April 08, 2011

आफैंलाई ढाँट्न सकिँदैन

क्याम्पसको मूलगेटको ठिक सामुन्ने सैलुन छ, महिनाको एक पटकको मेरो गन्तब्य। म त्यहाँ पुग्ने कपाल कटाउन हो, दाह्री बनाउन सैलून विरलै पुगिन्छ।

"छोटो पार्ने, हैन त सर?" सैलूनवाला दाइले सोध्छन्। उनलाई थाहा छ मेरो 'माग' यहाँभन्दा अरु हुँदैन भनेर।
"हो।" म जवाफ दिन्छु। कपाल यस्तो बनाईदेऊ, उस्तो बनाईदेऊ भनेर 'स्टाईल' तोक्न कहिल्यै जानिएन।

यसपछि कैंची मात्र बोल्छ, हामी दुबै मौन हुन्छौं।

"कपालमा कालो लगाउने हो सर?" लामो मौनतापछि, कपाल काटीसक्ने-सक्ने बेलाको प्रश्न। यो नियमित प्रश्न हो यहाँको। केहि समय पहिला अरु दुई ठाऊँमा पनि यसै भनेका थिए।

"भयो, नहाल्ने। ----" नियमित प्रश्नको मेरो नियमित उत्तर।

कपाल काटिदिने नाऊले मात्रै होईन, परिवारका केहि सदस्य र केहि साथीहरुबाट नियमितजसो 'कालो हाल्ने' सल्लाह पाऊँदै आएको छु मैले। म १६-१७ हुँदाबाटै फुल्न थालेको मेरो कपालमा अब आएर कालोलाई सेतोले जितिसकेको देखिन्छ। मेरो जवाफ "के हाल्नु र कालो खै! अब कसलाई देखाउनु छ र?---बूढो भईहालियो।" जस्तो हुन्छ।

खासमा मलाई कालो हाल्न मन नलागेको आफू बूढो भएर होईन। म आफूलाई अझै तन्नेरीनै सम्झिन्छु:)  कपाल सेतो हुँदैमा म बूढो भएको लाग्दैन मलाई। कपाल कालै रहीरहनुले ब्यक्तित्व खुल्छ भन्ने कुरा कसैले ठान्छ भने त्यो पनि निरर्थक हो। कपाल छपक्कै सेतै भएका कति वृद्धहरु कालो कपाल हुनेभन्दा झन् ब्यक्तित्ववान देखिन्छन्। ब्यक्तित्व भन्ने कुरो कसैको चिन्तन, उसको दैनिकीको शैली र उसको सार्वजनिक जीवनले निर्माण गर्ने कुरो हो, कपालको रंगले केहि फरक पार्दैन। 

मलाई सेतो कपाल कालो पार्ने काम अरुलाई ढाँट्नु जस्तै लाग्छ। मलाई चिन्नेले त 'यसले कालो हालेछ--' भन्ने बुझीहाल्छन्, त्यसैले त्यहि ढाँट्ने भनेको पनि मलाई नचिन्नेलाई हो। मलाई नचिन्नेलाई मेरो कपाल सेतो होस् वा कालो, कुनै मतलब होला भन्ने मलाई लाग्दैन। त्यसैले यो 'ढँटाई' पनि खासै 'कामको' हुने देखिन्न।  
 
आफ्नो सेतो कपाललाई कालो बनाएर अरुलाई झुक्याएको भ्रम पारेर बाँचेपनि, आफैंलाई भने झुक्याउन सकिँदैन। जति बाक्लो कालो हालेपनि वा कपाल रंगाएर रातो, निलो जस्तो पारेपनि मेरो कपाल सेतै फुलेको यथार्थले मलाई छोडने होईन।

खासमा अरुले नसम्झाईदिँदा मलाई मेरो सेतो कपालको यादै आऊँदैन। कहिलेकाहीँ ऐना हेर्दा हो याद आउन सक्ने तर त्यतिखेर पनि दिमागमा अरुनै कुरा खेलीरहने हुनाले ध्यान त्यता जाँदै-जाँदैन। केहि महिना यता त झन् काईँयोनै नचाहिने गरी छोटो कपाल राख्न थालेकाले ऐनातिर जाने क्रम झन् कम भएको छ।

तपाईँको हाल के छ नि? कालो हालेर अरुलाई झुक्याईरहनुभएको छ कि:)

3 comments:

  1. बसन्त दाइ मान्छेहरु यस कुरालाइ त्यतिकै सहजरुपमा लिन सक्दैन नि नि !
    मेरो बारेमा भनौ भने .... त्यस्तो वेला अलिक भएकै पो छैन क्यारे ! पछी पनौला नि !

    ReplyDelete
  2. अहिले सम्म झुक्याउनु पर्ने स्थिति नआइसकेको हुनाले त्यसै भन्न त सक्दिन... तर म पनि कालो--त्यसपछि ब्ल्याक एण्ड ह्वाइट अनि केवल ह्वाइट जे जे हुन्छ त्यसैमा रमाउने विचारमा छु ।

    फेरि कपाल सेतो हुन थालेपछि जत्ती ढाक-छोप गरेपनि त्यो देखिन्छ नै ।

    “Even a single hair casts its shadow”

    ReplyDelete