November 16, 2016

प्लाष्टिकका झोला:प्रतिबन्ध कि पुनर्प्रशोधन?

एक महिनाजति पहिले पोखराबाट प्रकाशित हुने एउटा दैनिकमा छापिएको एउटा समाचारको शीर्षक थियोपोखरामा प्लाष्टिकका झोला तथा गिलास मुक्त नगर घोषणाको तयारी पुन: शुरु उक्त समाचारको शिर्षकले मेरो मनमा दुईवटा वैकल्पिक अर्थ सुझाएको थियो पहिलो, पोखरामा यस्तो घोषणा पहिल्यै गरिसकिएको तर त्यो असफल भएको र यसैले फेरि घोषणा गर्न आवश्यक परेको। दोश्रो, पहिला तयारी गरेर पनि घोषणा गर्न नसकिएको अब फेरि घोषणाको तयारी हुँदै गरेको। दोश्रो अर्थले एउटा चल्तीको चुट्किला पनि सम्झाऊँछ। एउटा मान्छेले आफ्नो साथीलाई भनेछ-मलाई फेरि न्यूयोर्क जान मन लाग्यो यार! साथी छक्क परेर सोधेछ-पहिला कहिले गएको थिईस् ? अनि पहिलोले भनेछ- अहिलेसम्म गएको छैन तर पहिला एकचोटि पनि जान मन लागेको थियो।

चूट्किलाको रमाईलो छोडौं। अब त घोषणानै भईसक्यो, ‘प्लाष्टिक झोला बाईबाई’ शीर्षकको समाचारपनि पढिसकियो। ‘खुला दिशा मुक्त’ पछि पोखरालाई अर्को ‘मुक्त’को उपहार दिने यो चर्चा बीचमा चाडबाड र भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको चर्चाको छायामा पर्यो। चाडबाड र लामा बिदाका दिनमा उपमहानगरपालिकाले तयारी कत्तिको गर्यो होला वा गर्न भ्यायो होला भन्ने कुरापनि आफ्नो ठाऊँमा छँदैछ।
समाचारहरुमा प्लाष्टिकका झोला र कपहरु भनेर आएको छ। प्लाष्टिक कप हटाउने सवालमा, यसका सहज र सरल विकल्पहरु उपलब्ध हुने भएकाले यो त्यति ठूलो समस्या होईन। झोलाहरुका हकमा कुरो फरक हुन्छ। फेरि घोषणासम्बन्धी समाचारहरुमा ठूलो-सानो साइज वा मोटाइका बारेमा केहि उल्लेख छैन। यसैले समाचारबाट हामीले बनाउन सकिने धारणा भनेको घोषणा अनुसार सबै साइजका-सबै मोटाइका काने प्लाष्टिक झोलाहरु प्रतिबन्धित गर्न खोजिँदै छ भन्ने हो।

यस्ता घोषणा गर्नु घोषणाको उपादेयता छ कि छैन घोषणा गरीसकेपछि घोषणा सफल हुन्छ कि  हुँदैन भन्ने विषयमा प्रशस्त सोचविचार हुनुपर्छ हप्ता दिन पनि टिक्न नसक्ने घोषणाको कुनै अर्थ छैन। प्लाष्टिकका झोलाको प्रयोग आफैंमा मात्र समस्या हो कि प्रयोगपछि उचित ब्यवश्थापन हुन नसक्नुचाहिँ समस्या हो भन्ने विषयमा यथेष्ट सघन छलफलनै हुन सकेको छैन अझै, हामीले भने हतारमा घोषणा गरीसक्यौं।

पहिलो पटक घोषणाको तयारी हुँदै गर्दा स्थानीय प्लाष्टिक उद्योगहरु यसका विरुद्ध अदालत पुगेका थिए। प्लाष्टिक उद्योगमा गरिएको करोडौंको लगानी र  यससंग जोडिने थुप्रै आर्थिक गतिविधिबारे कुनै सोचविचार नगरी हतारमा घोषणा नहोस् भन्ने माग थियो उद्योगहरुको। पंक्तिकारले स्थानीय प्लाष्टिक उद्योगीहरुसंग कुराकानी गर्दा यसपटकको तयारी र घोषणामा पनि उप-महानगरपालिकाले प्लाष्टिक उद्योग र यससंग जोडिएको आर्थिक पाटोमा कुनै संवेदनशीलता नदेखाएको गुनासो र निराशा भेटेको छ। पोखराका स्थानीय प्लाष्टिक उद्योगहरुले उत्पादनमा प्रयोग गरिने मेशीनरी र अन्य भौतिक पूर्वाधारहरुमा दश करोडभन्दा माथिको लगानी गरेका छन। यस्तै, ब्यवसायीहरुका अनुसार हाल बजारमा बिक्री हुन बाँकी प्लाष्टिकको मूल्यांकन गर्ने हो भने सहजै करोडभन्दा माथि जानसक्छ। यदि अहिलेका अहिल्यै प्रतिबन्ध लगाउने हो भने यी लगानीहरुको क्षतिपूर्ति दिनुपर्छ कि पर्दैन? अर्कोतिर, बजारमा थुप्रिएको प्लाष्टिकलाई त क्षतिपूर्ति  दिएर नष्ट गर्न सकिएला तर करोडौं मूल्यका मेशीन-उपकरणहरुलाई चाहिँ के गर्ने? राज्यको नीति र कानूनले प्लाष्टिक उद्योग खोल्न दिने तर स्थानीय निकायलेचाहिँ प्रयोगमा पूरै प्रतिबन्ध लगाउने, यो चरम विरोधाभाष भयो कि भएन? यदि प्रतिबन्ध लगाउनेनै हो भने आफ्ना उद्योगलाई अरु कुनै उपयोगमा लगाउने गरी क्रमिक तयारी गर्न उद्योगीहरुलाई ४-५ वर्षको समय दिनुपर्छ कि पर्दैन? अदालतले उद्योगीहरुको रिट खारेज गरिदिएकाले अब पेलेरै गए हुन्छ भन्ने मानसिकता हो भने त्यो बिडम्बनापूर्ण हो। उद्योगधन्दा र ब्यवसायीहरुले फेरि मुद्दा दायर गरेर कानूनी लडाईँ लड्न सक्ने बाटो सकिईसकेको पनि छैन होला।

प्लाष्टिक आधुनिक मानव जीवनको एउटा अभिन्न अंग बनीसकेको छ। सन् १९०७ मा अमेरिकी वैज्ञानिक लिओ बेकल्याण्डले बेकेलाइट आविष्कार गरेपछि प्लाष्टिक युग शुरु भएको मानिन्छ। प्लाष्टिक शब्द सबैभन्दा पहिला प्रयोग गर्ने पनि उनै बेकल्याण्ड हुन्। विगतका पाषाण युग, लौह युग आदिजस्तै हाम्रो युगलाई प्लाष्टिक युग भन्दा कुनै अत्युक्ति हुँदैन। सजिलो उत्पादन, कम लागत, आवश्यकता अनुसारको आकार-प्रकार-रंग आदिमा उत्पादन गर्न सकिने र पानी नछिर्ने कारणले गर्दा प्लाष्टिक हाम्रो जीवनमा सबैभन्दा बढी प्रयोग हुने चीजमध्येमा पर्छ। प्लाष्टिकको प्रयोग कागज च्याप्ने क्लिप बनाउनदेखि लिएर अन्तरिक्षयानसम्ममा भएको छ। हामीले परम्परागत रुपमा प्रयोग गर्दै आएका काठ, छाला, कागत, धातु, ग्लास, सेरामिक आदिजस्ता सबै बस्तुलाई प्लाष्टिकजन्य सामाग्रीले तिब्र गतिमा विष्थापित गरीरहेका छन्। विकसित देशहरुमा प्लाष्टिकजन्य प्रयोगको एक तिहाइ प्याकेजिङ्गले लिएको छ भने अर्को एक तिहाइ प्लम्बिङ्गमा प्रयोग हुने पाइपहरुले ओगट्छन्। अटोमोबाइल उद्योग, फर्निचर उद्योग, खेलौना उद्योग र मेडिकल क्षेत्रले बाँकी हिस्सा ओगट्छन्। भारतमा ४२ प्रतिशत हिस्सा प्याकेजिङ्गको छ। हाम्रो देशमा यस्तो अध्ययन जहाँसम्म लाग्छ भईसकेको छैन।

प्लाष्टिकका झोलाले हाम्रो किनमेललाई सहज र छरितो बनाएका छन्। आजभोलि मान्छेले केहि दिनलाई पुग्ने गरी एकै पटक तरकारी, दाल-चामल, मासु, अण्डा आदि किन्छन्। यस्तो अवश्थामा सबै कुरा एउटै झोलामा खाँदखुँद गर्न मिल्दैन, एक-अर्कामा मिसाउन नहुने कुराहरु धेरै हुन्छन्। कतिपय चीजहरु चिसा र अर्ध तरल हुन्छन्, तिनलाई प्लाष्टिककै झोलामा राख्नुपर्ने हुन्छ। प्लाष्टिकका झोला आवश्यकता अनुसारका साइज र प्रकारमा पाईने हुँदा धेरै सजिलो भएको छ। अब प्लाष्टिकका काने झोलालाई हामीले विष्थापित गर्ने हो भने त्यत्तिकै  सुरक्षित र विविधतापूर्ण हुनसक्ने विकल्प दिन सक्नुपर्छ। कपडाको झोलाहरुलाई विकल्प मान्ने हो भने ती सबै साइज र प्रकारमा उपलब्ध गराउन सकिँदैन। सकिएछ भने पनि धेरै महंगो पर्नसक्छ। फेरि कपडा भिज्ने हुँदा माछा-मासुजस्ता चिज त्यसमा सिधै राख्न सकिँदैन, प्लाष्टिकको झोला चाहिन्छनै। अर्को एउटा विकल्प परम्परागत रुपमा प्रयोग गरिएजस्तो कागजका पोकाहरु हो। कागजका पोकाको ब्यापारिक उत्पादन त गर्न सकिएला तर प्लाष्टिकका झोलाको जस्तो सस्तो र ठूलो परिमाणमा सकिँदैन। कागजको पोका प्लाष्टिकजस्तो सबै अवश्थाका लागि उपयुक्त पनि हुनसक्दैन। विकसित देशमा दूध आदिलाई विशेष प्रकारका कागजका प्याकेटमा पनि बिक्री गरिन्छ, तर सबै चिजलाई हुने गरी कागजका पोकाहरु बनाउने प्रविधि तयार भैसकेको छैन। भएका प्रविधि भित्र्याउन पनि केहि वर्ष लाग्छ र ठूलो लगानीको कुरा पनि आऊँछ। फेरि विकसित देशमै पनि प्लाष्टिकका झोलाहरु पूर्ण रुपमा विष्थापित हुन सकेका छैनन्।

चर्चाको अर्को प्रमुख पाटो भनेको ‘प्लाष्टिकको काने झोला र कप मात्र किन?’  र ‘प्लाष्टिकजन्य सम्पूर्ण प्याकेजिङ्ग किन होईन?’ भन्ने हो।

प्लाष्टिकका झोलाहरु हटाउने कुराको पक्षमा प्रदूषण कम गर्ने उद्देश्य भन्ने तर्क राख्ने गरिन्छ। प्लाष्टिक निश्चित रुपमा वातावरणीय प्रदूषणको ठूलो स्रोत हो। सामान्यतया नकुहिने र बालेपनि हानिकारक ग्यासहरु उत्सर्जन गर्ने हुँदा यसको ब्यवष्थापन निश्चय पनि सजिलो छैन।  तर हामी दैनिक जीवनमा जति प्लाष्टिकको प्रयोग गर्छौं त्यसमा काने झोलाको रुपमा आउने प्लाष्टिकको अंश थोरै छ। यसबारेमा यकीन तथ्यांक निकाल्नका लागि केहि अनुसन्धान गर्नुपर्ने हुन्छ तर हामी हाम्रो दैनिक जीवनबाटै लगभगको निष्कर्ष निकाल्न सक्छौं। अहिले बजारमा पाइने हरेक चकलेट-चाऊचाऊ, दूध, दहीदेखि अरु अनेक खानेकुरा रंगीचंगी प्लाष्टिक प्याकेटमा आऊँछन्। स्थानीय स्तरमा उत्पादन भएका दाल, गेडागुडी आदिजस्ता चिजहरु समेत प्लाष्टिकका पोकामा राखेर बेचिन्छ। पूजामा प्रयोग गरिने अबीर, केसरी देखि चाडबाडका सजावटका सामान सबै प्लाष्टिक प्याकेटमै आऊँछन्। खेलौना र सजावटका अनेक सामाग्रीहरु प्लाष्टिकबाटै बनेका हुन्छन् यो सूचिलाई अनन्तसम्म तन्काउन सकिन्छ। बजारु पेय पदार्थहरु भरिएर आउने पेट बोटलहरुपनि प्लाष्टिककै एक रुप हुन्। यीनको उपभोग प्रतिशत अझ ठूलो हुनसक्छ।

यसैले हाम्रो दैनिक जीवनबाट उत्पादित हुने प्लाष्टिकजन्य फोहरमा काने झोलाको अंश हामीले सोचेभन्दा कमनै हुने देखिन्छ। अब काने झोला हटाईयो भनेपनि बजारमा माथि उल्लेख गरिएका अरु प्लाष्टिक त  बाँकी रहन्छन् नै। यसले प्लाष्टिकजन्य प्रदूषणमा कुनै तात्विक कमी ल्याउने देखिन्न। अरु प्लाष्टिकलाई नछुने तर काने झोलाका पछाडिमात्र हात धोएर लाग्ने कुरामा यसैले कुनै तुक छैन। स्थानीय र राष्ट्रिय प्लाष्टिक उद्योगलाई केहि समय अप्ठेरोमा पार्ने, आतंकित बनाउने बाहेक यसको कुनै परिणाम ‍पनि निस्कने छैन। बजारको थोरै हिस्सा भएपनि ओगटीरहेका यी नेपाली प्लाष्टिक उद्योगलाई धराशायी बनाउनु भनेको भारतीय प्लाष्टिक उद्योगलाई अझ पूरै बजार ओगट्न दिनु हो किनभने यो घोषणाले प्लाष्टिकको प्रयोगलाई रोक्न सक्दैन, स्वदेशी उत्पादनका प्लाष्टिक उपलब्ध नभए तस्करी भएर पनि भारतीय प्लाष्टिक आईपुग्छ।

यसरी यी पंक्तिहरु लेखिरहँदा, पंक्तिकारको आशय प्लाष्टिक झोलाहरुको प्रयोगलाई अझ बेपर्वाह बढाउनुपर्छ भन्नेचाहिँ कदापि होईन। वातावरणीय प्रदूषण र मानवीय स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरका कारण प्लाष्टिकको प्रयोगलाई हामीले जति कम गर्न सक्यो त्यति राम्रो हो। यसका लागि काने झोला र कपमात्रै होईन अरु प्लाष्टिकहरुको प्रयोग पनि कम गर्दै जानुपर्छ। तर दैनिक जीवनमा गहिरोसंग गाँसिईसकेको प्लाष्टिकको झोलाजस्तो वस्तुलाई फ्याट्ट कुनै ‘छु मन्तर!’ घोषणा गरेर तुरुन्तै हटाऊँछु भन्नु गलत हो, ज्यादती हो र हटाउन सम्भव पनि छैन। डलर खेतीवालाहरुले गर्नेजस्तो ‘घोषणाका लगि घोषणा’ उपमहानगरपालिकाजस्तो निकायले गरेको सुहाऊँदैन।

प्लाष्टिकका झोलालाई प्रतिबन्ध लगाएर ‘प्लाष्टिक झोलामुक्त शहर’ घोषणा गर्ने केटौले ‘क्रान्तिकारिता’ को साटो जनचेतनामूलक कार्यक्रमहरु अघि बढाएर जनता आफैं प्लाष्टिकका झोला कम प्रयोग गर्न प्रेरित हुने स्थिति निर्माण गर्न सक्नुपर्छ यस्ता सरकारी निकायले। यहि घोषणाकै सन्दर्भमा पनि दु:खका साथ भन्नुपर्छ, नगरपालिकाले सचेतनाको पाटोमा भने केहि पनि गरेको देखिँदैन। प्लाष्टिक झोलाका प्रमुख सरोकारवालाहरु मध्येका सर्वसाधारण उपभोक्ता र खुद्रा ब्यापारीहरुलाई यो घोषणाका बारेमा केहि थाहा छैन। जसले पत्रिका वा अरु कुनै सञ्चारमाध्यमबाट थाहा पाएका छन्, उनीहरुले यसलाई ‘घोषणाका लगि घोषणा’ बाहेक केहि पनि मानेका छैनन्। प्लाष्टिकको अब्यवश्थित प्रयोगले वातावरणमा पुर्याउने हानिका बारेमा ब्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन नगरी आवश्यक सामाजिक चेतना सृजना हुन सक्दैन। यसका लागि प्रभावशाली श्रब्य-दृश्य सामाग्रीहरु आवश्यक पर्न सक्छन्। सामाजिक सचेतना जगाउने र दिगो बनाउने अर्को प्रमुख बाटो भनेको प्राथमिक तहदेखिकै विद्यालय पाठ्यक्रममा प्रदूषण र प्लाष्टिकजन्य प्रदूषणसम्बन्धी विषयवस्तुहरु संलग्न गर्नु हो। सरकारले तोकेको पाठ्यक्रममा यस्ता कुरा छैनन् भने नगरपालिका आफैंले प्रदूषण सम्बन्धी शैक्षिक सामाग्रीहरु तयार पारेर प्रत्येक विद्यालयलाई दिनसक्छ। प्लाष्टिकले गर्ने प्रदूषण, प्लाष्टिकजन्य फोहरलाई अरु फोहरबाट छुट्याएर निश्चित ठाऊँमा जम्मा गर्नेजस्ता कुरा सानैदेखि सिकाउनु जरुरी छ। त्यस्तै, बाटाघाटा, नदीनालामा प्लाष्टिक फ्याँक्ने ब्यक्तिलाई दण्ड-जरिवाना गर्नुपर्छ। सचेतनाको अभाव र दण्ड जरिवानाको पनि डर नभएका करण अहिले साना देखि बूढासम्म हामी सबै शहरवासी बाटाघाटा, नदीनाला जताततै मनपरी प्लाष्टिक फ्याँक्छौं।

अर्कोतिर, प्लाष्टिकको कम प्रयोग गर्न उपभोक्तालाई उत्प्रेरित गर्नका लागि प्लाष्टिकका झोलामै निश्चित मूल्य लगाउन पनि सकिन्छ। अहिले सामान किन्दा प्लाष्टिकका झोला सित्तैंमा पाईन्छ। प्रत्येक प्लाष्टिकको झोलाका लागि मूल्य तोक्दिने हो भने उपभोक्ता प्लाष्टिकका झोला अति आवश्यक बाहेक अरु बेलामा नलिनका लागि प्रोत्साहित हुन्छन् र लिनैपरे पनि न्यूनतम संख्यामा लिन प्रोत्साहित हुन्छन्।

अर्को कदम पुनर्प्रयोगको सचेतना जगाउनु हो। कम प्रयोग गर्नेमात्र नभई कुनै प्लाष्टिकको झोला एक पटकको प्रयोगपछिनै नफ्याँकी कम्तिमा अरु दुई-तीन पटकसम्म प्रयोग गर्न सकिन्छ। उदाहरणका लगि, कापी-किताब वा लुगा हालेर ल्याएको प्लाष्टिकको झोलालाई तरकारी किन्दा प्रयोग गर्न सकिन्छ।

चाल्न सकिने अर्को कदम भनेको सबै थरी प्लाष्टिकको पुनर्प्रशोधन (रिसाइक्लिङ) हो। प्लाष्टिक उच्च पुनर्प्रशोधनीय गुण भएको वस्तु हो। पूरानो प्लाष्टिक नयाँ प्लाष्टिकको कच्चा पदार्थ हो। पोखरा वा आसपासमै  प्लाष्टिक पुनर्प्रशोधन उद्योगलाई अगाडि बढाउन सक्ने हो भने प्रदूषणको ब्यवश्थापन हुनुका साथै यसले यो क्षेत्रका लागि धेरै प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी सृजना गर्न सक्छ। यो पुनर्प्रशोधन प्लाष्टिक झोला वा प्लाष्टिक प्याकेजिङ्गको मात्र नभएर पेट बोटल र प्लाष्टिकका अन्य स्वरुपहरुका लागि पनि हुनुपर्छ। यसका लागि केहि नीतिगत पूर्वाधारको आवश्यकता पर्छ र शुरुवाती लगानीकर्ताका लागि केहि सुविधाहरु दिनुपर्ने हुनसक्छ।

प्लाष्टिकजन्य समस्याको समाधान यसैले ‘कमप्रयोग, पुनर्प्रयोग र पुनर्प्रशोधन’ हो, कुनै प्रतिबन्धात्मक ‘घोषणा’ होईन।

(यो लेख केहि सम्पादन सहित पोखराबाट प्रकाशित हुने 'समाधान राष्ट्रिय दैनिक' को २०७३, कार्तिक ३० मंगलबारको अंकमा प्रकाशित भएको छ।)

No comments:

Post a Comment