July 27, 2010

सत्तालिप्साको मानसिक आधार

तपाईँहरुलाई थाहै छ, संविधानसभा यतिखेर प्रधानमन्त्री चुन्न नसकेर अलमलिएको छ। संविधानसभाको यो अलमलले पूरै देशलाई प्रभावित पारेको छ। आफ्ना तुच्छ ब्यक्तिगत अहं र दलीय स्वार्थमा अल्झेर नेता र दलहरु संविधान निर्माणको प्रमुख कामलाई बिर्सिरहेका छन्।

सहमतीय सरकार बनेन भने संविधान नबन्ने निश्चित छ, कथंकदाचित बनिहाल्यो भनेपनि क्षणिक र कामचलाऊ बन्नेछ। त्यस्तो संविधानले अहिलेका जल्दाबल्दा मुद्दाहरुलाई बिल्कुलै समाधान नगर्ने मात्र होईन, अरु नयाँ समस्याहरु पनि उब्जाउनेछ। 

सहमतीय प्रधानमन्त्रीको रुपमा सबैलाई स्विकार्य ब्यक्ति पाउन गाह्रो छ। अहिलेको अवश्थामा अलिक बढी संभावना भएका नेता बाबुराम भट्टराईमात्रै हुन्। माओवादीले उनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याएको भए शायद देश यो अनिर्णयको बन्दी बनीरहनुपर्ने थिएन। तर माओवादीले फेरि प्रचण्डलाईनै उम्मेदवार बनायो।

नेपाल फर्केपछिका यी दश दिनमा मैले नेपाली समाजको वर्तमान मनोदशालाई केहि पढ्ने कोशिश गरेको छु। मैले के भेटें भने मानिसमा माओवादीप्रति र विशेष गरी यसका अध्यक्ष प्रचण्डप्रतिको बिश्वास तिब्र रुपमा घटिरहेको छ र उनीहरु कांग्रेस र एमालेभन्दा अलिकति पनि फरक नभएको धारणाले जरो गाड्दैछ। जमघट र कुराकानीहरुमा प्रचण्डप्रतिको अविश्वास भेटिन्छ जताततै। प्रचण्डले एउटा मौका पाईसकेका र उनको कार्यक्षमता र शैली देखिईसकेकोले फेरि उनलाईनै प्रधानमन्त्री बनाऊँदा उस्तै स्थिति दहोरिने चिन्ता छ सबैमा। यसैले अब पालो बाबुरामको हो भन्ने एउटा बलियो जनमत बनिसकेको छ नेपालमा। बाबुराम प्रधानमन्त्री होलान्-नहोलान् र भएभने पनि उनी सबैले आशा गरे अनुसारका 'सबैका' प्रधानमन्त्री बन्लान्-नबन्लान् त्यो कुरो भविष्यको गर्भमा छ तर जनताले उनीमाथि धेरै ठूलो भरोसा राखेका छन्। नीजि र दलगत स्वार्थभन्दा माथि उठेर काम गर्न सके भने आफूलाई 'नेता' हरुको भिडबाट माथि उठाएर 'राजनेता' बनाउने मौका दिँदैछन् जनता। जनमतको पृष्ठभूमि यस्तो हुँदा-हुँदै र कांग्रेस-एमालेले पनि स्विकार्ने संभावना पनि धेरै हुँदा-हुँदैपनि यो वा त्यो बहाना बनाएर उनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा नउभ्याउनु माओवादीको गल्ती र कमजोरी दुबै हो। प्रचण्ड आफैं उम्मेदवार हुनुमा उनको सत्तालोलुपता सबैभन्दा ठूलो कारण हो। 

यतिखेर प्रचण्डले देखाएको ब्यबहार विगतमा गिरिजाले देखाउने ब्यबहारभन्दा कत्ति पनि फरक छैन। गिरिजामा चरम सत्तालिप्सा थियो र उनी दल र सरकार दुबैको नेतृत्वमा आफूबाहेक अरुलाई कल्पना गर्न सक्दैनथे। प्रचण्ड अहिले त्यहि ब्यबहार देखाईरहेछन् र यो र त्यो बहाना बनाएर बाबुरामलाई छिर्के हानिरहेछन्। सरकार र दलको सम्बन्धालाई स्पष्ट रुपमा परिभाषित गर्ने हो भने फरक-फरक ब्यक्तिले यी दुईको नेतृत्व गर्दा सरकार र दल दुबैको संचालन झन् राम्रो हुन्छ। अर्कोतिर, प्रचण्डले अहिले कुर्सीलिप्सा नदेखाएको भए उनको राजनीतिक उचाई बढ्ने थियो, उनी फेरि लोकप्रिय हुनसक्थे र सत्ताबाहिरै बसेर पनि देशको राजनीतिलाई डो-याउन सक्थे।

मैले कतै पढेको थिएँ (लाओ-च वा च्वाङ् च को भनाई हुनुपर्छ यो) , "A good ruler rules without ruling." (असल शाशक शाशन नगरी शाशन गर्छ।) । चरम विरोधाभाषी लाग्ने यो भनाई एउटा गहन सत्य हो। एउटा असल शाशक त्यहि हो जो आफ्नो नैतिक बलको भरमा शाशन गर्न सक्छ। उसको उपस्थितिमात्रै पनि काफी हुनसक्छ। एउटा राजनेता त्यहि हो, जो सत्तामा भए पनि नभए पनि, आफ्नो वैचारिक क्षमता र नैतिक बलको आधारमा देशको राजनीतिलाई प्रभावित बनाउन सक्छ।

बाबुरामलाई राजनेता 'घोषणा' गर्न खोजेको होईन मैले, उनले देशका लागि धेरै काम गर्न बाँकीनै छ त्यसका लागि तर एउटा सामान्य तुलनामा पनि उनी प्रचण्डभन्दा प्रभावशाली लाग्छन्। सरकार त के दलमै नबसे पनि देशको राजनीतिमा तरंग ल्याउन सक्ने चिन्तन र वैचारिक/बौद्धिक क्षमता छ उनीसंग। यसैले होला उनीमा कुर्सीलिप्सा केहि कम छ र उनी ढुक्क देखिन्छन्। अर्कोतिर प्रचण्डको स्थिति ठिक उल्टो छ, अहिलेसम्म उनले कुनै स्पष्ट चिन्तन र वैचारिक क्षमता देखाउन सकेका छैनन्। उग्र कुरा गरेर कार्यकर्तालाई सन्काउन र नेतृत्व तहका आफ्ना प्रतिस्पर्धीहरुको अन्तरविरोधमा खेल्न उनी सिपालु छन् तर त्यतिकै भरमा सधैं राजनीति चल्दैन। वैचारिक क्षमता नभएको नेता पदबाट हट्नासाथ उसको प्रभाव शून्य हुनपुग्छ। हिजो नेपालको राजनीतिमा जति ढलीमली गरेपनि आज गिरिजा झण्डै गुमनाम भईसके, त्यहि स्थिति प्रचण्डको पनि हुनसक्छ। यहि डरले उनलाई आफैं प्रमको कुर्सी ताकिरहने र अरुलाई मौका नदिने बनाएको हुनसक्छ।

माओवादी विना महाधिवेशन दुई दशक चल्नु र नेतृत्व परीवर्तनको कुनै हावा नचल्नुको मानसिक/वैचारिक आधार पनि यहि हुनसक्छ।

July 22, 2010

सायोनारा जापान!---- अब नेपालबाट

नेपाल फर्केपछि पहिलो पटक लेख्दै छु यो ब्लगमा। यति लामो समयसम्म केहि लेख्न नसकेकोमा क्षमाप्रार्थी छु।

जोन लेननको एउटा प्रसिद्ध गीत छ Beautiful Boy (Darling Son) भन्ने। त्यो गीतको एउटा हरफ यस्तो छ; Life is what happens to you while you are busy making another plans (तिमी अरुनै योजना बनाउदै ब्यस्त भएको बेला तिमीमाथि जे आइपर्छ, त्यहिनै जिन्दगी हो) ।

त्यस्तै-त्यस्तै भएको छ मलाई र मेरो ब्लगलाई। जुलाई महिनाको १४ मा जापान छोडेको थिएँ मैले। जुलाईका ती १४ दिनमा धेरै लेख्ने योजना बनाएको थिएँ। जापान बसाईको अनुभवलाई समग्र रुपमा ३-४ पोस्टमा उतार्ने विचार थियो। तर ती दिनहरु तयारी, बिदाई कार्यक्रमहरु र भेटघाटमै बिते  र त्यो योजना थाती रह्यो अब। भविष्यमा प्रसङ्ग मिल्दा लेख्नुबाहेक अरु उपाय छैन।  १४ को साँझबाट १६ को बिहानी सम्म सिंगापुरमा थियौं हामी, साथी भुवन भट्टजी र भाउज्युको पाहुना बनेर। १५ को दिनभरी त्यहाँको पर्यटकीय स्थल सेंतोसा टापु घुमियो। त्यो अनुभवलाई नेपाल आइपुग्नासाथ ब्लगमा उतार्ने विचार पनि थियो।

घरमा बा (पिताजी) सिकिस्त बिरामी हुनुहुन्छ। बाको अबश्थाको बारेमा भाईहरुबाट खबर पाएकै थिएँ तर स्थिति मैले अनुमान गरेभन्दा धेरै गम्भिर थियो। यसैले परिवारका अरु सदस्यजस्तै म पनि बाको हेरचाहमा ब्यस्त भएँ। बा अहिलेपनि अस्पतालमै हुनुहुन्छ।

यतिखेर भने म नेपालको आफ्नो पुरानो पेशागत जीवनलाई फेरि निरन्तरता दिने ब्यबश्था मिलाउन तीन दिनका लागि पोखरामा छु

सायोनारा जापान!

जिन्दगीको अर्को चरण अब नेपालबाट हाँक्दै छु।

समय मिलाएर ब्लगलाई निरन्तरता दिनेनै छु।  

July 14, 2010

आफ्नै "गुँड" तिर

केहि समय पहिले "गुँड" को बारेमा लेखेको थिए।

अहिले पनि "गुँड" सर्ने मेसोमै छु।

यसपाली "गुँड" एउटा हाँगाबाट अर्को हाँगा वा एउटा रुखबाट अर्को रुख नभएर एउटा जंगलबाट अर्को जंगलतिर सार्दाको अनुभूति भैरहेछ। अब "गुँड" आफ्नै जंगलतिर, नेपालतिर सर्दैछ।

नेपाल फर्किने तयारीमा ब्यस्त र थकित भएकोले ब्लगमा नया केहि लेख्ने समय निकाल्न सकेको छैन, क्षमा प्रार्थी छु।

अब केहि समयपछिनै नेपालबाटै भलाकुसारी गर्ने वाचाका साथ आज बिदा हुन चाहन्छु।

यहाँहरु सबैको जय होस्।

July 07, 2010

विश्वकपमा ब्यस्त:)

जिन्दगीको नीजि दौडधूप र फुटबलको विश्वकप मिसियो भने के हुन्छ? धेरै थोक हुन्छ। हुँदा-हुँदा ब्लगमा लेख्न समेत ढिला हुँदो रहेछ:)

सधैंजस्तो यसपालिको वर्ल्डकप पनि लागेको छ बेस्सरी, लागिराख्या' छ। निद्रा मारिएको छ एक महिना यता र जीऊ खुब बिगारिएको छ। दक्षिण अफ्रिका र जापानको समयको फरकले गर्दा सबै खेल हुँदा यता रात परीसकेको हुन्छ। लिग चरणका केहि खेल साँझको ८ बजेबाट हेर्ने मौका मिलेको थियो। त्यसपछि रातको ११ बजे शुरु हुने खेलहरु पनि हेर्न त्यति अप्ठेरो लाग्दैन तर बिहान ३ बजेबाट शुरु हुने हेर्नचाहिँ साह्रै गाह्रो हुँदो रहेछ। लिग चरणका त्यो समयका खेलहरु थोरै हेरियो, 'चुनिएका' मात्रै। कुनै टिम विशेषसंग खासै लगाव नभएपनि फुटबलमा बलिया मानिएका देशहरुको खेल छानेर हेरियो।  तर खेल भनेको खेल हो, आफूले चुनेको खेल 'झुर' भैदिने र नचुनेको खेल 'रमाईलो' भईदिने हुन्छ धेरैजसो। नपत्याईएका टिमहरुले अप्रत्याशित राम्रो खेल्दिन्छन्, 'बादशाह' मानिएकाहरु लज्जास्पद हार बोकेर फर्किन्छन्; ब्राजिल, अर्जेण्टिना, इङ्ग्ल्याण्ड, फ्रान्स, इटाली आदिजस्तै।

सेमिफाईनलबाट त सबै राति ३ बजेपछिका छन्, तर यिनलाई भने छोडिन्न:)

फुटबल र फेसबुकको 'फ्युजन' गरेर चाहिँ खुब रमाईलो भएको छ। प्राय: कोठामा एक्लै बसेर फुटबल हेरेपनि फेसबुकका माध्यमबाट नेपाली फुटबलप्रेमीहरुको भिडमै बसिएको भान भईरहेको छ। अनि लेख्न पनि फेसबुकमा त लेखिएको छ, हल्काफुल्का गफै भएपनि:))

तलको यो 'मुक्तक' फुटबल हेर्दाहेर्दै फुरेको।

'फुटबल'

खेल नहेरे जगतै खल्लो
साथीभाइका गफमा आफू झल्लो
निद्रा मारी-ज्यान बिगारी पनि हेर्नुपर्ने
हे भगवान किन बनायौ यस्तो डल्लो!

आशा छ, तपाईँ पनि फुटबलको आनन्द लिईरहनुभएको होला, भ्याएसम्म।

अघि भर्खर सकिएको हल्याण्ड र उरुग्वेको सेमिफाईनल खेल पछि फेसबुकमा यस्तो 'स्टाटस' लेखेर बिदा भईयो; 

सुन्तला रंगको लुगा किन्नुपर्ला जस्तो छ। सुन्तला रंग लगाउनेको फलिफाप हुने छाँट छ यो पालि:)

फेसबुकमा यो लेख्दा-लेख्दै एउटा जोक सम्झिएँ। त्यो जोकचाहिँ यतामात्रै राख्दैछु।

एउटा मान्छे लुगा पसलमा पसेर पसलेसंग भनेछ; "साहुजी, सुन्तला रंगको भेष्टहरु निकाल्नुस् त हेरौं।"। पसलेले धेरैबेर खोजेपछि चार-पाँचवटा हरिया भेष्टहरु निकालेर भनेछ; "ल हेर्नुस् सुन्तला रंगका भेष्टहरु।"
"मैले सुन्तला रंग भनेको साहुजी, कहाँ हरियो निकालेको?", ग्राहक छक्क परेछ।
"यो पनि सुन्तला रंग त हो नि! यो काँचो सुन्तलाको रंग। पाकेको सुन्तला रंगको भेष्ट रहेनछ, काँचैको रंगले काम चलाउनुस्।", पसले पनि के कम:-)

सबैको जय होस्!

Image Source: Click Here

July 01, 2010


[एउटा संक्रमणकालबाट गुज्रिरहेको जिन्दगीको यो क्षणमा धेरै पहिलाको अर्को संक्रमणकालको रचना राख्दैछु आज। जिन्दगीको त्यो कालखण्डको एउटा दस्तावेज।]

"म"
म थुप्रै सपनाहरुले किचिएको जीव
म महत्वाकांक्षाहरुले लतारिएको यात्री,

म रित्तै हात फर्केको लाहुरे
म फाईल बोकेर जुत्ता खियाउने योद्धा
म हरेक पटक थचारिइएको-
                   आफैं उठ्न खोज्ने मान्छे,

म यहाँ प्रमाणपत्रहरुको निर्जीव पोको
म परदेश पलायनको अर्को एउटा धोको।
(३ सेप्टेम्बर, १९९६, घर)