“हाम्रो ‘समर भ्याकेसन’
‘फिफ्टीन डेज’ को छ ।“
“मेरो ‘फेभरेट स्पोर्ट्स’ ‘स्विमिङ्ग’ हो ।“
“म ‘नेप्लीज सङ्’ सुन्दिन
। ‘इङ्लिस सङ्’ मन पर्छ ।“
आजभोलिका बालबालिकाले बोल्ने ‘नेपाली’ यस्तै
हुन्छ ।
“सत्सठ्ठी भनेको
‘सिक्स्टी टु’ हो ?” तपाईँले सत्सठ्ठी सालको कुनै घटनाको कुरा गर्दै हुनुहुन्छ भने
सुनीरहेका बच्चाहरुबाट यो प्रश्न आउन सक्ने संभावना धेरै छ ।
अहिलेका बच्चाहरु स्याऊ
खाँदैनन ‘एप्पल’ खान्छन्, भात खाँदैनन् ‘राइस’ खान्छन् । अंक र संख्यालाई त नेपालीमा
भन्न जान्दै-जान्दैनन्। हाम्रा बच्चाहरु गतिलोसंग नेपाली बोल्न जान्दैनन्, खासमा
गतिलो अङ्ग्रेजी पनि उनीहरु बोल्न सक्दैनन् । उनीहरुको नेपाली शब्द भण्डार अत्यन्त
सानो छ र उनीहरुको बोली ‘नेपाङ्ग्रेजी’ छ । उनीहरुले गतिलो नेपाली नबोली
टुटेफुटेको अङ्ग्रेजी ओकलेकोमा गर्वबोध गर्ने अभिभावकहरुको संख्या बढ्दै छ, त्यो
प्रवृत्तिलाई शिक्षक र विद्यालय सञ्चालकहरुले सक्दो मलजल गरीरहेका छन् । अङ्ग्रेजी
अहिले आएर बालबालिकामाथि थप सजाय दिइने कारण समेत बनेको छ । कतिपय विद्यालयमा
अङ्ग्रेजी मात्रै बोल्ने उर्दी जारी गरिएको हुन्छ, कुनै विद्यार्थीले झुक्किएर
नेपाली बोलिहाले उसलाई जरिबाना गरिन्छ वा शारीरिक सजाय दिइन्छ ।
प्रख्यात हास्यब्यङ्ग
निबन्धकार स्व भैरव अर्यालको ‘महापुरुषको संगत’ भन्ने रचनामा एकजना पात्र छ
‘मिष्टर ड्याहाल बौ’ । त्यो पात्र आफ्ना छोराछोरीलाई नेपाली बोल्नै दिएन भने मात्र
उनीहरुको अङ्ग्रेजी राम्रो हुन्छ भन्ने ठान्छ । हामी शिक्षक र अभिभावकहरु अहिले
त्यहि मिष्टर ड्याहाल बौ बनेका छौं ।
यसरी हामी यस्तो पुस्ता हुर्काइरहेछौं जसले नेपाली साहित्य पढ्नेछैन, नेपाली सिनेमा हेर्नेछैन र नेपाली सन्दर्भको कला बुझ्नेछैन । यसको संकेत बुझ्न कुनै ठूलो किताब पसल वा कुनै पुस्तकालयमा पसेर एकाध घण्टा निरीक्षण गरे पुग्छ, २५ वर्ष मुनिका युवाहरु नेपाली पुस्तकहरु राखिएको खण्डतिर जाँदै-जाँदैनन, उनीहरु सोझै अङ्ग्रेजी पुस्तकपत्रिका भएतिर बत्तिन्छन् । आफ्नै भाषानै नबुझ्ने यस्तो पुस्तामा हाम्रो समाजको परम्परागत ज्ञान हस्तान्तरण हुने सम्भावना पनि छैन र यस्तो पुस्ताले हाम्रो समाजका सबलता र कमजोरीहरुको बिश्लेषण गर्ने कुरामा चासोपनि देखाउने छैन ।
अर्को एउटा प्रसङ्ग पनि । केहि समय पहिला पत्रपत्रिकाहरुमा कुसुण्डा भाषा लोप हुन लागेको विषयमा समाचारहरु छापिएका थिए । कुसुण्डा भाषा बोल्न जान्ने दुईजना दिदीबहिनीमात्र बाँकी रहेको र उनीहरुपछि त्यो भाषाको अस्तित्व सकिने चिन्ता व्यक्त गरिएको थियो उक्त आलेखमा । त्यसको केहि समयपछि भाषा आयोगले कुसुण्डा भाषा जोगाउन ट्युशन कक्षाको योजना ल्यायो । कुसुण्डा भाषालाई पहिलेदेखिनै सञ्चार माध्यमहरु र देशको शिक्षानीतिसंग जोड्न सकेको भए यसरी ट्युशन कक्षानै चलाउनुपर्ने स्थिति आउने थिएन । देशका अरु थुप्रै भाषाहरु पनि लोप हुने संघारमा छन्, तिनको संरक्षणका लागि काम गर्न शुरु गरिएन भने कुसुण्डा भाषाकै जस्तो स्थिति आउनेछ ।
यसरी हामी यस्तो पुस्ता हुर्काइरहेछौं जसले नेपाली साहित्य पढ्नेछैन, नेपाली सिनेमा हेर्नेछैन र नेपाली सन्दर्भको कला बुझ्नेछैन । यसको संकेत बुझ्न कुनै ठूलो किताब पसल वा कुनै पुस्तकालयमा पसेर एकाध घण्टा निरीक्षण गरे पुग्छ, २५ वर्ष मुनिका युवाहरु नेपाली पुस्तकहरु राखिएको खण्डतिर जाँदै-जाँदैनन, उनीहरु सोझै अङ्ग्रेजी पुस्तकपत्रिका भएतिर बत्तिन्छन् । आफ्नै भाषानै नबुझ्ने यस्तो पुस्तामा हाम्रो समाजको परम्परागत ज्ञान हस्तान्तरण हुने सम्भावना पनि छैन र यस्तो पुस्ताले हाम्रो समाजका सबलता र कमजोरीहरुको बिश्लेषण गर्ने कुरामा चासोपनि देखाउने छैन ।
अर्को एउटा प्रसङ्ग पनि । केहि समय पहिला पत्रपत्रिकाहरुमा कुसुण्डा भाषा लोप हुन लागेको विषयमा समाचारहरु छापिएका थिए । कुसुण्डा भाषा बोल्न जान्ने दुईजना दिदीबहिनीमात्र बाँकी रहेको र उनीहरुपछि त्यो भाषाको अस्तित्व सकिने चिन्ता व्यक्त गरिएको थियो उक्त आलेखमा । त्यसको केहि समयपछि भाषा आयोगले कुसुण्डा भाषा जोगाउन ट्युशन कक्षाको योजना ल्यायो । कुसुण्डा भाषालाई पहिलेदेखिनै सञ्चार माध्यमहरु र देशको शिक्षानीतिसंग जोड्न सकेको भए यसरी ट्युशन कक्षानै चलाउनुपर्ने स्थिति आउने थिएन । देशका अरु थुप्रै भाषाहरु पनि लोप हुने संघारमा छन्, तिनको संरक्षणका लागि काम गर्न शुरु गरिएन भने कुसुण्डा भाषाकै जस्तो स्थिति आउनेछ ।
यस्तो परिश्थितिको जग
भनेको हामीले अँगालेको कथित अङ्ग्रेजी माध्यमको शिक्षा हो । २००७ साल पछि हामीले
पश्चिमी शिक्षा पद्धति अँगाल्यौं । त्यतिखेर उपनिवेशवादबाट मुक्ति पाएका अरु धेरै
एशियाली, अफ्रिकी देशहरुले पनि पश्चिमा शिक्षा पद्धति अँगाले तर उनीहरुले पश्चिमा
समाजमा उत्पादित ज्ञानलाई आफ्नो भाषामा अनुवाद गरे र आफ्नै भाषालाई पठनपाठनको
माध्यम बनाए । हामीले भने वैज्ञानिक र प्राविधिक शिक्षाका लागि अङ्ग्रेजीलाईनै
माध्यम बनायौं । यसका कारण हाम्रो भाषाको वैज्ञानिक र प्राविधिक शब्द भण्डार बढ्न
सकेन । बिस्तारै गैर प्राविधिक विषयलाई पनि अङ्ग्रेजी माध्यममा पढाउने प्रचलन शुरु
गर्यौं हामीले, अहिले लगभग सबै विषयको शिक्षण माध्यम अङ्ग्रेजी बनीसकेको छ ।
यतिखेर सबै निजी
विद्यालयहरु र धेरै सामुदायिक विद्यालयहरुले अङ्ग्रेजी माध्यममा शिक्षा दिने भनेर
विद्यार्थी बटुलेका छन् । यो कथित अङ्ग्रेजी माध्यमको शिक्षामा एउटा ‘नेपाली’लाइ
छोडेर बाँकी सबै विषयहरु अङ्ग्रेजीमा पढाइन्छ, सामाजिक शिक्षाजस्तो प्रत्यक्षत:
आफ्नो समाज र संस्कृतिसंग जोडिएको विषयलाइ समेत विद्रुप अनुवाद गरेर अङ्ग्रेजीमा
पढाइन्छ । नेपाली पनि अत्यन्त कम महत्व दिएर पढाउनका लागि मात्रै पढाइन्छ ।
त्यसैले कतिपय ‘राम्रा’ भनिने विद्यालयका विद्यार्थीहरुको ‘नेपाली’ अत्यन्त कमजोर
हुने र विद्यार्थीले नेपालीको ट्युशननै पढ्नु पर्ने बिडम्बनायुक्त स्थिति सृजना
भएको छ । जनप्रतिनिधिहरुलेनै यो प्रवृत्तिलाई बढावा दिन थालेको पनि देखिएको छ।
कास्की जिल्लाका सबै गाउँपालिकाहरुले अङ्ग्रेजी माध्यममा पढाउने सम्बन्धी सामूहिक घोषणानै गरेको समाचार आएको
थियो केहि समय पहिला ।
विगत दुइ सय वर्ष यताको इतिहास अङ्ग्रेजी भाषाको दबदबाको इतिहास
हो । प्रमुख शक्तिराष्ट्रको रुपमा बेलायतको उदय र उसको विश्वब्यापी उपनिवेश
संजालका कारण अङ्ग्रेजी भाषा संसारभरि सजिलै फैलियो । फ्रेन्च, स्पेनिश र
पुर्तगाली भाषाहरु पनि फैलिए । अङ्ग्रेजहरु सामरिक र आर्थिक दृष्टिले मात्र बलिया
भएनन् यो अवधिमा । दर्शन, साहित्य, कला, संगीत, विज्ञान, इञ्जिनियरिङ्ग, राजनीतिक
प्रणालीको आधुनिकीकरण, खेलकूद आदि सबै क्षेत्रमा पनि उनीहरु अब्बल भए । यसैले
ज्ञानको उत्पादन र प्रयोगमा उनीहरु अगाडि भए र बाँकी विश्वले उनीहरुलाई
पछ्याउनुपर्यो । दोश्रो विश्वयुद्धपछि पनि अङ्ग्रेजीभाषी राष्ट्र अमेरिका
सर्वशक्तिमान र नेतृत्वदायी बन्यो । क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डजस्ता देशहरु
पनि धनी र शक्तिशाली बने । यिनै कारणहरुको जोड हो अहिलेको विश्वमा अङ्ग्रेजी भाषाको
प्रभाव ।
तर यसको अर्थ संसारमा
अङ्ग्रेजी मात्र बाँकी छ वा हुनुपर्छ भन्नेचाहिँ होइन । मातृभाषीको संख्याकै कुरा
गर्ने हो अङ्ग्रेजी तेश्रो हो, संसारमा चिनियाँ र स्पेनी बोल्नेहरु अङ्ग्रेजी
बोल्नेभन्दा धेरै छन् । हिन्दी र पोर्चुगाली भाषा बोल्नेको संख्या पनि कम छैन ।
अरबी बोल्नेहरुको संख्या पनि धेरै छ र यसले
ओगटेको भूगोल पनि ठूलो छ । बिश्वको सम्पर्क भाषा वा अन्तर्राष्ट्रिय भाषाको रुपमा
सधैंभरि अङ्ग्रेजी नै रहन्छ भन्ने छैन । विगतमा अरु भाषा अन्तर्राष्ट्रिय भाषा थिए
र भविष्यमा अर्को कुनै भाषाले अङ्ग्रेजीलाई विस्थापित गर्ने पनि निश्चित छ । विश्वका
सबै प्रमुख भाषाहरुमा त्यो सामर्थ्य र सम्भावना छ ।
कुनै पनि भाषा मानव
समाजको सम्पत्ति हो । समाजले हजारौं वर्ष लगाएर आर्जन गरेको अनुभव र ज्ञानको सङ्ग्रह
हो भाषा । सभ्यता, संस्कृति र परम्परालाई बोली दिने भाषाले नै हो । हाम्रो
देशभित्र बोलिने हरेक भाषाहरु यसैले हाम्रा अमूल्य निधि हुन्, हामीले तिनलाई लोप
भएर जान दिनु हुँदैन । हामी विज्ञान र प्रविधिमा पछि परेको कारण भाषा होइन । आधुनिक विज्ञान र
प्रविधिमा दक्ष हुन आफ्नो भाषा र
संस्कृतिलाई निमिट्यान्न पार्नुपर्दैन भन्ने कुरालाई जापान, कोरीया, चीन, सिंगापुर
आदिले देखाइसकेका छन् । सही राजनीतिक र सामाजिक व्यबश्थापन हुने हो भने हाम्रो
समाज पनि विज्ञान र प्रविधिमा अघि बढ्न सक्छ, भाषाकै कारणले रोकिने छैन । केहि प्राविधिक
ज्ञान हाम्रो समाजले उत्पादन गर्दै नगरेको पनि होइन । हाम्रो शिक्षाको अधकल्चो
अङ्ग्रेजीकरणका कारण हाम्रो विगतका यस्ता उपलब्धि पनि हामीले बिस्तारै गुमाउँदै
छौं ।
जर्मनी, फ्रान्स, इटाली,
स्पेन, पोर्चुगल, नर्वे, स्विडेन, डेनमार्क, फिनल्याण्ड आदि जस्ता यूरोपका धेरै
विकसित देशको प्रमुख भाषा अङ्ग्रेजी होइन । यी देशहरुको शिक्षा प्रणालीको माध्यम
पनि अङ्ग्रेजी होइन आफ्नै भाषा हो । अमेरिका लगायतका विकसित देशमा विद्यार्थीहरुलाई बहुभाषामा दक्ष हुन
प्रोत्साहित गरिन्छ । हामी भने अङ्ग्रेजीलाई नै
साध्य मानेर दौडिरहेका छौं र यस क्रममा आफ्नै भाषाहरुलाई बिर्सन खोज्दैछौं ।
शिक्षाको माध्यमका रुपमा
अङ्ग्रेजीलाई लादेर ‘ड्याहाल बौ’ शैलीमा बच्चालाई अङ्ग्रेजी रटाउँदैमा हाम्रो
अङ्ग्रेजी राम्रो भएको पनि छैन । गैर अङ्ग्रेजी मातृभाषी देशहरुको अङग्रेजी भाषा
क्षमताको मूल्याङ्कनमा स्विडेन, नेदरल्याण्ड, डेनमार्क, नर्वे जस्ता देशहरु
उत्कृष्ट रहँदै आएका छन् । यी देशहरुको शिक्षा प्रणालीको माध्यमभाषा अङ्ग्रेजी
होइन । त्यसैगरी, अङ्ग्रेजीलाई देशको शिक्षा प्रणालीको प्रमुख माध्यम नबनाउँदैमा
कुनै देशको विज्ञान-प्रविधि क्षमता कमजोर बन्छ भन्ने पनि छैन । यतिखेर, संसारका
सबैभन्दा ‘इन्नोभेटिभ’ देशहरुको सूचिको माथिल्ला स्थानमा कोरीया, स्विडेन, जर्मनी,
स्वीजरल्याण्ड, जापान, इजरायल आदि छन् । यी सबै देशको शिक्षा प्रणालीको माध्यम
भाषा अङ्ग्रेजी होइन । देशको विज्ञान प्रविधिको क्षमता अङ्ग्रेजीमा पढाएर मात्र
बढ्ने होइन, यसका लागि राज्यको लगानी, दिर्घकालीन प्रतिबद्धता र अनुसन्धानको
संस्कृति चाहिन्छ।
शिक्षा पेशेवरहरु उत्पादन
गर्ने प्रकृयामात्र होइन, यो समाजको संस्कृति, परम्परागत ज्ञान र सीपलाई नयाँ
पुस्तामा हस्तान्तरण गर्ने प्रकृया पनि हो । हस्तान्तरणको यो प्रकृयाको सबैभन्दा
ठूलो माध्यम भनेको भाषा नै हो । स्थानीय भाषालाई माध्यम नबनाउने मात्र होइन
त्यसलाई अत्यन्त कम महत्व दिने हाम्रो शिक्षा प्रणालीका कारण हाम्रा सन्त्ततिले
आफ्नो भाषा गतिलोसंग सिकिरहेका छैनन् । नयाँ पुस्ताले आफ्नो भाषा गतिलोसंग
नसिकेपछि संस्कृति र परम्परागत ज्ञान र सीप पनि हस्तान्तरण नभई हराएर जान्छन् । के
यो हाम्रो अस्तित्वमाथि हामीले नै गरीरहेको गम्भिर प्रहार होइन?
पङ्क्तिकारको आशय अङ्ग्रेजी पढाउँदै नपढाउने भन्ने कदापि होइन । बालबालिकालाई अङ्ग्रेजी
पढाउनुपर्छ र उनीहरुलाई पोख्त बनाउनु पर्छ । सम्भव भएसम्म अरु विदेशी भाषा पनि
सिकाउनुपर्छ । तर यो क्रममा हामीले नेपाली भाषा र देशका बिभिन्न भागमा बोलिने
स्थानीय भाषाहरुलाई उपेक्षा गर्नु हुन्न ।
नेपाल एउटा बहुभाषिक देश हो । यति सानो भूगोलभित्र पनि सय भन्दा बढी जीवित
भाषाहरु अस्तित्वमा रहनु हाम्रो सौभाग्य हो । हाम्रा सम्पत्ति यी भाषाहरुको
संरक्षण र विकास जरूरी छ । कुनै पनि भाषाको संरक्षण र विकासका लागि त्यो भाषालाई
पठनपाठनको माध्यम बनाउनु पनि महत्वपूर्ण हुन्छ, वक्ता थोरै भएको भाषाका हकमा त यो
झन् अत्यावश्यक छ । यसैले पूर्व प्राथमिक तहको शिक्षालाई तुरुन्तै मातृभाषाको
माध्यममा लैजानुपर्छ । अहिले बच्चाहरु कम्तिमा तीन वर्ष पूर्व प्राथमिक तहमा
पढ्छन् । शिक्षाको पहिलो तीन वर्ष मातृभाषामा मात्रै पढाउनु पर्छ र त्यसपछि मात्र
अरु भाषा सिकाउनुपर्छ भन्ने विश्वब्यापी अवधारणा बनीसकेको छ । अङ्ग्रेजी पढाउन
कक्षा एक वा त्यसपछिबाट मात्रै शुरु गर्दा पनि फरक पर्दैन । प्राथमिक तहसम्म
मातृभाषा र (खस) नेपालीलाई मुख्य रुपमा र अङ्ग्रेजीलाई एउटा विषयको रुपमा मात्र
पढाउनुपर्छ । मातृभाषामा शिक्षा दिँदा पठनपाठन प्रभावकारी हुने र बालबालिकाको
सिकाइ राम्रो हुने अनुसन्धानहरु र विगतका अनुभवबाट प्रमाणित भइसकेको छ । यस बारेमा
यूनेस्कोका धेरै प्रकाशनहरु उपलब्ध छन् । । हाम्रै देशमा पनि अनुसन्धानहरु भएका
छन् । मातृभाषामा शिक्षा उपलब्ध हुँदा बालबालिकाले बीचैमा पढाइ छोड्ने दरमा पनि
धेरै कमी आएको देखिएको छ ।
अर्को तर्फ कुनै पनि ब्यक्ति आफ्नो मातृभाषामा जति धेरै दक्ष भयो, उसको अर्को
भाषा सिक्ने क्षमता पनि उति नै बढ्ने कुरा पनि अनुसन्धानहरुबाट प्रमाणित भइसकेको छ
। यसरी हामीले बच्चाहरुलाई उनीहरुको मातृभाषामा आधारभूत तहको शिक्षा दिन सक्यौं
भने प्रकारान्तरमा त्यसले उनीहरुको अङ्ग्रेजी सिक्ने प्रकृयालाई पनि सघाउने छ
।
घरमा खस नेपालीनै बोल्ने बच्चाहरुलाई पनि आधारभूत तहसम्म एउटा विषयका रुपमा
स्थानीय भाषा पढाउँदा सामाजिक अन्तर्कृया र सांस्कृतिक आदानप्रदानमा बृद्धि हुन्छ,
जुन हाम्रो समाजमा विद्यमान कतिपय पूर्वाग्रहहरु हटाउन र सामाजिक सद्भाव बढाउन
सहायकसिद्ध हुने छ ।
माध्यमिक तहमा कुन-कुन विषय नेपालीमा पढाउने, कुन-कुन विषय अङ्ग्रेजीमा पढाउने
र कुन-कुन विषयको अध्यापनको माध्यम रोज्न विद्यालयहरु स्वतन्त्र हुने भन्ने बारेमा
राज्यको स्पष्ट नीति हुनुपर्छ र यो नीतिलाई सरकारी र निजी सबै विद्यालयहरुले समान
रुपमा पालन गर्नुपर्छ । स्नातक तहबाट भने रोजेको
विषय अनुसारको भाषा निर्धारण गर्न सकिन्छ । धेरै जसो प्राविधिक विषयको स्नातक तहमा
अहिले नेपाल र नेपाली समाजसम्बन्धी कुनै विषय पनि पढाइन्न । यस्ता धारमा पनि नेपालीमै
पढाउने गरी कम्तिमा एउटा विषय नेपाल र नेपाली समाजसम्बन्धी हुनुपर्छ ।
विज्ञान र प्रविधि सिक्न
र बाँकी विश्वसंग संवाद गर्नका लागि हामीलाई अङ्ग्रेजी भाषा चाहिन्छ तर यो क्रममा हामीले हाम्रा आफ्नै भाषाहरुको पनि संरक्षण र
विकास गर्नैपर्छ ।
- यो लेख 'अनलाइन खबर' ( https://www.onlinekhabar.com/2019/04/756715 ) मा प्रकाशित भएको थियो ।
No comments:
Post a Comment