September 09, 2010

जाममा एकदिन

तस्बिर साभार: नागरिक दैनिक


हिजो कुशेऔँशीका दिन, पिताको मुख हेर्न भनेर हिँडेको म, नौ घण्टाभन्दा बढी जाममा परेर मध्यरातमा घर पुगें। नागढुंगाको नजिकै कतै गएको पहिरोले सिर्जेको जाम थियो त्यो।

बसका अरु सबै पनि मजस्तै पिताको मुख हेर्न हिँडेका थिए; धेरैजसो बच्चासहितका महिलाहरु थिए। कोहि लिन आउला-नआउला, आएन भने के गर्ने- एउटा अन्यौल र त्रासको भाव थियो बसभरि। काठमाण्डौं छोड्न लाम लागेका र पस्न लाम लागेका दुबैतिरका गरेर हजारौंको संख्यामा थिए होलान् गाडीहरु, तिनमा सवारहरुको संख्या लाखौंमा पुग्यो होला सजिलै। रात छिप्पिँदै जाँदा त्यो अन्यौल र त्रासको भाव यसरी लाखौं मनहरुमा सघन हुँदै थियो।

पहिरो छऊञ्जेल त रोकियो-रोकियो, पहिरो पन्छाएर बिस्तारै चलमलाउन थालेको सडकलाई फेरि थला पार्दिँदा रहेछन्, बीच-बीचमा ओभरटेक गर्ने र गलत दिशाबाट भएपनि आफू पहिला जान खोज्ने उपबुज्रुक चालकहरु। यस्ता खालका मान्छेको ताईँ न तुईँको अहंकार र अधैर्य मानसिकताका कारण अरु धेरैले अनाहकमा दु:ख पाउनुपर्छ। हिजोको जामको कम्तिमा चौथाई समय त यस्तै काईते भातमारा चालकहरुका कारण सिर्जिएको हुनुपर्छ।

पहिरो पन्छिसकेर र माथि उल्लेख गरिएका नियम मिचुवाहरुलाई ट्राफिक प्रहरीले सही दिशामा सोझ्याइसकेर गाडीको लस्कर चल्मलाउन थालेको केहि छिनमा फेरि रोकियो। अर्को पहिरो खस्यो कि कतै भनेर शंका गर्दै थिए सबै, होईन रहेछ; उकालो चढ्दै गरेको कुनै गाडीको तेल सकिएछ र ऊ सबैलाई अलपत्र पारेर बाटैमा लम्पसार परेछ। ४५ मिनेटजतिपछि गाडी-गँड्यौला फेरि चलमलायो, तेलको ब्यबश्था भयो होला शायद। हिजो त तेलमात्रै सकिएछ, कहिलेकाहीँ यस्तै बेलामा गाडीनै बिग्रिदिन्छन् र बाटैमा लम्पसार पर्दिन्छन् एक-दुई दिन।

मैले भोगेको यो नौ घण्टे जाम अरु कतिपय जामको दाँजोमा अझ छोटो हो। यो भन्दा धेरै लामो जाममा फँसेका रामकहानी धेरै सुनेको छु, धेरै साथीहरुबाट। हाम्रो जस्तो भौगोलिक बनावटमा पहिरो जानु स्वाभाविक हो। यस्ता पहिराहरु र जामहरु हरेक वर्षायामका हाम्रा साथी बनिसकेका छन, देशका सबै भेगका लागि। नीच राजनीतिक स्वार्थले जन्माउने जामहरुको अर्को अध्याय भने वर्षैभरि चलिरहन्छ। हामी यस्ता जाममा फँसी-फँसी 'अभ्यस्त' भईसकेका छौं।

पहिरो जानु स्वाभाविक हो तर एउटा पहिरोले देशको गतिलाईनै ठप्प पार्नु बिल्कुलै स्वाभाविक होईन। वर्षौं यसरी पहिरोका कारण सिर्जिएका जामलगायतका समस्या र जनधनको अपार क्षति देख्दा-देख्दै, अनुभव गर्दा-गर्दै पनि हामीले अझै यसको दिगो समाधान भेट्न नसक्नु झन् स्वाभाविक होईन।

पहिरोलाई द्रुत गतिमा पन्छाउन सक्नेगरी तयारी अवश्थामा रहनु जति आवश्यक छ, सडकनजिक पहिरो जानै नसक्ने गरी बेलैमा रोकथामका बिभिन्न उपाय अपनाउनु अझ आवश्यक छ। हामीसंग त्यसका लागि आवश्यक दक्ष जनशक्तिको अभाव छैन, सडक यातायातको लामो अनुभव सँगालिसकेको छ देशले। मितब्ययितापूर्वक सदुपयोग गर्ने हो भने स्रोत-साधनको पनि खासै अभाव हुने छैन।

समस्या समाधानको अर्को पाटो भनेको वैकल्पिक सडकहरुको निर्माण हो। सकिन्छ भने हरेक प्रमुख मार्गसंग समानान्तर हुनेगरी अर्को एक वा दुई मार्ग निर्माण गरिनुपर्छ। सामान्य अवश्थामा ती मध्ये एउटा हल्का सवारी साधनहरुका लागि र अर्को ट्रकजस्ता भारी सवारी साधनहरुका लागि तोक्न सकिन्छ। यसले सडकमाथिको अहिलेको अनियन्त्रित चापलाई कम गरेर सडकको आयु बढाऊँछ र पहिरोजस्ता प्रकोपका बेला विकल्प उपलब्ध हुन्छ। सडकको पूरै लम्बाईमा नसके केहि निश्चित संवेदनशील खण्डहरुमा मात्रै पनि त्यो ब्यबश्था गर्न सके पनि धेरै सुविधा हुन्छ।

सात साललाई हामीले नेपाल आधुनिक युगमा पदार्पण गरेको प्रस्थान बिन्दू मानेका छौं। त्यस यता सडकका नाममा देशको पैसाको ठूलो खोलो बगाईसकिएको छ। ४६ सालपछिकै कुरा गर्दा पनि लगानी धेरै लागिसकेको छ। लगानीको अनुपातमा काम हुन सकको भए शायद देशभरि सुविधायुक्त सडक-संजाल बनिसक्नेथियो। तर हाम्रो दुर्भाग्य, सडक-निर्माण हाम्रो देशका नेता, प्रशाशक र प्राविधिकहरुको एउटा सिण्डिकेटको 'दुहुनो गाई' बनेको छ। सडक निर्माणको पक्ष हाम्रो देशमा सबैभन्दा धेरे भ्रष्टाचार हुनेमध्येको एक हो। यसैले हामी यस्ता जाम खपिरहन विवश छौं।

हिजोको जाममै मैले सुनेको ठट्यौलीको भाषामा भन्दा हामी यस्तै 'जाम'संग मनको 'पाउरोटी' खाईरहन विवश छौं:)

देशमा भईरहने यस्ता जामहरु, तिनमा फँस्ने लाखौंको संख्यामा रहेका सर्वसाधारणले भोग्नुपर्ने शारीरिक-मानसिक कष्ट र जामका कारण खेर गएको देशको कार्यक्षमता र समय बुझ्न सक्ने संवेदनशील राज्ययन्त्र हामीसंग कहिल्यै भएन। प्लेन र हेलिकप्टर चढ्न सक्ने भएपछि हिजो आफूलाई हिँडाउने सडकलाई सजिलै चटक्क बिर्सिदिने कृतघ्न छन् हाम्रा नेताहरु, नीति-निर्माताहरु र प्रशाशकहरु। धिक्कार छ तिनको संवेदनाहीन मनलाई!

र धिक्कार छ यस्ता संवेदनाहीन नेताहरु र प्रशाशकहरु जन्माउने र तिनलाई टाउकोमा चढाउने हामी नेपाली जनतालाई!

7 comments:

  1. जाममा पर्नु भएछ,दुख लाग्यो.चीनमा ९ वा १० दिनको जाम र १०० कि.मी.को लामो गाडीहरूको लाइनको खबर याहू-न्यूजमा फोटो सहित थियो.माओवादी हरूलाई त यो यौटा आदर्श देश को स्यानो अनुकरण भनेर राम्रोनै लाग्यो होला.

    ReplyDelete
  2. बिदेशबाट भर्खर फर्कदा बाटोमा आफुले सवारी चलाऊदा आफ्नो लेनमा, ट्राफिक नियम पालन गरी चलाऊन मन लाग्छ। तर अरुले जताभाबी ओभरटेक गरेर पछी पारीदिन्छ, जाम फस्नेहरु पछी पर्ने नै हुन्। बाध्यताले अलिकती बाटो खुल्ला हुने बित्तिकै अर्को साईड बाट भएपनी हाक्नु पर्छ। धेरैले नियम पालन नगरे पछी थोरैको सख्यामा रहेको नियम पालन गर्नेहरु पनि बिस्तारै धेरैले अपनाएको बाटो तिर नै अपनाउछन् अथवा बाध्य हुन्छन्। यस्तो समस्या नेपालमा धेरै बर्ष रहिरहने निश्चित छ। हाम्रो अभागी कर्म!!!! Anyway, बानी परे पछी सामान्य हुन्छ, यस्ता जाम पचाउने, भद्रगोलमा घुममिल हुने।

    ReplyDelete
  3. आफुले पनि त्यसै गरि एकरात कृष्णभिरमा काटेको सम्झना आयो| करिब १५ बर्ष अघि | समस्या जहाँको तहीं छ | लाग्छ, देशमा चल्ने बल्ने कुरो राजनीति मात्रै छ |

    ReplyDelete
  4. जामसंग मनकेा पाउरेाटी खाने वानी हामीमा परिसकेकेा छ । कसले सुन्ने तपार्इका यति राम्रा कुरा ।यहा का सडकविज्ञ अनि हाकिमहरू त यस्तै चाहन्छन् । जनताले मजाले दुख पाए पछि गरेकेाकाम सवैले देख्छन्र र पैसा पनि कुम्यल्याउन मजाले पाइने भएकेाले उनीहरू यस्तै चाहन्छन्र । हेाइन भने रेाकथाम र वाटेा खुल्ला राख्ने सयैा विकल्प छन्र नि । म अस्ती लमजुङ जांदा पनि पहिरेाले सडककेा तीनभाग छेापेकेा छ तर दुर्इ जना मानिस सावेल वेाकेर फालिरहेका थिए । दुर्इ दिन पछि फर्कदा पनि त्यस्तै देख्दा ताजुव लाग्येा मलार्इ । समानान्तर वाटेा केा सख्त जरूरी छ ।तपार्इकेा भेागाइकेा लेख राम्रेा लाग्येा ।

    ReplyDelete
  5. BasantaJi,
    You must channel your anger into something constructive. Do politics, BasantaJi. It is not a safe game, but you may be able to change things.

    If educated people like you don't enter politics, don't expect change to come from people who are benefitting from status quo. You went to China in government scholarship and you owe it to people.

    ReplyDelete
  6. कृष्ण भीरको पहिरोले सिर्जीत जाममा परि एक रात बसमै बसेको याद आयो, मलाई पनि । नेताहरुलाई लुट्न र लुछ्न फुर्सद नभएपछी हरेक बखत प्रकट हुने यस्ता समस्याहरुको समाधान कहीले हुने ?

    ReplyDelete
  7. यहाँहरु सबैलाई हार्दिक धन्यबाद!
    Anonymousज्यूले भनेजस्तै हामीले हाम्रो आक्रोश, हाम्रो निराशा र हाम्रो उर्जालाई सकारात्मक र संगठित रुप दिनैपर्छ। राजनीतिमा प्रत्यक्ष संलग्न भएपनि, नभएपनि देशको राजनीतिमा सकारात्मकता र ईमान्दारिताको प्रवेश गराउन नसक्दासम्म स्थिति यस्तै रहिरहने निश्चित छ। ब्यक्तिगत रुपमा मेरो प्रयास त्यसै दिशामा जारी छ र सम्भव भएसम्म हामीजस्तै विचार राख्नेहरुको संजाल बनाऊँदै/बढाऊँदै लाने दिशामा पनि लागिरहनेछु।

    ReplyDelete