February 24, 2013

गजलसंग्रहहरुको परिचर्चाबाट फर्केपछि

लेख्ने कुरा धेरै भएपनि लेख्न सकिएको छैन। समय मिलेको छैन, एउटा बहाना सधैंझैं त्यसैलाई बनाउन सकिन्छ। अर्को कुरो, लेख्ने थोरै फुर्सद फेसबुकले लिईदिन्छ। त्यतै वादविवादमा अल्झेर उर्जा सिद्धिन्छ। हुनत, राजनीतिक वा अन्य कुनै मुद्दाका बहसमा त्यता अल्झिए आफ्नो दैनिकीका अलिक 'रचनात्मक' पाटाहरुलाई यता ल्याउन पनि सकिन्थ्यो, वा राजनीतिक मुद्दाकै बारेमा अलिक विश्लेषणात्मक हुन सके पनि राम्रो हुने थियो। मेरो आलस्यनै होला, यी सब हुन नसक्नुको प्रमुख कारण।

अध्यापनको 'जागिर' र अरु पेशागत कामले दिनको ठूलो हिस्सा लिनेनै भए। परिवारले माग्ने हिस्सा छँदैछ। बचेको समयमा केहि कार्यक्रमहरुमा भाग लिन पाएर खुशीनै लागेको छ। क्याम्पसमा विद्यार्थीहरुका Talking Mind, Robotics Club र साहित्यिक सञ्जालजस्ता समूह/संस्थाहरु छन्। दलीय राजनीतिको छुद्रताबाट बाट यी बिल्कूलै अलग छन्, यसैले यिनका गतिबिधिहरु रचनात्मक हुन्छन् र सुन्दर हुन्छन्। यस बीचमा यी तीन रचनात्मक र उर्जावान संस्थाहरुका कार्यक्रममा सहभागी भईयो। भोलि कुनै दिन मेरो अध्यापन जीवनका सबैभन्दा स्मरणीय दिनहरु रोज्नुपर्यो भने यस्ता संस्थाहरुका कार्यक्रममा प्रस्तोता वा सहभागी-जुनसुकै हिसाबमा बिताईएका क्षणहरु मेरो रोजाईको सूचिको शीर्ष स्थानतिर हुनेछन्। 

क्याम्पस बाहिरको कुरा गर्दा पोखरेली युवा साँस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार दिऊँसो आयोजना गर्ने समता काब्य सन्ध्यामा नियमित हुन थालेको छु एक वर्ष यता। वि सं २०३४ सालदेखिको इतिहास बोकेको संस्थाको यो कार्यक्रम नेपाली कविताको एउटा ज्यूँदो-जाग्दो पाठशाला हो। हरेक महिनाको अन्तिम शनिवार मुक्तक मञ्च-पोखराको आयोजना हुने मुक्तक वाचन कार्यक्रममा पनि नियमितनै छु म, डेढ वर्ष यता।

गजल सन्ध्याले हरेक महिनाको दोश्रो शनिवार आयोजना गर्ने गजल वाचनमा भने अहिलेसम्म जम्मा एक पटकमात्रै पुगेको छु। हरेक महिनाको तेश्रो शनिवार आयोजना हुने अक्षर यात्रामा पनि जम्मा एक पटकमात्रै सहभागी हुने मेसो परेको छ।

आज गजल सन्ध्याको आयोजनामा तीनवटा गजलसंग्रहरुको परिचर्चा र वृहद् गजल वाचन कार्यक्रम भएको थियो। परिचर्चित कृतिहरु अमला अधिकारीको 'आगो' (परिचर्चाकार-कृष्ण उदासी), मनोज न्यौपानेको 'अन्तिम' (परिचर्चाकार-ईश्वरमणि अधिकारी) र पुरु लम्सालको 'आधा जलेको खप्पर' (परिचर्चाकार- रुपिन्द्र प्रभावी 'कटु') थिए। अहिलेका चर्चित यी युवा हस्ताक्षरहरुका साहित्य र गजलसम्बन्धी धारणाहरु सुन्न पाईयो। कार्यक्रमका प्रमुख अतिथि सरुभक्तज्यू र विशिष्ट अतिथि ज्ञानुवाकर पौडेलज्यूका सरगर्भित वक्तब्यहरुबाट धेरै कुरा थाहा पाईयो। 

कार्यक्रमको दोश्रो सत्रको 'वृहद् गजलवाचन' लाई तीनवटा एफएमले प्रत्यक्ष प्रसारण गरेक थिए। एउटा गजल मैले पनि वाचन गरें, "फेरि बादल र वर्षातको याम आएको छ--" भन्ने। धेरै उत्कृष्ट गजलहरु वाचन गरिएका थिए। विशेष कारणवश कार्यक्रममा पूरै समय बस्न नपाएकाले ज्ञानुवाकरज्यू र परिचर्चित गजलकारहरुले गजल वाचन गरेको सुन्न पाईएन।

No comments:

Post a Comment