June 29, 2019

ट्राफिक लाइट कि ‘रेड लाइट’?

देहव्यापार वा चलनचल्तीको शब्द प्रयोग गर्दा वेश्यावृत्ति – यो पुरुष सत्ताको आविष्कार हो र पुरुषका लागि पुरुषले चलाएको उद्योग हो । हुनत सीमित रुपमा यदाकदा पुरुष वेश्यावृत्ति पनि देखिएको छ तर देहव्यापार संसारभरिनै मूलत: महिलाको शरीरको व्यापार हो । देहव्यापारलाई ‘संसारको सबैभन्दा पूरानो पेशा’को विशेषण दिएको पनि पुरुष सत्तालेनै हो । यदि देहव्यापार संसारको सबैभन्दा पूरानो पेशा हुन्थ्यो भने त्यसको प्रमाणका रुपमा अझै पनि बाँकी रहेका केहि आदिवासी समाजमा व्यापक रुपमा देहव्यापार देखिनुपर्थ्यो तर त्यो देखिन्न । देहव्यापार कथित ‘सभ्य’ र ‘विकसित’ समाजको उपज हो, त्यसकारण यो संसारको सबैभन्दा पूरानो पेशा होइन । महिलाको देहव्यापार जस्तो पुरुषको देहव्यापार कहिल्यै व्यापक हुँदा पनि हुँदैन किनभने अरु कसैको शरीरप्रतिको पुरुष र महिलाको सोचाइमा आकाश जमीनको अन्तर छ । पुरुषमा आक्रामकता छ, महिलाको शरीरमाथि शक्ति (शारीरिक बल वा पैसा जे पनि हुनसक्छ) का भरमा कब्जा जमाउनुलाई आफ्नो ‘सफलता’ मान्ने मनोविज्ञान छ तर महिलाको स्वभाव ठिक उल्टो छ । यौन पुरुषका लागि विशुद्ध शारीरिक कर्म हो भने महिलाका लागि यौन मूलत: मानसिक कर्म हो । पुरुषको यौन शारीरिक भएकाले उसलाई शरीर कब्जामा रस आउनु स्वाभाविक हो । महिलाको यौन मानसिक परितृप्तिका लागि हो, त्यो परितृप्ति कसैको शरीर कब्जा गरेर मात्रै मिल्ने कुरा होइन । यसैले मानव समाज कुनै दिन फेरि मातृसत्तातिर फर्कियो भनेपनि महिला सत्ताले पुरुषको देहव्यापारलाई ‘संसारको सबैभन्दा पुरानो पेशा’को रुपमा ‘आविष्कार’ गर्ने छैन । 

र यो देहव्यापारको बहस अहिले पोखराको पर्यटन उद्योगको गन्तब्यसंग जोडिन आइपुगेको छ । पोखरामा कथित रेड लाइट एरिया चाहिन्छ भनेर प्रदेश सरकारका मुख्यमन्त्रीले आफ्नो कार्यकालको शुरुवाती दिनमै बोलेपछि यसका बारेमा विवाद शुरु भयो । विरोधको स्वर ठूलो भएका कारण यो योजनाबाट प्रदेश सरकार पछि हटेको होला भन्ने आम विश्वाशका विपरीत यसलाई कथित ‘इन्जोय जोन’को छाता ओढाएर कार्यान्वयनमै लैजान खोजिएको छ अहिले । प्रदेश सरकार र यसको नेतृत्वलाई गण्डकी र विशेष गरी पोखराको पर्यटन उद्योगलाई विकास गर्नका लागि यौन धन्दा बाहेक अरु कुनै बाटो छैन भन्ने लागेको जस्तो महसुस हुन्छ सम्बन्धितहरुका कुरा सुन्दा । यो योजनाको ब्यापक विरोध भएको छ । केहि समर्थनका स्वरहरु पनि छन् । र के स्पष्ट देखिन्छ भने रेड लाइट एरिया (इन्जोय जोन) को विरोध गर्नेहरुमा महिला र पुरुष दुबै छन् भने समर्थन गर्नेमा केहि पुरुषहरु मात्र छन् ।

देहव्यापार महिलाको अस्मिता माथिको चरम अपमान हो । कुनै पनि समाजमा वेश्यावृत्ति बाध्यता हो, रहर हुनसक्दैन । हाम्रो समाजमा महिलाको स्थिति शोषित पीडित र अधिकारवीहिन छ । आफ्नै शरीरमाथि पनि उनीहरुको आफ्नो अधिकार नरहेको अवस्था छ । आर्थिक रुपले विपन्न र सामाजिक रुपले उत्पीडित समुदायमा  स्थिति अझ विकराल छ । यस्तो स्थितिमा देहव्यापारलाई कसैले जानीबुझी रहरले पेशा बनाउने कुरा हुँदैन । हरेक देहव्यापारी महिला कुनै न कुनै बाध्यताले वा कसैको धोका-धम्की-करबलका कारण यो पेशामा धकेलिएका हुन्छन्, उनीहरुलाई देहव्यापारमा धकेल्ने धेरैजसो नजिकका नातेदार पुरुषहरुनै हुन्छन् । त्यसकारण, राज्यको दायित्व भनेको ती बाध्यताहरुको पहिचान गर्नु, उनीहरुका लागि वैकल्पिक पेशाको व्यवस्था गर्नु र देहव्यापारबाट मुक्त पार्नु हो, न कि त्यहि बाध्यतालाई अझ दोहन गरेर कर उठाउनु ।

पश्चिमा विकसित देशमा देहव्यापार सहज र रहरको ‍पेशाजस्तो लाग्छ हामीलाई । ती समाजमा महिलाहरु हाम्रो समाजको दाँजोमा आफ्नो पेशाका बारेमा आफैं निर्णय गर्न सक्षम र स्वतन्त्र हुन्छन् । उनीहरुलाई देहव्यापारमा लाग्न कसैले बाध्य बनाउने सम्भावना धेरै कम हुन्छ । तर ती देशमै पनि देहव्यापारलाई कुनै इज्जतिलो कर्म मानिँदैन । कुनै देहव्यापारीसंग उभिएको तस्बीरमात्र बजारमा आयो भने ठूल्ठूला राजनीतिज्ञको सार्वजनिक जीवन समाप्त हुने गरेको देखिएको छ । यसैले हामीलाई ‘रेड लाइट’को प्रयोगको रहरै लागेको हो भने पनि कम्तिमा हाम्रो समाज एउटा निश्चित आयको तहमा पुगुञ्जेल र महिलाहरु आफ्ना बारेमा आफैं निर्णय गर्न सक्षम र स्वतन्त्र हुञ्जेलचाहिँ कुरौं ।

गण्डकी प्रदेश र पोखराको समग्र विकासका लागि पहिले गर्नुपर्ने अरु काम थुप्रै छन् । ट्राफिक लाइट समेत नभएको महानगर पोखराको प्राथमिकतालाई यसरी रेड लाइटतिर बहकाउनु गल्तीमात्र होइन गम्भिर अपराध हो ।  

पोखरामा ‘लाल बत्ती बजार’ ल्याउने तर्कमा सबैभन्दा जोडतोडले दिइने उदाहरण थाइल्याण्डको हो तर हाम्रा नीति निर्माताहरुले के बिर्सिएका छन् वा सम्झन चाहेका छैनन् भने थाइल्याण्डको पर्यटन उद्योग भनेको देहव्यापार मात्र होइन । थाइल्याण्ड ब्यापक भौगोलिक र साँस्कृतिक विशेषता र विविधता भएको देश हो । थाइल्याण्ड जाने पर्यटकहरु त्यहाँका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुले तानिएर जाने हुन् । थाइल्याण्डमा लामो समय बिताएका नेपालीहरु के भन्छन् भने अहिले थाइल्याण्डको रेड लाइट क्षेत्रमा सबैभन्दा धेरै जाने ग्राहक दक्षिण एशियाका पुरुषहरु हुन् । दक्षिण एशियाको पुरुष सत्ता दुई जना वयष्क व्यक्तिको आपसी सहमतिमा हुने स्वस्थ यौनसम्बन्धलाई बर्जित गर्ने तर भित्रभित्रै महिलाको शरीरको किनबेच गर्ने ढोंगी सत्ता हो । विश्वका विकसित र सभ्य देशमा त्यो ढोंग छैन र उनीहरुलाई सेक्सकै लागि नेपाल वा थाइल्याण्डजस्ता देशमा आइरहनुपर्ने बाध्यता र आवश्यकता पनि छैन ।

रेड लाइट पर्यटनका कारण थाइल्याण्ड आफैं लज्जित हुन थालेको धेरै भइसक्यो र उनीहरु यसलाई नियन्त्रण गर्दै छन् । थाइल्याण्डको केहि वर्ष यताको विकास र समृद्धि आफ्ना छोरीहरुको यौनांग बेचेर आएको होइन, त्यो उनीहरुले शिक्षा, आधुनिक प्रविधि र औद्योगिकीकरणमा गरेको ब्यापक लगानी र मेहनतको प्रतिफल हो । यसैले हाम्रा नीति निर्माताहरुले थाइल्याण्डबाट ‘रेड लाइट एरिया’ मात्र सिकेको देख्दा ताज्जुब लाग्छ । यस्तो लाग्छ, उनीहरु थाइल्याण्डका एअरपोर्टमा झर्नासाथ अन्त नगई सिधै पटाया र फुकेटका ‘रेड लाइट एरिया’तिर जान्छन् ।

पोखरामा ‘लाल बत्ती बजार’ चाहिन्छ भन्नेहरुको अर्को तर्क के हो भने ‘अहिले लुकीछिपी चलिरहेकै छ, अब चलिरहेकै कुरालाई व्यवस्थापन गर्दा के बिग्रिन्छ त?’ । यो झन् हास्यास्पद तर्क हो । चलीरहेका विकृतिलाई अन्त्य गर्ने होइन ‘व्यवस्थापन’ गर्ने तर्कमा सहमत हुने हो यस्तै अरु विकृतिलाई पनि ‘व्यवस्थापन गरे भयो !’ भन्ने तर्क गर्न सकिन्छ । नेपालबाट वर्षेनि हजारौं चेलीहरु भारतका कोठीहरुमा बेचिन्छन्, यसलाई पनि किन रोक्ने,  ‘व्यवस्थापन’ गरे भयो ! हिजोसम्म हाम्रो समाजले निश्चित जातिविशेषका महिललाई जबर्जस्ती यौनधन्दामा लगाएको थियो, यसलाई पनि ‘व्यवस्थापन’ गरे भयो ! विगतमा सतीप्रता थियो हाम्रो समाजमा त्यसलाई पनि ‘व्यवस्थापन’ गरेर चलाएको भए हुन्थ्यो ! राज्यका निकायहरुमा र राजनीति-प्रशाशन जुन चरम भ्रष्टाचार छ त्यसलाई पनि ‘व्यवस्थापन’ गरे भयो ? क्यान्सरको उपचार खोज्ने कि त्यसको ‘व्यवस्थापन’ गर्ने महाशयहरु ! ‘इन्जोय जोन’ वा अरु जुनसुकै नाममा पनि तपाईँहरुले ल्याउन खोजेको त्यो रेड लाइट एरियामा गरीब जनताका चेलीहरु मात्र होइन जो सुकैका छोरीचेलीपनि पुग्न सक्छन् भन्ने पनि हेक्का रहोस् ! यसैले यो योजनामा अघि बढ्नु अघि आफ्नै छोरीचेलीहरु पनि त्यहाँ पुगेको कल्पना गरीहेर्नुस् एकपटक !

यो कथित ‘इन्जोय जोन’ले पोखरा र गण्डकी प्रदेशलाई पार्ने घातक प्रभावहरुको लामो सूचि बनाउन सकिन्छ । सबैभन्दा पहिले जहाँ यो कथित ‘इन्जोय जोन’ खडा गरिन्छ त्यो ठाउँ र आसपासको बदनामी चुलिनेछ । उनीहरुसंगको सम्बन्धबाट अन्यत्रका मान्छेहरु तर्कनेछन् र ती ठाउँमा बिहेबारीको सम्बन्ध गाँस्न समेत राजी हुने छैनन् । यसले ती ठाउँका मानिसलाई दिने मानसिक, व्यावहारिक असरका बारेमा राज्य गम्भिर हुनुपर्छ । कुनै ठाउँविशेषमा यो कथित ‘इन्जोय जोन’ २-४ वर्ष मात्रै चलेर बन्द भयो भने पनि त्यसको असर पुस्तौंसम्म देखिइरहनेछ भने राज्यले योजनाबद्ध रुपमा स्थायी संरचना बनाएर चलायो भने झन् के हुन्छ हामी अनुमान गर्न सक्छौं ।

दोश्रो, यसले पोखराको आन्तरिक पर्यटनमा दिने अत्यन्त नकारात्मक धक्का हो । आन्तरिक पर्यटन पोखराको पर्यटन उद्योग र अर्थतन्त्रको एउटा खम्बा हो, र यसको हिस्सा दिनदिनै बढ्ने क्रममा छ । अहिले पोखरा हरेक नेपालीको लागि एउटा सुन्दर स्वप्न गन्तव्य हो । पोखरा बाहिरका हरेक नेपालीको कम्तिमा एकपटक पोखरा पुग्ने रहर हुन्छ । पोखराको सौन्दर्य र प्रदूषणमुक्त हावापानीले तानिएर वर्षैपिच्छे पटक पटक घुम्न आउने नेपालीहरु पनि लाखौं छन् । जब पोखरामा रेड लाइट एरिया शुरु गरिन्छ तब पोखराको भ्रमणलाई मान्छेहरुले सोझै रेड लाइट एरिया र देह व्यापारसंग जोड्नेछन् । त्यतिखेर पोखराको भ्रमण कुनै पनि व्यक्तिको बदनामीको कारण बन्नेछ । त्यो बदनामीबाट जोगिन पनि मान्छेहरु पोखरा आउनेछैनन् । 
  
र जहाँसम्म विदेशीचाहिँ यस्ता ‘इन्जोय जोन’मा ओइरिनेछन् भन्ने कुरा छ, त्यो पनि असम्भव हो । विकसित र धनी देशका मानिसहरु यौन र लागु पदार्थको खोजीमा हाम्रोजस्ता तन्नम देशमा आउँदैनन् । त्यसका लागि उनीहरुकै देशमा यथेष्ट इन्तजाम छ । हाम्रा नीति निर्माताहरु पश्चिममा लागु पदार्थ निषेधित भएको हिप्पी जमानाबाट ब्युँझिनु जरुरी छ । अहिले संसार डुल्ने पर्यटकहरु सेक्स होइन प्रकृति, संस्कृति, धर्म र अध्यात्म खोज्न हाम्रोजस्तो देशमा आउने हुन् । यसैले हामीले खोल्ने कथित ‘इन्जोय जोन’ अन्तिममा गएर नेपालकै धनी परिवारका बिग्रेका छोराहरु मडारिने ठाउँका रुपमा सीमित बन्नेछन् । यसले समाजलाई कता लान्छ भन्ने पनि सोचौं । नेपालीलाई प्रवेश निषेध गर्ने तर्क पनि आउन सक्ला तर हाम्रो जस्तो कमजोर नियमन प्रणाली भएको ठाउँमा यसको कुनै अर्थ हुँदैन भन्ने कुरा त क्यासिनोमा गरिएको नेपालीको प्रवेश निषेधको असफलताबाट छर्लङ्ग भइसकेको छ ।

‘इन्जोय जोन’ को अर्को अत्यन्त घातक असर भनेको यो नेपाली चेलीबेटी बेचबिखनको अर्को एउटा बजार बन्नेछ । भ्रष्ट राजनीति र प्रशाशनले त्यसलाई कमिसन र घूस खाने अर्को एउटा धन्दाको रुपमा विकास गर्नेछ र चेलीबेटी बेचबिखनको दर तिब्र गतिमा बढ्नेछ । बाध्यता, धम्की र आफ्नै नातेदारहरुको धोकाका कारण पोखराको रेड लाइट एरियामा आइपुग्ने छोरीचेलीहरुको कारुणिक कथा देश विदेशमा पढिँदा पोखराको कस्तो छवि निर्माण हुन्छ होला ? अर्कोतिर कथित ‘इन्जोय जोन’मा खुल्ला गरिने भनिएको लागू पदार्थको माध्यमबाट जोडिन आइपुग्ने विश्व माफियाले हाम्रो समाज र देशलाईनै तहसनहस पार्दिन सक्छ ।    

गण्डकी प्रदेश र पोखराको पर्यटन उद्योगको विकासका लागि यस्ता तुक न तालका योजनामा मन डुलाइरहनुपर्दैन । गण्डकी प्रदेश पर्यटन उद्योगका लागि स्वर्णभूमि हो । आफूसंग भएको सम्पत्तिको पहिचान गरिनुपर्यो र त्यसको प्रभावकारी परिचालन गरिनुपर्यो, समृद्धि हासिल हुने बाटो यहि हो । पोखराको पर्यटन उद्योग ‘प्रकृति, संस्कृति, धर्म र अध्यात्म’लाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।

सुन्दर प्रकृति गण्डकी प्रदेश र पोखराको पहिलो र सबैभन्दा महत्वपूर्ण सम्पत्ति हो । समथर तराइदेखि ८ हजार मीटरभन्दा अग्ला हिमालसम्म समेटेको यो प्रदेशका सामु अथाह सम्भावना छन् । यसैले प्राकृतिक संरक्षणसहितको पर्यटकीय गन्तव्यको विकास र प्रवर्धन पहिलो काम हुनुपर्छ । पोखरा आफैंमा एक दिनमा घुमिसकिने ठाउँ हो । विदेशीहरुका लागि यो मूलत: पदयात्रा र आरोहणमा जानु अघि र फर्केर आएपछिको विश्रामस्थल हो । यसैले नयाँ नयाँ पदयात्रा मार्गहरुको विकास गरिनुपर्छ र चलिरहेका पदयात्रा मार्गलाई डोजरले कोतरेर ध्वस्त पार्ने काम रोकिनुपर्छ । डोजरमात्रै विकास हो भन्ने घातक र भ्रष्ट मान्यताबाट प्रदेश सरकार र प्रदेशका पालिकाहरु मुक्त हुनु जरुरी छ । पोखराको बसाइ लम्ब्याउनका लागि यहाँ नयाँ नयाँ गन्तव्यहरु विकास गरिनुपर्छ । नजिकका गाउँहरुलाई पोखरासंग जोडेर बिहान हिँडेर बेलुका फर्कन सकिने छोटा पदयात्रा मार्गको खुलाउन पनि सकिन्छ । सडक यातायातका कारण कतिपय पूराना पदयात्रा मार्गहरु प्रयोगवीहिन भइसकेका छन्, तिनलाई पुनर्जागृत गरिनुपर्छ ।

सुन्दर प्रकृतिको उपयोग पदयात्रा मार्ग र आरोहरणका रुपमा मात्र होइन प्याराग्लाइडिङजस्ता साहसिक खेल गतिविधिसंग पनि जोड्न सकिन्छ । अहिले पोखरामा केन्द्रित यस्ता गतिविधिलाइ प्रदेशभरि विस्तारित गरिनुपर्छ । अर्कोतिर, प्राकृतिक सौन्दर्य र यो भेगको उत्कृष्ट हावापानीका कारण यहाँ फिल्म सिटी निर्माणको समेत धेरै सम्भावना छ । त्यो मात्रै होइन सुविधाजनक सभा-सम्मेलन केन्द्रहरु निर्माण गरेर पनि अन्तर्राष्ट्रिय समुदायलाई आकर्षण गर्न सकिन्छ । उच्च गतिको इण्टरनेट सुविधासहितका अनुसन्धान तथा विकास संस्था (टेक्नोलोजी पार्क)हरु खडा गर्ने हो भने अनुसन्धानकर्ताहरु पनि आकर्षित हुन्छन् । यति राम्रो मौसम भएको ठाउँमा बसेर अध्ययन अनुसन्धान गर्न मान्छेहरु लालायित हुन्छन् ।

जातिगत विविधताले भरिएको गण्डकी प्रदेशले आफ्नो समृद्ध संस्कृतिलाई पनि पर्यटनसंग सजिलै जोड्न सक्छ । गीतसंगीत,नाच, चाडबाड लगायतका साँस्कृतिक गतिविधिको प्रदर्शन मात्र होइन साँस्कृतिक अध्ययनका लागि समेत पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । विन्ध्यवासिनी र मुक्तिनाथजस्ता पवित्र धार्मिक स्थलहरुमा यातायात, दर्शन र बसोबासको सुविधालाई स्तरोन्नति गरेर अझ धेरै पर्यटकहरु आकर्षित गर्न सकिन्छ । धार्मिक पर्यटकहरुका लगि अब हामीले भारतमात्र होइन, पाकिस्तानमा रहेका धनाढ्य हिन्दूहरु र इण्डोनेशियाको बाली टापूमा रहेका हिन्दूहरुसम्मलाई लक्ष गरेर अघि बढ्न सक्नुपर्छ ।

सांस्कृतिक र धार्मिक संगसंगै हामी आध्यात्मिक पर्यटनलाई पनि अघि बढाउन सक्छौं । अनादिकालदेखिनै ऋषिमुनिको तपोभूमि रहेको गण्डकी क्षेत्रमा अनुभूत गर्न सकिने आध्यात्मिक तरङ्गले धेरै सत्यका खोजीहरुलाई आकर्षित गर्न सक्छ । यसको पूर्वाधारका रुपमा प्रदेशका बिभिन्न स्थानमा सुविधायुक्त योग र ध्यानकेन्द्रहरुको स्थापना गरिनुपर्छ । यस्तै पूर्वीय ज्ञान र दर्शन अध्ययन गर्न चाहने विदेशीहरुलाई लामो समयसम्म संस्कृत, पाली र पूर्वीय दर्शन पढाउने सक्ने भौतिक र मानवीय पूर्वाधार शान्त हिमाली क्षेत्रमा व्यवस्था गर्न सक्ने हो भने त्यसले पनि प्रदेशको पर्यटन उद्योगलाई ठूलो टेवा दिनसक्छ ।
  
अर्थतन्त्र भनेको फेरि पर्यटन मात्र होइन । गण्डकी प्रदेशसंग जलविद्युत, कृषि, उद्योग आदिमा पनि प्रशस्त सम्भावना छन् । गण्डकी प्रदेश यतिखेर देशकै सबैभन्दा ठूलो जलविद्युत हब बनीसकेको छ, यसलाई कसरी प्रदेशको अधिकतम हितमा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सुविचारित योजना चाहिन्छ । बसाईँसराईका कारण प्रयोगमा नआएर बाँझिन थालेको ग्रामीण भूमिमा औद्योगिक रुपमै जडीबुटी, फलफूल र तरकारी खेतीलाइ अगाडि बढाउन सकिन्छ । प्रदेशमा रहेका जङ्गलहरुलाई काष्ठ उद्योगसंग जोड्न सकिन्छ ।

गण्डकी प्रदेश र पोखरासंग यस्ता निधिहरु अनगिन्ती छन् जसमा टेकेर केहि वर्षभित्रै समृद्धिको फड्को मार्न सकिन्छ । यति धेरै सम्पत्ति र सम्भावना भएको प्रदेशले कुनै उपाय नभएझैं देहव्यापार र लागु पदार्थ बेचबिखनको घृणित बाटो हिँड्न खोज्नु हास्यास्पद लाग्छ ।

गण्डकी प्रदेश र पोखराको अहिलेको प्राथमिकता ट्राफिक लाइट हो कि रेड लाइट एरिया ? अहिले यो प्रश्नको उत्तर सोचौं हामी सबैले । प्रदेशको आर्थिक सामाजिक विकास अलिक माथिल्लो चरणमा पुगेपछि आवश्यक परेछ भने रेड लाइट एरियासंगै जोडेर फेरि अर्को प्रश्नमाथि छलफल गरौंला ।



(२०७६, जेठ १५ गते बुधबार 'समाधान' राष्ट्रिय दैनिकमा प्रकाशित)

May 29, 2019

?


सीमित जिन्दगी
असीमित चाहनाहरु
ब्युँझनै मन नलाग्ने, सुन्दर
केहि सपनाहरु छन्
आँत रसाउने, मिठा
केहि तिर्सनाहरु छन्
‘यी दु:खहरु मिथ्या हुन् !’
भनिहाल्न पनि सक्दिन
‘यी सुखहरु भ्रम हुन् !’
भागिहाल्न पनि सक्दिन
संसार भ्रान्ति हो -
यस्तो लागेर पनि लाग्दैन
आँखा समुन्द्रमा छ
खुट्टाले किनार छोड्दैन
मेरो छायाजस्ता मेरा
यी चाहनाहरु
यी सपनाहरु
यी तिर्सनाहरु
यी सत्य हुन् भने
म के हुँ ?
यी मिथ्या हुन् भने
म के हुँ ?


(जेठ १४, २०७६, साँझ ५ बजे; लामाचौर आवास, पोखरा)

May 02, 2019

भाषिक उपनिवेश नेपाल

हालैका समाचारहरु अनुसार चालू आर्थिक वर्षको आठ महिनाको व्यापार घाटा साढे आठ खर्ब पुगेको छ । यहि दर कायम रहेमा आर्थिक वर्षको अन्त्यसम्ममा यो घाटा १३ खर्बको नजिक पुग्नेछ ।  यो आर्थिक वर्षको बजेट १३ खर्ब हाराहारीको छ । यसरी वार्षिक बजेट बराबरकै ब्यापार घाटा छ देशको । हामी आफूलाई कहिल्यै उपनिवेश नबनेको, स्वतन्त्र देश भनेर नाक फुलाएर चिनाउन खुब रुचाउँछौं तर ब्यापार घाटाको यो तथ्याङ्कले के देखाउँछ भने हामी स्वतन्त्र छैनौं, हामी कसैको उपनिवेश बनीसकेका छौं । आधुनिक युगमा कसैलाई उपनिवेश बनाउन भौगोलिक नियन्त्रणको माध्यम भन्दा पनि आर्थिक नियन्त्रणको माध्यम बढी प्रभावकारी मानिन्छ । यसरी हामी कुनै एक वा केहि देशको उपनिवेश बनीसकेका छौं ।

आर्थिक उपनिवेशको यो दासताबाट मुक्ति पाउन गाह्रो भने छैन । कृषिको औद्योगिकीकरण र तुलनात्मक लाभका निर्यातमूलक उद्योगमा जोड दिएर केहि वर्षभित्रै आयात घटाउन सकिन्छ ।

तर हामी अर्को औपनिवेशिक जालोमा पनि फँसिसकेका छौं । हामी भाषिक र साँस्कृतिक उपनिवेश बनीसकेका छौं, र यो औपनिवेशिक दासता अरु कसैले हामीमाथि लादेको होइन, हामी आफैंले लादेका हौं । भाषिक र साँस्कृतिक दासताको यो जालो अझ खतरा छ र बेलैमा सचेत नहुने हो भने यसबाट मुक्त हुन हामीलाई धेरै समय लाग्न सक्छ, र धेरै ढिला गरियो भने सम्भवनै नहुन पनि सक्छ ।

हाम्रो यो भाषिक र साँस्कृतिक दासताका साङ्ग्लाहरु मुख्यत: दुई थरी छन् – हामीले अँगालेको शिक्षा प्रणालीको भाषा नीति र हाम्रा अत्यन्त कम आधुनिक साँस्कृतिक उत्पादनहरु । अहिले शिक्षा प्रणालीको भाषा नीतिको कुरा गरौं ।

नेपालको आधुनिकतातर्फको यात्रा २००७ साल (सन् १९५१) मा शुरु भएको हो । चीन, कोरीया लगायत एशियाका अरु धेरै देशहरु औपनिवेशिक नियन्त्रणबाट मुक्त भएको पनि यहि हाराहारीमा हो । आधुनिकतातर्फको यात्राको एउटा मुख्य माध्यम शिक्षालाई लिइनु स्वाभाविक हो । अरु देशले जस्तै हामीले पनि पश्चिमा शिक्षा प्रणाली अँगाल्यौं तर अरु देश र हाम्रो फरक के रह्यो भने अरुले प्रणाली पश्चिमा अँगालेपनि शिक्षाको माध्यम भने आफ्नै भाषालाई बनाए, पश्चिमा ज्ञानलाई अनुवाद गरेर आफ्नै भाषामा शिक्षण सामाग्रीहरु तयार पारे तर हामीले क्रमैसंग शिक्षाको माध्यमनै पूरै अङ्ग्रेजीलाई बनाउँदै ल्यायौं । अङ्ग्रेजी (वा कुनै पनि विदेशी भाषा) जान्नु नराम्रो हुँदै होइन, विश्वमा अरुसंग सम्वाद गर्न हामीलाई अङ्ग्रेजी चाहिन्छ तर हाम्रो मनमा “अङ्ग्रेजीमात्र ठिक” “ अङ्ग्रेजी भएपछि पुग्यो” भन्ने चिन्तनले घर बनायो र नेपाली (खस) वा देशभित्रका अरु भाषाका बारेमा हामीमा हीनताबोध भरिँदै आयो । हामीले शिक्षालाई ज्ञानप्राप्तिको बाटो होइन, आफ्ना भाषाहरु बिर्सने र अङ्ग्रेजीमात्र सिक्ने चिजका रुपमा अँगाल्यौं । देशका सबै जसो निजी विद्यालयहरुमा शुरु देखिनै अङ्ग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ भने अहिले आएर धेरै सरकारी विद्यालयहरुले पनि विद्यार्थी बटुल्नकै लागि भएपनि अङ्ग्रेजी माध्यम अँगालेका छन् । आफ्नै भाषामा शैक्षिक सामाग्रीहरु उत्पादन गर्ने कुरामा न राज्य आफैं राम्रोसंग लागेको छ न उसले निजी र सार्वजनिक क्षेत्रलाई प्रोत्साहन नै गरेको छ ।

अहिले स्थिति कस्तो छ भने बच्चाहरुलाई आफ्नो मातृभाषा पनि राम्रोसंग नजान्दैको २-३ वर्षको उमेरबाटै अङ्ग्रेजी सिकाउन थालिन्छ । उनीहरुलाई दैनिक जीवनमा बढी प्रयोग हुने शब्दहरु सबै शुरुमै अङ्ग्रेजीमा सिकाइन्छ र उनीहरुलाई एक खाले नेपाङ्ग्रेजी सुगा बनाइन्छ । अङ्क र संख्याका कुरामा बच्चाहरुको स्थिति झन् खत्तम छ । हाम्रो आफ्नो परम्परामा चल्दै आएका ‘डेढ’, ‘अढाइ’, ‘सवा’ र ‘पौने’ जस्ता विशेष शब्दहरु बुझ्ने त कुरै छोडौं, बच्चाहरु नेपालीमा एकसरो एक देखि सयसम्म गन्न पनि सक्दैनन् ।

यो कथित अङ्ग्रेजी माध्यमको शिक्षणमा एउटा ‘नेपाली’ बाहेक अरु सबै विषय अङ्ग्रेजीमा पढाइन्छ । मातृभाषाको पढाइ त हुँदै हुँदैन भने पनि हुन्छ । त्यसैले अहिलेका विद्यार्थीहरु नेपाली वा आफ्नो मातृभाषामा अत्यन्त कमजोर हुन्छन् ।  यसले गर्दा उनीहरुमा स्थानीय परिवेश, समाज र देशप्रतिको बुझाई पनि अत्यन्त कम छ । पढाइ सबै अङ्ग्रेजीमा तर देशको सम्पर्क भाषा, सरकारी कामकाज, राजनीति र प्रशाशनको भाषा भने नेपाली हुँदा बच्चाहरु समाज बुझ्न नसक्ने हुने मात्र होइन देशको राजनीति र प्रशाशनबाट पनि अलग्गिन्छन् । अङ्ग्रेजी माध्यममा पढेका विद्यार्थीहरुको नगण्य संख्या मात्र राजनीति वा सरकारी जागिरमा जान्छ । यति ठूलो समूहलाई देशको राजनीति र प्रशाशनिक संयन्त्रबाट अलग्याएर, देशले उनीहरुको क्षमताको सदुपयोग गर्नसक्ने सम्भावनालाई गुमाएर हामीले राम्रो गरीरहेका छैनौं । सरकारी कार्यालयमा आवश्यक पर्ने सामान्य निवेदन पनि लेख्न नजान्ने भएपछि कतिपय स्थितिमा उनीहरु सजिलै ठगिने दर समेत बढ्छ ।

यो प्रणालीले सृजना गरेका समस्याहरु अरु पनि धेरै छन् । शुद्ध नेपाली लेख्न बोल्न जान्ने युवा संवाददाता र समाचारवाचक भेट्न गाह्रो हुन थालेको कुरा गर्छन् सञ्चारमाध्यमका साथीहरु । त्यसैले एफएम रेडियो र टिभीका धेरै कार्यक्रमहरु हाँस न कुखुराको चालका नेपाङ्ग्रेजी हुन्छन्, र कार्यक्रम कसका लागि चलाइएको हो छुट्याउन मुश्किल हुन्छ । अर्कोतिर, यतिखेर महाविद्यालय र विश्वविद्यालयमा मानविकी पढ्ने विद्यार्थीहरु छैनन् । हामीले उनीहरुमा मानविकीप्रति गम्भिर रुचि जगाउनै सकेनौं किनभने हामीले मानविकीसंग सम्बन्ध राख्ने सामाजिक शिक्षाजस्ता विषय उनीहरुले बुझ्न सक्ने र विश्लेषण गर्न सक्ने गरी पढाएनौं । सामाजिक शिक्षा अङ्ग्रेजीमा पढाउनु भनेको घोकाउनु, जाँचमा धेरै अङ्क ल्याउन लगाउनु र त्यसपछि बिर्सने बनाउनु हो, किनभने नबुझी घोकेको कुरा दिमागमा रहने अवधि लामो हुँदैन ।

आफ्नो भाषामाथि पकड नभएपछि, समाज र देश नबुझेपछि अपनत्व पनि स्वत: कम हुने नै भयो । १२ कक्षा सक्दा नसक्दै विदेशिने मोह जुन अहिलेका विद्यार्थीमा देखिएको छ, त्यसको एउटा मुख्य कारण हाम्रो शिक्षा प्रणालीले उनीहरुको नेपाली र मातृभाषा क्षमता मार्दिनु पनि हो ।

यस्तो स्थितिको अन्त्य हुनुपर्छ भनेर बिभिन्न व्यक्तित्वहरुले बोल्ने लेख्ने गरीरहनुभएको छ । यसलाई अभियानकै रुपमा लैजानुपर्ने आवश्यकता देख्यौं हामीले र पोखराबाट अभियान शुरु गर्यौं । वास्तवमा आधारभूत विद्यालय तहमा अङ्ग्रेजी भाषा सिकाउने विषय एउटा बाहेक अरु सबै नेपालीमै सिकाए पनि परक पर्दैन । अहिले तुरुन्तै त्यो स्थितिमा पुग्न गाह्रो हुने भएकाले कम्तिमा सामाजिक शिक्षालाई मात्रै पनि फेरि नेपालीमा पढाउन सकियो भने पनि माथि उल्लेख गरिएका समस्याहरु धेरै समाधान हुन सक्छन् भन्ने लागेर अभियानको नामाकरण ‘सामाजिक शिक्षा नेपालीमा अभियान’ भनेर गरियो । ‘नेपालीमा’ भन्ने शब्दले ‘नेपालीमा वा आवश्यक र सम्भव भएका ठाउँमा मातृभाषामा’ भन्ने जनाउँछ ।

गएको एक वर्ष हामीले विद्यालय सञ्चालक, अभिभावक, शिक्षक आदि सरोकारवाला पक्षहरुसंग छलफल-अन्तर्कृया गर्ने, शिक्षाविद् र विज्ञहरुका प्रवचन कार्यक्रम आयोजना गर्ने, सरकारी तथा संस्थागत निकायहरुमा ज्ञापनपत्र दिने र विद्यालयहरुलाई सामाजिक शिक्षा नेपालीमा पढाउने अनूरोध गर्ने जस्ता गतिविधिहरु अगाडि बढायौं । हामीले ‘सामाजिक शिक्षा नेपालीमा अभियान’का नामबाट विद्यालय तहका विद्यार्थीहरुको वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रमहरु पनि आयोजना गर्यौं । 

अन्तर्कृया र छलफलबाट प्राप्त विचारहरु र सुझावहरु सकारात्मक छन् र तिनले हामीलाई अभियानलाई निरन्तरता दिन उर्जा दिएका छन् । शिक्षक, अभिभावक र विद्यालय सञ्चालकहरु सबै समस्याको गम्भिरताका बारेमा सहमत हुनुहुन्छ र समाजिक शिक्षालाई नेपाली भाषामा लानुपर्छ भन्ने मान्यता छ सबैको । धेरै अभिभावकहरु त सामाजिक शिक्षामात्र नभएर नैतिक शिक्षा र स्वास्थ्य शिक्षा समेत नेपालीमा भैदिए हुन्थ्यो भन्ने मान्यता राख्नुहुन्छ । हाम्रो समाजका, हाम्रो परम्पराका नैतिक मूल्य मान्यता सिकाउन आफ्नै भाषा उपयुक्त हुने कुरामा कुनै सन्देह छैन । यस्तै साना बालबालिकाहरुले शरीर र स्वास्थ्यको बारेमा आफ्नो घरमा बोल्ने भाषामै पढ्नुपर्छ, यसले उनीहरुलाई आफ्ना समस्याका बारेमा अभिभावकहरुसंग राम्ररी कुरा गर्न सक्ने क्षमता दिन्छ ।

यति हुँदा हुँदै पनि ‘बिरालोको घाँटीमा घण्टी बाँध्न” अघि सर्न भने गाह्रो छ सबैलाई । यसका दुई कारणहरु भेट्यौं हामीले । पहिलो, समाजको अङ्ग्रेजी मोहले विद्यालय सञ्चालकहरुमा सृजना गरेको ‘मैले मात्र नेपालीमा पढाएँ भने मेरो विद्यालयका बारेमा नराम्रो हल्ला चलेर विद्यार्थी घट्लान् कि !?’ भन्ने डर हो । दोश्रो, परीक्षाको उत्तरपुस्तिका मूल्याङ्कनकर्ताहरुको ‘अङ्ग्रेजीपक्षीय मानसिकता’ हो । सामाजिक शिक्षाको परीक्षामा  नेपालीमा राम्रोसंग लेखेपनि थोरै अङ्क आउने र अङ्ग्रेजीमा ठिकैसंग लेखे पनि धेरै अङ्क आउने अनुभव रहेछ सबैको । अङ्ग्रेजीमा लेखेपछि जे सुकै लेखोस्, सर्सर्ती हेरेर अङ्क धेरै दिइहाल्ने र नेपालीमा लेखेको छ भने रौं चिरा केलाएर ससाना गल्तीमा पनि अङ्क काट्ने चलनजस्तै भइसकेको छ उहाँहरुको अनुभवमा    त्यसैले सबैको कुरा कुनै सरकारी निकायले ‘सामाजिक शिक्षा नेपालीमा पढाउनुपर्ने’ भनेर निर्णय गर्दियो भने सबैले सजिलै समाजिक शिक्षा नेपालीमा पढाउने छन् भन्ने रह्यो । केन्द्रीय सरकारमा यो विषय अवधारणाका रुपमा आइसकेपनि निर्णयनै गर्न समय लाग्ने देखिन्छ तर अहिलेको संघीय संरचनामा प्रदेश वा स्थानीय तहले पनि आफ्नो क्षेत्रका विद्यालयका हकमा निर्णय गर्न सक्छन् । यसैले हामीले प्रदेश सरकारका सामाजिक विकास मन्त्रीज्यूसंग हाम्रा कुराहरु राख्यौं र अत्यन्त सकारात्मक प्रतिकृया पनि पायौं तर प्रदेश सरकारले यस बारेमा कुनै छलफल गरेको खबर आएको छैन । पोखरा महानगरमा पनि प्रमुखज्यूसंग कुराहरु राख्नुका साथै ज्ञापनपत्र दर्ता गरेर बुझाइएको थियो । महानगरले पनि कुनै निर्णय गरेको जानकारी आएको छैन । स्याङ्जाको एक गाउँपालिका र दुइ नगरपालिकाबाट पनि सकारात्मक प्रतिकृयाहरु प्राप्त भएका थिए तर ठोस निर्णय भएको खबर भने पाइएको छैन । हामी आशा गर्छौं, प्रदेश सरकार र स्थानीय तहहरुले अब यो विषयलाई महत्व दिनेछन् ।

विशेष उत्साहजनक खबर भने नवलपुरबाट आएको छ । त्यहाँका अभियन्ता साथीहरुको मेहनतको परिणामस्वरुप देवचुली नगरपालिका र हुप्से गाउँपालिकाले आफ्नो भूगोलभित्र भएका सबै विद्यालयहरुले सामाजिक शिक्षा नेपालीमा पढाउनुपर्ने भनी निर्णय गरेका छन् । यस बाहेक पनि, पोखरा र अन्यत्रका धेरै विद्यालयहरुले आफ्नै हिसाबले तल्लो तहबाट सामाजिक शिक्षा र नैतिक शिक्षालाई नेपालीमा पढाउन थालेका छन् त्यसलाई क्रमैसंग माथिल्ला तहसम्म लैजाने योजना बनाएका छन् ।

शिक्षा प्रणाली पेशेवरहरु उत्पादन गर्ने मेशीनमात्र होइन, यो हामीले हाम्रो देश र समाजलाई कुन दिशामा लैजान चाहन्छौं, हाम्रो आफ्नो अस्तित्वलाई कसरी जोगाउन र विकास गर्न चाहन्छौं भन्ने कुरासंग झन् धेरै सरोकार राख्ने कुरा हो । शिक्षा हाम्रो समाज, हाम्रो भाषा र हाम्रो संस्कृतिसंग पनि जोडिनुपर्छ । हामी आफैंले आफूमाथि लादेको भाषिक र सांस्कृतिक औपनिवेशिक दासताबाट माथि उठ्न नीति निर्माता, अभिभावक, शिक्षक, विद्यालय सञ्चालक, नागरिक समाज लगायत हामी सबैमा त्यहि स्तरको गम्भिरता चाहिएको छ । 

(गौतम ‘सामाजिक शिक्षा नेपालीमा अभियान’ का संयोजक हुन् ।)


(मिति २०७५, बैशाख १९ गते बिहीबार, पोखराबाट प्रकाशित हुने 'समाधान' राष्ट्रिय दैनिकमा प्रकाशित)


April 28, 2019

हुने नहुने


हुने नहुने सबै सबै काम गरेको छु
यो प्यार जोगाउन खुब इन्तजाम गरेको छु
कस्सम आफैंलाई कहिल्यै ढाँटेको छैन
दुनियाँसंग जरुर थोरै छलछाम गरेको छु
कोहि हिँडेको थियो यो बाटोमा कुनै दिन
उसका पद चाप खोजी खोजी सलाम गरेको छु
बाँच्नु भन्नु भित्र भित्रै मर्नु हो रहेछ
पटक पटक यो मनको कत्लेआम गरेको छु

April 26, 2019

अङ्ग्रेजी – साधन कि साध्य ?


“हाम्रो ‘समर भ्याकेसन’ ‘फिफ्टीन डेज’ को छ ।“
मेरो ‘फेभरेट स्पोर्ट्स’ ‘स्विमिङ्ग’ हो ।“
“म ‘नेप्लीज सङ्’ सुन्दिन । ‘इङ्लिस सङ्’ मन पर्छ ।“
आजभोलिका बालबालिकाले बोल्ने ‘नेपाली’ यस्तै हुन्छ ।
“सत्सठ्ठी भनेको ‘सिक्स्टी टु’ हो ?” तपाईँले सत्सठ्ठी सालको कुनै घटनाको कुरा गर्दै हुनुहुन्छ भने सुनीरहेका बच्चाहरुबाट यो प्रश्न आउन सक्ने संभावना धेरै छ ।

अहिलेका बच्चाहरु स्याऊ खाँदैनन ‘एप्पल’ खान्छन्, भात खाँदैनन् ‘राइस’ खान्छन् । अंक र संख्यालाई त नेपालीमा भन्न जान्दै-जान्दैनन्। हाम्रा बच्चाहरु गतिलोसंग नेपाली बोल्न जान्दैनन्, खासमा गतिलो अङ्ग्रेजी पनि उनीहरु बोल्न सक्दैनन् । उनीहरुको नेपाली शब्द भण्डार अत्यन्त सानो छ र उनीहरुको बोली ‘नेपाङ्ग्रेजी’ छ । उनीहरुले गतिलो नेपाली नबोली टुटेफुटेको अङ्ग्रेजी ओकलेकोमा गर्वबोध गर्ने अभिभावकहरुको संख्या बढ्दै छ, त्यो प्रवृत्तिलाई शिक्षक र विद्यालय सञ्चालकहरुले सक्दो मलजल गरीरहेका छन् । अङ्ग्रेजी अहिले आएर बालबालिकामाथि थप सजाय दिइने कारण समेत बनेको छ । कतिपय विद्यालयमा अङ्ग्रेजी मात्रै बोल्ने उर्दी जारी गरिएको हुन्छ, कुनै विद्यार्थीले झुक्किएर नेपाली बोलिहाले उसलाई जरिबाना गरिन्छ वा शारीरिक सजाय दिइन्छ ।

प्रख्यात हास्यब्यङ्ग निबन्धकार स्व भैरव अर्यालको ‘महापुरुषको संगत’ भन्ने रचनामा एकजना पात्र छ ‘मिष्टर ड्याहाल बौ’ । त्यो पात्र आफ्ना छोराछोरीलाई नेपाली बोल्नै दिएन भने मात्र उनीहरुको अङ्ग्रेजी राम्रो हुन्छ भन्ने ठान्छ । हामी शिक्षक र अभिभावकहरु अहिले त्यहि मिष्टर ड्याहाल बौ बनेका छौं ।

यसरी हामी यस्तो पुस्ता हुर्काइरहेछौं जसले नेपाली साहित्य पढ्नेछैन, नेपाली सिनेमा हेर्नेछैन र नेपाली सन्दर्भको कला बुझ्नेछैन । यसको संकेत बुझ्न कुनै ठूलो किताब पसल वा कुनै पुस्तकालयमा पसेर एकाध घण्टा निरीक्षण गरे पुग्छ, २५ वर्ष मुनिका युवाहरु नेपाली पुस्तकहरु राखिएको खण्डतिर जाँदै-जाँदैनन, उनीहरु सोझै अङ्ग्रेजी पुस्तकपत्रिका भएतिर बत्तिन्छन् । आफ्नै भाषानै नबुझ्ने यस्तो पुस्तामा हाम्रो समाजको परम्परागत ज्ञान हस्तान्तरण हुने सम्भावना पनि छैन र यस्तो पुस्ताले हाम्रो समाजका सबलता र कमजोरीहरुको बिश्लेषण गर्ने कुरामा चासोपनि देखाउने छैन ।

अर्को एउटा प्रसङ्ग पनि । केहि समय पहिला पत्रपत्रिकाहरुमा कुसुण्डा भाषा लोप हुन लागेको विषयमा समाचारहरु छापिएका थिए । कुसुण्डा भाषा बोल्न जान्ने दुईजना दिदीबहिनीमात्र बाँकी रहेको र उनीहरुपछि त्यो भाषाको अस्तित्व सकिने चिन्ता व्यक्त गरिएको थियो उक्त आलेखमा । त्यसको केहि समयपछि भाषा आयोगले कुसुण्डा भाषा जोगाउन  ट्युशन कक्षाको योजना ल्यायो । कुसुण्डा भाषालाई पहिलेदेखिनै सञ्चार माध्यमहरु र देशको शिक्षानीतिसंग जोड्न सकेको भए यसरी ट्युशन कक्षानै चलाउनुपर्ने स्थिति आउने थिएन । देशका अरु थुप्रै भाषाहरु पनि लोप हुने संघारमा छन्, तिनको संरक्षणका लागि काम गर्न शुरु गरिएन भने कुसुण्डा भाषाकै जस्तो स्थिति आउनेछ ।   

यस्तो परिश्थितिको जग भनेको हामीले अँगालेको कथित अङ्ग्रेजी माध्यमको शिक्षा हो । २००७ साल पछि हामीले पश्चिमी शिक्षा पद्धति अँगाल्यौं । त्यतिखेर उपनिवेशवादबाट मुक्ति पाएका अरु धेरै एशियाली, अफ्रिकी देशहरुले पनि पश्चिमा शिक्षा पद्धति अँगाले तर उनीहरुले पश्चिमा समाजमा उत्पादित ज्ञानलाई आफ्नो भाषामा अनुवाद गरे र आफ्नै भाषालाई पठनपाठनको माध्यम बनाए । हामीले भने वैज्ञानिक र प्राविधिक शिक्षाका लागि अङ्ग्रेजीलाईनै माध्यम बनायौं । यसका कारण हाम्रो भाषाको वैज्ञानिक र प्राविधिक शब्द भण्डार बढ्न सकेन । बिस्तारै गैर प्राविधिक विषयलाई पनि अङ्ग्रेजी माध्यममा पढाउने प्रचलन शुरु गर्‍यौं हामीले, अहिले लगभग सबै विषयको शिक्षण माध्यम अङ्ग्रेजी बनीसकेको छ ।

यतिखेर सबै निजी विद्यालयहरु र धेरै सामुदायिक विद्यालयहरुले अङ्ग्रेजी माध्यममा शिक्षा दिने भनेर विद्यार्थी बटुलेका छन् । यो कथित अङ्ग्रेजी माध्यमको शिक्षामा एउटा ‘नेपाली’लाइ छोडेर बाँकी सबै विषयहरु अङ्ग्रेजीमा पढाइन्छ, सामाजिक शिक्षाजस्तो प्रत्यक्षत: आफ्नो समाज र संस्कृतिसंग जोडिएको विषयलाइ समेत विद्रुप अनुवाद गरेर अङ्ग्रेजीमा पढाइन्छ । नेपाली पनि अत्यन्त कम महत्व दिएर पढाउनका लागि मात्रै पढाइन्छ । त्यसैले कतिपय ‘राम्रा’ भनिने विद्यालयका विद्यार्थीहरुको ‘नेपाली’ अत्यन्त कमजोर हुने र विद्यार्थीले नेपालीको ट्युशननै पढ्नु पर्ने बिडम्बनायुक्त स्थिति सृजना भएको छ । जनप्रतिनिधिहरुलेनै यो प्रवृत्तिलाई बढावा दिन थालेको पनि देखिएको छ। कास्की जिल्लाका सबै गाउँपालिकाहरुले अङ्ग्रेजी माध्यममा पढाउने सम्बन्धी सामूहिक घोषणानै गरेको समाचार आएको थियो केहि समय पहिला

विगत दुइ सय वर्ष यताको इतिहास अङ्ग्रेजी भाषाको दबदबाको इतिहास हो । प्रमुख शक्तिराष्ट्रको रुपमा बेलायतको उदय र उसको विश्वब्यापी उपनिवेश संजालका कारण अङ्ग्रेजी भाषा संसारभरि सजिलै फैलियो । फ्रेन्च, स्पेनिश र पुर्तगाली भाषाहरु पनि फैलिए । अङ्ग्रेजहरु सामरिक र आर्थिक दृष्टिले मात्र बलिया भएनन् यो अवधिमा । दर्शन, साहित्य, कला, संगीत, विज्ञान, इञ्जिनियरिङ्ग, राजनीतिक प्रणालीको आधुनिकीकरण, खेलकूद आदि सबै क्षेत्रमा पनि उनीहरु अब्बल भए । यसैले ज्ञानको उत्पादन र प्रयोगमा उनीहरु अगाडि भए र बाँकी विश्वले उनीहरुलाई पछ्याउनुपर्‍यो । दोश्रो विश्वयुद्धपछि पनि अङ्ग्रेजीभाषी राष्ट्र अमेरिका सर्वशक्तिमान र नेतृत्वदायी बन्यो । क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डजस्ता देशहरु पनि धनी र शक्तिशाली बने । यिनै कारणहरुको जोड हो अहिलेको विश्वमा अङ्ग्रेजी भाषाको प्रभाव

तर यसको अर्थ संसारमा अङ्ग्रेजी मात्र बाँकी छ वा हुनुपर्छ भन्नेचाहिँ होइन । मातृभाषीको संख्याकै कुरा गर्ने हो अङ्ग्रेजी तेश्रो हो, संसारमा चिनियाँ र स्पेनी बोल्नेहरु अङ्ग्रेजी बोल्नेभन्दा धेरै छन् । हिन्दी र पोर्चुगाली भाषा बोल्नेको संख्या पनि कम छैन । अरबी बोल्नेहरुको संख्या पनि धेरै छ  र यसले ओगटेको भूगोल पनि ठूलो छ । बिश्वको सम्पर्क भाषा वा अन्तर्राष्ट्रिय भाषाको रुपमा सधैंभरि अङ्ग्रेजी नै रहन्छ भन्ने छैन । विगतमा अरु भाषा अन्तर्राष्ट्रिय भाषा थिए र भविष्यमा अर्को कुनै भाषाले अङ्ग्रेजीलाई विस्थापित गर्ने पनि निश्चित छ । विश्वका सबै प्रमुख भाषाहरुमा त्यो सामर्थ्य र सम्भावना छ ।

कुनै पनि भाषा मानव समाजको सम्पत्ति हो । समाजले हजारौं वर्ष लगाएर आर्जन गरेको अनुभव र ज्ञानको सङ्ग्रह हो भाषा । सभ्यता, संस्कृति र परम्परालाई बोली दिने भाषाले नै हो । हाम्रो देशभित्र बोलिने हरेक भाषाहरु यसैले हाम्रा अमूल्य निधि हुन्, हामीले तिनलाई लोप भएर जान दिनु हुँदैन । हामी विज्ञान र प्रविधिमा पछि परेको कारण भाषा होइन । आधुनिक विज्ञान र प्रविधिमा दक्ष हुन  आफ्नो भाषा र संस्कृतिलाई निमिट्यान्न पार्नुपर्दैन भन्ने कुरालाई जापान, कोरीया, चीन, सिंगापुर आदिले देखाइसकेका छन् । सही राजनीतिक र सामाजिक व्यबश्थापन हुने हो भने हाम्रो समाज पनि विज्ञान र प्रविधिमा अघि बढ्न सक्छ, भाषाकै कारणले रोकिने छैन । केहि प्राविधिक ज्ञान हाम्रो समाजले उत्पादन गर्दै नगरेको पनि होइन । हाम्रो शिक्षाको अधकल्चो अङ्ग्रेजीकरणका कारण हाम्रो विगतका यस्ता उपलब्धि पनि हामीले बिस्तारै गुमाउँदै छौं ।

जर्मनी, फ्रान्स, इटाली, स्पेन, पोर्चुगल, नर्वे, स्विडेन, डेनमार्क, फिनल्याण्ड आदि जस्ता यूरोपका धेरै विकसित देशको प्रमुख भाषा अङ्ग्रेजी होइन । यी देशहरुको शिक्षा प्रणालीको माध्यम पनि अङ्ग्रेजी होइन आफ्नै भाषा हो । अमेरिका लगायतका विकसित देशमा  विद्यार्थीहरुलाई बहुभाषामा दक्ष हुन प्रोत्साहित गरिन्छ । हामी भने अङ्ग्रेजीलाई नै साध्य मानेर दौडिरहेका छौं र यस क्रममा आफ्नै भाषाहरुलाई बिर्सन खोज्दैछौं ।

शिक्षाको माध्यमका रुपमा अङ्ग्रेजीलाई लादेर ‘ड्याहाल बौ’ शैलीमा बच्चालाई अङ्ग्रेजी रटाउँदैमा हाम्रो अङ्ग्रेजी राम्रो भएको पनि छैन । गैर अङ्ग्रेजी मातृभाषी देशहरुको अङग्रेजी भाषा क्षमताको मूल्याङ्कनमा स्विडेन, नेदरल्याण्ड, डेनमार्क, नर्वे जस्ता देशहरु उत्कृष्ट रहँदै आएका छन् । यी देशहरुको शिक्षा प्रणालीको माध्यमभाषा अङ्ग्रेजी होइन । त्यसैगरी, अङ्ग्रेजीलाई देशको शिक्षा प्रणालीको प्रमुख माध्यम नबनाउँदैमा कुनै देशको विज्ञान-प्रविधि क्षमता कमजोर बन्छ भन्ने पनि छैन । यतिखेर, संसारका सबैभन्दा ‘इन्नोभेटिभ’ देशहरुको सूचिको माथिल्ला स्थानमा कोरीया, स्विडेन, जर्मनी, स्वीजरल्याण्ड, जापान, इजरायल आदि छन् । यी सबै देशको शिक्षा प्रणालीको माध्यम भाषा अङ्ग्रेजी होइन । देशको विज्ञान प्रविधिको क्षमता अङ्ग्रेजीमा पढाएर मात्र बढ्ने होइन, यसका लागि राज्यको लगानी, दिर्घकालीन प्रतिबद्धता र अनुसन्धानको संस्कृति चाहिन्छ।

शिक्षा पेशेवरहरु उत्पादन गर्ने प्रकृयामात्र होइन, यो समाजको संस्कृति, परम्परागत ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रकृया पनि हो । हस्तान्तरणको यो प्रकृयाको सबैभन्दा ठूलो माध्यम भनेको भाषा नै हो । स्थानीय भाषालाई माध्यम नबनाउने मात्र होइन त्यसलाई अत्यन्त कम महत्व दिने हाम्रो शिक्षा प्रणालीका कारण हाम्रा सन्त्ततिले आफ्नो भाषा गतिलोसंग सिकिरहेका छैनन् । नयाँ पुस्ताले आफ्नो भाषा गतिलोसंग नसिकेपछि संस्कृति र परम्परागत ज्ञान र सीप पनि हस्तान्तरण नभई हराएर जान्छन् । के यो हाम्रो अस्तित्वमाथि हामीले नै गरीरहेको गम्भिर प्रहार होइन?

पङ्क्तिकारको आशय अङ्ग्रेजी पढाउँदै नपढाउने भन्ने कदापि होइन । बालबालिकालाई अङ्ग्रेजी पढाउनुपर्छ र उनीहरुलाई पोख्त बनाउनु पर्छ । सम्भव भएसम्म अरु विदेशी भाषा पनि सिकाउनुपर्छ । तर यो क्रममा हामीले नेपाली भाषा र देशका बिभिन्न भागमा बोलिने स्थानीय भाषाहरुलाई उपेक्षा गर्नु हुन्न ।

नेपाल एउटा बहुभाषिक देश हो । यति सानो भूगोलभित्र पनि सय भन्दा बढी जीवित भाषाहरु अस्तित्वमा रहनु हाम्रो सौभाग्य हो । हाम्रा सम्पत्ति यी भाषाहरुको संरक्षण र विकास जरूरी छ । कुनै पनि भाषाको संरक्षण र विकासका लागि त्यो भाषालाई पठनपाठनको माध्यम बनाउनु पनि महत्वपूर्ण हुन्छ, वक्ता थोरै भएको भाषाका हकमा त यो झन् अत्यावश्यक छ । यसैले पूर्व प्राथमिक तहको शिक्षालाई तुरुन्तै मातृभाषाको माध्यममा लैजानुपर्छ । अहिले बच्चाहरु कम्तिमा तीन वर्ष पूर्व प्राथमिक तहमा पढ्छन् । शिक्षाको पहिलो तीन वर्ष मातृभाषामा मात्रै पढाउनु पर्छ र त्यसपछि मात्र अरु भाषा सिकाउनुपर्छ भन्ने विश्वब्यापी अवधारणा बनीसकेको छ । अङ्ग्रेजी पढाउन कक्षा एक वा त्यसपछिबाट मात्रै शुरु गर्दा पनि फरक पर्दैन । प्राथमिक तहसम्म मातृभाषा र (खस) नेपालीलाई मुख्य रुपमा र अङ्ग्रेजीलाई एउटा विषयको रुपमा मात्र पढाउनुपर्छ । मातृभाषामा शिक्षा दिँदा पठनपाठन प्रभावकारी हुने र बालबालिकाको सिकाइ राम्रो हुने अनुसन्धानहरु र विगतका अनुभवबाट प्रमाणित भइसकेको छ । यस बारेमा यूनेस्कोका धेरै प्रकाशनहरु उपलब्ध छन् । । हाम्रै देशमा पनि अनुसन्धानहरु भएका छन् । मातृभाषामा शिक्षा उपलब्ध हुँदा बालबालिकाले बीचैमा पढाइ छोड्ने दरमा पनि धेरै कमी आएको देखिएको छ ।

अर्को तर्फ कुनै पनि ब्यक्ति आफ्नो मातृभाषामा जति धेरै दक्ष भयो, उसको अर्को भाषा सिक्ने क्षमता पनि उति नै बढ्ने कुरा पनि अनुसन्धानहरुबाट प्रमाणित भइसकेको छ । यसरी हामीले बच्चाहरुलाई उनीहरुको मातृभाषामा आधारभूत तहको शिक्षा दिन सक्यौं भने प्रकारान्तरमा त्यसले उनीहरुको अङ्ग्रेजी सिक्ने प्रकृयालाई पनि सघाउने छ ।

घरमा खस नेपालीनै बोल्ने बच्चाहरुलाई पनि आधारभूत तहसम्म एउटा विषयका रुपमा स्थानीय भाषा पढाउँदा सामाजिक अन्तर्कृया र सांस्कृतिक आदानप्रदानमा बृद्धि हुन्छ, जुन हाम्रो समाजमा विद्यमान कतिपय पूर्वाग्रहहरु हटाउन र सामाजिक सद्भाव बढाउन सहायकसिद्ध हुने छ ।

माध्यमिक तहमा कुन-कुन विषय नेपालीमा पढाउने, कुन-कुन विषय अङ्ग्रेजीमा पढाउने र कुन-कुन विषयको अध्यापनको माध्यम रोज्न विद्यालयहरु स्वतन्त्र हुने भन्ने बारेमा राज्यको स्पष्ट नीति हुनुपर्छ र यो नीतिलाई सरकारी र निजी सबै विद्यालयहरुले समान रुपमा पालन गर्नुपर्छ ।  स्नातक तहबाट भने रोजेको विषय अनुसारको भाषा निर्धारण गर्न सकिन्छ । धेरै जसो प्राविधिक विषयको स्नातक तहमा अहिले नेपाल र नेपाली समाजसम्बन्धी कुनै विषय पनि पढाइन्न । यस्ता धारमा पनि नेपालीमै पढाउने गरी कम्तिमा एउटा विषय नेपाल र नेपाली समाजसम्बन्धी हुनुपर्छ ।

विज्ञान र प्रविधि सिक्न र बाँकी विश्वसंग संवाद गर्नका लागि हामीलाई अङ्ग्रेजी भाषा चाहिन्छ तर यो क्रममा हामीले हाम्रा आफ्नै भाषाहरुको पनि संरक्षण र विकास गर्नैपर्छ ।

- यो लेख 'अनलाइन खबर' ( https://www.onlinekhabar.com/2019/04/756715 ) मा प्रकाशित भएको थियो  । 

March 28, 2019

बा आमा र घरहरु


छोरा-बुहारी यूके, अमेरिका छन्
छोरी-ज्वाईँ अष्ट्रेलिया, जापान छन्
गाउँको घरमा ताल्चा लागेको छ
बजारको घर भाडामा लागेको छ
र बा आमा छतको कुनामा मिल्किएका छन्

नाती-नातिना जन्मने बेला
आमाको ‘शेयर भाउ’ अकासिन्छ
र ‘तेल भिसा’ जारी हुन्छ
यसैले बा आमा अचेल बेला-बेला
उडिरहेका पनि देखिन्छन्
घण्टौं लामा ट्रान्जिटहरुमा
उँघ्दै गरेका पनि भेटिन्छन्

प्लेनमा उड्दै गरेको अर्धनिद्रामा
ट्रान्जिटमा अड्किएको दिक्दारीमा
परदेशी भिडमा एक्लिएको बेला
बिरानो मध्यान्हमा अत्तालिएको बेला
बा आमा
कहिले चौतारीका दौंतरी सम्झन्छन्
कहिले गोठ र पँधेरा सम्झन्छन्
मन-मनै लेकबेंसी गर्छन्
खोला तर्छन् र मेला भर्छन्

तर बाको एउटा गोडा चल्न छोडिसक्यो
आमाका आँखा धमिला-धमिला भइसके
गाउँ पुग्न बाका गोडाले दिँदैनन्
शहर डुल्न आमाका आँखाले दिँदैनन्

यूके, अमेरिकाबाट चन्दा आएको छ
अष्ट्रेलिया, जापानबाट चन्दा आएको छ
शहरमा नयाँ वृद्धाश्रम बन्दैछ
बाका दुइटै गोडा नचल्ने भइसक्दा
आमाका आँखा पूरै धमिलिइसक्दा
बजारको घर पनि ‘उतै’बाट बिक्री भइसक्ने छ
र गाउँको घरलाई पनि झाडीले छोपिसक्ने छ
र त्यतिबेलासम्म,
शायद वृद्धाश्रम पनि पूरै बनीसक्ने छ

(असार ३२, २०७५; पोखरा)

March 11, 2019

मेरो पनि जमाना थियो -----

मेरो पनि जमाना थियो, जमाना क्या फुक्काफाल थियो
साथीहरु अझै डाहा गर्छन् ‘यार तेरो त मालामाल थियो!’
हरेक बिहान नराम्ररी झस्काएर सम्झाउँछ साला ऐनाले
जमानामा यो तालुमा पनि कालो बाक्लो कपाल थियो !