November 05, 2008

बधाई बाराक ओबामा!!!!


बधाई बाराक ओबामा!!! बधाई जो बाइडेन!

आज दिनभरि अमेरिकी चुनावको नतिजा हेरेर बित्यो भनेपनि हुन्छ। प्राइमरीबाटै मैले धेरै समय बिताएँ, अमेरिकी चुनावको बारेमा पढेर। रिपब्लिकनभन्दा डेमोक्रेट मन पर्ने हुनाले बाराकको जीतको कामना र प्रार्थना गरेको थिएँ मैले पनि। प्राइमरीमा भने म 'हल्का' हिलारीपट्टि ढल्किएको थिएँ:)

भोट हाल्न नपाएपनि संसारको सबैभन्दा शक्तिशाली देशको सर्वोच्च पदको लागि हुने चुनावप्रति सबै देशका सबैजसो मान्छेको चासो हुन्छ। अमेरिका अझै विश्वको एक्लो महाशक्ति हो (अबका केहि वर्ष अथवा एक-दुई दशकभित्रै यो स्थिति फेरिने छाँटपनि नदेखिएको होईन) र यसका हरेक गतिबिधिले समग्र विश्वलाई धेरै प्रभाव पार्छन्। अमेरिकाको राष्ट्रपतिले गलत निर्णय लिँदा दुनियाँले दु:ख भोग्नुपरेका धेरै उदाहरण छन्। त्यस्ता उदाहरणहरु खोज्न इतिहासमा पस्नुपनि पर्दैन, हाम्रो आँखै अगाडि अझै जर्ज डब्लु. बुश खडा छन्। त्यसैले अमेरिकाले कस्तो राष्ट्रपति छान्छ भनेर सारा दुनियाँ उत्सुक भएर हेर्छ, हरेक चार वर्ष।

फेरि विश्वको माध्यम भाषाको रुपमा रहेको अंग्रेजी भाषा, इण्टरनेटको बढ्दो उपस्थिति र सशक्त अमेरिकी संचार माध्यमहरुका कारणले अमेरिकी चुनाव सबैको पहुँचमै पनि छ। अमेरिका मन परेपनि, नपरेपनि यो राजनीतिक 'नाटक'बाट अछूतो रहने को होला?!

ओबामाको ऐतिहासिक उम्मेदवारी र ऐतिहासिक जीतको कुराले संसारभरिका संचार-माध्यम रंगिएका छन्। उनको जीत अमेरिका र समस्त विश्वमै रंगभेदको अन्त्य पक्कै होईन तर रंगभेदको अन्त्य र समानताको दिशामा एउटा ठूलो किर्तिमान भने पक्कै हो। उनको जीतले वर्तमान विश्वका थुप्रै राजनीतिक-साँस्कृतिक-सामाजिक विभेदहरुको अन्त्य गर्ने अभियानमा अत्यन्त सकारात्मक सन्देश दिएको छ।

म्याराथनजस्तो चुनाव सकियो, बाराकले जिते। हार्ने जोन मक्केनले सहज हार स्विकारे र जित्नेलाई बधाई दिए। जित्नेले हार्नेसंग विनम्रतापूर्वक देश चलाउन उनको पनि सहयोग मागे। एउटा परिपक्व लोकतन्त्रको सौन्दर्य देखियो। हाम्रा लागि यस्ता कुरा अझै 'आकाशको फल---' जस्तो हो।

ओबामाको वास्तविक परीक्षा अब शुरु हुनेछ। उनको नीतिले अमेरिका र समग्र विश्वको आसन्न आर्थिक संकट चाँडै टार्ने छ कि छैन, विश्व शान्तिको दिशामा जाने छ कि छैन---दुनियाँले त्यतातिर आँखा सोझ्याईसकेको छ। उनको ब्यक्तित्व र ब्यक्तिगत क्षमताको ठूलो असर हुनेनै छ, त्यतिनै महत्व उनले अब जम्मा पार्ने 'टिम'को पनि हुनेछ।

बाराक ओबामा र जो बाइडेनलाई सफल कार्यकालको शुभकामना!

3 comments:

  1. अरु त के नै र विश्वले एकहद सम्म शान्तीको श्वास फेर्न पाओस् भन्ने मेरो पनि कामना ।

    ReplyDelete
  2. ओबमाले विश्व शान्तिको लागि राम्रो निती ल्यायोस यही कामना !!!

    ReplyDelete
  3. धन्यबाद दीपकजी, बद्रीजी!

    उनीहरुको आन्तरिक नीतिमा जे-जे भिन्नता भएपनि अमेरिकाको विश्व-नीति खासै फरक बन्ला भनेर आशा कसैले पनि गरेका छैनन्। अहिलेको बुशभन्दा फरक, युद्धभन्दा कूटनीतिलाई जोड दिए ओबामाले भने संसारमा अलि बढी शान्ति हुने थियो कि भन्ने आशामात्रै हो।

    ReplyDelete