March 07, 2019

मैले कोरेका यी घेराहरु


मैले कोरेका यी घेराहरुको के होला ?
मलाई प्रिय चेहराहरुको के होला ?

मेरा सुस्केराहरु रहलान् नरहलान् ?
म नाचेका यी पखेराहरुको के होला ?

जब सधैंका लागि उडेर जानेछिन् आमा
गुँडमा पर्खिने बचेराहरुको के होला ?

यो यात्रापछिको यात्रा कता जाने हो ?
यहाँ सँगालेका फेराहरुको के होला ?

जब एक्लै एक्लै जानुछ, रित्तै जानुछ
हाम्रा यी ‘तेरा र मेरा’हरुको के होला ?


(फाल्गुन १५, २०७५, पोखरा)

February 17, 2019

दास कारखाना

दिमाग खोलेर प्रोसेसर फेरिन्छ
मानवता चिन्ने चिपहटाइन्छ
संवेदनाका सर्किटहरु बिगारिन्छ
ढुंगाको मुटु जडान गरिन्छ
प्रश्न सोध्ने जिब्रो थुतिन्छ
आदेश सुन्ने कान थपिन्छ
लगाम कसेर ‘घोडा’ बनाइन्छ

झण्डाको चश्मा भिराइन्छ
कागलाई सेतो भनाइन्छ
बकुल्लालाई कालो बनाइन्छ
बुझेका कुरा बिर्साईन्छ
पढेका कुरा मिल्काईन्छ
दासत्वको प्रमाणपत्र बाहेक
अरु सबै बेकाम बनाइन्छ

पार्टीभित्र पसेर भ्रष्टाचार
सदाचार बनेर निक्लन्छ
झण्डा ओढेर बलात्कारी
क्रान्तिकारी भएर निक्लन्छ
र दासहरु रमाईरमाई थपडी मार्छन्
‘क्रान्ति सफल भयो!’ भनेर चिच्याउँछन्
‘बादशाह’ बजारमा नाङ्गै बुर्कुसी मार्छ
तर दासहरु-
आफ्नै अनुहारले बादशाहको लाज छोप्न खोज्छन्
र भजन गाउँछन्
“सुहायो, सुहायो
’बादशाह’लाई नयाँ पोशाक कस्तो सुहायो!”

यस्ता दासहरुले विद्रोह गर्दैनन्
हद्द गरे दासहरुले कोल्टे फेर्छन्
तर कोल्टे फेरेपिच्छे मालिक पनि फेर्छन्
यसरी-
दास दासै रहन्छन्
र मलिक मालिकै रहन्छन्

मान्छेहरुको प्रशोधन गरिन्छ यहाँ
जिउँदो लाश बनाएर निकालिन्छ
यो दास कारखाना हो
यहाँ दासहरुको उत्पादन गरिन्छ।

(२०७४, असोज)

January 27, 2019

लेखीरहनु मेरो धर्म हो ---

न कहि लिएर जानेछन्, न अघाएर जानेछन्
जीवन के हो, मर्ने बेलामा थाहा पाएर जानेछन्

हामी त के हौं र? यो सूर्य र यी ताराहरु पनि
एकै छिन् बल्नेछन् आकाशमा र बिलाएर जानेछन्

धेरै भेटिनेछन् यात्रामा र केहि विशेष हुनेछन्
तिनै, जो जाने बेला मनमा छाल उठाएर जानेछन्

कतै पुगेर तिम्रा प्रश्नहरु रोकिनै पर्नेछ
मेरा केहि ब्यथा यी मसंगै हराएर जानेछन्

लेखीरहनु मेरो धर्म हो, म लेखेर जानेछु
कोहि आउनेछन् र मेरा गीत गाएर जानेछन्

- माघ १२, २०७५
'गजल सन्ध्या', पोखरा

August 21, 2018

सरकारी भेटी

सरकारले गरीबलाई यस्तो दक्षिणा, यस्तो भेटी दियो
तालु देखि पैतालासम्म निचोर्‍यो र घाँटी रेटिदियो
गरीबलाई बाँड्ने भन्दै ठूलो होहल्ला गर्दै छापिएको
सरकारले गरिबीको परिचयपत्र धनीलाई बेचिदियो !

(साउन ३१, २०७५)

July 01, 2018

काउँरेडको बिहे

काउँरेड हावामा मुड्की बजारेर उभिनुभयो
जन्तीलाई कालो चिया र बिस्कुट दिनुभयो
बिहे त जनवादीनै गर्नु भएको हो काउँरेडले
दाइजोमा सय तोला सुन कसरी लिनुभयो ?

June 26, 2018

देशभक्त

दिनभरि अफिसको कम्प्युटरमा तास खेलेर थाकेपछि कर्मचारी कवि भट्टी छिरेछन्। धोक्नु धोकेर उडान भईसकेपछि अचानक देशको माया उर्लेर आएछ र धुरु-धुरु रोएछन्। अनि बेयरासंग डट्पेन मागेर न्याप्किन पेपरमा घघडान् देशप्रेमी कविता लेखेछन्। 
भोलि कुनचाहिँ पत्रिकामा आऊँदैछ रे 

May 19, 2018


मलाई उज्यालो मन पर्छ, घामको भएपनि जूनको भएपनि
यात्रा आफ्नै उडान आफ्नै, धामको भएपनि धुनको भएपनि
यी कुनै पनि ‘दरबार’संग साट्न सक्दिन म मेरो स्वतन्त्रता
पिँजडा आखिर पिँजडानै हो, फलामको भएपनि-सुनको भएपनि

May 14, 2018

साहित्यको बजारशास्त्र


बजारका गौंडा-गौंडामा ‘पत्रम्-पुष्पम्’ चढाउँला
आफू-आफूलाई उचालेर अरु सबैलाई लडाउँला
‘तैं बाहुन, मै बाहुन-घरका पैसा कतै नजाउन्’
तपाईँ मलाई पुरष्कार दिनुस्-म तपाईँलाई दोसल्ला ओढाउँला