June 25, 2010

यो याम ढल्किँदैछ!

Image Source: Click Here


"यो याम यसरी पिएर ढल्किँदैछ
यो रातलाई साथ लिएर ढल्किँदैछ

टुट्नुको के कुरा? पग्लिसकेपछि
पानीमाथि उभिएर ढल्किँदैछ

फूल र काँडाको खाता पोल्नुअघि मेट्नुअघि 
 जोड-घटाऊ एक जिएर ढल्किँदैछ

यो याम यसरी पिएर ढल्किँदैछ
यो रातलाई साथ लिएर ढल्किँदैछ"
                                       

[केहि दिन यता केहि शब्दहरु खेल्न थालेका थिए मनमा। त्यहि खेललाई एउटा आकार दिने कोशिश गरेको छु माथि। गजल लेखनमा आत्मविश्वास भएको मान्छे ठान्दिन म आफूलाई,  तर खेल्ने क्रममा गजलकै अस्थिपञ्जर बोके मेरा भावनाले। मतला र दुई शेरमात्रै छन्। एक या दुई शेर थपौं कि जस्तो पनि लागेको थियो तर जुन सहजतापूर्वक यी फुरेका थिए, त्यति सजिलै अरु नफुर्ने देखिए। कनी-कनी केहि थपें भने तिनमा ज्यान बिल्कुलै नहुन सक्छ। त्यसैले यत्तिनै पस्किएँ। समय हुँदा यिनै शेरलाई अझ मिलाउने कोशिश भने गर्नेछु।

अनि एउटा निर्णय पनि गरें, अब म गजल पूरा गर्न भनेर कनी-कनी शेर बनाउने काम गर्न छोडिदिनेछु। सहजतासाथ जति फुर्छन्, त्यत्तिमै चित्त बुझाउनेछु।]

11 comments:

  1. Though couldn't follow verbatim,the image conveys a lot! Feel like converting it in a wall piece!

    ReplyDelete
  2. सेर नदोहोरिएकै राम्रो । सेरहरूले दिन खोजेको भाव भने निख्रिएर आउन खोजे जस्तो लाग्छ । प्रत्येक सेर एक एक भाव बोक्न सक्षम छन् र पनि कम्तीमा एक सेर थपे राम्रो होला !

    ReplyDelete
  3. मेरो पनि उस्तै हालत छ वसन्त जि । भावना र कल्पना शक्ती अपुरो हो कि शब्दज्ञान नपुगेको हो भन्दै आँफैलाई सोध्दै छु ।
    हजुरको गजल र तलको नोट देखेँ अनी काफिया सर्सर्ती हेर्दा 'सिएर' सम्झँदै पुन पढेको मलाई यस्तो शेर विचार आयो । आशा छ मर्म मारेको छैन ।
    सेतो हिँउले अँध्यारो नछोप्दा सम्म,
    साकुरा फुल्ने हाँगा, सिएर ढल्किदैछ।

    'फूल र काँडाको खाता पोल्नु अघी' भन्ने मिसरामा अझै घोतलिदै छु ।

    ReplyDelete
  4. छोटो, मिठो र शायद अलिकति अमूर्त पनि हो कि! :)

    ReplyDelete
  5. मेरा लागि त गजल मात्र पढ्न मज्जा आउने बिषयहो र मलाई पनि बिल्कुलै थाह छैन यस बारेमा।। गजलको नियम कानुन त यसका पारखी साथीहरुले नै केलाउनु हुनेछ। तर मलाइ भने भाव निकै मन पर्‍यो। समय सबैको यसरी नै गईरहेको छ अझ भनौ ढल्किँदै छ....

    ReplyDelete
  6. " यो याम यसरी पिएर धल्किदैछ
    यो रातलाई साथ लिएर धल्किदैछ "

    दमदार गएको छ नि बसन्त दाइ - छोटै भए नि राम्रो छ !

    ReplyDelete
  7. गज्जव मन पर्यो मलाई त । सँगैको तस्विरले अझ बढी मादकता थपेको छ ।

    ReplyDelete
  8. बसन्त जी तपाइले भने जस्तै गजलमा ज्यान हाल्न नसक्ने अस्थिपन्जरमा म पनि पर्छु ।
    यो सिर्जना मलाइ भने अति मिठो लाग्यो ।

    ReplyDelete
  9. यो गजल र टिप्पणी पढिसकेपछि मनमा खगेन बा (संग्रौला) का सूत्र छल्किए - 'कनेर नलेख्नू, लेख्दा नढाँट्नु ।'
    सही निर्णय गर्नुभयो, कनेर लेख्द आकार लेला कुनै रचनाले, तर त्यसमा प्राणतत्व निस्किदैन ।
    यो गजलको कुरा गर्दा, नढाँटी भन्दा मलाई तपाईंका लेख, कविता र कथा भन्दा कम्ती नै मन पर्‍यो ।
    अलि अप्ठेरो अभिव्यक्तिमा जेलिएको अनुभूति हुने गर्छ । तर प्रयास भने यहाँले जारी राख्नु नै हुनेछ, मैले देखेको छु त्यो प्रकाश ।

    ReplyDelete
  10. अलिकति कसरत नै गर्नुपर्छ जस्तो लाग्यो गजलको मर्म बुझ्नलाई | मेरो बुझाइमा यो गजल जीवनको भोगाईलाई त्यसको दार्शनिक पक्षसित सम्मिश्रण गरेर लेखिएको सुन्दर अभिव्यक्ति हो | स्वतस्फुर्त रचनामा जस्तो दम हुनेगर्छ, त्यस्तो यसमा प्रचुर छ | आफु गजल लेख्ने मान्छे नभएकोले मीटर, सेंटीमिटरका कुरा हेर्ने, बुझ्ने कुरो भएन |

    ReplyDelete
  11. हुन त साहित्यको क्षेत्रमा के कस्ता नियम छन् होला, तर मेरो बिचारमा पनि अरु पाठक मित्रहरुको जस्तै कुरा हो। आफ्नो भावनालाई पोख्न कुनै नियम पालना गर्नुपर्छ जस्तो त मलाई लाग्दैन बसन्त दाई। तपाईंको रचना राम्रो छ। मीठो लाग्यो :)

    ReplyDelete