नोभेम्बरको ११ को टूरका लागि बस चढ्ने बेला थाहा भयो, हामी जम्मा तीनजना रहेछौं संगै यात्रा गर्ने। बाँकी दुई सदस्यहरु पनि कन्फरेन्सकै सहभागी थिए-एकजना कोरीयाली प्राध्यापक र उनकै सुपरिवेक्षणमा पीएचडी अध्ययनरत एक विद्यार्थी। गाईडका अनुसार यतिखेर सिआनको पर्यटकीय मौसम सकिईसकेको रहेछ, त्यसैले १५ जना जति अट्ने यो सानो बसका सहभागीहरु यति थोरै भएका रहेछन्।
प्राध्यापक ली बोलेको बोल्यै गर्ने खालका थिए, हाम्रो बिचमा पेशागत र अरु थुप्रै कुराहरु भए। एकाअर्काका देशका बारेमा धेरै नयाँ जानकारीहरु पनि साट्यौं हामीले। उनका विद्यार्थी भने एकदमै कम बोल्थे। उनको अंग्रेजी पनि त्यति राम्रो रहेनछ कि किन हो, प्राध्यापक ली बेला-बेलामा हाम्रो कुराकानी उनलाई कोरीयाली भाषामा सुनाईरहेका हुन्थे।
हाम्रो पहिलो गन्तब्य ता छ्-येन मन्दिर क्षेत्र (Da Cien Temple) थियो। यो मन्दिर विगतदेखि अहिलेसम्मनै बौद्ध अध्ययन केन्द्रको रुपमा अस्तित्वमा रहेको छ। मन्दिर परिसरभित्र थुप्रै साना-ठूला मन्दिरहरु र भिक्षुहरुका आवास आदि छन्। पूरै मन्दिर परिसर अत्यन्त सफा र ब्यवश्थित देखिन्छ। मन्दिरहरुमा बुद्धको जीवनगाथा झल्किने मूर्तिहरु धेरै छन्, बिभिन्न कालखण्डका प्रसिद्ध बौद्ध भिक्षुहरु/गुरुहरुका प्रतिमाहरु पनि धेरै देखिन्छन्। यसभित्रको सबैभन्दा प्रसिद्ध संरचना भने ता यान स्तूप (Da Yan Wild Goose Pagoda) हो। थाङ्ग वंश (Tang Dynasty) का तेस्रा सम्राट काओचोङको राज्यकाल (सन् ६२८-६३८)मा पहिलोपल्ट निर्मित यो स्तूपले धेरै पटकका भूकम्पहरु झेलेको रहेछ र यसमा बेला-बेलामा धेरै थपथाप र पुनर्निर्माण भएको रहेछ। गाईडले भनेअनुसार त २००८ को स-छ्वान महाभूकम्प (great Sichuan earthquake) को असरले गर्दा यो अलिकति ढल्किएको छ रे, हाम्रा आँखाले भने त्यो ठम्याउन सकेनन्। तलको तस्बीरमा ढल्किएको लाग्न पनि सक्छ, तर यो सन्तुलन मिलाएर खिचिएको होईन।
यो स्तूपको निर्माणको प्रमुख श्रेय स्यूआनचाङ नाम गरेका एक बौद्ध भिक्षुलाई जाँदो रहेछ। उनी बौद्ध धर्मको अध्ययनका लागि तत्कालीन चीनको राजधानी सिआनबाट पुरानो रेशम मार्ग हुँदै सन् ६२९ मा भारततिर लागेका रहेछन्। अध्ययन सकेर सन् ६४५ मा चीन फर्केपछि यो विशाल स्तूपको निर्माण कार्य शुरु गराएका रहेछन्। उनले थुप्रै बौद्ध ग्रन्थहरुलाई चिनियाँमा अनुवाद पनि गरेका रहेछन्। यो मन्दिरका बारेमा बुझ्ने क्रममै थाहा पाईयो, चीनमा बौद्ध धर्मको प्रवेश सन् २५ मा भएको रहेछ।
हाम्रो दोश्रो गन्तब्य पान्फो संग्रहालय (Xian Banpo Museum) थियो। सन् १९५३मा उत्खनन् गरिएको यो क्षेत्र ६००० वर्ष पहिलाको कुनै मानव बस्तीको अवशेष रहेछ। भग्नावशेषमा एउटा सानो गाऊँ, ग्राम प्रमुख र अरुका घरहरु, माटाका भाँडाहरु बनाउने ठाऊँ, पूजा गर्ने ठाऊँ, बलि दिईने मौलो, चिहानहरु र बाहीरी आक्रमणबाट बस्तीको सुरक्षाका लागि बस्तीको वरिपरि बनाईएको गहिरो जलाशय (Moat) आदि प्रष्टसंग ठम्याउन सकिने रहेछ। त्यो समयका मानव अवशेषहरु पनि धेरै छन् त्यहाँ। गाईडका अनुसार अवशेषहरुको अध्ययनबाट थाहा भए अनुसार त्यो बस्तीका मानवहरुको शारीरिक बनावट र अन्य आनुवांशिक विशेषताहरु आधुनिक चिनियाँहरुसंग मिल्दैन रे। त्यो बस्ती र त्यहाँका बासिन्दाहरुको बारेमा अझै धेरै कुरा जान्न सकिएको रहेनछ।
भग्नावशेष गाऊँको एक भाग
बस्तीको एउटा औसत घरको आधारभूत संरचना-भग्नावशेषको आधारमा अनुमान गरिएको
चीरनिद्रामा ६ हजार वर्ष पुरानो जोडी। दैनिक जीवनमा प्रयोग गरिने कतिपय भाँडाकुँडा पनि संगै गाड्ने चलन रहेछ।
र यहाँ एउटा सिंगो परिवारनै छ जस्तो छ।
हाम्रो तेश्रो गन्तब्य, ‘टेराकोटा योद्धा’ (Terracota Warriors) संग्रहालय शायद सिआनको सबैभन्दा प्रसिद्ध संरचना हो। प्रथम चिनियाँ सम्राट भनेर मानिने छिन शिह्वाङ्गले आफ्नो जीवनकालमै आफ्नो चिहानको निर्माण गरेका रहेछन्। एउटा विशाल मानवनिर्मित डाँडाको रुपमा उनको चिहान अझै पनि अस्तित्वमा छ, तर त्यो पर्यटकहरुका लागि अझै खुल्ला गरिएको छैन। उनको चिहानकै वरिपरि जमीनमुनि विशेष खाले माटाले निर्मित एउटा पूर्ण सेनापनि राखिएको छ। त्यो टेराकोटा सेना तत्कालीन समयको सेनाको संरचनासंग हुबहु मिल्ने रहेछ, जस्तो कि माटाका संरचनाहरुमा जनरल, सिपाही, घोडचढी, रथ हाँक्नेहरु, रथहरु, घोडाहरु आदि सबै छन्। तीनवटा उत्खनन क्षेत्रमा गरेर ८,००० भन्दा यस्ता पूर्ण कदका आकृति (मूर्तिहरु) रहेछन्। साम्राटलाई परलोकमा पनि साथ दिन र उनको सुरक्षा गर्न यो सेना राखिएको रहेछ। पछि यो टेराकोटा सेनाको माथि खेतीपाती हुन थालेछ र समयक्रममा यो टेराकोटा सेना रहेको स्थान बिर्सिईएछ, बेला-बेला यस्ता मूर्तिहरुका टुक्राटाक्री भेटिएपनि मान्छेले त्यति चासो दिँदा रहेनछन्। सन् १९७४ मा एक किसान परिवारले ईनार खन्ने क्रममा भने धेरैनै यस्ता मूर्तिहरु देखिएपछि संगठित उत्खनन् शुरु भएको रहेछ। पहिलो पटक यी मूर्तिहरु भेटने किसान आफैं बसेका थिए टेराकोटा सेनाका बारे लेखीएका किताबहरुमा अटोग्राफ दिन। किताबहरुको ‘डरलाग्दो’ मूल्यले गर्दा किन्ने आँट गरिएन :)
यो टेराकोटा सेना ईशापूर्व २१० तिरको संरचना मानिँदो रहेछ। उत्खनन् हुनेबित्तिकै यहाँका मूर्तिहरुमा ओहदा जनाउने प्रयोजनका बिभिन्न रंगहरु देखिन्थे रे तर वर्षौंको प्रदूषण, क्यामराहरुको फ्ल्याश आदिले गर्दा सम्पूर्ण रंग नष्ट भएछ। यतिखेर संरचनाहरु धूलोले ढाकिएका कालीमाटीका मूर्तिजस्ता मात्रै देखिन्छन्। उत्खनन् हुन बाँकी रहेकालाई भने यस्तो हुन नदिन उत्खननकर्ताहरु सचेत छन् रे अहिले।
उत्खनन् क्षेत्रको वरिपरिको भागलाई शहरको रुपमा विकास गरिँदै रहेछ। नजिकै एउटा चिडियाखाना पनि बन्दै थियो। यस्तो क्षेत्रलाई पनि असीमित ढंगले ब्यापारिक प्रयोजनमा प्रयोग गरिएको देख्दा राम्रो लागेन। यो क्षेत्रलाई सकेसम्म प्राकृतिक रुपमा छोडे राम्रो हुन्थ्यो। प्राध्यापक लीको विचार पनि यस्तै रहेछ।
मृत सम्राटका लागि सेना
केहि सग्ला टेराकोटा आकृतिहरुलाई यसरी बाहिर छुट्टै राखिएको पनि छ।
उत्खनन जारी छ।
टेराकोटा सेनाको संग्रहालय जानु अगाडि बाटैमा पर्ने आधुनिक टेराकोटा कारखाना लागिँदो रहेछ सबैलाई। यहाँ सकेसम्म टेराकोटा सेना बनेकै समयको प्रविधिलाई प्रयोग गरेर टेराकोटा मूर्तिहरु बनाईँदो रहेछ र पर्यटकहरुलाई बेचिँदो रहेछ। यहाँ भने स-साना दुई मूर्तिहरु किनें मैले पनि।
कारखानाभित्र।
भाग १ भाग २ भाग ४ (क्रमश:)