wall हरु निर्माण भएका रहेछन्। हाल सग्लो अस्तित्वमा रहेको city wall को निर्माण कार्य भने मिङ वंशको शाशनकालमा सन् १३७० मा शुरु भएको रहेछ। यो पर्खालले १४ वर्ग किमीको क्षेत्रफललाई घेरेको छ, यसको परिधि १३.७ किमी, उचाई १२ मीटर र चौडाइ १६-१८ मीटर रहेको छ।     

City Wall मा प्रवेश गर्ने सबैभन्दा लोकप्रिय ढोका दक्षिणी ढोका रहेछ। भित्र पसेर एकछिन हिँडेपछि भाडाको साईकल लिएँ, १०० मिनेटका लागि २० युआन लाग्ने रहेछ। City Wall को फराकिलो तालुमा साईकल कुदाऊँदा एकछिन त मजै भयो तर एक्लै भएकाले चाँडैनै दिक्क लाग्यो। डेढघण्टा जतिमा Wall पूरै फन्को लगाउन सकिन्थ्यो होला, तर म आएकै बाटो फर्किएँ र साईकल बुझाईदिएँ। 
तल Xian City Wall बाट केहि तस्बीरहरु;


 City Wall चढ्नु अघि, दक्षिणी ढोकामा।


 इतिहासका थुप्रै झरी-आँधी खपेको हुनुपर्छ यसले। City Wall को तालुमा ठाऊँ-ठाऊँमा यस्ता भब्य संरचनाहरु छन्। शहर सुरक्षाका लागि यिनको ठूलो सामरिक महत्व थियो होला।

पुरानो सियान र नयाँ सियानको 'घम्साघम्सी':)

 
 चढ्नेबित्तिकै देखिएको 'पर्खालभित्रको शहर'को एक अंश।

र 'पर्खालबाहिरको शहर'।

 'पर्खालबाहिरको शहर'को अर्को सानो अंश।

 City Wall को फराकिलो तालुको एक अंश।

 फोटो खिच्न ब्यस्त स्थानीय पर्यटकहरु।

City Wall बाट झरेर 'भित्री शहर' मै एकछिन रंगबंगिने क्रममा 'प्रवेश निषेध' लेखिएको एउटा मन्दिर/अध्ययन केन्द्र देखियो। चिनियाँहरुको बाक्लो ओहोरदोहर देखेकाले त्यो 'प्रवेश निषेध' को खासै अर्थ छैन होला भनेर पस्ने खोजेको, चौकिदारहरुले पस्न दिएनन्। विदेशीहरुका लागिमात्रै प्रवेश निषेध भएकाले कुनै संवेदनशील स्थल हुनुपर्छ। अथवा त्यससंग संबन्धित बाहेकका चिनियाँहरुका लागिनै पनि प्रवेश निषेध हुन पनि सक्छ।



होटल फर्केर आऊँदा भने कार्ड नचल्ने, बसभाडा नगदनै तिर्नुपर्ने रुटको बस खोजेर आएँ, र पैसा तिरेरै आएँ:)

भाग १      भाग ३      भाग ४
(क्रमश:)

9 comments:

  1. ग्रेट वालको बारेमा त थाहा थियो तर यो सिटि वाल पनि निकै राम्रो रहेछ बसन्त दाइ !
    चाइनिज मुभिहरुमा देखाइएका तस्विरहरु जस्ता आज तपाइको पोस्टमा देख्न पाइयो ! साथै त्यो सिटि वालको बारेमा थोरै भए नी -जानकारी लिन पाए !

    ReplyDelete
  2. कन्फेरेन्स हरु मा सामेल हुनु रमाइलाई हुन्छ। रमाइलो गर्नु भएछ। राम्रो।

    ReplyDelete
  3. तपाईंका रोचक यात्रा बर्णनले आफूलाई पनि त्यतै घुमेको महशुस गर्न पाइने ।

    ReplyDelete
  4. Beautiful pics!
    Haven't seen you on "Bikhare Sitare" or "Simte Lamhen" for ages!

    ReplyDelete
  5. राम्रा तस्बीरहरु !
    त्यहि त, सिटी वाल पनि छ भन्ने यहाँकै लेखबाट थाहा भयो | गजबकै रहेछ | झन्डै बिर्सेको भाषाको कुरा पढेर चाहिं रमाइलो लाग्यो |

    ReplyDelete
  6. तपाइंले धेरै ठाउँहरूको अनुभव संगाल्नु भएकोछ.सिटिवालपनि रहेछ चीनमा.चाइनीजहरू पहिला सुरक्छ्याकालागि भित्तानैबनाउँदा रहेछन.अहिलेको युगमात इनिहरुको सेनापनि निकै बलियोछ.

    ReplyDelete
  7. यहाँहरु सबैलाई हार्दिक धन्यबाद!

    ReplyDelete
  8. करिव ४ वर्ष अगाडि म सिआान पुगेको थिएँ । मलाइ मन परेको कुरा चाही के भने चिनीयाँहरुले सहरीकरण र भौतिक विकासमा अडकल नै गर्न नसकिने गरी उचाइ छोए पनि आफ्ना पुरान निधि र ऐतिहासीक संरचनाकको भने निकै जतनका साथ संरक्षण गरिरहेक छन् । नयाँ- नयाँ भन्द नयाँ सहरमा पनि प्राचिनतम संरचना र ऐतिहासिक धरोहरहरु 'जस्ताको त्यस्तै' रहेका छन् । लाग्छ हामीले धेरै कुरा सिक्न बाँकी छ :)।

    ReplyDelete