April 14, 2009

फेरि आयो नयाँ वर्ष!

फेरि नयाँ वर्ष आयो! नयाँ वर्ष २०६६ ले यहाँहरु सबैलाई अझ बढी शान्ति, सुख र सफलता देओस्!

'हानामी' को कुरा लेखौंला भनेको थिएँ अलिक पहिला, तर मौसम बहुलाएको बहुलायै गर्नाले यसपालीको 'हानामी' चाहिँ गोल्खाडी भयो।

अप्रिल ३ मा 'हानामी' को योजना थियो, बिहान ११ तिर बाट पानी पर्न थाल्यो। भोलिपल्ट पनि दिन अलिक जाडै थियो, फेरि अरु काम पनि थिए। शनिबार र आइतबार फुत्किएपछि 'हानामी' पनि फुत्किएको भने भईहाल्यो। उसो त जापानमा यो मौसममा जता फर्केपनि साकुरा देखिने हुँदा साँझ-बिहानको 'लगाम लागेको घोडा'ले पनि 'हानामी' गरिरहेकै हुन्छ। त्यसैले यहाँ 'हानामी' गोल्खाडी भयो भन्नुको खास अर्थ चाहिँ रिमरिमे साँझमा, झपक्क फुलेको साकुराको बोटमुनि बसेर दुई-चार क्यान बियर घुट्क्याउन पाईएन भन्ने बाहेक अरु होइन:)

साकुरा धेरै झरिसकेको छ अब र साकुराको ठाऊँ पालुवाले लिँदैछ। जताततै हरियाली छाउँदैछ। नयाँ हरियालीको आफ्नै सौन्दर्य हुन्छ। पोखरा बस्दा यस्तै 'हरियो' दिनमा फुरेको एउटा छोटो कविताको याद आयो;

बादलहरुको जन्ती हिँडिरहेछ आकाशमा
माछापूच्छ्रे रमिता हेरिरहेछ
र म हरियो बतासमा डुबिरहेछु

-----------
बीचमा लेख्छु भनेका एक-दुई अरु कुरा पनि थिए। नागोया नजिकैको एउटा सानो शहरमा पुगिएको थियो सपरिवार। खासमा परिचितहरुसंग भेटघाट/खानपीनको कुरामात्रै थियो पहिला, पछि नेपालको बारेमा बोल्ने कार्यक्रम बन्यो। नेपालको बारेमा ज्यादै थोरै मात्र सुनेका/जानेका केहि बच्चाहरु र तिनका अभिभावकहरुलाई नेपालको बारेमा बताउनुपर्ने भयो।

५० से.मी. जतिको ब्यास भएको ग्लोब ल्याईएको रहेछ, त्यसमा नेपाल देखाउन भनियो हामीलाई। त्यसमा जोडिएको पेनले जुन देशमा छोयो, त्यो देशको नाम, राजधानी र एक-दुई प्रख्यात कुरा ओकल्दो रहेछ स्पीकरले। एक छिन 'टेन्सन' दियो पेनले पनि! नेपाल छुन खोज्यो कहिले बिहार छुन्छ, कहिले तिब्बत! देश दुब्लो भएपछि ठूलै ग्लोबमा पनि धोका खाईँदो रहेछ:) बल्लबल्ल नेपालमै पारियो। भारत छुँदा त्यहाँको प्रसिद्ध कुरामा 'संगीत' भनेको थियो, चीनको पालामा ग्रेट वाल र अरु केहि भन्दै थियो; नेपालको भागमा चाहिँ 'राजधानी काठमाडौं' मात्रै थियो। त्यसपछि आफैंले बोलेर र ह्वाइट बोर्डमा लेखेर बुझाइयो।

नेपालको नेपालको बारेमा कुरा गरी भ्याउनु, त्यो पनि छोटो समयमा सजिलो होईन। नेपालको ब्यापक सामजिक/सांस्कृतिक विविधता जापानजस्तो अत्यन्त कम विविधता भएको समाजका मान्छेलाई बुझाउन गाह्रै हुन्छ। हाम्रो आफ्नै जानकारी पनि सीमित हुन्छ। फेरि यी केही वर्षमा आएको राजनीतिक परीवर्तनको बाढीले पनि नेपालको बारेमा बताउनुपर्ने थुप्रै कुराहरु थपिदिएको छ। सकेसम्म कोशिश गरियो।

दश-पन्ध्र मिनेट हामीले बोलेपछि उनीहरुका प्रश्नको जवाफ दिने क्रम राखिएको थियो। नजानेको विषयमा अण्टसण्ट बोलेर टार्नु एउटा नेपालघाती काम हो भन्ने मान्यता भएकोले एक-दुई कुरामा लाज नमानी 'हामीलाई पनि त्यति राम्ररी थाहा छैन' भनियो।

अन्त्यमा बूढीले एउटा नेपाली लोकगीतमा नाचेपछि त्यो छोटो कार्यक्रम सकियो।
----------
केहि समय पहिला 'तारे जमीन पर' हेरें मैले। धेरै समयपछि कुनै फिल्म पूरै हेरेको हो मैले। चर्चा पहिला धेरै सुनिसकेको थिएँ, हेर्ने ताक भने बल्ल प-यो, त्यो पनि एउटा शुक्रबारको निद्रा मारेपछि मात्रै। खुब मन प-यो, एकछिन रोएँ पनि। धेरै ईशानहरु अनाहकमा घर-परिवार र शिक्षकहरुबाट प्रताडित छन् हाम्रो समाजमा। र रामशंकर निकुम्भ जस्ता योग्य शिक्षकहरुको खडेरी छ।

धेरै कुरा नगरौं, तपाईँले पनि हेरिसक्नु भयो होला धेरै पहिले। नहेरेको भए हेर्नुहोला।
-----------
अस्ति शनिवार (अप्रिल ११) नयाँ वर्षको उपलक्षमा साथीहरुले कार्यक्रम आयोजना गरेका थिए, नागोया नजिकैको Man's Little World भन्ने एउटा खुल्ला संग्रहालय भित्रको 'नेपाल' परिसरमा। आयोजक साथीहरुलाई धन्यबाद!

उक्त कार्यक्रमका केहि तस्बीरहरुका साथ आजको यो कुराकानीलाई बिट मार्ने अनुमति चाहन्छु।



24 comments:

  1. नयाँ बर्ष २०६६ सालको उपलक्ष्यमा हजुर र हजुरको परिबारमा सुख, समृद्दि, सुस्वास्थ्य औ दीर्घ जीवनको हार्दिक मंगलमय शुभकामना !!!

    ReplyDelete
  2. नयाँ वर्षको कार्यक्रम खानपानकै सिलसिलाबाट सुरु भएपनि गजब भएछ । तस्विरहरु पनि रमाईला लागे । आएकै हो आँखिर नयाँ वर्ष त्यसैले यहि मौकाको मंगल कामना स परिवार तपाईंलाई ।

    ReplyDelete
  3. नया वर्षको हार्दिक शुभकामना ।

    ReplyDelete
  4. ब्लग सार्‍है राम्रो लाग्यो । समयको अभावले पुरै पढ्न पाइएन । राम्रा राम्रा खुराकरु प्रकाशित गर्नुहोला ।

    ReplyDelete
  5. छोटो-छोटो धेरै कुरा एउटै टाँसोमा आएपनि मलाइ भने यो टाँसो रमाईलो लाग्यो ।

    साथै नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना !!

    ReplyDelete
  6. कस्तो मज्जाले मनाउनु भएछ नयाँवर्ष खुल्ला चौरमा :) नाचेको फोटो चै निकै स्तरिय देखिन्छ -अवश्य राम्रो थियो होला नेपाली पहिरणमा!
    -रमा

    ReplyDelete
  7. सबैलाई नयाँ वर्षको मंगलमय शुभकामना!!

    ReplyDelete
  8. पूर्वको मधूरो
    घाम नयाँ होस् ।
    बदलियोस् नारा
    काम नयाँ होस् ।
    फेरियोस् युग
    नयाँ होस् जमाना ।
    नव वर्ष २०६६ को हार्दिक शुभकामना

    ReplyDelete
  9. Thanks for such an interesting post!

    I Wish you and all the visitors of this blog a happy new year 2066 filled with good health, new hope and new beginnings!
    ...May this year open up for you more opportunities, lead you onto the path of continued success, happiness and prosperity!
    ...May this year bring more moments of good-luck and smiles in your life! May the coming year showers on you, all that you ever wished for!
    ...Happy New Year 2066!

    ReplyDelete
  10. Happy new year!
    I also liked 'tare jamin par' and indeed a superb movie. Thank for sharing.

    ReplyDelete
  11. स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै

    यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म नव बर्ष २०६६ को उपल्क्षमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !

    ReplyDelete
  12. Best wishes to all you friends... Have a great 2066.

    BTW, here's a message from Hillary Clinton to all

    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
    Nepali New Year (Bikram Sambat) Message

    Hillary Rodham Clinton
    Secretary of State
    Washington, DC
    April 13, 2009


    To all those around the world who share common Nepali cultural and linguistic traditions,
    I send best wishes for a happy 2066. I hope that in this New Year, Nepal will continue on the path to peace and prosperity.

    As you welcome the New Year, I salute the spirit of tolerance and shared heritage that brings Nepalis together regardless of their differences on this day to celebrate and exchange good wishes.

    All New Year celebrations reflect the hope of new beginnings. As the world faces the greatest economic challenges in generations, we all must stand together to embrace the New Year’s promise of rebirth and renewal.

    Naya Barshako Suba-Kamana!



    PRN: 2009/321

    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    http://www.state.gov/secretary/rm/2009a/04/121600.htm

    Does this mean, Nepalese culture is something watched (closely?) by big nations as well??
    Kumar

    ReplyDelete
  13. नया बर्ष २०६६ ले तपाईंहरुको जीवनमा,खुशि,उमङ अनि नया जोश जागर ल्याओस यही मेरो हार्दिक मंगलमय शुभ-कामना

    ReplyDelete
  14. नयाँ बर्षको अवसरमा तपाईं लगायत परिवारलाई मंगलमय शुभकमना ! धेरै रमाइला खुराकहरु पढ्न पाईन्छ तपाईंको ब्लगमा । म तपाईंको ब्लगको ज्यादै ठुलो पाठक हुँ । जे होस् तपाईंको उत्तरोत्तर प्रगतिको कामना ।

    ReplyDelete
  15. नयाँ बर्ष मंगलमय रहोस ! हार्दिक शुभकामना है मेरो पनि

    ReplyDelete
  16. नयाँ बर्षको शुभकामना!

    ReplyDelete
  17. same to you & new year tapai ko blog ko templates ramro lagyo will u help me to use this type of templates pls help me

    ReplyDelete
  18. मेरो पनि नयाँ बर्षको शुभकामना! तपाईं लगायत सम्पूर्ण नेपाली दाजु भाई, दिदी बहिनी प्रती।

    ReplyDelete
  19. बसन्त जी ढीलै भएपनि नयां बर्षको मंगलमय शुभकामना ल ।

    ReplyDelete
  20. Wish you a wonderful year ahead!

    ReplyDelete
  21. Oh n I wanted to add one more thing, mero euta sathi ko 'frienship' ko dherai mapdanda madhe TZP herera rune ni euta ho :) maile tyo film dui choti Jai Nepal ma hereko ani tauko dukhe gare royechu :( .photoharu ramailo lagyo.

    ReplyDelete
  22. बसंत जी, यस्तै नेपाल र जापानको संस्कृतिको तुलनात्मक प्रस्तुति ग्रे ब्लॉग रोचक हुने थियो...मैले पनी ब्लॉग सुरु गरेको छू...सुझाव को आशमा छू...

    ReplyDelete
  23. सबै साथीहरुलाई हार्दिक धन्यबाद र फेरि एकपटक शुभकामना, सफलता, सुख र शान्तिको लागि!

    onlinekhaskhas र pralad लाई ब्लगमा स्वागत छ।

    'मझेरी'जी, अमेरिकामा नेपालीहरुको संख्या ब्यापक बढेछ भन्नुपर्ला एउटा प्रमुख कारणको रुपमा। दोश्रो, अमेरिकाको छविलाई उजिल्याउने ओबामा प्रशाशनको घोषित लक्ष्यको एउटा पाटो। यी बाहेकै पनि दक्षिण एशियामा नेपालको भू-अवस्थितिलाई अमेरिकाजस्तो शक्तिराष्ट्रले अवश्य पनि एकदम महत्व दिएकै हुनुपर्छ।

    D को साथीको साथी हुने मापदण्ड सजिलै पूरा गर्न सक्ने रहेछु मैले:) तर त्यस्तो फिल्म हेरेर पनि नरुने मान्छे भनेको मान्छेनै होइन, लौ जा!

    ReplyDelete