January 15, 2008

विदेश बसेका माओवादीहरुसंग

माओवादीहरुको बारेमा केहि लेख्नु गाह्रो कुरा हो। किनभने माओवादी दल, विशेष गरी यसको नेतृत्वको आशय के हो भन्ने बुझ्न एकदम कठिन छ। यो कुरा उनीहरुको उत्पत्तिदेखि अहिलेसम्मका वोली र ब्यबहारले स्पष्ट पारेकै छ। तैपनि, माओवादीहरुले जनताको एउटा हिस्सालाई किसान-सर्वहारावर्गको अधिनायकत्वको सपना देखाएर आफ्नो राजनीतिक शक्ति आर्जन गरेका हुनाले उनीहरुको उद्देश्य नेपालमा उनीहरुको दलको अधिनायकत्वको शाशन ब्यबश्था स्थापनानै हुनुपर्छ भन्ने लाग्छ सतहमा हेर्दा। तर तथ्यहरुको यो पाटोलेमात्रै सबैकुरा स्पष्ट हुँदैन। अर्को पाटो उनीहरुको दरबारसंगको हिजैदेखिको ‘कार्यगत एकता’ र आजभोलिको ‘राष्ट्रवादी’ डकार हो। यो पाटोले यो कुन शंकालाई बल दिन्छ भने कार्यकर्ता र समर्थकहरुको ठूलो पंक्ति दलको घोषित उद्देश्यप्रति वफादार भएपनि नेतृत्वभने छैन र भित्रभित्रै अरुनै उद्देश्यका लागि काम गरिरहेछ।

तत्कालका लागि पहिलो पाटोनै सत्य हो भन्ने मान्यतामा कुरा अगाडि बढाऔं।

विदेश बसेकाहरु भनेर तोकेरै भन्नुको कारण पनि स्पष्ट पारिहालौं। नेपालमा अझैपनि साम्यवादी ‘रामराज्य’ प्रतिको आकर्षण ज्यूँदै छ। विशेष गरी शिक्षाको अवसर नपाएको अथवा केहि समय यताको विश्व राजनीतिको बारेमा कम जानकारी भएको एउटा ठूलो हिस्सा अझैपनि माओवादीहरुले भनेजस्तो कथित सर्वहारा अधिनायकवादनै सबै कुराको रामवाण हो भन्ने कुरामा विश्वाश राख्छ। उनीहरुलाई तुरुन्तै ब्युँझाउन गाह्रो हुनसक्छ। तर लोकतन्त्रले संस्थागत हुन पायो र देशको आर्थिक विकास हुन थाल्यो भने उनीहरुको पनि मोहभंग हुन थाल्नेछ र माओवादीको वास्तविक पतन शुरु हुनेछ।

तर विदेश (यूरोप, अमेरिका, जापान, दक्षिण कोरीया आदि खुल्ला पूंजीवादी समाज) मा केहि समय बसिसकेको मान्छेमा माओवादीप्रतिको मोह हुनुपर्ने कुनै तर्कसंगत कारण देखिंदैन।

माओवादीले कल्पना गरेको उनीहरुको अधिनायकवादी शाशन भनेको कस्तो हो? उनीहरु आफ्नो आदर्शको रुपमा सधैं स्टालिनकालीन तत्कालीन सोभियत संघ र माओकालीन चीनलाई उभ्याउँछन्। यस हिसाबले हेर्दा अहिलेको ‘पागल किम’ को उत्तर कोरीयापनि उनीहरुको आदर्श हो। बाँकी सबै उनीहरुको नजरमा कथित ‘संसोधनवादी’ हुन्। स्टालीनले सर्वहारावर्गको शाशनको नाममा तिनै सर्वहारावर्गमध्येका करोडौंको कत्लेआम गरेका थिए र सोभियत जनतालाई कडा दमनमा राखेका थिए। सोभियत शाशन त्यसपछि पनि कहिल्यै उदार र जनप्रिय भएन। यदि जनप्रिय हुन्थ्यो भने गत शताब्दीको अन्त्यमा त्यति ठूलो क्रान्ति र उथलपुथलबाट सोभियत संघ भित्रका राज्यहरु गुज्रनु पर्ने थिएन र सोभियत संघको अवसान हुने थिएन।

माओकालीन चीनको कथा पनि उस्तै हो। अझ माओवादीहरुको विश्लेषणमा वर्तमान नेपालको राजनीतिक-सामाजिक-आर्थिक अवश्था माओले कब्जा गर्नुअघिको चीनसंग बढी मिल्न आउँछ, त्यसैले उनीहरु माओको बाटो पछ्याउन चाहन्छन्। (एक प्रसंग, उनीहरुले ‘माओवाद’ भन्ने शब्द प्रयोग गरिरहेका छन् जबकि चिनियाँ कम्युनिष्ट पार्टी स्वयंले भने कहिल्यै यो शब्द प्रयोग गरेको छैन, उनीहरु ‘माओ विचारधारा’ भन्ने शब्दावलीनै प्रयोग गर्छन्।)

माओले बन्दूकको भरमा चीनको शाशन हत्याएका थिए र साम्यवादी सत्ता जोगाउनपनि त्यहि बन्दूकको सहारा लिएका थिए। जसले जे भनेपनि आजसम्म चीनको साम्यवाद टिकिरहनुको कारण सेना कम्युनिष्ट पार्टीको नियन्त्रणमा रहनुनै हो। माओको शाशनकाल अझ सनक र लहडहरुले पनि भरिएको थियो। ‘महान अग्रगामी छलाङ’ र ‘सांस्कृतिक क्रान्ति’ यस्तै लहडहरु थिए। अघिल्लोले करोडौं जनतालाई भुखमरीको मुखमा लगेर होमेको थियो भने पछिल्लो त वैचारिक-सांस्कृतिक दमनको निकृष्ट उदाहरण हो। कथित सांस्कृतिक क्रान्तिले भाँचेको चिनियाँ ढाड अझ राम्ररी सोझिइसकेको छैन। त्यो बेला उनीहरुले समाजको ‘वौद्धिक सफाया’ मात्र गरेनन्, चीनका हजारौं सांस्कृतिक सम्पदाहरुलाई पनि ध्वस्त पारे। सांस्कृतिक धरोहरहरु नष्ट गर्ने कुरामा माओको सांस्कृतिक क्रान्तिकाल र अफगानिस्तानको तालेबान शाशनकालमा अलिकतिपनि भिन्नता छैन।

माओको मृत्यु एक अर्थमा चीनको लागि वरदान थियो। यसपछि चीनले ‘बन्द कोठरी’ बाट फुत्केर अन्तर्राष्ट्रिय समुदायमा आफ्नो सकृय भूमिका देखाउन पायो। उदारीकरणका कारण चीनमा विश्व पूँजीवादको लगानी भित्रियो र यसकै कारण द्रुत आर्थिक विकास भयो। अब चीन कुन बाटोमा जाँदैछ भन्ने त हामीले देखेकै छौं। यद्यपि, राजनीतिक रुपमा चीन अझै कठोर एकदलीय नियन्त्रणमानै छ। बिस्तारै राजनीतिक सुधार भएन र स्थिति यहि रहिरह्यो भने भविष्यमा अत्यन्त ठूलो राजनीतिक विद्रोह हुने निश्चित छ चीनमा।

अब वर्तमान विश्वको ‘साम्यवादी मक्का’ उत्तर कोरीयातिर लागौं, जहाँ क्रान्तिका नाममा नयाँ ‘लाल राजतन्त्र’ शुरु गरिएको छ र पूरै देशलाई जर्ज ओरवेलले चित्रण गरेजस्तो ‘एनिमल फार्म’ बनाइएको छ। क्रान्तिको रक्षा गर्ने नाममा जनता सबैलाई ‘भेडा-बाख्रा’ बनाइने यो कस्तो क्रान्ति हो?! हरेक बच्चाले किम परिवारको स्तूति गान गर्दै हुर्कनु पर्ने यो कस्तो प्रगतिशीलता हो? के साम्यवादीहरुले भन्ने गरेको इतिहासको सबैभन्दा विकसित र उत्कृष्ट अवस्था यहि हो?!

नेपालका माओवादीहरु केहि समय यता शान्ति प्रकृयामा आएपनि उनीहरुले खुला समाज र प्रतिष्पर्धात्मक राजनीतिक ब्यबष्थाप्रति अझैपनि घोषित रुपमा आफ्नो प्रतिबद्धता जनाएका छैनन्। उनीहरु जनताको अगाडि एउटा कुरा गर्छन् र ‘रिम’जस्ता ठाउँ (तेश्रो विश्वका गरीब देशमा अस्थिरता फैलाउनु बाहेक जस्को अरु कुनै उपयोगिता छैन।) मा गएर अर्कै कुरा गर्छन्। केहि समय अगाडिमात्रै प्रचण्डले माओवादी संसदीय ब्यबश्थामा विश्वाश गर्दैन भनेर घोषणा गरिसकेका छन्। त्यसको कारणचाहिँ ‘संसदीय ब्यबस्थामा बहुमत र अल्पमतको खेल हुन्छ’ रे! उनीहरु ‘सबैलाई समेट्ने राज्यप्रणालीको पक्षमा’ छन् रे! चीनमा विद्यार्थीको रुपमा पाँच वर्ष बसेको थिएँ म। चीनको कम्युनिष्ट पार्टीले पनि त्यसै भन्छ! चीनमा एकदलीय शाशन छ भन्दैनन् उनीहरुपनि, बरु ‘कम्युनिष्ट पार्टीको नेतृत्व र अरु पार्टीहरुको सहयोग’को शाशन ब्यबष्था भन्छन् उनीहरु। छन पनि कम्युनिष्ट पार्टीका कठपुतलीको रुपमा उभ्याइएका सात आठ दलहरु छन् अरु। तिनीहरुको काम भनेको कम्युनिष्ट पार्टीले गरेको कुनै महत्वपूर्ण निर्णयलाई अन्धसमर्थन गर्नु र वर्षमा एक-दुइ पटक टिभीमा देखिनुमात्रै हो, अरु बेला ती सबै ‘शीतनिद्रा’मा हुन्छन्। माओवादीहरुले चाहेको यस्तै ‘सबैलाई समेट्ने ब्यबष्था’ होला शायद!

अर्को कुरा, संविधानसभाको चुनावमा जाने भइसकेपछि पनि ‘धोका भयो भने फेरि जनविद्रोह गर्ने’ धम्की त ताजै छ। यो धम्की चुनाव सकिएको भोलिपल्टबाट देशलाई फेरि अस्थिर पार्न अहिल्यैबाट तयार पारिएको बहाना हो भन्न सकिने धेरै आधारहरु छन्।

निश्चयपनि, राज्यप्रणाली चाहे अमेरिकाको जस्तो होस् चाहे बेलायतको जस्तो; खुल्ला र प्रतिष्पर्धात्मक राज्य ब्यबष्थामा बहुमतप्राप्त पक्षले निश्चित समयसम्मको लागी राज्यसञ्चालनको अधिकार पाउँछ। यो भन्दा अर्को बाटो पनि छैन। तर बहुमत ल्याउने पक्ष तानाशाह नहोस् भनेर शक्तिसन्तुलनका बिभिन्न उपायहरु पनि अबलम्बन गरिएका हुन्छन्।

देशबाहिर बसिरहेका नेपालीहरुको एउटा ठूलो संख्या यूरोप, अमेरिका, जापान, कोरीया जस्ता खुल्ला लोकतान्त्रिक समाजमा बसिरहेको छ। यो हिस्सामा निश्चित रुपमा माओवादी समर्थक र शुभचिन्तकहरु छन् र केहि ठूलै नेता पनि होलान्। उनीहरु खुल्ला लोकतान्त्रिक समाजको भरपूर उपयोग गरेर आफ्नो देशलाई भने अर्को तानाशाहीतिर धकेल्न बल गरिरहेकाहरुलाई सघाइरहेछन्। गज्जबको बिडम्बना हो यो!

मलाई उनीहरुसंग सोध्न मन लाग्छ, आफू स्वतन्त्र समाजमा बसेर देशका अरुलाई भने ‘एनिमल फार्म’ तिर लखेट्न के नैतिक हक छ उनीहरुलाई? के उनीहरुले कहिल्यै उत्तर कोरीया गएर साम्यवादी शाशनको अनुभव गरेका छन्? अथवा भोलि नेपालमा साम्यवादी अधिनायकवाद शुरु भयो भने के उनीहरु नेपाल फर्किन्छन्? ठोकेर भन्न सकिन्छ, एकजना पनि फर्किनेछैनन्!

विदेश बसाइले मान्छेको राजनीतिक चेतनास्तरलाई अलिक फराकिलो पार्छ/पार्नुपर्छ भन्ने लाग्छ मलाई।

निर्दलीय भएपनि, एकदलीय भए पनि तानाशाही भनेको तानाशाहीनै हो। अलिकति मात्रै पनि राजनीतिक चेतना र नेपालको माया भएको मान्छेले कुनैपनि तानाशाहीको समर्थन गर्नुभनेको आफैंलाई, समाजलाई र देशलाई धोका दिनु हो।

7 comments:

  1. Good Writing!!! Nice points to ponder...

    ReplyDelete
  2. बसन्त जी, राम्रो छ तपाईको विचार !

    ReplyDelete
  3. I really loved your article especially the way you have portrayed your thoughts.

    ReplyDelete
  4. बसन्त दाई हजूर को हरेक लेखमा शब्द सिमानाको बेजोड़ दम भेटिंछ,बस्ताबिकताको धरातलमाँ अडेर निर्धारित गंतब्यको पहिचान संगै गहकिला शाब्दिकलहरहरू छोड़ीदिनु हुन्छ तेसैले त पढ्न निक्कै मज्जा लाग्छ, धन्यवाद दाई

    ReplyDelete
  5. Basnta sir namaskar,
    tapaiko bishleshan bahut ramro lagyo. Nepali newspapaer ma yesta kuraharu daily stambha banai preshan garna pae kati ramro hunthyo hola hae?

    ReplyDelete
  6. यहाँहरु सबैलाई हार्दिक धन्यबाद!

    ReplyDelete
  7. mb haru ko real rup 6 tapai ko lakh ma

    ReplyDelete