November 26, 2008

कोन्दोऊको 'जन्त' गईयो

अस्ति आइतबार जन्त गईयो, अड्डाको सहकर्मी कोन्दोउ (नाम परिवर्तीत)को। कुनै जापानीको विहेमा जाने अवसर जुरेको यो पहिलो पटक हो।
------------------------------------
जापानी संस्कृतिलाई नजिकैबाट हेर्न खासै पाईएको छैन भनेपनि हुन्छ अझै। जापानीसंगका कुराकानीमा कहिलेकाहीँ सोध्दा पनि उनीहरु त्यति उत्साहपूर्वक जवाफ दिँदैनन् (मेरो ब्यक्तिगत अनुभवमात्रै हो है यो, जापान बस्ने अरु साथीहरुको अनुभव फरक हुनसक्छ)। उनीहरु अहिलेको जापानका सांस्कृतिक परम्पराहरु खासै 'जापानी' छैनन् भनेजस्तो गरेर कुरा गर्छन्।

'शिन्तो' प्रथा (जहाँसम्म लाग्छ) जापानमै जन्मेको धार्मिक मान्यता हो। चीन हुँदै बौद्ध धर्मको प्रवेश भएपछि शिन्तो र बौद्ध धर्मको समन्वयको जगमा हामीले बुझ्दै आएको जापानी संस्कृति ('पूरानो' जापानी संस्कृति भनौं एकछिनलाई) उभिएको छ। एक-डेढ शताब्दी यताबाट, विशेष गरी दोश्रो विश्वयुद्धपछि पश्चिमी मान्यताहरुको प्रभाव ब्यापक रुपमा बढ्दै गएको छ, जसको एउटा ठूलो भागको रुपमा क्रिश्चियन सांस्कृतिक मान्यताहरु रहेका छन्। अहिलेको जापानमा शिन्तो, बौद्ध र क्रिश्चियन-तीनवटै मान्यताहरुको प्रभाव रहेको सजिलै देख्न सकिन्छ। यो स्थितिलाई मैले धेरै जापानीहरुको मुखबाट सुनेको यो वाक्यले सटीक ढंगले ब्याख्या गरेको छ; "हामी जापानीहरु जन्मिँदा शिन्तोमार्गी, विहे गर्दा क्रिश्चियन र मरेपछि बौद्ध हौँ।" भनाईको मतलव, छोटकरीमा, अचेलको जापानमा जन्म-संस्कार शिन्तोमार्गका आधारमा, विवाह क्रिश्चियन तरिकाले र मृत्यु-संस्कार बौद्ध धर्मअनुसार हुन्छ। जापानी समाज खासै धार्मिक लाग्दैन, यो कुरा जापानीहरुहरु स्वयं पनि स्विकार्छन्, र म फलानो धर्म मान्छु भनेर भन्ने मान्छेहरु अत्यन्त कम भेटिन्छन्। तर चाडपर्वहरुको सवालमा भने शिन्तो, बौद्ध र कृश्चियन तीनवटै परम्पराका 'भ्याएसम्म'का चाडपर्वहरु मानिरहेका देखिन्छन्। क्रिशमश लगायतका कृश्चियन चाडपर्वहरु मनाउँदा अलिक 'जापानी शैली' पोतिएको पनि हुन्छ, धर्मको आधारमा भन्दा पनि अमेरिकी-यूरोपेलीको नक्कल गर्दै मनोरञ्जनको लागि अपनाईएको जस्तो लाग्छ।
-----------------------
कोन्दोऊको जन्त ग'को कुरो गर्न बसेको म, कता बरालिएछु! आउनुस् अब कोन्दो(ऊ)को जन्त जाऔँ:)

खासमा अस्ति बिहे नभएर WEDDING RECEPTION थियो। बिहे भएको भने जुलाईमै रहेछ।

यस्ता कार्यक्रमहरुका औपचारिकता अत्यन्तै कडाइका साथ पालन गरिन्छन्। कालो सूट, छालाको कालो जुत्ता र सेतो टाइ अनिवार्य हुँदो रहेछ वैवाहिक कार्यक्रममा। पछि कहिले प्रयोग हुने हो थाहा छैन, कोन्दो(ऊ)को बिहेमा 'जन्त' जान एउटा 'सस्तो, राम्रो, बलियो, भरपर्दो':) 'निख्खुर' सेतो टाइको जोगाड गरियो।

बोलाईएभन्दा केहि पहिलेनै पुग्दा 'बुच्योऊ'(अड्डाका आफना हाकिम, विभागिय प्रमुख) र अरु दुई जना भेटिए। एकछिन हाकिमको 'चेन-स्मोकिङ'ले सिर्जित धूवाँको यातना खप्नेमा परियो।

उपहार (नगद) बुझाएको केहि समयपछि एउटा 'चर्चजस्तो ठाऊँ' तिर लगियो सबैलाई। 'चर्च' नभनेर 'चर्चजस्तो' भन्नुको कारणचाहिँ त्यो ठाऊँ प्रार्थना गर्न, धार्मिक उद्देश्यले बनाईएको चर्च नभएर यस्तै वैवाहिक कार्यक्रम गर्नका लागिमात्रै बनाईएको ठाऊँ हो। यस्ता 'बिहे गर्ने चर्च' यत्र-तत्र धेरै देखिन्छन् जापानमा।

'विहे'पूरै कृश्चियन शैलीमा भएको थियो; दुलाहा पहिला 'पादरी'को सामुन्ने जाने, दुलहीका बाउ छोरी लिएर 'चर्च' पस्ने र दुलाहालाई दुलहीको हात दिने, पादरीले यता-उता भट्भटाउने, वर-वधु दुबैले Yes I DO! भन्ने आदि। दुलाहा-दुलही दुबै पश्चिमी विवाह-पोशाकमा थिए।

'पादरी'को रुपमा एकजना अधबैंशे गोरा थिए। 'विहे गराउने पादरी' मात्रै पनि हुनसक्छन् ती, 'विहे गर्ने चर्च'जस्तै। तिनले वैवाहिक विधिका कुरा सबै टाकन-टुकन जापानीमै भ्याएका थिए, तर 'विवाह' भनिने 'संस्था'को महत्व र यसलाई जोगाउन र दिगो बनाउन चाहिने प्रेम र त्यागको बारेमा लेखिएको, बाइबलको एक अंशभने अंग्रेजीमा पढेका थिए। तिनको अंग्रेजी सुन्दा तिनी अमेरिकी अथवा बेलायती भने होइनन् भन्ने थाहा हुन्थ्यो।

त्यो चर्चबाट फर्केपछि सामूहिक फोटो सेसन र फोटो सेसन पछि भोज थियो। भोज चल्दै गर्दा प्रोजेक्टरमा दुलाहा-दुलहीका जन्मदेखि अहिलेसम्मका फोटाहरु मिलाएर बनाईएको एउटा परिचयात्मक प्रस्तुति र आउन नसकेका साथीहरुका भिडियो सन्देश पनि देखाईएको थियो।
----------------------------------------------
कोन्दोऊ र निशिमुरा (श्रीमती कोन्दोऊ)लाई हार्दिक बधाई र सफल दाम्पत्य जीवनको शुभकामना!

12 comments:

  1. मलाई पहिला जापानी संस्कृति निक्कै दह्रो छ जस्तो लाग्थ्यो, पछि चीनमा पढने बेलामा २-४ जना जापानी साथी बनेपछि जापानको संस्कृति कमजोर हुदैं गएको भान परेको थियो ।

    तपाईको पोष्टमा उल्लेखीत 'चर्चजस्तो ठाऊँ'र 'विहे गराउने मात्रै पादरी' को प्रसंग पढेपछि भने जापानीहरु आफ्नो संस्कृति भुल्दै मात्रै हैन विदेशी संस्कृतिको पनि 'नक्कल' मात्रै गरेर 'यता न उताको' हुनलागे जस्तो लाग्दैछ
    म जापान त पुगेको छैन तर "हामी जापानीहरु जन्मिँदा शिन्तोमार्गी, विहे गर्दा क्रिश्चियन र मरेपछि बौद्ध हौँ।" भन्ने वाक्यले हालको वस्तुस्थिति छर्लङ्ग भयो ।

    यो टाँसो बाडनु भएकोमा धन्यावाद् ।

    ReplyDelete
  2. bhane pa6i japan saskriti ma garib hudai gairaheko 6-
    ..tystai ho prabidhi(bigyan) r paisaako pa6i lage pa6i...saaskritik rup le daridra huido rahe6 bhanne daro pramarn ho yo.

    ...dilip ji le bhane jhai m pani tapailai -
    bhan6u-यो टाँसो बाडनु भएकोमा धन्यावाद् ।

    ReplyDelete
  3. I have heard that Japanese culture has changed a great deal over the years... from classical Japan, to the birth of the samurais, and now a modern Japanese culture... It's culture has been influenced by many neighboring countries along with the western countries; which have played a great role in shaping the modern Japanese culture. From a closed society to this era of globalization, it seems natural that the Japanese society has changed and affected a lot. you are right that most of the Japanese ppl are not enthusiastic about religious and traditional values. However, culture means more than religion, and there are several things Japanese feel proud of. It's culture consists of the many anime artists that made Japanese animation known throughout the world. Video games, music, and entertainment shows from Japan has lead great contribution to the cyber industry. Besides, Japanese language plays a vital role in the Japanese culture. They have unique traditional theater system etc... I think they are at the crossroad of the western & traditional cultures.
    BTW, thanks Basant jee for sharing your experiences and I hope I had a good time there.

    ReplyDelete
  4. correction:
    *I hope you had a good time there!

    ReplyDelete
  5. भने पछि जापानिहरु पनि अरु को सिको गर्ने भएर आफ्नो सस्कृति बिर्सन थले जस्तो छ। तेस्तै हो बसन्त जी आफ्नो समाजमा अरु समाजिक मुल्यमन्यता बोकेका हरुको बसोबासो ले अलिअलि प्रभव पर्दा पर्दै समय बित्दै जादा निकै ठुलो फद्को मार्न पुग्च

    जे होस बिबाह मनाउनु जानु भो र यो निजि कुरा हामिलाइ पनि बाड्नु भो धेरै धन्याबाद

    ReplyDelete
  6. सबै साथीहरुलाई प्रतिकरयाको लागि हार्दिक धन्यबाद!

    दिलिप दाइ, जापानी संस्कृति अझै पनि बलियोनै लाग्छ तर अहिलेको पुस्तालाई हेर्दा भने त्यति आशावादी हुने ठाऊँ देखिँदैन। हुनत, अहिले पूरै दुनियाँलाई पश्चिमी हावाले छोएको बेला हो यो, जापानलाई पनि यहि हावाले गाँजेको होला। अविकसित र गरीब समाजहरु नचाहँदा-नचाहँदै पनि अरुको प्रभावमा पर्न बाध्य हुन्छन् बिभिन्न कारणहरुले गर्दा तर जापानजस्तो सम्पन्न, विकसित र शिक्षित समाजले पनि राम्रो-नराम्रो कुनै पनि पश्चिमी कुरालाई अन्धाधुन्ध अँगालेको देख्दाभने अलि अनौठै लाग्दोरहेछ।

    बेदनाथजी, बेलैमा ध्यान नदिने हो भने कुनै पनि समाज मौलिक संस्कृतिक हिसाबले दरिद्र हुन बेर लाग्दैन। अरु संस्कृतिको असल पक्ष अनुकरण गर्नु राम्रो हो तर आफ्ना सांस्कृतिक निधिहरुको जगेर्नालाई पनि भुल्न भने हुँदैन।

    दीपेन्द्रजी, जापानमात्रै होईन संसारका सबै देशहरुका संस्कृतिमा अरु देशका संस्कृतिको प्रभाव हुन्छ। मौलिक परम्पराहरु र अरु देश/समाज बाट भित्रिएका परम्पराहरुको संयोजनननै कुनै पनि समाज वा देशको समग्र संस्कृति हो। तपाईँले भनेजस्तै कुनैपनि समाजको संस्कृति पनि निरन्तर परीवर्तनशील हुन्छ, र जापानजस्तो प्राविधिक विकासको टूप्पोमा रहेको देशमा यो परीवर्तन झन् द्रूत हुने कुरामा कुनै शंका छैन।

    तपाईँको माथिको प्रतिकृया र यस बीचमा हामीबीच भएको टलिफोन कुराकानीमा तपाईँले भनेजस्तै यो टाँसो (पोष्टिङ्ग)ले जापानी संस्कृतिलाई समग्र रुपमा विश्लेषण गर्न सकेको छैन भन्ने कुरा स्विकार गर्छु। तर ब्लगको एउटा पोष्टिङ्गमा समग्र ब्याख्यामा जानु भनेको असम्भवजस्तै हो। एउटा घटनाविशेष (सहकर्मीको बिहे)को आधारमा संस्कृतिको एउटा पक्षविशेष (विवाह-संस्कार) मा ब्यक्तिगत धारणा दिने प्रयास हो यो। ब्यक्तिपिच्छे फरक हुनसक्छ विश्लेषण।

    अर्कोतिर, संस्कृतिका धेरै आयामहरु हुँदा-हुँदै पनि जन्म-संस्कार, विवाह-संस्कार र मृत्यु-संस्कारलाई कुनैपनि संस्कृतिको महत्वपूर्ण तीन खम्बाहरु हुन् भनेर मान्नैपर्ने हुन्छ। एउटा बाहिरि ब्यक्तिले कुनै संस्कृतिको बारेमा जानकारी लिन खोज्दा सबैभन्दा शुरुका चासोका विषय यिनै हुन्छन्। त्यसकारण यी तीन संस्कारको मौलिकताको पनि आफ्नै महत्व हुन्छ जस्तो लाग्छ।

    अनुकरण वा नक्कल निरपेक्ष रुपले खराब हुन्छ भन्न सकिन्न; खराब वा असल सापेक्ष विषय हो। अहिलेको प्रसंगमा जापानीहरुले नक्कल गरेको क्रस्तानी विवाह-शैली खराब वा असल भन्नेतिर मेरो खासै धारण छैन, तर यो एकदम अमिल्दो र वेढंगे देखिएको छ। शैली क्रिस्तानी छ तर क्रिस्तानी मान्यताहरुमाथि विश्वाश छैन। त्यो 'बिहे गर्ने चर्च'मा इसा मसिहाको उपश्थितिको बोध बिल्कूलै थिएन। (यहाँसम्म कि इसाको एउटा प्रतिमासम्म थिएन। एउटा 'काम-चलाऊ' क्रूस त थियो, तर चर्चहरुमा त क्रूसमा टांगिएका इसा पनि देखिन्छन्।) यो त शरीरको मात्रै नक्कल भयो, आत्माको भएन। जापानीहरुले आफ्नो 'आत्मा' पनि गुमाउने, अरुको पनि शरीरमात्रै नक्कल गर्दा 'आत्माहीन' हुने त हैनन्?!

    र अन्त्यमा, कार्यक्रममा रमाईलै भयो, तपाईँको चासोको लागि धन्यबाद।

    मनुजी, सिको गर्नु राम्रो हो तर आवश्यक-अनावश्यक सबै कुरा सिको गर्नुचाहिँ राम्रो हुँदो रहेनछ। यस्तो सिकोको प्रबाव हाम्रो समाजमा यहाँभन्दा पनि बढी र गहिरो गरी परिरहेको हुनसक्छ।

    ReplyDelete
  7. 'कोन्दोउको जन्त' गएसँगै जापानी संस्कृतिको एक झलक सामुन्नेमा आयो । तीनखाले पारम्परिक संस्कारबाट गुज्रिने जापानीहरूमा आत्माको बारे भने कस्तो कथा-उपकथा र टिप्पणीले डेरा जमाएको होला, खुलदुली लाग्यो । सम्प्रदायलाई विभिन्न अवसरमा संस्कारिक आत्मसात गर्ने उनीहरूमा देवी-देवतासम्बन्धी पनि त कुनै किस्सा रहेको होला । वैवाहिक संस्कारमा जापानीहरू पश्चिमा शैलीसँग गला मिलाउन पुगिसकेछन् । सही लाग्यो- 'अहिलेको जापानका सांस्कृतिक परम्पराहरू खासै जापानी छैनन् ।' बढ्दो पश्चिमा संस्कृतिको दबदबा शक्तिशाली राष्ट्रमा पनि गजबले जेलिएर बसिसकेछ। दोस्रो विश्वयुद्धको देन नै मूलत: यस्तो सङ्क्रमणमा रहेको हुनुपर्छ ।

    ReplyDelete
  8. बसन्तजी जापानिज कल्चरल को बारेमा केही जानकारी दिनु भएकोमा धन्यवाद,
    र तपाईंले भन्नु भएको जस्तइ मेरो अनुभब मा पनि जापानिजहरुले अमेरिकी-यूरोपेलीको नक्कल मनोरन्जन देखी जुनसुकै कुरामा गर्न चाहन्छन

    ReplyDelete
  9. good to know about japanese pple. keep on posting. its really interesting.

    ReplyDelete
  10. धन्यबाद धाइबाजी!
    त्यति धेरै जानकारी त छैन तर जापानीहरुका आत्मासंबन्धी किंवदन्ती आदिमा बौद्ध धर्मको ब्यापक प्रभाव देखिन्छ। त्यसैले आत्मासंबन्धी जापानी धारणा हामीसंग धेरै हदसम्म मिल्न आऊला। पुनर्जन्म बारेमा उनीहरु के सोच्छन् थाहा छैन तर मृत पूर्वजहरु आत्माको रुपमा अस्तित्वमा रहिरहन्छन् भन्ने उनीहरुको मान्यताको बारेमा भने जानकारी छ। ती पूर्वजहरुका आत्मा पृथ्वीमा ओर्लिने भनिने दिनहरुलाई जापानको एउटा प्रमुख चाडको रुपमा मनाईन्छ। 'ओ बोन' भनिने यो चाडको बारेमा मैले मेरो एउटा पुरानो पोष्टिङ्गमा पनि अलि-अलि लेखेको छु।

    धन्यबाद बद्रीजी! आफ्नो अनुभव र धारणा पनि बाँड्नुहुनेछ भन्ने आशा गर्दछु।

    धन्यबाद अर्चनाजी!

    ReplyDelete
  11. यस खुलस्त्याईको लागि आभारी छु बसन्तजी ।

    ReplyDelete
  12. jaapani sankriti bare jaaana paaaiyo...............dhanyabad

    ReplyDelete