August 29, 2009

जापानमा भोलि चुनाव

जापानमा मान्छेहरुलाई काम खोज्न (र रोजगारदातालाई कामदार खोज्न) सघाउने HELLO WORK भन्ने संस्था छ। जापानका साना-ठूला सबै शहरहरुमा यसका कार्यालयहरु देख्न सकिन्छ। म अड्डातिर लाग्ने बाटोमा पनि एउटा शाखा छ। अचेल हरेक दिन बिहान मानिसहरुको लामो लहर देखिन्छ त्यसको अघिल्तिर। त्यो कार्यालय ८:३० मा खुल्छ होला, तर आठ बजेबाटै मानिसहरुको लाम देख्न सकिन्छ। बिगत केहि महिना यता त्यो लाम क्रमैसंग ठूलो हुँदै गएको छ।

मलाई याद छ, पहोर यहि ताकासम्म पनि यति बिहानै यस्तरी मान्छेहरुको लाम देखिन्नथ्यो। जापानमा बेरोजगारी बढेको र अझ बढ्ने संकेतका लागि यो एउटा प्रत्यक्ष सूचक हो मेरो ब्यक्तिगत अनुभवमा। यसै प्रसंगमा हिजोमात्रै प्रकाशित नयाँ आर्थिक विवरणका अनुसार जुलाई महिनामा जापानको बेरोजगारी दर, विगत ६ वर्षकै उच्च, ५.७% पुगेको छ।

बढ्दै गएको बेरोजगारी विगत केहि समय यताको विश्व आर्थिक मन्दीसंग प्रत्यक्ष रुपले जोडिएको छ र यो जापानले अहिले सामना गरिरहेका थुप्रै समस्याहरुमध्ये एउटा हो र जापानमा भोलि सम्पन्न हुने डायट (जापानी संसद)को प्रतिनिधि-सभाको चुनावको एउटा प्रमुख मुद्दा। विश्व समुदायसंग दाँजिदा जापानको प्रमुख शक्ति भनेको उसको औद्योगिक उत्पादन हो, यो अहिले अत्यन्त समस्याग्रस्त भईसकेको छ। औद्योगिक उत्पादनको निकासी घटिरहेको छ। विश्व पूँजीवाद र स्वयं जापानी पूँजीवाद सस्तो श्रम र कच्चा पदार्थको खोजीमा चीन, भियतनाम र अरु नयाँ गन्तब्यतिर लागिरहेछ। जापानको जन्मदर कम हुँदै जाँदा जापानी समाजको आफ्नै श्रम-शक्तिमा पनि ब्यापक ह्रास भईसकेको छ। अहिलेको उच्च जीवनस्तर कायमै राख्नु र विश्व औद्योगिक गतिबिधिको केन्द्रको रुपमा पनि रहिरहन सक्नु उसको लागि एउटा ठूलो चुनौती हो।

अर्कोतिर, सामरिक हिसाबले पनि चीन बलियो हुँदै आईसकेको छ। एउटा 'आतंक'को रुपमा उत्तर कोरीया सधैं उपष्थित छ। साझा ब्यापारिक-औद्योगिक स्वार्थ बाहेक दक्षिण कोरीयासंगको सम्बन्ध पनि त्यति सुमधुर मान्न सकिँदैन। दोश्रो विश्वयुद्धपछिको अमेरिकासंगको 'विशेष सम्बन्ध' लाई पुनर्परिभाषित गर्नुपर्ने आवाज उठेको धेरै भईसक्यो। प्रशश्त योगदान हुँदाहुँदै पनि विश्व समुदायमा जापानको कूटनैतिक प्रभाव साह्रै कम छ भनेर जापानीहरु स्विकार्छन्। त्यसकारण यो चुनावको परिणामले जापानको सामरिक-कूटनीतिक छविमा पनि परीवर्तन ल्याउने सम्भावना प्रवल छ।

अहिलेसम्मका सर्वेक्षणहरु अनुसार डेमोक्रेटिक पार्टी अफ जापानले अत्यधिक बहुमतका साथ जित्ने सम्भावना बढी छ। २००७ बाट यो माथिल्लो सदनमा पनि सबैभन्दा ठूलो दलको रुपमा रहेको छ र हालैका स्थानीय चुनावहरुमा पनि यो सफल देखिएको छ तर यो संग राष्ट्रिय सरकारको अनुभव भने अझै छैन। विगत पचास वर्ष भन्दा बढी जापानमा लिबरल डेमोक्रेटिक पार्टीले लगभग एकछत्र सरकार चलाऊँदै आएको छ। १९९३ मा एकपटक, त्यो पनि दश महिनाका लागि मात्रै यो सत्ता बाहिर थियो। यो चुनावलाई जापानमा वास्तविक रुपमा दुई दलीय प्रतिस्पर्धा शुरु भएको चुनावका रुपमा पनि लिईन्छ।

यतिखेर जापानी चुनावको प्रचार-प्रसार उत्कर्षमा छ। माईकिङ्ग गर्दै कुदिरहेका बिभिन्न दलका भ्यानहरु बिहानदेखि साँझसम्म सडकमा देखिन्छन्। सब-वे स्टेशनका अघिल्तिर, सुपरमार्केटका अघिल्तिर र अलि भिड-भाड हुने चोकहरुमा उम्मेदवार वा प्रतिनिधिहरु भाषण गरिरहेका हुन्छन् र सहयोगीहरु पर्चा बाँडिरहेका हुन्छन्। जापानमा हाम्रो देशमा जस्तो एक दिनको कामकाजै ठप्प पारेर तामझामको जुलूशसहित आमसभा गर्ने चलन छैन। सम्पूर्ण राजनीतिक गतिबिधिहरु जनताको दैनिक चर्या र ब्यापार-ब्यबसाय-उत्पादनमा कुनै असर नपर्ने गरी सञ्चालित हुन्छन्। पोष्टरहरु टाँस्नका लागि ठाऊँ-ठाऊँमा सूचना-पाटीहरु राखिएका हुन्छन् र सबै उम्मेदवारले तिनैमा मात्र टाँसेको देखिन्छ। चुनावी अभियानमा रेडियो-टेलिभिजनको प्रयोग पनि ब्यापक हुनेनै भयो।
एउटा चुनावी क्षेत्रका उम्मेदवारहरुका पोष्टरहरु टाँसिएको सूचना-पाटी
पहिला-पहिला जापानीहरु राजनीतिमा पटक्कै रुचि नराख्ने हुन् कि जस्तो लाग्थ्यो तर त्यो होईन रहेछ। राजनीतिक रुचिका नाममा कुनै दलको आजन्म घोडा हुनु र मूढे समर्थन र लिंडे विरोध गर्नुमात्रैलाई जानेका हामीलाई जापानको राजनीति राजनीतिजस्तो लाग्न समय लाग्नु स्वाभाविक हो।

१९४५ पछिको तथ्यांक हेर्दा १९९० भन्दा पहिला मतदान प्रतिशत ६५ भन्दा माथि देखिन्छ। नब्बेको दशकमा भने कम हुँदै गएको छ। २००५ को पछिल्लो चुनावमा यो प्रतिशत फेरि ६६.६ मा उक्लेको छ। एक हिसाबले जापानका लागि युगान्तकारी मानिने भोलिको चुनावमा मतदान प्रतिशत सजिलै ७० भन्दा माथि जाने अनुमान गरिँदै छ।

डेमोक्रेटिक पार्टी अफ जापान र लिबरल डेमोक्रेटिक पार्टीमा नीतिगत भिन्नता धेरै छैनन् भन्छन् विश्लेषकहरु। तर जापान ब्यापक परीवर्तनको संघारमा भएको महशूश गर्न सकिन्छ र जसले जितेपनि त्यो परीवर्तनलाई अब रोक्न सक्ने स्थिति देखिँदैन। जापानी जनताहरु परीवर्तनको जिम्मा शायद नयाँ पार्टीलाईनै दिन चाहन्छन्।


*****************************************
[सम्बन्धित थप कुराहरु यहाँ पढ्न सक्नुहुन्छ;
जापानी राजनितिलाई बुझ्न खोज्दा
जापानमा उत्तर कोरीया आतंक

- जापानको यो चुनावको बारेमा दिपन्द्रजीले आफ्नो ब्लगमा एउटा गहण विश्लेषण राख्नुभएको छ।
]

11 comments:

  1. basanta jee , chunabi awasthaa lai najikai bata bishleshan garna safal hunu bhayeko chha .ramro lagyo lekh

    ReplyDelete
  2. अहा ! कति रामरी मिलेर एउतै सुचना पाटीमा उम्मेदवारीको पोस्टर टासेका ! नेपालमा भएको भए एउटा बलियो बाङ्गो दलले उहिलै फुटाएर आफ्नो मात्र राख्थ्यो !

    ReplyDelete
  3. A nicely penned article on the Japanese politics and elections! I really liked it. btw, thanks for providing a link to the post at my blog written on the similar issue.

    ReplyDelete
  4. चुनावमा सहभागी सम्पूर्ण पार्टी हरुलाई सफलताको कामना । बसन्त जी मिठो जानकारी बाँडनु भएकोमा धन्यबाद ।

    ReplyDelete
  5. Basanta jee, thanks for sharing intresting information.

    ReplyDelete
  6. मैले चाहिँ हिजो चुनाब भन्ने बेलामा कमेन्ट गर्न पुगेछु | तै पनि जानकारीको लागि धन्यवाद | अहिले त रिजल्ट पनि आइसक्यो होला | जुन नेतृत्व आएको भए पनि जापानको शानलाई कायम राख्ने ठुलो जिम्मेवारि पुरा गर्नु पर्ने हुन्छ |

    ReplyDelete
  7. सबैलाई धन्यबाद! नभन्दै डेमोक्रेटिक पार्टीले 'छप्पर फाड्के' जितेको छ। अब हेरौं, के के परीवर्तन हुने हो जापानमा।

    ReplyDelete
  8. हेल्लो सर ! जापानमा नयाँ बन्दै गरेको सरकारले त्यहाँ रहेका ४० हजार अ मेरिकी सेना बारे के भन्दै छ ?

    ReplyDelete
  9. प्रतिकृयाका लागि धन्यबाद आत्मारामजी!
    अलिकति भाषागत कठिनाई र अलिकति नेपालकै समाचार बढी पढ्ने कारणले गर्दा विस्तृत रुपमा थाहा छैन मलाई। मैले बुझेसम्म डेमोक्रेटिक पार्टी जापानमा रहेका अमेरिकी सेना कम गर्न र तिनका लागि जापानले खर्च गर्दै आएको रकम केहि घटाउन चाहन्छ। तर यो सोचेजस्तो सजिलो छैन। दोश्रो विश्वयुद्धले खडा गरेको बिशिष्ट विश्व राजनीतिक परिवेश कायमै छ अझै र जापानको सुरक्षाको लागि अमेरिकी उपस्थिति अनिवार्यनै छ। झन् अहिले त उत्तर कोरीयापनि आणविकीकरणमा दौडिसकेको छ र चीन सामरिक रुपमा शक्तिशाली बन्दै आएको छ। त्यसकारण मेरो विचारमा जापानको अमेरिकी सेना उपस्थितिका बारेमा कुनै ठूला नीतिगत परीवर्तनहरु हुने छैनन्, भएपनि मन्द गतिमा र मतदातालाई देखाउनका लागि मात्रै साना-तिना केहि परीवर्तनहरु हुनेछन्।

    ReplyDelete
  10. जापानको बारेमा राजनीतिक जानकारी पढ्न पाएको मा धन्यवाद, लेखकज्यू । यस्तै लेख भविष्यमा पनि पढ्न पाउने आशा छ ।

    ReplyDelete
  11. धन्यबाद Anonymousज्यू!

    ReplyDelete