August 11, 2009

भूईँचालो आयो!

Image Source:Click Here

आज किन साढे चारै बजे निद्रा खुलेको होला भनेर सोच्दै थिएँ, भूईँचालो जानलाई पो रहेछ:) यो भूईँचालोलाई पनि 'आयो' भन्नु कि 'गयो' भन्नु, आ'को पनि हो, फेरि आएर ग'को पनि हो:)

बिहान ५:०७ मा ठूलै भूईँचालो गयो। शुरुमा थोरै कम्पन थियो र नीच मारेर बसियो तर एकछिन पछि त बेस्सरी नै हल्लिन थाल्यो। छोरीलाई बोकेर दौडियो तर ढोकामा पुग्दा-नपुग्दै भूकम्प रोकियो। छोरी निद्रामै थिई र त्यसपछि पनि अर्को दुई घण्टा सुती। जापानमा सानातिना भूकम्प गईनै रहन्छन् नियमितजसो। केहि महिना यताबाट भने यो भेगमा कम्पनको अनुभव भएको थिएन। अस्ति टोकियोतिर गएको यत्तिकै ठूलो भूकम्पको असर पनि यता त्यति देखिएको थिएन।

बढी प्रभावित भागमा Japanese Seismic Scale अनुसार Magnitude 6 थियो, नागोयामा Magnitude 4 देखाउँदै थियो टेलिभिजनले।

आजको भूकम्पबाट त्यति ठूलो क्षति भएन भन्दैछन् जापानी अधिकारीहरु। जापानका भौतिक संरचनाहरुको उच्च गुणस्तरलाई हेर्दा धेरै क्षति नहुनु स्वाभाविक हो। बेलुकी सात बजेको समाचारमा १११ जना घाईते भएको भन्दै थियो। यो भूकम्पका कारण एउटा आणविक विद्युत गृहका दुई रियाक्टरहरु स्वचालित रुपमा बन्द भएछन्। सुरक्षा जाँचका लागि केहि ट्रेन लाईनहरु दुई-तीन घण्टा रोकिएछन्। सडकका केहि भागहरु भत्केको पनि समाचार छ।

नागोया लगायतको यो भाग भौगोलिक रुपमा जापानको मध्यभाग हो। पूर्वपट्टिको समुद्री भागलाई Sea of Japan अथवा East Sea भन्ने चलन छ। जापानको पूर्वमा प्रशान्त महासागर छ। आइची, मिए, शिजुओका प्रान्त नजिकको प्रशान्त महासागरको भागलाई यदाकदा East Sea पनि भनिन्छ। East Sea जापानीमा "तो(उ)काई"(TOKAI) हुन्छ। त्यसैले यो क्षेत्रलाई 'तोकाई भेग' पनि भनिन्छ। यो 'तोकाई भेग'मा केहि वर्षभित्रै एउटा गम्भिर बिध्वंशकारी भूकम्प आउने सम्भावना धेरै छ भन्ने भूकम्पविद्हरुको ठहर छ। त्यो सम्भावित भूकम्पलाई 'तोकाई भूकम्प'(TOKAI earthquake) भनिन्छ। टिभीमा आज बिहानको भूकम्प त्यहि 'तोकाई भूकम्प' हो कि होईन भन्ने बारेमा पनि छलफल हुँदै थियो, तर यो नै तोकाई भूकम्प होईन भने विशेषज्ञहरुले। यत्तिकै टरेको भए त साह्रै राम्रो हुन्थ्यो। साथै आजको भूकम्प 'तोकाई भूकम्प'संग कुनै हिसाबले पनि सम्बन्धित छैन रे।

Image Source:Click Here

विगत ३० वर्षभन्दा बढीबाट जापानीहरु त्यो भूकम्प आऊँदा हुनसक्ने जनधनको क्षतिलाई न्यून पार्ने अभियानमा लागिरहेका छन्, त्यो पनि अत्यन्त गम्भिरताका साथ। 'तोकाई भूकम्प' का बारेमा जनचेतना जगाउने, मान्छेहरुलाई त्यो भूकम्प आऊँदा जहाँसुकै भएपनि कसरी सुरक्षित हुने भन्ने सिकाउने अभियान लगातार चलिरहेका छन्। किण्डरगार्टेन देखि लिएर विश्वविद्यालयसम्म, कार्यालयहरु देखि कलकारखानाहरुसम्म र अस्पताल देखि शपिङ्ग सेन्टरसम्म; सबैमा वर्षको एक वा दुई पटक 'तोकाई भूकम्प अभ्यास' गरिन्छ र मान्छेहरुलाई साँच्चैको भूकम्पका लागि तयार गराईन्छ। कुनै दुर्घटना घटिसकेपछि मात्रै त्यसका बारेमा सोच्ने हामी नेपालीहरुका लागि त यस्तो तयारी फजूलमात्रै पनि लाग्न सक्छ; तर जापानीहरु हामीजस्ता होईनन्।

नेपाल पनि यस्तै विध्वंशकारी भूकम्पको सम्भावना बोकेर बसेको छ भन्ने कुरामा विशेषज्ञहरु एकमत छन् तर हाम्रो तयारी अत्यन्त न्यून छ। जापानीले जसरी पैसा खन्याउन सक्ने स्थिति नहोला हाम्रो, तर जनचेतना जगाउन थोरै पैसामा पनि नसकिने होईन। त्यस्तै भौतिक संरचनाको निर्माण मापदण्डलाई कडाईका साथ लागू गर्ने-गराउने कुरा पनि देशको प्रशाशनिक-राजनीतिक संयन्त्र अहिलेभन्दा अलिकति मात्रै बढी ईमान्दार भईदिए खासै गाह्रो होईन। देशको शहरीकरणलाई अहिलेभन्दा योजनाबद्ध बनाउने, कम्तिमा चाहिएको बेलामा जहाँसुकै पनि दमकल, एम्बुलेन्स आदि जानसक्ने सडक बनाउने कुरा पनि थोरै आँटलेनै हुने कुरा हो। हाम्रो समस्या मूलत: तुच्छ ब्यक्तिगत स्वार्थका लागि समाज र देशको वृहत्तर स्वार्थको बलि दिने घटिया मनोवृत्ति हो।

भूकम्पको लगत्तै सम्पूर्ण संचार माध्यमहरु त्यसकै विषयमा केन्द्रित थिए। यहि महिनाको अन्त्यमा हुने डायटको चुनावको कुरा समेत थिएन आज दिनभरिका समाचारहरुमा। भूकम्पको केहि बेरपछिनै सम्बन्धित मन्त्री जनतालाई आश्वस्त पार्न आईसकेका थिए र तुरुन्तै मन्त्रीपरिषदको बैठक हुने समाचार सुनाउँदै थिए रेडियो-टेलिभिजन। जाजरकोटमा हैजाको डढेलो लागेको बेला पनि विदेश शयरमा पुगेर डकार्ने अधम प्रवृत्तिका मन्त्री र नेताहरुको बोलवाला भएको हाम्रो देशको हाल देखेर रुन मन लाग्छ यस्तो बेलामा र मुखबाट अनायास निक्लन्छ; 'यस्तो पो सरकार---!'

मैले तपाईँलाई फेरि उहि पूरानै नेपाली राजनीतिको फोहर तिर तानें कि क्या हो! माफ पाऊँ। आउनुस् कुरोलाई आफ्नै अनुभवतिर मोडौं।

कुरो चाहिँ फेरि भूईँचालोकै हो। जापान आउनुभन्दा पहिला भूकम्प त्यति धेरै भोगिएको थिएन। अलिक राम्रोसंग याद भएको २०४५ सालको भूकम्प हो जस्ले नेपालको पूर्वाञ्चलमा बिध्वंश गरेको थियो। त्यसैले केहि समयसम्म सानोतिनो भूकम्पमै पनि आत्तिईन्थ्यो।

२००४ सालमा जापानमा धेरै ठूला भूकम्प आए, एउटाले त निकै ठूलो क्षति ग-यो। त्यहि वर्षको जुलाई-अगष्ट ताकाको एउटा आईतवार दिऊँसोको कुरा हो। आईतवार भएपनि म ल्याबमै थिएँ। म भएको तल्ला सूनसान थियो। अचानक भूईँचालो आयो, म डराएर बेतोडले कुदें। दुई तल्ला ओर्लेर भवनको मूल ढोकामा पुगेपछि बल्ल सास फेरें। भूकम्प रोकिईसकेको थियो। म बिस्तारै माथितिर फर्कँदै थिएँ, एकजना वृद्ध प्रोफेसर अलमस्ती चालले तल झर्दै थिए। प्रोफेसर मेरो अनुहार हेरेर 'भूकम्प आयो है! तँ डराईस् कि क्या हो? डराउनु पर्दैन, साह्रै सानो थियो।'भन्दै ओर्लिए। अब ती बूढा जस्तो भूकम्पसंगै नाचेर हुर्केको मान्छे परिएन आफू, के गर्ने त:)

त्यसकै केहि दिनपछि फेरि यस्तै भयो। रातको साढे बाह्र तिर भूईँचालो आयो। म बेतोडले बाहिरतिर कुदें। अरु पनि कुदेर आउने आशा थियो मेरो, तर बाहिर सूनसान थियो। आफैलाई 'हत्तेरी---!" भन्दै भित्र फर्किएँ एकछिन पछि। सानै थियो होला त्यो पनि, वा आएकै पो थिएन कि:)

भूकम्पकै प्रसंगमा मैले पहिला पनि केहि कुरा गरेको छु, आजका तीन कुराYet another earthquake शिर्षकका टाँसोहरुमा।

17 comments:

  1. tokai earthquake यतिकै भएर टरेकै जाति ... !
    २००४ को भूकम्प मा त निकै मज्जाले दौडनु भएछ नि ...हुन् त ...ज्यान को सबैलाई माया हुन्छ |

    नेपाली र जापनी को तुलना नै नगर्नुस न बसन्त जी ! त्यो पनि पुर्ब तयारीको बारेमा ... नेपाल मा त ... घटना भै सके पनि मात्र ... सोच्ने र ... बिजोग नै भो भनेर आतिने बानि छ ... नेता र सरकार त ..उस्तो भए भए ... तर नेपाली जनता पनि कम छैनन् |

    ReplyDelete
  2. भूकम्प सम्बन्धि पुराना प्रसँगहरु रमाईला रहेछन् । मैले नि झापामा बि सं २०४५ सालको बाहेक अरु भूकम्पहरुको खासै अनुभव गरेको छैन् ।

    तोकाइको पनि बेदनाथजीले भन्नुभएझैं टरेकै जाती ।

    ReplyDelete
  3. म बसेको ठाउँमा भने मैले थाहनै पाईन हुन सक्छ कि यसको कम्पन यहाँ सम्म नआएर होला। जापान बसाईको बेलामा हाल सम्म मैले यस्तो अनुभब गरेको छैन, गर्न पनि नपरोस। भुकम्प सम्बन्धी राम्रो अनुभब राख्नु भयो धेरै धेरै धन्यबाद है बसन्तजी।

    ReplyDelete
  4. अब त बानी परिसक्यो होला

    ReplyDelete
  5. भुइँचालोको भोगाइमा आफू भने साह्रै केटाकेटी परियो ।
    वसन्तज्यूको अनुभव भने पढ्न रमाइलो लाग्यो, भोग्दा के साह्रो सस्ती भो होला ।
    बेतोडले दौडिन अब त बानी नै परिसक्नुभएछ । नेपाल र जापानको यही स्थिती रहिरहने हो भने आगामी दशकौँ वर्षसम्म पनि तुलनाको छेउसम्म पनि पुग्न सकिनेमा शङ्कै छ । चाहेकै भए त पूर्वतयारी मात्र होइन, विकास-निर्माणको काम पनि मजैले हुने थिए यहाँ ।
    जापानी अधिकारीले आफ्नो तर्फबाट सावधानी र सचेतना कार्यक्रम गर्ने नै छ, व्यक्तिगत स्तरमा तपाईंले पनि सतर्कता अपनाउन सक्नुहोला है !

    ReplyDelete
  6. धाइबा जी ले भने झै म पनि काँचै परे यो भूकम्पको कुरामा । सम्पन्नाताको देश भएको कारण सानातिना भूकम्पहरुलाई त तह लगाइहाल्छन जापानीहरुले । राजनैतिक गन्धा खेलले सबैलाई राम्ररी गाँजेको हाम्रो देशमा खै कहिले होला यस्ता दीर्घकालिन उपाएको खोजमा बत्तीने ।
    त्यो के जाती tokai earthquake चाँही भागेकै राम्रो ।

    ReplyDelete
  7. यस्ता साना तिना भुकम्प त सामान्य लाग्न थालिसक्यो होला होईन त बसन्त जी।
    भुकम्प सम्बन्धि रमाईलो अनुभव बाड्नु भएकोमा धन्यबाद!!

    ReplyDelete
  8. हैन बसन्त ब्रो, जापान मा त भुकम्प अैरहने हुनाले त्यहाको घर अर्कै किसिमको हुन्छ भन्ने सुनेको थिए घर ढलेर पनि खासै चोट लाग्दैन भन्थे त कोही कोही... फोल्डिङ् घर हुन्छ भन्ने सुनेको थिए होइन र छ कि क्या हो

    सानो तिनो भुकम्प त काठमाडौं वरिपरि अहिले पनि अैरहन्छ..

    अनी बसन्त ब्रो, नेपालमा सबै राज्नीती गर्ने मात्रै भए प्रशासन मा पनि तपाईंहरु जस्ता आफुलाई इमान्दार भन्ने ईन्जिनियरहरु छैनन अनी कसरी हुन्छ सुधार माओवादीको सरकार नभयी ?... ;)

    ReplyDelete
  9. जानकारीमूलक टाँसो भएपनि पढ्दा निकै रमाईलो पनि लाग्यो ।

    कुरो 'सिरियस' भए पनि "...तर बाहिर सूनसान थियो। आफैलाई 'हत्तेरी---!" भन्दै भित्र फर्किएँ एकछिन पछि। सानै थियो होला त्यो पनि, वा आएकै पो थिएन कि:)
    भन्ने वाक्य पढ्दा एक्लै हाँसे म त ।

    ReplyDelete
  10. शुरु शुरु मा त मलाई पनि बसन्तजी ले भन्नु भए जस्तै अनुभव भयो, के गर्ने गर्ने ? बिस्तारै बिस्तारै भुईचालो प्रती अभ्यस्त भईयो भन्दा नि हुन्छ ।
    हुन पनि यहाँका घरहरु स्तरिय निर्माण सामाग्री अनि त्यस्तै मापदन्ड मा बनेको भएर पनि होला मानबिय क्षती एक्दमै न्युन हुने गर्छ ।
    अस्ती बिहान ५:०७ गएको भुकम्प को धक्काले निद्रा बाट उठन बाध्य त गरायो साथै रोमान्चित पनि गरायो र मलाई सानो छदा झोलुङ्गा मा हल्लाएको याद आयो ।
    भुकम्प को बिस्तृत जानकारी दिनुभएको मा धन्यबाद बसन्त जी ।

    ReplyDelete
  11. शुरु शुरुमा त मलाई पनि बसन्तजी ले भन्नु भए जस्तै अनुभव भयो,के गर्ने गर्ने आत्तिएर, अहिले त्यो क्षण सम्झदा पनि लाज पो लाग्छ त । बिस्तारै बिस्तारै भुकम्प प्रति अभ्यस्त भैइयो भन्नु पर्छ ।
    हुन पनि यहाँका घरहरुमा प्रयोग हुने निर्माण सामाग्री स्तरिय हुनु को साथै ठुला साना जस्तो सुकै धक्का पनि थेग्न सक्ने मापदणडमा बनेको भएर पनि होला यहाँ मानबिय क्षती एक्दमै न्युन हुन्छ अथवा नगन्य।

    बिहान ५:०७ बजे गएको भुकम्प को धक्काले मलाई निद्रा बाट उठ्न बाध्य त गरायो गरायो, रोमान्चित पनि बनायो। सानो छदा झोलुङोमा हल्लिएको अनुभुती गरायो, ढाटेको पक्कै होईन है ?
    बिस्तृत जानकारी को लागी धन्यबाद बसन्त जी

    ReplyDelete
  12. आए पछी राम भरोसे भन्नु भन्दा prepared भएर बसेको राम्रो, जापान लगाएत धेरै बिकसति देशले बुझेको छ यो कुरा । "भुकम्पले मान्छे मार्दैन, मान्छेले बनाएका घरहरुले मार्छ" यो नारा पनि खुब सुनियो नेपालमा । तर सबैले ज्ञान मात्र लिए अवलम्बन भने कहिले गरेनन । NSET Nepal भन्ने संस्थाले यस विषयमा धेरै काम गर्दै आएको छ नेपालमा ।

    भुकम्पको सोचले मात्र पनि आङ सिरिङ्ग हुन्छ मेरो, normal situation मा त काठमाडौंबासी लाई खाने पानी को कमि छ, सानो भुकम्प मात्रले पनि पानीको वितरण अबरुद्ध गरेरे त्राहिमाम परिदिन सक्छ । एउटै यरपोर्ट छ काठमाडौंमा, त्यसको runway लाई भुकम्पले क्षती पुराए बिदेश बाट साहयोग आउने बाटो पनि हुंदैन । उद्धारको लागि गल्ली भित्रका घरमा पस्न असम्भव छ ।

    धेरै कुरा काठमाडौं बासीको हात भन्दा बाहिर छ, तर आफ्नै परिवार भित्र कुनै पनि प्रकोप का लागी एउटा contingency plan हुनु जरुरी छ । जस्तै: first aid box, सबै संगै नभएको बेला प्रकोप पछी कुन ठाउंमा भेट्ने, आवश्यक document को सुरक्षित ठाउंमा copy बनाएर राख्ने, आदी । हुंदै नहुनु भन्दा कानो मामा नै वेश हैन र ?

    ReplyDelete
  13. धन्यबाद जानकारीमूलक टाँसोका लागि ।
    भूकम्पबाट बच्नका लागि सावधानीका उपायहरु अपनाउन विलम्ब भए अवस्य यसले सत्यनाश पार्छ ।

    ReplyDelete
  14. भुइचालो ले त मज्जाले हल्लायो नि है दाई ?म पनि भुइचालोले हल्लाए के गर्ने के नगर्ने भाको थियो। तेत्तिकै बेलामा भुकम्प गएको बेलामा भाग्नु हुँदैन रे भनेर त्यत्तिकै बसे,हल्लिदै गर्दा आर्को कुरा नि याद आयो। कोठाको झ्याल बन्द थियो त्यसैले झ्याल खोलेर बसे। तर तपाईं त भाग्नु भएछ, त्यसरी भाग्दा खेरी झन खतरा हो भन्छन, त्यसैले म त झ्याल मात्रै खोलेर त्यत्तिकै बसे,बरु भयो भने झ्याल, ढोका चाँही खोल्नु पर्छ रे, तोकाइ भुकम्पको चाँही अनुभव गर्न नपरोस ,त्यही कामना छ मेरो त

    ReplyDelete
  15. सबै साथीहरुलाई हार्दिक धन्यबाद!

    बेदनाथजी, २००४ ताका नयाँ-नयाँनै थिईयो यो भूकम्पको मामिलामा, त्यसैले "ज्यानको माया नैना रेशम---" खुब गरियो। यो तोकाई भूकम्प टरे त गजब हुन्थ्यो।

    जडितजी, नेपाल छँदाको अनुभव मेरो पनि त्यहि हो भने हुन्छ।

    दूर्जेयजी, राम्रै भयो, यसपालिको कम्पन त्यतासम्म पुगेनछ। तर जापानमा साना-तिना भूकम्प गईरहने हुँदा र ठूलाको पनि सम्भावना धेरैनै भएको हुँदा ध्यान भने राखिरहनुहोला।

    wordflowsजी, यस्ता आपत-विपतका कुरा जति परे पनि बानी लाग्ने भनेको गाह्रै होला शायद, मान्छे आत्तिईहाल्छ।

    धाईबाजी, तपाईँको चासोको लागि आभारी छु। ब्यक्तिगत रुपमा पनि पूर्व तयारीमा ध्यान दिनेछु।

    सिकारुजी, जापानीहरुसंग भूकम्पको लामो अनुभव र प्राविधिक क्षमता त छँदैछ, साथमा निर्माण कार्यको गुणस्तरमा पटक्कै सम्झौता नगर्ने संस्कार पनि छ। त्यो संस्कार नेपालीमा पनि पसे धेरै राम्रो हुन्थ्यो।

    सुजनजी, साना-तिना भूकम्पका बेलामा भने आत्तिईन्न होला अब शायद।

    हावा ब्रो, पहिला मैले पनि त्यस्तै सुनेको थिएँ। कुरो पूरै त्यस्तो होईन रहेछ तर परम्परागत जापानी घरहरुमा काठको सकेसम्म बढी प्रयोग भएको हुन्छ। भूकम्पलाई ध्यानमा राखेरनै यसो गरिएको होला। आधुनिक भवनहरुको पनि भित्री भागमा इँट्टा-ढुंगाको प्रयोग कमै गरेको देखिन्छ। कोठाहरु छुट्ट्याउन पनि गाह्रोको सट्टा हलुका sliding door हरु प्रयोग गरिएका हुन्छन्। मैले देखेको त्यति हो, अरु धेरै फरक प्रविधिहरु पनि प्रयोग गरिएका होलान्।
    अनि ब्रो, यो माओवादीको सरकारले प्रशाशन सुधार गर्छ भन्ने कुरा पनि मलाई त्यति पत्यार लाग्दैन। माओवादी नौ महिना सरकारमा हुँदा उसले प्रशाशनलाई सुधार्ने तिर माखो पनि मारेन, कांग्रेस-एमालेझैं ऊ पनि त्यहि भ्रष्ट प्रशाशनलाई नै आफ्नो बनाउन ज्यान दिएर लाग्यो। अर्कोतिर कोशीको बाढीले ल्याएको संकटमा उसको संकट ब्यबस्थापनको असक्षमता पनि ह्वाङ्गै देखियो। म पनि चाहन्छु यस्ता कुरामा ऊ कांग्रेस अथवा एमालेभन्दा सक्षमता देखाओस्, तर अहिलेसम्मको अनुभवले त्यस्तो देखाऊँदैन।

    दिलिप दाइ, त्यो दिन म पनि एक्लै हाँसेको थिएँ:)

    चिजुजी, हामीले उस्तै अनुभव गरिरहेका रहेछौं। भूकम्प सम्बन्धी तपाईँका लेखहरु पनि पढ्न पाउने आशा गरेको छु कुनै दिन।

    प्रज्वलजी, त्यहि त,हाम्रो राज्ययन्त्रले पूर्व तयारीलाई कहिल्यै महत्व दिएन। काठमाडौंको अनियन्त्रित र योजनाहीन शहरीकरण, कमजोर निर्माण गुणस्तर र सम्बन्धित निकायहरुको उदासीनताका कारण अन्त सानै मानिने स्तरको भूकम्प,ले पनि ठूलो क्षति पु-याउने निश्चित छ। गैर-सरकारी प्रयास राम्रो हो तर जबसम्म सरकार आफैं पनि कस्सिएर लाग्दैन तबसम्म स्थितिमा सुधार हुन गाह्रो छ।

    राजेशजी, हो, भूकम्प टार्न सकिदैंन तर सावधानी अपनाए क्षति कम गर्न भने सकिन्छ।

    फुरी भाइ, म पनि घरबाट बाहिर निक्लने विचारमा भने थिईँन। सुत्ने कोठा र भान्सा बीचको ढोकामा अथवा भान्साको टेबुलमुनि लुक्ने विचार थियो। पहिला-पहिला भने घरबाटै बाहिर निक्लने सूर हुन्थ्यो।

    ReplyDelete
  16. basanta jee... Yo "Sea of Japan" ra "East sea" ko kura ali kati milena ki jasto lago.. Japan ko purba tira ko ta pacific nai hoina ra? West tira ko chahi Sea of Japan ho kyare.. Ani Korean haru le chahi "Sea of Japan" bhanne name ma apatti garera East Sea bhanne hun kyaer.. Japanese le bhanne tokai ta Sea of Japan hoina hola.. korean ko chahi ho kyare.. anyway not so confirmed..I had understood in that way..

    tapaiko machhi kande dost.. :)

    ReplyDelete
  17. माछी काँडे साथी:)
    प्रतिकृयाको लागि धन्यबाद! Sea of Japan भनेर मैले गलत लेखेको रहेछु। त्यो Pacific Ocean नै हो। East Sea वा TOKAI पनि यदाकदा मात्रै प्रयोगमा देखिन्छन्। पुरानो समयमा आइची, मिए, गिफु, शिजुओका आदि तोकाईदो प्रान्तमा पर्दा रहेछन्। तोकाई शब्द प्रयोगमै रहनुमा त्यो पनि एउटा कारण होला।

    माथिको मूल टाँसोलाई पनि सच्याउने छु।

    ReplyDelete