September 26, 2013

साहित्यिक यात्रा चितवनको

गत शुक्रबार र शनिबार (४ र ५ आश्विन) साहित्यमय भएर चितवनमा बिताईयो।

प्रसंग थियो, 'चितवनका कवि र कविता' नामक कविता संग्रह तथा 'चरैवेति' साहित्यिक पत्रिकाको अंक ६ को सार्वजनिकीकरण। र यसैको छेको पारेर आयोजना गरिएको 'संरक्षण' कविता आन्दोलनको ५७औं संस्करण।

शुक्रबार बिहान एउटा टयाक्सीमा श्रद्धेय सरुभक्त दाइ, सहकर्मी मित्र शरण आँसु र कवि-पत्रकार फडिन्द्र अकिञ्चन चितवनतिर लाग्यौं। कविहरु सरस्वती 'प्रतीक्षा', सुरेश रानाभाट, दीपक समीप र प्रकाश ज्ञवाली र कलाकार गौतम बिजुक्छेसंग बिजुक्छेजीको गाडीमा हुनुहुन्थ्यो। 

दिऊँसो ३ बजेबाट सार्वजनिकीकरण कार्यक्रम शुरु भयो। 'चितवनका कवि र कविता'मा चितवनका ७८ कविहरुका संक्षिप्त परिचय र ४-४ कविता समेटिएको रहेछ। 'चरैवेति' को अंक ६ मा पनि तिनै कविताहरु संकलित रहेछन्। एउटा लामो र गहन प्रयासपछि संकलित स्वरुपमा निक्लिएका यी कविताहरुले निःसन्देह चितवनको कवितालाई स्पष्ट परिभाषित गर्ने क्षमता राख्दछन् र चितवनका माध्यमबाट वर्तमान नेपाली कवितालाई नियाल्ने आँखीझ्याल पनि हो यो संग्रह।

कार्यक्रममा पोखराबाट पुगेका सबै (११ जना) र चितवनकै केहि कविहरुबाट कविता वाचन पनि भयो।  

त्यो रातको बास 'कविडाँडा' (कैलाशपुर?) मा रहेको एल बी क्षेत्री सरको घरमा भयो। एल बी सर र उहाँकी अर्धाङ्गिनीको आतिथ्यमा कवि र कविता मिसिएर निकै रमाईलो भयो। सुत्ने बेलामा साथीहरुले संरक्षण कविता यात्राका पूराना संस्करणका रमाईला संस्मरणहरु सुनाए। मेरो पहिलो सहभागिता, यसैले मसंग केहि संस्मरणहरु थिएनन्। राती सरुभक्त दाइ, एल बी क्षेत्री सर र अरु युवा कविहरुका बीच संरक्षण कविता आन्दोलनको दर्शन, यसको विगत र भविष्यका बारेमा कुराकानी हुँदै थियो धेरै बेरसम्म, अर्धनिद्रामा सुन्नेमा परें म।

बिहान नित्यकर्म, नास्ता, तस्बीर सेसन र आगन्तुक पुस्तिकामा हस्ताक्षरपछि सौराहाको लागि प्रस्थान गर्यौं सबै। सौराहाको जंगल सफारी लजमा फेरि केहि नास्ता लिएपछि डेढ घण्टाको लागि छरिए सबै स्थानीय परिवेशबाट बिम्बहरु टिपेर कविता लेख्न। यसरी निश्चित समयसीमामा बसेर कविता लेख्न बडो गाह्रो हुन्छ, तैपनि केहि कोरें।

जंगल सफारी लजमा फर्केर खाना खाएपछि कविता वाचन कार्यक्रम शुरु भयो। संरक्षण कविता आन्दोलनका सहभागीहरुका कविता सौराहाको प्रकृति र स्थानीय जनजीवनको नजिक हुने कोशिशमा थिए। अरु सहभागीहरु पनि सबैले कविता वाचन गर्नुभयो। चितवन, पोखरा र हेटौंडाबाट भेला भएका थिए कविहरु र काठमाण्डौंबाट पनि कवि-निबन्धकार रोशन शेरचन उपश्थित हुनुहुन्थ्यो।

शनिबार साँझ गौतम बिजुक्छे, दीपक समीप, सुरेश रानाभाट, प्रकाश ज्ञवाली र म पोखरा फर्कियौं।

न्यानो साहित्यिक आतिथ्यका लागि चितवनका साहित्यकार मित्रहरु, एल बी सर र जंगल सफारी लजलाई हार्दिक धन्यबाद! संरक्षण कविता आन्दोलनमा सहभागी हुने अवसरका लागि सरुभक्त दाइलाई हार्दिक धन्यबाद!

साथीहरुले खिचेका तस्वीरहरु फेसबुकतिर छरिएका छन्। मैले भने अचेल कार्यक्रमहरुमा जाँदा क्यामेरा बोक्न छोडिदिएको छु। क्यामरा एक प्रकारको बोझ र बाधा लाग्न थालेको छ :)

September 16, 2013

हाजिर जनाऊँदैछु, धेरै पछि

तीन हप्ता भएछ यो आँगनमा गएल भएको, तपाईँहरुसंग गफ नगरेको।

क्याम्पसको इण्टरनेट उपकरणहरुलाई एक दिनको खतरनाक चट्याङ्गले ध्वस्त बनाईदियो र दुई हप्ताभन्दा बढी 'अन्धकार युग' मा बसियो। द्रुत निर्णयहरु हुने ठाऊँमा हो भने यस्ता समस्या भोलिपल्टै र बढीमा दुई दिनभित्र समाधान भईसक्थे। तर यो पर्यो 'पक्का' सरकारी क्याम्पस! यो एक्काईसौं शताब्दीको त्यस्तो 'इञ्जिनियरिङ्ग' क्याम्पस हो जहाँका हरेक निर्णयहरुमा हावी हुनेहरु उन्नाईसौं शताब्दीमा बाँच्छन्। अब उन्नाईसौं शताब्दीमा बाँच्नेहरुलाई एक्काईसौं शताब्दी भनेको दन्त्यकथा र फगत दन्त्यकथा हो। उन्नाईसौं शताब्दीमा बाँच्नेहरुलाई इ-मेल नभएर के, इण्टरनेट नभएर के?  

August 25, 2013

रामायणमय निद्रा

भानुभक्त बाजेको 'रामायण' दुई पृष्ठ जति पढियो अघि भर्खर। हनुमान सीतालाई भेटेर, रामको औंठी चिनो बुझाएर-सन्देश सुनाएर र सीताको हालखबर बुझेर सीतासंग बिदाबादी भएका छन्। सीतासंग बिदा भएपछि हनुमान "----भन्छन् सब दुनियाँ त भेटिकन जाँ कस्तो छ रावण् पनि" भनी लंका घुम्ने विचारमा पुगेका छन्। भोलिका पृष्ठहरुमा हनुमानले लंकामा के-के गर्ने हुन् र रावणसंग के-के कुरा गर्ने हुन् भन्ने कल्पना गर्दै छोरी निदाईसकेकी छे।

सुत्नुअगाडि छोरीका लागि केहि पढिदिने पूरानो बानीकै निरन्तरताले 'रामायण'को बाटो हिँडेको हो यतिखेर।

मैले 'महाभारत'बाट शुरु गर्ने विचार गरेको थिएँ र विचार पलाउनसाथ टकटकाऊँदो 'महाभारत' किनेर ल्याएको थिएँ। मलाई लागेको थियो, सुत्नु अगाडि एक दुई पृष्ठ 'महाभारत' (वा अरु केहि) का श्लोकहरु वाचन गरेर सुत्दा 'एकै तीरमा धेरै निशाना' हुने पक्का थियो; जस्तो कि छोरीले दैनिक खोज्ने 'नयाँ' कथाको 'सहज आपूर्ती' हुने, आफैंले पनि कति पहिले नपढेका-नसुनेका कुरा पढिने हुँदा आफैंलाई पनि उपलब्धिपूर्ण हुने र लय हालेर पढ्दाको आनन्दानुभूति वर्णनातीत हुने आदि-आदि।

तर दुई-चार दिनको अनुभवले के सिकायो भने महाभारत बच्चाहरुसंग बसेर पढिने कुरो होईन। महाभारतभित्रको गहन दर्शन र जटिल राजनीति बुझ्न ठूलाले पनि धेरै सोच्नुपर्छ, बच्चाले त सक्ने कुरै भएन। अलिकति श्लोक पढ्दै- र 'कथा'का रुपमा छोरीलाई त्यसको सरल ब्याख्यान सुनाउँदै गर्ने मेरो 'प्रकृया' न त छिटो हुने भयो, न त सजिलोनै। फेरि, 'महाभारत'भित्र एकदम धेरै आईरहने प्रणयप्रसंगहरु पनि आठ वर्षकी बच्चीका लागि ठिक हुनेजस्तो लागेन।

र 'रामायण' शुरु भयो।

'रामायण' को कथा सरल रेखामा बगेको छ र यसभित्र 'महाभारत' भित्र जस्तो गहन दर्शन र जटिल राजनीतिक प्रसंगहरु पनि छैनन्। प्रणयप्रसंगहरु पनि धेरै छैनन् र र भएका पनि अलिक 'अप्रत्यक्ष' छन्। यसैले 'रामायण' को 'कथा' ठिक्क बच्चा सुहाऊँदो छ।

दिनको एक-दुई पृष्ठका दरले अबका केहि महिनाको निद्रा रामायणमय हुने पक्का छ। 


August 04, 2013

अहिले Long Walk to Freedom

यता यो मिलेको छैन, उता त्यो मिलेको छैन, ब्लगमा लेख्न समय मिलेको छैन :) मिलेको टुक्राटाक्री समयलाई ब्लगका लागि तयार पार्न मैलेनै नसकेको हो, नचाहेको त होईन।

टुक्राटाक्री निक्लने खाली समयमा केहि पढ्ने कोशिश भने गरीरहेछु। पोखरामा हुने विमोचन आदिमा किनिने, प्राप्त गरिने नयाँ पुस्तकहरु लगभग सबैजसो पढिएको छ। सरस्वती प्रतीक्षाजीको कविता संग्रह 'वागी सारङ्गी' र शरण आँशुजीको कविता संग्रह 'असमय' पछिल्ला त्यस्ता दुई कृति हुन्। सरस्वतीजी युवा पुस्ताको सशक्त हस्ताक्षर हुनुहुन्छ र उहाँको साहित्यिक उचाई राष्ट्रिय-अन्तर्राष्ट्रिय आयाममा फैलीसकेको छ। शरणजीका कविताहरुले पनि प्रशस्त संभावना बोकेका छन्। 

विकास थापाजीको 'नेपालमा जलविद्युत' पनि पढिसिध्याएँ केहि समयपहिला। नेपालको जलविद्युत क्षेत्र अपार सम्भावनायुक्त हुँदाहुँदै पनि कसरी हाम्रो देश लोडशेडिङ्गको अँध्यारो दुर्गतिमा फँस्न पुग्यो र कसरी नेपालको जलसम्पदामा देशी-विदेशी माफियाको दाह्रा-नङ्रा गाडिएको छ भन्ने बुझ्न अहिले यो सबैभन्दा उपयुक्त पुस्तक हो।

अहिले भने महान राजनेता नेल्सन मण्डेलाको आत्मवृत्तान्त "Long Walk to Freedom" पढ्न शुरु गरेको छु। आदरणीय मण्डेलाको स्वास्थ्यमा केहि सुधार आएको खबर थियो उहाँको पन्चानब्बेयौं जन्मदिनताका। उहाँको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दछु। 




July 22, 2013

'असमय' कविता सङ्ग्रबाट 'दिदी'

हिजो साउन ५ गते सहकर्मी साथी शरण आँसुजीको कविता सङ्ग्रह "असमय" को विमोचन भयो। पोखरा उद्योग वाणिज्य संघको अमृत शेरचन कक्षमा। पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रकाशित उक्त कविता संग्रहमा ४८ कविताहरु संग्रहीत छन्। आँसुजीका कविता पाठकका मनमा विशिष्ट भाव छोड्न सफल छन्। आज उक्त सङ्ग्रहको एक कविता साभार गर्न चाहन्छु। हिजोको विमोचन कार्यक्रममा आँसुजीको आग्रहमा यहि कविता वाचन पनि गरेको थिएँ मैले।

दिदी 
- शरण आँसु

डोको र नाम्लो यहीं छ
आँसी उद्याउने ढुङ्गो यहीं छ
मझेरी र भान्छामा रारन्न छ।
जूठो कसौंडी र ताप्केसित रित्तिएको
तिम्रो सपना यहीं छ।
तिमीसितै
बेसी झरेको
तिम्रो रहरको खेत यहीं छ।
दिदी!
तिमी कहाँ छौ?
तिम्रो आँखामा धान झुलेको छ कि छैन?
तिम्रो आँखामा रहर फुलेको छ कि छैन?

यहाँ त
बारीको डिलमुनि
गल्लीको छेउमा
लालुपाते फुलेको छ,
कान्ला, खोल्सामा
टाँकी फुल्दो छ र
तल्लाघरे कान्छा बाको कपाल पनि
सेतै टाँकी भएर फुलेको छ।
दिदी!
तिम्रो आँखामा
लालुपाते र टाँकी फुलेको छ कि छैन?

कोही भन्छन्
तिमी सहरमा छौ
कोही भन्छन्
तिमी सहरभन्दा बाहिर
रहरहरुको जहर पिएर बसेकी छौ।
कोहि भन्छन्
तिमी
सभ्यताको चुलीबाट पछारिएको
समयको आखेट भएर
निर्लज्ज/निर्बस्त्र
विज्ञप्त भएकी छौ।
दिदी!
तिमी कहाँ छौ?

यहाँ त पर्म छ
मर्मै मर्म छ
मर्महरुको पहाड छ।

सबै सबैको आँखामा
तिम्रो सम्झनाको पहाड छ।
दिदी!
तिमी कहाँ छौ??

July 01, 2013

शेष-अशेष-विशेष

यहि शेष छ, र मेरा लागि अशेष छ
मुटुमै छ, मेरा लागि विशेष छ
दुई नाऊमा खुट्टा कहिल्यै हाल्नेछैन-
मसंग जे छ, केवल यहि देश छ।

(असार १७, २०७०; पोखरा)