September 18, 2009

झण्डा भनेको देश हो!


एउटा देश बन्न भूगोलको जरुरत हुन्छ त्यो पक्का हो तर देश भावनामा पनि हुनुपर्छ। भावनामा नभएको देश आत्मा नभएको शरीरजस्तै हो, जो जत्रो र जस्तो भएपनि कहिल्यै जीवन्त हुँदैन। यहूदीहरु सैयौं वर्ष भूगोलमा देशवीहिन भएर बाँचे तर उनीहरुले भावनाको देशलाई कहिल्यै मर्न दिएनन्, त्यो ज्योतिलाई जागै र ज्यूँदै राखिरहे। उनीहरुको फेरि बनेको भूगोलको देश, इजरायलले जति प्रतिकूलताहरु शायद यो संसारका कुनै पनि देशले झेलेका छैनन् तर पनि इजरायल अहिलेको दुनियाँका सफलतम राष्ट्रहरुमध्ये एक हो। इजरायलीहरुको यो सफलताको पछाडि अरु धेरै कारणहरु पनि हुनसक्छन् तर मेरो विचारमा सबैभन्दा प्रमुख कारणचाहिँ उनीहरुभित्र अत्यन्त बलियो भएर रहेको भावनाको देश हो।

भावनाको देशलाई आकार दिने केहि निश्चित प्रतीकहरु हुन्छन्। देशको झण्डा त्यस्तै एउटा प्रमुख प्रतीक हो, राष्ट्रगान अर्को महत्वपूर्ण प्रतीक हो। त्यस्तै महत्वपूर्ण अवसरहरुमा प्रयोग गरिने औपचारिक तौर-तरिका, लगाईने पोशाकहरु पनि यस्तै प्रतीक हुन्। महत्वपूर्ण पदमा बस्नेले लिने शपथ अर्को एउटा महत्वपूर्ण प्रतीक हो जसले भावनाको देशलाई, मान्छेको मनभित्रको देशलाई आकार दिन्छ। हामीले यी प्रतीकहरुलाई दिने सम्मानले हाम्रो राष्ट्रप्रेम झल्काऊँछन्, देशप्रतिको हाम्रो ईमान्दारी झल्काऊँछन्।

हाम्रो राष्ट्रगानको बारेमा विवाद थियो पहिलाबाटनै। एउटा राजनीतिक प्रणालीले आफ्नो स्वस्ति-गानलाईनै राष्ट्रगानको रुपमा लादेको थियो र त्यसमा परीवर्तन जरुरी थियो। दोश्रो जनआन्दोलनपछि त्यसमा परीवर्तन भयो, नेपालप्रेमी सबै त्यसमा खुशी छन्। (यद्यपि हतारमा राष्ट्रगानको निर्णय गरेर र 'सबैकुरा मिलेको ' खोजेर हामीले पाएको राष्ट्रगान 'ऊँट' जस्तो भएको छ भन्ने मेरो ब्यक्तिगत धारणा भने ज्यूँदै छ अझै। खैर, जनता र देशको महिमागान आएको छ यसमा, त्यतिनै काफी छ अहिलेका लागि।)

सभ्य देशका औपचारिक कार्यक्रमहरुका आफ्नै नीति-नियम र काईदाहरु हुन्छन्, जसलाई सधैं श्रद्धापूर्वक पछ्याईन्छ। यस्ता कार्यक्रमहरुको लागि एउटा पोशाक-नीति (Dress Code) पनि तय गरिएको हुन्छ। हाम्रो देशमा भने देशका प्रतीकहरुलाई ध्वस्त पार्ने कामको शुरुवात पोशाकबाटै गरियो। दौरा-सुरुवाल-कोट-टोपी र साडी-चोलो मन नपर्ला धेरैलाई (ब्यक्तिगत रुपमा मलाई पनि दौरा-सुरुवाल-कोट-टोपी असहज लाग्छ) तर यसको विकल्प के त? के यसको विकल्प औपचारिक समोरहहरुमा हिसिला यमीले जिन्स लगाएर गएजस्तै जसले जे लगाए पनि हुने हो? के एउटा स्पष्ट पोशाक नीति चाहिन्न देशलाई? यस्तै अराजकता रहिरहे, भोलि कुनै बज्रस्वाँठ पदाधिकारी "आ---, जेठको हपहपी गर्मीमा पनि को पाईन्ट-शर्ट लगाईरहोस्---" भनेर कट्टु र भेष्टमै शपथ खान सिंहदरबार नपुग्ला भन्ने के बेर? हाम्रो जत्तिकै सांस्कृतिक र भौगोलिक विविधता भएका अरु धेरै देश पनि छन्। के ति सबैमा पनि यस्तै भद्रगोल हुन्छ पोशाकको नाममा?

शपथ ग्रहणको निहुँमा अर्को अन्तहीन कुरुप नाटक मञ्चनको शुरुवात भयो देशमा। आफनै मातृभाषामा शपथ खाने काम ठिकै मान्न सकिएला, विगतको भाषिक असमानताको हिसाब-किताब गर्ने अर्थमा तर हिन्दीमा शपथ खानेसंग कुनै नैतिक तर्क छैन। सीमापारीको धाप र स्याबाशी पाउनु र त्यसका आडमा कमजोर नेपाल राज्यको आधारलाई हल्लाउनुनै हिन्दीवालाहरुको एउटै ध्येय हो।

शपथ-ग्रहणको बारेमा स्पष्ट नीति-नियमको ब्यबस्था पहिलेनै हुनुपर्छ, कुन भाषामा शपथ खान पाईने, कुनमा नपाईने, कसले खाने, कसले खुवाउने, "आफ्ना 'ईष्टदेव' भएतिरै फर्केर खान पनि पाउने "आदि‍-आदि।  हाम्रो देशको संविधान-कानूनमा यस्तो ब्यबश्था छ कि छैन थाहा छैन मलाई। यदि छ भने त्यो नीति-नियम छऊञ्जेल त्यसकै आधारमा हुनुपर्छ। चित्त नबुझ्नेहरुले नीति-नियम फेर्ने तिर लागे हुन्छ, त्यहि नियम का आधारमा पदमा जाने तर पछि नमान्ने गर्नु बेईमानी हो।

उप-राष्ट्रपतिको शपथ-ग्रहण नाटक भूलभूलैयाजस्तो जेलिएको जेलियै छ। देशको सृजनात्मक उर्जा यस्तै अनावश्यक विवादहरुमा खर्च भईरहेको छ। यो प्रकरणलाई संवैधानिक र कानूनी आधारमा सकेसम्म चाँडो समाधान गरिनुपर्थ्यो। हाम्रो सर्वोच्च अदालत पनि गज्जबकै छ, जो संगीन र संवदेनशील मुद्दाहरु संविधान-कानून हेरेर होईन, उपयुक्त 'राजनीतिक मौसम' हेरेर मात्रै गर्छ।

उप-राष्ट्रपतिको यो शपथ-ग्रहण नाटकमा धेरै अध्याय थपिईसकेका छन्, त्यसलाई यहाँ  धेरै चर्चा नगरौं तर शपथ-ग्रहणलाई अत्यन्त हल्का बनाउने काम प्रचण्ड र माकुनेले पनि गरेका हुन्। प्रचण्डले कम्युनिष्टे ढोंग देखाऊँदै 'ईश्वर' शब्दलाई 'जनता' शब्दले विष्थापित गरे। 'जनता' शब्दसंग विमति होईन मेरो तर के हाम्रो देशको प्रधानमन्त्रीले खाने शपथ भनेको "खाली ठाऊँ भर।" हो, जसमा राष्ट्रपतिले एउटा शब्द भर्छन्, प्रमले अर्को, मन्त्रीले अर्को----? कथित 'जनता'का नाममा खानुपर्ने हो भने पहिल्यै त्यसलाई संविधान-कानूनमा किन स्पष्ट नपार्ने?

अर्का ढोंगी कम्युनिष्ट माकुनेले खाली ठाऊँ समेत भरेनन् र अधूरो शपथ लिए! आफूलाई कम्युनिष्ट देखाउन 'ईश्वर' त्यागे, आफूलाई प्रचण्डभन्दा फरक देखाउन 'जनता' त्यागे। गज्जब छ कम्युनिष्टे ढोंग!!!!!!!
 
ओबामाले अमेरिकाका राष्ट्रपति पदको शपथ खाँदा शपथ खुवाउने न्यायाधिशको सानो गल्तीले गर्दा एकछिन अलमल भयो। विवाद आउला भनेर ओबामाले दोहो-याएर शपथ ग्रहण गरे। अमेरिकामा शपथ-ग्रहणलाई सिंगै संविधान बराबर मानिँदो रहेछ। हाम्रा नेताहरुमा त्यो गम्भिरता कहिले आउने?

नौरथाको मुखमा आएर यसपाली अर्को नयाँ राग छेडिएको छ, झण्डा फेर्ने! दिमागमा सृजनात्मक चिन्तन एक चिम्टी पनि नहुने र विध्वंशबाहेक केहि नजान्नेहरुले 'हलो काटी मुंग्रो' बनाउने नयाँ खेल खेल्न खोज्दैछन्। देशमा समाधान पर्खेर बसेका विकाराल-संगीन समस्याहरु अरु धेरै छन्, माओवादीलाई भने अझै यस्तै विवादास्पद र भिडन्त निम्त्याउने काममा हात हाल्ने सोख छ। ऊ किन हात धोएर झण्डाको पछि लागेको हो कुन्नि? के यो पनि देशलाई सकेसम्म अराजकता तिर लैजाने उसको घोषित योजनाको अर्को भाग हो? के यो सडकमा टायर बाल्नका लागि नयाँ 'इन्धन' हो?  माओवादी अझै केवल यस्तै उग्र र नचाहिने कुरा र भ्रमको खेती गरेर बसिरहेछ, देश भाँडमा गए जाओस्!

हाम्रो झण्डा बिशिष्ट र मौलिक पहिचानयुक्त छ। यो झण्डा कुनै धर्म, जाति वा समुदायको विरुद्ध पनि छैन। अहिले माओवादीहरु ठसठसी कनेर भएपनि यसलाई हिन्दू धर्म र राजतन्त्रसंग गाँस्न खोज्दैछन्। हाम्रो झण्डाको इतिहास माओवादीको विध्वंशात्मक दिमागले सोच्न सक्नेभन्दा पूरानो छ। विगतमा सत्तामा आएका केहिले यसमाथि आ-आफ्नो ब्याख्या लादे, त्यो साँचो हो तर त्यसमा झण्डाको के दोष?

माओवादीहरु एक कदम अघि बढेर यूरोपियन यूनियनको जस्तो झण्डा बनाउने भन्न समेत पछि परेका छैनन्। यूरोपियन यूनियन भिन्दा-भिन्दै देशहरुको एउटा खुकुलो समूह हो तर नेपाल त एउटा सिंगो देश हो। के माओवादीहरुले नेपाल टुक्र्याउन चाहेका हुन्?

माओवादीहरु सीमाहीन ढंगले हाम्रो संवेदनशीलतामाथि खेलवाड गरिरहेछन्। हाम्रो झण्डा-हाम्रो पहिचान केहि मान्छेहरुको लहडबाजी र मनपरीको साधन बन्नु हुँदैन।

झण्डा फेर्ने कुतर्कको सशक्त विरोध गरौं!
 
झण्डा भनेको देश हो!
हो, म बनेको देश हो!!

21 comments:

  1. साँच्चै भन्ने हो भने अब त भन्नेहरुलाई लाज लागिसक्यो । यिनलाई देशको चिन्ता कत्ति पनि छैन । छ त केवल सत्ताको छ । जातियता, धर्म, भाषा आदी कुराहरु सत्ताको भर्याङ बनाइ रा'छैन । यो नौटन्की कति चल्छ था'छैन । मेरो विचारमा 'लातले भगाउनु पर्ने भूत, बातले भागआउँदा' देशनै ध्वस्थ बनाउने हुन कि भन्ने डर छ ।

    ReplyDelete
  2. माथिकोमा थप ....
    देशघाती हुन यि डाँकाहरु ।
    राम्रो कुरा गर्नुभो!

    ReplyDelete
  3. कुरा प्रष्ट छ। सत्तामा बसे पनि, बाहिर बसे पनि रचनात्मक कार्य केही पनि गर्न नसकेपछि माओबादी आफ्नो अस्तित्वको प्रमाण दिनलाई यो कूतर्कमा लागेको हो ।

    यदि माओबादी वा यसका विरोधीहरु, यो ऐतिहासिक, अत्यन्त आकर्षक र संसारमै अनुपम नमूनाको रुपमा रहेको झण्डामा राजतन्त्र वा हिन्दूत्वको गन्ध पाउँछन भने तिनलाई इतिहास पढन र आफ्नो घ्राणशक्तिको उपचार गर्न सल्लाह दिन सकिन्छ ।

    चन्द्र र सुर्य अखण्डता र चिरकालसम्म वा सुर्य र चन्द्र रहेसम्म देश बाँचोस भन्ने प्रतिक हुन ।

    तेत्तिसकोटी देवता र घाँस-पात देखी खोला नालासम्म वा समष्टिमा सम्पुर्ण जगतलाई नै ईश्वर मान्ने हिन्दू परम्परालाई हेर्‍यो भने त तिनका हँसिया र हथौडा पनि कुनै देवी र विश्वकर्माका हातमा देखिने छन ।

    ReplyDelete
  4. झन्डा भनेको हाम्रो देश हो !
    झन्डा भनेको हाम्रो शान हो !
    झन्डा भनेको हामी सबै नेपाली को पहिचान हो !

    त्यसैले झन्डा फेर्ने कुर्तकको बिरोध गर्नु पर्छ सबै जना मिलेर ।

    ReplyDelete
  5. जबसम्म चन्द्र सुर्य आकासमा रहन्छन् तब सम्म देश रहिरहने गरि बनाएको झण्डा हटाउन खोज्नु भनेको चन्द्र सुर्य आकाशमा रहँदै देश नरहने स्थिति बनाउन खोज्नु हो । अरूलाई विदेशीको दलाल भन्दै चन्द्र सुर्य रहुञ्जेल रहिरहने देशलाई हङ्कङ्बाट फर्किने बित्तिकै विलिन गराउन खोज्ने देशप्रेमी महामानवहरूको वखान कति गरूँ ?

    ReplyDelete
  6. धिक्कार छ ति नेपाली नेता र जनताहरुलाई जो जो हाम्रो चन्द्र सूर्य झण्डा फेर्ने कुरामा समर्थन जनाउँछन् ।

    मैले झण्डाको विषयमा लेखेको यौटा इमेल भएको पोष्ट र यौटा कविता भएको पोष्टको लिँक यहाँ राखेको छु - http://jaditdeepak.blogspot.com/2007/10/blog-post_26.html र http://jaditdeepak.blogspot.com/2007/10/blog-post_28.html

    ReplyDelete
  7. Well written. You should post the same article on big newspapers like Kantipur and Gorakhapatra so that every individual can read it and realize the need to take action against forthcoming disasters. Infact these people have already made a big mess to our country and don't know what's their inside. they are like rotten eggs trying to spoil everything

    ReplyDelete
  8. "म मरे पनि मेरो देश बाची रहोस !
    हिमालको टाकुराम....
    नेपालीका पाखुरामा चन्द्र र सुर्य अंकित झन्डा फरफरी नाची रहोस!"

    ReplyDelete
  9. मलाई त लाज नै लागेर आयो। हेर्नुस त झष्डा मात्र हैन रे अब राष्ट्रिय चरा कुखुरा हुनु पर्छ रे। कारण के त भन्दा जता ततै पाईदैन रे डाफेँ। बास्तबमा देशको कसैलाई पनि मतलब रहेन छ र देशको मुल मुद्दामा कसैको पनि चासो रहेन छ। अराजकता निम्ताउने मात्र रहेछ। यस्तै ताल भएर त होला राजा ज्ञानेन्द्रले असक्षम भन्दै हान्दै गरेको। हरे शीव।।।

    ReplyDelete
  10. अहिलेको झण्डा जसले जे प्रयोजनको लागी सुरु गरेपनि अब सबैको प्यारो बनेको छ। माओबादी लगायत अरु केहि दलको तर्क भनेको यो झन्डाले राजतन्त्र र हिन्दु धर्मको मात्र प्रतिनिधित्व गर्छ भन्ने छ। साथीहरुले यो तर्कलाई खन्डन गर्ने हिसाबले आ उनु पर्यो। हुन सक्छ कुनै जमानामा त्यसो थियो होला। तर अहिले झण्डामा भएको कुन कुराले धर्म र राजतन्त्रको सन्केत दिन्छ त? न रङ न आकार न त त्यस भित्र भएका चन्द्र र सुर्य ले।

    यो फेर्नै हुदैन। किनभने:
    १. लामो समय सम्म चलिआएको।
    २. रङ मन् पर्छ।
    ३. आकार unique छ। सन्सारमा चिनाउन सजिलो। सबैले चिन्छन्।
    ४. चन्द्र सुर्य सबैको साझा हो। कुनै धर्म को पनि होइन। कुनै शाषकको पनि होइन। र यसको अर्थ पनि गरुङो छ।
    ५. आफ्नो मौलिकता हुदा हुदै अरुको नक्कल गर्न खोज्ने प्रब्रिति खतरनाक। राम्रो कुरा नक्कल गर्नु छैन।

    खैर, माओबादीले बहसको लागी ल्याएको भनेका छन। यो बहसले मेरो बिचारमा अरु केही गर्दैन। यो झण्डा प्रतिको माया प्रेम अझै बढाउने भो।

    ReplyDelete
  11. Yes,
    It is the symbol that has been encrypted within our heart and mind. It is more than one's political blunder.

    Nepali Flag

    ReplyDelete
  12. आफ्ना हिम्सात्मक चिन्तन र व्यवहारलाइ फेर्न छोडेर , देशको झन्डा फेर्ने कुरालाई के भन्न सकिन्छ भने सबै काम छोडी पुच्छरमा हात ।
    बडादसैं २०६६ को मङ्गलमय हार्दिक शुभकामना ।
    कृष्ण वस्ती
    विराटनगर ।

    ReplyDelete
  13. अब यिनीहरूले घाँस हैन गोबर खालन भन्ने डर भो | चेतका कुरा गर्न छोडेछन् | देशका लागि राजनीति गर्नेलाई पो झण्डा भनेको देश हो भन्ने थाहा हुन्छ त बसन्तजी | यिनले यस्तो गहनकुरा बुझ्लान र ? बुद्दिको ठेडी खुकिलिएछ , त्यहीं टकटकेको अर्थ मात्र बुझिदिए पनि हुन्थ्यो सर्बप्रथम त |

    ReplyDelete
  14. This is Awesome article. I love this. I am impressed.

    ReplyDelete
  15. काम नापाकि बुहारी, पाड़ाको ...किरा हेरी जस्ता यी बकम्फुसे नेताहरु / नदी बेचे, इज्जत बेचे / अबा बाकी त्याही एउटा झन्डा ता बेचीं खानु छ, यिनिहरुलाई .

    ReplyDelete
  16. माओवादी को बिरोध गर्ने नाउमा जे पनि भनिदिने ब्रो हरु ले ?

    झन्डा भनेको लट्ठिमा झुन्द्याइएको कपडा को एउटा टुक्रा हो

    झन्डा को व्याख्या गर्नुस्:

    The crescent moon is said to represent the royal house, while the sun represents the Rana family."

    http://www.worldatlas.com/webimage/flags/countrys/asia/nepal.htm

    ReplyDelete
  17. झण्डा कुनै पनि हालतमा फेरिनु हुदैन । हावा जी झण्डा हैन त्यो परिभाषालाई फेर्नुस ।बसन्त जी समय सापेक्ष टाँसोको लागि धन्यबाद ।

    ReplyDelete
  18. There are thousands of other important issues to be addressed if we really intend to build the so called 'New Nepal'. I don't know why the politicians are engaged in extremely irrelevant and insignificant issues. What I feel at this point is, probably the leaders are diverting the attention of the Nepalese citizen to these issues with the purpose of hiding their collective failures.

    ReplyDelete
  19. साचिक्कै घत लाग्दो लेख ! राष्ट्रिय गान को उचाई हेर्यो भने लाग्छ यो प्रा. बि को बिद्यार्थी कबिता प्रतियोगिता मा उत्क्रिस्ठ कबिता हो । झन्डा अब कुन प्राथमिक डिजाईनएर ले डिजाईन गर्ने उधोग गर्दै छ ? नेता होइनन इ त चोर् हुन चोर् को दिमाख मा के नै श्रीजना बिकास हुन्थियोर इन्लाई त यस्तै बितन्दा मै रमाइलो लाग्छ । सुगुर लाई सोर्ग लैजादा छि एस्तो फोहोर भन्थियो रे तेस्ताइ इ चोर् हरुको सोर्ग भनेको मान्छे मार्ने बारमासे आन्दोलन गर्ने , यस्तै मा इन का दिन् छन । बिकास भयो देश ले राम्रो गतिलिग्यो भनेत इ चोर्हरुलाई कहाँ पच्छ र ?

    ReplyDelete
  20. पढिदिनुहुने, प्रतिकृया दिनुहुने सबैलाई हार्दिक धन्यबाद!

    हावा ब्रो, झण्डालाई सिर्फ एउटा टालोको रुपमा लिने हो भने अरु कुराहरु जस्तै राष्ट्रिय गान,शपथ ग्रहण आदिलाई पनि त्यसैगरी महत्वहीन माने हुन्छ। राष्ट्रिय गान भनेको जाबो एउटा गीत न हो! अनि शपथ ग्रहण भनेको पनि एउटा चिया-गफ न हो! यी कुरा किन चाहिए र हामीलाई?!
    विशुद्ध भौतिकवादी आँखाले हेर्दा झण्डा कपडाको टालो हो तर त्यो संग देशको पहिचान र धेरै नेपालीहरुको आत्मीयता गाँसिएको छ। त्यो त्यसको प्राण हो। प्राण वा आत्माको अस्तित्व नस्विकार्ने मान्छेहरुले यस्ता प्रतीकहरुले आफूमा बोकेको आत्मा चिन्न निश्चय पनि सक्दैनन्।
    इतिहासकारहरुले के पुष्टि गरिसकेका छन् भने हाम्रो झण्डा लिच्छविकाल र त्यो भन्दा पनि पहिलेबाट प्रयोगमा छ। अब राणा वा शाहहरुले आफ्नो मनखुशी ब्याख्या यसमा थोपरिदिए भन्दैमा यसलाई उनीहरुकै पेवा मान्नु र फ्याँक्नु कसरी जायज हुनसक्छ? राणाहरुले आफूलाई कथित चन्द्रवंशी र शाहहरुले आफूलाई कथित सूर्यवंशी माने भन्दैमा के अब हामीले चन्द्रमा र सूर्यलाई थुक्ने हो? तिनले मान्दैमा ती चन्द्र र सूर्यका सन्तान हुन्छन्? झण्डा विरोधीहरुले जसरी चन्द्र र सूर्य रहेको निहुँमा झण्डाको मानमर्दन गरिरहेका छन् त्यसैगरी के चन्द्र र सूर्यको आवश्यकता छैन अब यो पृथ्वीलाई भन्न सक्छन्? यो झण्डा शाहराज र राणाराजभन्दा पुरानो छ र झण्डामाथि गरिएका ब्याख्या दशौं छन्। एउटै ब्याख्यालाई आधार मानेर यसलाई जलाउने नियत कुनियत हो, अरु केहि होईन।

    ReplyDelete