आफूले नभेटेपछि गायब भएको त भन्नु प-यो!
शारीरिक चुस्ती (फिटनेस)मा ध्यान दिने कुरामा जापानीलाई कसैले भेट्दैन। जापान एउटा फिटनेस-क्रेजी देश हो। कोहि जन्मजात कारणले मोटो हुनु बेग्लै कुरो, नत्र मोटा मान्छे देख्न पाउनु साह्रै गाह्रो कुरा हो यहाँ। सुमो- कुस्तीबाजहरुको अखाडामै पुग्नुपर्छ होला अघाउँञ्जेल मोटा मान्छे हेर्न!) 'जति ठूलो भुँडी भयो, उति प्रभावशाली ब्यक्तित्व' मानिने समाजबाट आएका हामीलाई अचम्म लाग्नेनै भयो यो देखेपछि।
(भनीरहनु नपर्ला) फिटनेस-क्रेजले जापानी महिलाहरुलाई सबैभन्दा बढी गाँजेको छ, विशेष गरी १५-१६ देखि २५-३० को उमेरकालाई। 'दयानै लाग्ने गरी दुब्लाएका' केटीहरु जतिपनि देखिन्छन्। तर पनि कसैले 'म दुब्लाएँ' भन्दैनन्, उल्टो 'मोटै छु अझ!' भन्छन् र अझै 'घट्ने' उपाय खोजिरहेका हुन्छन्। गजब छ यो दुनियाँ, करोडौं मान्छेहरु खान नपाएर मरिरहेछन् कति ठाउँमा, यहाँ भने मान्छेहरु रहरले नखाई-नखाई दुब्लाएका छन्!
यो फिटनेस-क्रेजले गर्दा जापानमा
Anorexia Nervosa र
Bulimiya Nervosa जस्ता शारीरिक/मानसिक रोगहरु पनि बढीरहेछन्। तर पनि फिटनेस-क्रेजमा कुनै कमी आएको छैन। तन्दुरुस्त र छरितो शरीर हुनु ज्यादै राम्रो कुरा हो, यसमा सबै सचेत हुनैपर्छ तर यो सचेतताले विकृतिकै रुप लियो भनेचाहिँ झन् धेरै समस्याहरु आऊँदा रहेछन्।
जापानी महिलाहरु 'डाइटिङ'को बारेका सामाग्रीहरु केहि पनि छुटाउन चाहँदैनन्, किताबहरु, पत्रिकाहरु, टेलिभिजन कार्यक्रमहरु-----डाइटिङका नयाँ तरिकाहरुको चर्चा चल्यो भने आफूले पनि अपनाईहाल्छन अथवा नयाँ खाले कुनै 'बोसो घटाउन सघाउने खानेकुरा' आयो बजारमा भने खान थालिहाल्छन् ।
जापानी महिलाको यो फिटनेस-क्रेजमा परेर अचेल बजारबाट केरा गायब भएको छ।
केरा मनपर्ने खानेकुरामै पर्छ हाम्रो। छोरीले पनि खुब मन पराउँछे।
एक-दुई दिनसम्म नदेख्दा त केहि लागेको थिएन, तर हप्तादिनभन्दा बढी नदेखेपछि भने अलि चासो लाग्न थाल्यो भएको के रहेछ भनेर। केराको लोकप्रियता बढेको त धेरै महिनै भईसकेको रहेछ तर अचाक्लीसंग बढेको भने सेप्टेम्बर १९ को एउटा टिभी कार्यक्रमले गर्दा रहेछ। उक्त कार्यक्रममा एउटी मोटी महिलाले डेढ महिनासम्म ब्रेकफाष्टमा केरा र पानीमात्रै खाएपछि उनको तौल ७ किलो घटेको देखाईएको रहेछ। र के भनिएको रहेछ भने बिहानको खाजाको रुपमा केरा र पानीमात्र खाने हो भने बोसो लाग्दैन, मोटाईँदैन। बस् के चाहियो अब? कहिल्यै केरा खान मन नपराउनेहरुले पनि खानथाले, केरा हारालुछ हुनथाल्यो। सुपरमार्केटका केरा गृहिणीहरुले बिहानै सफाचट गर्दिन थाले। साँझतिरमात्रै किनमेल गर्न भ्याउनेले अब दुई-चार महिना केराको मुख देख्न पाउलान् जस्तो छैन।
औसतभन्दा ७०% सम्म बढी बिक्री हुन थालेको छ रे केरा अहिले जापानमा। फिलिपिन्सजस्ता केरा बढी उत्पादन हुने ठाउँबाट मध्यपूर्बतिर जाने केरा समेत अहिले जापानतिर ल्याईँदै छ रे। र स्वाभाविक रुपमा केराको भाऊ पनि बढेको छ। केरा-साहूहरु मालामाल भ'का छन् होला:)
टिभी कार्यक्रमभन्दा पहिले केहि किताबहरु लेखिईसकेका रहेछन् यसबारेमा र यो धारणाले बिस्तारै बजार लिँदै रहेछ। तर एउटा टिभी कार्यक्रमले बजारलाई यति छिटै प्रभावित पार्न सक्दो रहेछ। गज्जब छ टेलिभिजनको शक्ति!
किताबहरु लेखिनुभन्दा पहिले
mixi भनिने एउटा जापानी सामाजिक सञ्जाल (Social Networking Site) मा यसबारेमा थुप्रै चर्चा-परिचर्चाहरु भईसकेको रहेछ।
mixiमा 'केरा-ग्रुप'हरु धेरै छन् रे अहिलेपनि।
के बिहान-बिहान केरा र पानीमात्रै खाएपछि दिनभरि अरु जे-जे घिचेपनि बोसो लाग्दै-लाग्दैन त? केरा मा त्यस्ता के गुणहरु होलान्? साँच्चै यस्तो हो कि क्षणिक लहरमात्रै हो यो? यसबारेमा पढ्न मन छ भने तलका केहि सूत्रहरुका भित्र पस्नुस् र पत्यार लाग्यो भने तपाईँपनि बिहान-बिहान केरा र पानीमात्रै खान थाल्नुस्। केरा उसैपनि राम्रै कुरा हो, कुनै बेफाइदा गर्दैन बोसो घटेपनि-नघटेपनि।
अलिक पहिला '
नात्तो' भनिने अर्को खानेकुराको बारेमा पनि यस्तै 'क्रेज' बढेको रहेछ जापानमा, एकथरी 'नात्तो'ले शरीरको पाचन प्रणाली बलियो बनाउँछ भन्ने हल्लाले केहि समय बजार पिटेछ। यो 'नात्तो' भनेको सिमीलाई, परम्परागत प्रविधिमा, परालभित्र केहि समय गुम्स्याएर बनाइने खानेकुरा हो, जो बिहानको खानाको रुपमा बढी प्रयोग गरिन्छ। यो अत्यन्त पौष्टिक खानेकुरा मानिन्छ। अचेल बिभिन्न आधुनिक तरिकाहरु अपनाएर औद्योगिक उत्पादन हुन्छ यसको। त्यतिधेरै नखाईने हुनाले यो क्रेजको बारेमा बेखबरनै भईयो आफू।
तर 'नात्तो'को यो बजारु-हल्ला 'नात्तो' बनाउने केहि उद्योगहरुले बनावटी तथ्यांकका आधारमा चलाएको हल्ला रहेछ, 'नात्तो' बिकाउनको लागि। यथार्थ खुल्न समय लागेन। अचेल ती उद्योगका 'नात्तो'कसैले पनि किन्दैन होला।
केराको कुरो पनि त्यस्तै हो कि?
**************************
यो तलको फोटो, हामी जाने गरेको सुपरमार्केटमा सधैं केरा राखिने ठाऊँको हो। यसरी यो ठाऊँ रित्तै भएको धेरै दिन भईसक्यो।
यो त्यहाँ पछिल्तिर भएको सूचना। ठूला-ठूला अक्षरमा लेखिएको छ; "बिहान केरा खानुको फाइदा टेलिभिजनमा देखाइएको थियो।" र सानासाना अक्षरमा केरा खाने 'सही' तरिका पनि लेखिएको छ; "बोक्रामा हल्का खैरो थोप्ला देखिन थालेपछि केरा खानु राम्रो हुन्छ।" एक-दुई दिन त्यसै राखेपछि त्यस्ता थोप्ला सजिलै देखिईहाल्छन्। यै बेलामा किन सबभन्दा राम्रो हुने रहेछ केरा कुन्नि?! मेरो कमजोर जापानीले गर्दा यस्तो अर्थ लागेको पनि हुनसक्छ, त्यस्ता थोप्ला देखिएपछि सकेसम्म चाँडै खानुपर्छ भनेर लेखेको पो हो कि?
अनि अर्को सूचना छ; "'जानकारी'-टिभी कार्यक्रमको प्रभावले केरा चाँडै सकियो।"
कति दिन यो 'क्रेज' चल्ने हो थाहा छैन।
भोलि बिहानै गएर लाईन लाग्नुपर्छ कि क्या हो:)
अपडेट:अक्टोबर ५, दिउँसो १४:४५
साँच्चिकै केरै किन्न भनेर लाईन लागिएला जस्तो लागेको थिएन बिहान नौ बजेसम्म।
छोरीसंग "घुमाउन लैजाने र बाहिरै खुवाउने" भनेर गरेको वाचा पूरा गर्नु थियो। नौ बजेतिर बाहिर निक्लिँदा पानी पर्न थाल्यो। घुम्न अलिक टाढै जाने योजना सेलायो अब। तर घरबाट बाहिर निस्किसकेपछि, सुपरमार्केटभित्रकै बच्चाहरु खेल्ने ठाऊँ र यताउति गरेर साढे दुई घण्टाजति छोरीलाई अल्मलाएर, त्यतै कतै खाना खाएर फर्किनुपर्ला भन्ने विचारले हिँडे छोरी लिएर। छोरीको सारमा हिँड्दा १० मिनेटको बाटो आधा घण्टा लाग्यो। साढे नौ मा सुपर मार्केट खुल्नु अगाडिको लाईन खासै ठूलो भने थिएन। म पनि लाईनको पूच्छर हुँदै छिरें र केरा राख्नेतिरै लागें। साँच्चैनै केराको वरिपरि टन्न मान्छेहरु झुम्मिरहेका थिए, बाहिर लाईन लागेकाहरुको ठूलो भाग यतै थियो। सामान्य अबश्थामा कदापि यस्तो हुँदैन थियो। दुईटा फोटा छन् तल, त्यतिखेर खिचेको। हात तन्काएर साना दुई झुप्पा केरा तान्न भ्याईयो आफूले पनि:)
तीन हप्ताजतिपछि फेरि केरा देख्न पाईयो:)