August 01, 2019

'नीद हराम' गर्ने पढाइ


केहि समय पहिला म एउटा भतिजको बिहेका लागि हेटौंडामा थिएँ । बिहे भोजको साँझ सबै रमाइलो गरीरहेका थिए, तर ९ कक्षामा पढ्ने अर्को भतिज भने बेलुका ७ बजेबाटै तनावमा थियो र उ रमाइलोलाई छोडेर ९ बजे सुत्न गयो। उसको भोलिपल्टको स्कूल बिहान ६ बजेबाट शुरु हुने रहेछ र साढे ५ भित्र स्कूल बस उसलाइ लिन आइसक्ने रहेछ । यसका लागि बिहान ५ बजेनै उठेर तयार भइसक्नुपर्ने रहेछ । नभए केहि थप समय उ परिवारको रमाइलोमा सामेल हुन सक्थ्यो । अर्कोतिर, यो कुरो उसले गुमाएको पारिवारिक रमाइलोको कुरो मात्र निश्चय पनि होइन ।

पोखरामा पनि आफ्नो वरिपरिका थुप्रै बच्चाहरु यसरीनै झिसमिसेमै उठेर दौडिएको देखेको छु मैले । काठमाण्डौंमा पढ्ने भाञ्जीहरुसंग मैले बिहानको समयमा फोनमा कुरा गर्न शनिबारनै कुर्नुपर्छ । अरु दिन उनीहरु पौने ५ मै उठेर, सवा ५ नहुँदै आइपुग्ने स्कूल बस चढ्न तयार भइसक्नुपर्छ । दिदीहरुका लागि बिहानको खाना पछि साढे ८ बजेतिर बस चढ्ने ५ कक्षा पढ्ने भाञ्जाले बोकेर लान्छन् । भाञ्जीहरु बेलुका फर्कँदा अँध्यारो भइसकेको हुन्छ ।

अहिले सबैजसो निजी विद्यालयले कक्षा ८ देखि १० का विद्यार्थीलाई यस्तै ‘अँध्यारो ‍देखि अँध्यारो सम्म’को रटान शिक्षामा बाध्य बनाउँछन् । धेरै सामुदायिक विद्यालयले पनि यसको सिको गरीसकेका छन् । यो ‘सजाय’को एउटै उद्देश्य भनेको एसइइको ‘राम्रो’ लब्धाङ्क मात्रै हो । यसका लागि उनीहरुले मोटो अतिरिक्त शुल्क पनि असुल्छन् ।  यसरी ६ नबज्दैबाट शुरु हुने रटान-शिक्षा सामान्यतया बेलुका ६ बज्ने बेलामा मात्रै सकिन्छ । यो १२ घण्टा हामीले बच्चाहरुलाई पढाइरहेका हौं कि यातना दिइरहेका हौं ? बिहान कम्तिमा ६-७ बजेसम्म ढुक्कले सुत्न पाउनु उनीहरुको अधिकार हो कि होइन ? साढे ४ नबज्दै उठाएर विद्यालयतिर लखेट्नुले उनीहरुको शारीरिक र मानसिक विकासमा परीरहेको घातक असरहरुबारे हामीले कहिल्यै सोचेका छौं ? विद्यालय सञ्चालक, अभिभावक, शिक्षक आदि हामी के का लागि बच्चाहरुमाथि यस्तो अत्याचार गरीरहेका छौं ? यसरी निद्रा मारेर रटाउँदैमा विद्यार्थीको सिकाइको स्तर बढ्छ ?

र कुरो निद्राको मात्र होइन । बिहान आँखा मिच्दै विद्यालयतिर दौडने क्रममा उनीहरुले गतिलो केहि खान पनि भ्याउँदैनन् । घरबाट कसैका हातमा पठाइदिएको ‘खाना’ एक-डेढ घण्टा बन्द भाँडोमा गुम्सिसकेपछि मात्र उनीहरुले खान पाउँछन् । त्यो खानाको पोषण गुणस्तर पक्कै पनि घटीसकेको हुन्छ । विद्यालयकै खाना खाने विद्यार्थीका हकमा पनि त्यहाँ खुवाइने खानाको गुणस्तरका बारेमा नियमित अनुगमन गर्न न राज्यलाई फुर्सद छ न अभिभावकहरुलाई नै चासो छ ।

दिनभरिको रटान शिक्षाबाट थाकेर बेलुका घर फर्केपछि यस्ता बच्चाहरु गृहकार्य गर्छन् र एकछिन मोबाइल चलाएर सुत्छन् । यस्ता बच्चाहरुले खेल्ने र विशेष गरी ‘घर बाहिर खेल्ने’ भन्ने कुरा कल्पना गर्न पनि बिर्सिसकेका हुन्छन् । उनीहरुले दिउँसोको समयमा विद्यालयमै खेल्न पाए होलान् भन्ने कुरामा पनि सामन्यतया ढुक्क हुन सकिन्न किनभने, केहि अपवादलाई छोडेर, धेरैजसो कथित बोर्डिङ्ग स्कूलहरु थोरै जग्गामा बनेका साना साँघुरा भवनहरुमा चलेका हुन्छन् ।

विद्यालयहरुले चाहिनेभन्दा बढी किताबको भारी बोकाइदिनाले बच्चाहरुमा काँध र ढाडको समस्या देखिन थालेको बारेमा केहि चर्चा शुरु भएको छ तर बच्चाहरुलाई सबैभन्दा धेरै निद्रा चाहिने उमेरमै उनीहरुबाट त्यो निद्रा खोसेर र शारीरिक ब्यायाम, खेलकूद आदिको मौकै नदिएर हामीले उनीहरुमाथि गरीरहेको अपराध अझ गम्भिर र अक्षम्य छ ।

हामीले बच्चाहरुलाई साँच्चै पढाउने हो कि पढाउने नाममा यातना दिने हो ?

मानवको शारीरिक र मानसिक स्वास्थ्यका लागि व्यवधान रहित गाढा निद्रा अति आवश्यक छ । वयष्क मानिसकै लागि पनि ७-८ घण्टाको निद्रा आवश्यक मानिन्छ । निद्राको अभावमा थकान हुने र कार्य क्षमतामा ह्रास आउने मात्र होइन, मोटोपना, मुटु रोग, र बिभिन्न संक्रमणका जोखिमहरु बढ्ने कुरा प्रमाणित भइसकेको छ । बढ्दो उमेरका बालबालिकाहरु र किशोरकिशोरीहरुलाई निद्रा झन् धेरै आवश्यक पर्छ । नविनतम अनुसन्धानहरुबाट के प्रमाणित भएको छ भने १२-१८ वर्ष को उमेरमा ४-५ वर्षका साना बच्चाहरुलाई जस्तै निद्रा आवश्यक पर्छ । १२-१८ वर्षको यो उमेरमा बढी निद्रा आवश्यक पर्नुको कारण यो अवधि महिला पुरुष दुबैमा ब्यापक शारीरिक विकास र मानसिक परीवर्तन हुने र उनीहरु दुबै रुपमा अत्यन्त सकृय हुने अवधि हो । यो उमेरमा कम्तिमा ८-१० घण्टा निद्रा आवश्यक मानिन्छ । विश्वव्यापी अनुसन्धानहरुबाट निकालिएको यो उमेरको आवश्यक औसत दैनिक निद्रा अवधि सवा ९ घण्टा हो ।

आधुनिक जीवनशैलीका कारण विश्वभरिनै बालबालिका र किशोरकिशोरीहरुले पर्याप्त निद्रा पाएका छैनन् । यो समस्या किशोरकिशोरीहरुमा अझ बढी छ । यो उमेरमा पुगेपछि जैविक घडीमा केहि परीवर्तन हुन्छ र उनीहरुलाई निद्रा लाग्ने समय रातको एघार बजे भन्दा पछाडि पुग्छ । फेरि आजभोलिका किशोर किशोरीहरुका हात-हातमा मोबाइल छन्, इण्टरनेटको सहज उपलब्धता छ र अरु बिभिन्न प्रकारका ग्याजेटहरुमा पनि उनीहरुको पहुँच हुन्छ । यिनमा भुलेर राती अबेरमात्रै सुत्ने बानी बढ्दै गएको छ । र बिहान चाँडै विद्यालयहरु शुरु हुने कारण उनीहरुले ढिलासम्म सुत्न पनि पाउँदैनन् । विद्यालय चल्ने समयमा औसतमा उनीहरु ६ घण्टा भन्दा पनि कम मात्रै सुतीरहेको देखिन्छ । यो ६ घण्टाकै निद्राको गुणस्तरमा पनि प्रश्न उठाउनु पर्ने स्थिति छ, किनभने सुत्नु अगाडिसम्म ग्याजेटहरु चलाउँदा तिनको स्क्रीनको वीकिरणका कारण र इण्टरनेटबाट दिमागले संङ्ग्रह गरेका बिभिन्न तनावमूलक, उत्तेजनामूलक सूचनाहरुका कारण निद्राको गुणस्तरमा ह्रास आउने निश्चित छ ।

एसइइपछि ११, १२ कक्षाको पढाइ पनि सबैजसो कलेजमा बिहान ६ बजेबाटै शुरु हुन्छ । अहिलेका विद्यार्थी १२ कक्षा सक्दा बल्ल १८ वर्षका हुन्छन् । त्यसकारण, यथेष्ट निद्रा नपुग्दा हुने असरहरुको अध्ययन गर्दा हामीले उनीहरुलाई पनि समेट्नुपर्ने हुन्छ ।

यो अहिले विश्वब्यापी चिन्ताको विषय बनेको छ । संसारमा अहिले ५३ प्रतिशत किशोर किशोरीहरु विद्यालय जाने दिनमा ८ घण्टाभन्दा कम सुत्छन् । अमेरिकामा ५ प्रतिशत किशोरकिशोरीहरुमात्रै आवश्यक पर्ने ९ घण्टा सुत्छन् । भारतको महानगर मुम्बइमा गरिएको एक अध्ययनले त्यो क्षेत्रमा ८० प्रतिशत विद्यार्थीहरु आवश्यकताभन्दा कम सुत्ने देखाएको छ ।  यसको आधाभन्दा बढीको स्थिति अझ गम्भिर छ र उनीहरु दिनमा जम्मा ४-६ घण्टामात्रै सुतिरहेका छन् । स्पष्ट तथ्याङ्क त छैन तर नेपालमा पनि, विशेष गरी शहरी क्षेत्रमा यो भन्दा राम्रो स्थिति छ भनेर भन्न सकिन्न ।

अपर्याप्त निद्रा र बढी स्क्रीन समयको संयोजन किशोरकिशोरीहरुको शारीरिक-मानसिक स्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ ।   निद्रा नपुग्नाले किशोर विद्यार्थीहरुमा शारीरिक-मानसिक थकान हुन्छ र कुनै पनि कुरामा एकाग्र हुन नसक्ने तथा स्मरण शक्ति कम हुने समस्या देखिन्छ । उनीहरु बढी झर्किने, झगडा गर्ने र छिट्टै निराश हुने र अवसाद (डिप्रेसन) मा जाने जस्ता व्यवहार पनि देखाउँछन् । उनीहरुमा उमेरजन्य स्वाभाविक गतिविधिहरुभन्दा बढी उत्तेजनात्मक गतिविधिहरु गर्न खोज्ने र सवारी चलाउँछन् भने सकेसम्म खतरनाक तरिकाले चलाउन खोज्ने प्रवृत्ति पनि देखा पर्छ  । आवश्यक भन्दा कम समय सुत्ने किशोरकिशोरीहरु लागु पदार्थ वा रक्सीको कुलतमा फस्ने सम्भावना पनि बढी देखाएका छन् अनुसन्धानहरुले । पर्याप्त निद्रा नपुगेको अवश्थामा उनीहरुमा उच्च रक्तचाप, कोलेस्ट्रोल, मोटोपना आदिको सम्भावना पनि बढी हुन्छ ।

आफ्ना छोराछोरीहरुले पर्याप्त निद्रा पाइरहेका छन् कि छैनन् भन्ने कुरामा सबैभन्दा पहिला अभिभावकहरुनै सचेत हुनु आवश्यक छ । उनीहरुको सुत्ने-उठ्ने समयमा नियमितता ल्याउन सहयोग पुर्‍याउनुपर्छ । यस्तै सुत्नु १ घण्टा अगाडिबाट कम्प्युटर, मोबाइल, टिभी आदि बन्द गरेर किताब पढ्न वा राम्रो संगीत सुन्न प्रोत्साहित गरिनुपर्छ । यो समयलाई पारिवारिक गफगाफ र ससाना मनोरञ्जनात्मक गतिविधिहरुको रमाइलो वातावरणमा बदल्न सकिन्छ भने अझ राम्रो हुन्छ । उनीहरुलाई बिदाका दिनमा चाहिनेभन्दा धेरै सुत्न पनि दिनुहुँदैन, यसले अरु दिनको निद्राको तालिकालाई गडबड बनाइदिन सक्छ । निद्रा सम्बन्धी कुनै समस्या देखिए जतिसक्दो छिटो चिकित्सकसंग सम्पर्क गर्नुपर्छ ।

तर विद्यालयहरुले बच्चालाई सबेरैबाट पढाउन थाल्दिए भने अभिभावकले चाहेर पनि माथि भनिएजस्तो गर्न नसक्ने स्थिति बन्छ । त्यसकारण, विद्यालयहरुले कक्षा शुरु हुने समयलाई ढिलो गर्नैपर्छ । यसले विद्यार्थीहरुको शारीरिक मानसिक स्वास्थ्यमा सुधार आउँछ र त्यसले गर्दा उनीहरुको पढाइ पनि राम्रो हुन्छ ।

यो कुरालाई ध्यान दिँदै विद्यालयहरुले धेरै चाँडै कक्षा शुरु गर्न नपाउने गरी नीतिगत व्यवश्थानै गर्नुपर्ने आवश्यकता भएको बारेमा विश्वब्यापी बहस शुरु भएको छ ।

अमेरिकाको सिएटल शहरमा सन् २०१६ बाट कक्षा शुरु हुने समयलाई ७:५० बाट ८:४५ मा सारियो । यो कदमका कारण किशोर विद्यार्थीहरुको निद्रा समय ३४ मिनेटले बढेको छ । उनीहरु दिउँसो कक्षामा उँघ्ने प्रवृत्तिमा कमी आएको छ र सिकाइको स्तर बढेको छ । अमेरिकाकै क्यालिफोर्निया राज्यको संसदले सन् २०१८, अगष्ट ३१ मा विद्यालयहरुले साढे आठ बजेभन्दा पहिले कक्षाहरु शुरु गर्न नपाउने कानून पास गरेको छ । क्यालिफोर्नियाका सम्पूर्ण विद्यालयहरुले तीन वर्षभित्र यसलाई लागु गरीसक्नुपर्ने छ । अमेरिकाकै शिकागो, मिनियापोलिस, सेन्ट पल आदि अन्य शहरहरुमा गरिएका अध्ययनले पनि बिहान ढिलो कक्षा शुरु गर्दा विद्यार्थीहरुको सिकाइमा सुधार आउने कुरा प्रमाणित भएको छ । बिहान एक घण्टा ढिलो गरी (उदाहरणका लागि सात बजेको साटो आठ बजे) कक्षा शुरु गर्दा औसतमा एउटा कक्षाको सिकाइ उपलब्धिमा आउने सुधार बी ग्रेडबाट बी प्लसमा पुगे बराबरको हुने निष्कर्ष निकालिएको छ । सबै विद्यार्थीमा सकारात्मक असर देखिँदा देखिँदै पनि तुलनात्मक रुपमा कमजोर विद्यार्थीका हकमा अझ धेरै सुधार देखिएको छ । अमेरिकाको एअर फोर्स एकेडेमीमा गरिएको अध्ययनले त स्नातक तहका विद्यार्थीमा समेत कक्षा शुरु हुने समयको असर उस्तै हुने देखिएको छ । कक्षाहरु थोरै ढिलो गरेर शुरु गर्दा विद्यार्थीहरुको परीक्षाफलमा आउने सुधारको आफ्नै महत्व छ भने यो भन्दा पनि महत्वपूर्ण उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यमा पर्ने सकारात्मक असर हो । यो सकारात्मक असरले पढाइ मात्र होइन जीवनमा आवश्यक पर्ने अन्य क्षमताहरुको अभिवृद्धिमा पनि सघाउँछ र उनीहरुलाई एक स्वस्थ र प्रतिष्पर्धी वयष्कका रुपमा विकसित हुन मद्दत पुग्छ । यिनै अध्ययनहरुका आधारमा अमेरिकामा, यथेष्ट निद्रा पुगेर हुर्किएका किशोर विद्यार्थीहरुको भविष्यको औसत आम्दानी निद्रा नपुगेकाहरुको दाँजोमा धेरै हुने प्रक्षेपण समेत गरिएको छ ।

अहिले फिनल्याण्डको शिक्षण पद्धति संसारकै उत्कृष्ट मानिन्छ । यो उत्कृष्टताका प्रमुख कारणहरुमध्येको एक अरु विकसित देशहरुको दाँजोमा त्यहाँ बिहान ढिलो कक्षा शुरु हुनुलाई पनि मानिन्छ । फिनल्याण्डमा कक्षाहरु ढिलो शुरु हुने मात्र होइन, दिउँसोपनि चाँडै सकिन्छन् । बिहान ९ बजे आसपासबाट शुरु हुने कक्षाहरु दिउँसो २ बजे आसपासमा समाप्त हुन्छन् । यसले बच्चाहरुलाइ पूरा निद्रा सुत्ने अवसर दिन्छ र खेलकुदका लागि पनि समय उपलब्ध हुन्छ ।

नेपालमा कक्षा ८ भन्दा पहिले भने यो समस्या नरहेको जिकिर पनि गर्न सकिन्छ, तर धेरै निजी विद्यालयहरुले ट्युशनका नाममा तल्ला कक्षाका विद्यार्थीहरुलाई समेत यो ‘यातना’ दिन शुरु गरीसकेका छन् । अर्कोतिर, अचेल धेरै बच्चाहरु आफ्नो घरबाट धेरै टाढा रहेका विद्यालयमा पढ्न जान्छन् । कक्षा दश बजेमात्रै शुरु हुने भएपनि उनीहरुले साढे सात-आठ बजेभित्र विद्यालय बस चढीसक्नुपर्छ । त्यसकारण, समस्या अब ८-१० का विद्यार्थीको मात्र वा ट्युशन पढ्ने विद्यार्थीको मात्र रहेन, आम समस्याका रुपमा विकास भइसकेको छ।  त्यसैले, हामीले पनि नीतिगत रुपमै हल गर्नुपर्ने समस्याका रुपमा यसलाई लिनुपर्छ र त्यसै अनुसारको बहस र नीति निर्माणलाई अघि बढाउनुपर्छ । राज्य आफ्ना बच्चाहरुमाथि हुनसक्ने यस्ता खाले दुर्व्यवहार रोक्न अनुगमन बढाउन पनि सकृय हुनुपर्छ ।  यस बारेमा विद्यालय सञ्चालक र शिक्षकहरु पनि बढी संवेदनशील हुनुपर्छ र  अभिभावकहरुले पनि केवल लब्धांकपत्रमात्र नहेरेर आफ्ना बच्चाहरुको शारीरिक र मानसिक विकासका बारेमा पनि सचेतता देखाउनु आवश्यक छ ।



(पोखराबाट प्रकाशित हुने 'समाधान' राष्ट्रिय दैनिकमा २०७६ साल साउन १५ गते प्रकाशित) 

No comments:

Post a Comment