नेपाली राजनीतिक दलहरुमा सल्केको फुटको रोगले माओवादीलाई पनि छोडेन, यो पनि अस्तिबाट दुई टुक्रा भएको छ; 'कोष्ठक माओवादी' र 'अल्पविराम माओवादी'। 'अल्पविराम' माओवादीले आफूलाई 'ड्याश' (-) माओवादीका रुपमा पनि प्रस्तुत गरेको छ हिजो पत्रकार सम्मेलनबाट। उसैपनि फुटको किर्तिमान कायम गर्न नेपालका साम्यवादी दलहरु 'प्रख्यात' छन्, उनीहरुको यो 'ख्याति'लाई यतिखेर 'मधेशवादी' दलहरुले पनि पछ्याईरहेका छन्। जब राजनीति सिद्धान्त र निष्ठाका बलमा नभई ब्यक्तिगत अहं र स्वार्थको लौरो टेकेर गरिन्छ, तब दलीय फुट स्वाभाविक बन्न जान्छ। हाम्रो राजनीतिमा भएको त्यहि हो।
नेपालमै र विदेशमै बसीरहेका नेपालीको माझमा हुने सांगठनिक गतिविधिहरुलाई नजिकबाट नियालीसकेपछि के निष्कर्ष निकाल्न सकिन्छ भने हामी 'जुट्न' र 'फुट्न' एकदम सिपालु छौं। हामीमा संगठित हुने चेत अवश्य छ तर हामीमा सहजै फुट्ने स्वभाव पनि छ। नेपालीहरुद्वारा सञ्चालित संघ-संगठनहरुमा छोटो अवधिमै नफुटेका र धेरैपटक नफुटेका कमैमात्र छन्। यो फुटको स्वभाव हाम्रो राष्ट्रिय मानसिकतामै गहिरो गरी बसीसकेको देखिन्छ। आमरुपमा हामीमा अरुलाई 'पेल्नु'पर्छ र अरुलाई 'टेर्नु' कमजोरी हो भन्ने भावना प्रवल छ। संघ-संगठनका नेतृत्वमा पुगेकाहरुले लोकतान्त्रिक आचरण देखाएर आफू र आफ्नो गुटबाहेककालाई पनि सम्मानजनक ब्यबहार गरेको विरलै देखिन्छ। जहाँपनि हामी हमेशा 'सत्तापक्ष' र 'प्रतिपक्ष'का रुपमा आफूलाई विभाजित गर्छौं। न हामी जितलाई सामान्य रुपमा लिन सक्छौं, न हारलाई। अपरिपक्व शैलीमा साना-साना कुराका लागि विवाद गर्नु हाम्रो स्वभाव बनीसकेको छ। हाम्रो यहि सामूहिक स्वभावको प्रतिबिम्ब हो दलहरुमा देखिने चरम गुटबन्दी र फुटको शृंखला।
भन्नलाई हाम्रा दलहरुले आफूलाई लोकतन्त्रवादी वा अरु जे 'वादी' भनेपनि दलहरुको सञ्चालनशैली अझै अत्यन्त सामन्ती देखिन्छ। विवादका विषयहरुमा स्वस्थ बहस गर्नुभन्दा पनि पर्दा पछाडिका खेलहरुमा बढी भर पर्ने चलन छ। नेतृत्वमा बस्नेले दललाई आफ्नो खल्तीको मोबाईलभन्दा बढी ठान्दैनन्। आवधिक (४-५ वर्ष) रुपमा महाधिवेशनबाट नेतृत्व छानिने, व्यक्तिगतभन्दा सामूहिक स्वभावको केन्द्रीय नेतृत्व, कोहिपनि एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने, सांगठनिक र आर्थिक कृयाकलापमा पूर्ण पारदर्शीता जस्ता मान्यतालाई दलहरुले स्विकार्ने हो भने यस्ता फुटका शृंखला रोकिन समय लाग्दैन।
केहि समय यता देशका केहि दलहरु आन्तरिक लोकतन्त्रलाई परिमार्जित गर्ने अभ्यासमा जुटेका देखिन्छन्। यस मामिलामा माओवादीले भने एक पाईला पनि चालेको छैन। एकपटक पनि महाधिवेशन नगरी दुई दशकसम्म चलेको अर्को दल नेपालमा त के संसारमै पनि नभेटिएला! फेरि सशस्त्र द्वन्द्वकालमा गरिएको प्रचण्डको देवत्वकरणलाई खुल्ला राजनीतिमा पनि जारी राख्न खोजियो, जसले धेरै विरोधाभाषहरु जन्मायो। आर्थिक र अन्य सांगठनिक मामिलामा देखिएको चरम अपारदर्शितालाई विरोधीभन्दा धेरै माओवादीकै नेता-कार्यकर्ताले आलोचना गरेका छन्। केहि समय यता माओवादीभित्र एउटा नवधनाढ्य वर्गको विकास भएको छ, यो वर्गमा नेतृत्व तहका केहि र माओवादी शहर पसेपछि यसमा प्रवेश गरेका अवसरवादीहरु छन्। देशलाई र अझ पूरै विश्वलाई वर्गवीहिन बनाउने गुड्डी हाँक्ने माओवादी आफैंभित्रको वर्गीय द्वन्द्वलाई थेग्न नसकेर टुक्रिएको छ।
'कोष्ठक' माओवादीबाट छुट्टिएर बनेको 'अल्पविराम' माओवादीका कुरा पत्यारिला भने छैनन्। उनीहरुको अमूर्त कठमूल्लावादी रटान न नेपाली जनताको राजनीतिक चेतनालाई सम्मान गर्न सक्ने छ, न अहिलेको विश्वपरिवेश सुहाऊँदो छ। यस्तै रटानलाई निरन्तरता दिएमा 'अल्पविराम' माओवादी छिट्टैनै 'पूर्णविराम'मा पुगेर सिद्धिने छ। उतातिर, कोष्ठक माओवादी संस्थापन पक्षले पनि दल टुक्रनुमा आफ्ना कमजोरीको समीक्षा नगरी राजतन्त्रवादी र रिमलाई सरापेर बस्नु भनेको मूतको न्यानोमा रमाउनुमात्रै हो। सरापमा भारत भने छुट्ने छाँट छ यसपालि! जुन ढंगले माओवादी चल्दै आएको छ, त्यहि ढंगलाई निरन्तरता दिने हो भने अझ टुक्रने र कोष्ठकमात्र बाँकी रहने दिन पनि आउन सक्छ।
र पाठ सबै दलले सिक्नैपर्छ। सबै दलले आफूलाई पूर्ण लोकतान्त्रिक र पारदर्शी बनाउने हो भने असन्तुष्टिहरु दलभित्रै समाधान हुन्छन् र चोईटिनुपर्दैन। दलहरु टुक्रनु देशको राजनीतिका लागि राम्रो कुरा होईन। फुट अराजकताको परिणाम हो र फेरि अराजकता अझै बढ्ने लक्षण पनि हो।
आफूलाई कोष्ठक माओवादीभन्दा अब्बल दर्जाको 'क्रान्तिकारी' देखाउन अल्पविराम माओवादीले केहि विध्वंश गर्न सक्ने संभावना पनि धेरै छ यतिखेर। सरकार नभएको देशमा जे गरेपनि सजिलै जो छ यतिखेर!