अस्ति आइतवार टोकियोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज-जापान शाखाले लक्ष्मी जयन्तीको उपलक्ष्यमा कविता गोष्ठीको आयोजना गरेको थियो। अनेसास जापानको पदाधिकारीनै भएर पनि जान सकिएन। दुइटा रचनाहरु पठाएको थिएँ, पुरानै हुन् दुबै।
कविता
"तिम्रो ढुकढुकी"
प्रिय, तिम्रो ढुकढुकी सुन्दैछु म-
घना पहाडी वनभित्र कतै
लुकेर बग्ने खोलाको गीत हो यो,
सृष्टिकर्ताले छोडेर गएको
आदिम तर अनवरत सुन्दर संगीत हो यो;
भारहीन भएको छु म अब-
जिन्दगीको लडाईँमा केहि जितें भने
खुशीको भारी ल्याएर बिसाउन
तिम्रा हातहरु पाएको छु,
जिन्दगीको लडाईँमा कतै हारें भने
आँशुको भारी पोखेर बिसाउन
तिम्रा पाउहरु पाएको छु;
आजै बिलाएँ भने पनि म
यो दुनियाँको आँखाबाट-
तिम्रो अस्तित्वको कुनै छेउमा
मेरो नाम पनि हुनेछ,
तिम्रो मुटुको धडकनको कुनै भागमा
मेरो धडकनको ध्वनि पनि हुनेछ;
म बिगतको काँधमा चढेर
आगतलाई नियालिरहेछु,
प्रिय, तिम्रो धडकन सुन्दैछु म-
म तिमीलाई पर्खिरहेछु।
(12-19-05, Kasugai, Japan)
गजल
सुनको कात्रो ओढाइरहेछ को?
सिनोको आयु बढाइरहेछ को?
मलामी हैन, सतीनै पो जान्छौ कि!
अझै सलामी चढाइरहेछ को?
तोपको मुखमा मलाई घचेटेर
बर्दीमा ढाड अड्याइरहेछ को?
आलै छ हिजो बगाएको रगत
आजै चित्त यो डढाइरहेछ को?
कोइली बन्न खोज्दैछन् कागहरु
मलाई भाका पढाइरहेछ को?
"तिम्रो ढुकढुकी"
ReplyDeleteSuch a nice poem!! Fantastica!!!
धन्यबाद नेपाली आकाशज्यू!
ReplyDeleteबसन्तदाइ साह्रै मिठोलाग्ने कबिता राख्नु भएको रहेछ । हुनत पहिले कताकता पढेको जस्तो पनि लाग्छ- निकै मनपरेको थियो त्यो बेला पनि।हजुरको शब्दहरु'तिम्रो ढुकढुकी'लाई सलाम छ मेरो :)
ReplyDeleteधन्यवाद बहिनी!
ReplyDelete'कविताको देश'मा राखिसकिएको कविता हो, त्यतै होला तिमीले पढेको।