October 11, 2011

अल बिदा गजल सम्राट!



आफ्नो स्वर र संगीतको जादूले हामीलाई एउटा अलग्गै दुनियाँमा लैजाने गजल सम्राट जगजीत सिंह अब हामीमाझ रहनुभएन।

जगजीत, अझ समग्रमा भन्दा जगजीत-चित्राको जादूको मोहनीजालमा कहिलेबाट परें, यकिन तिथिको याद छैन मलाई, तर जब परें सधैंका लागि परें। उहाँका गजलहरु जिन्दगीको एउटा ठूलो हिस्सा बनेर रहेका छन्, मेरा सुखी-दु:खी अनगिन्ती पलहरुका साथी बनेका छन्। जिन्दगीका दर्दपूर्ण क्षणहरुमा त उहाँको गम्भिर आवाज मेरो मनका लागि मल्हम हो। फेरि संयोग भनौं या एउटा स्वाभाविकता, मेरा घनिष्ट मित्रहरुमध्ये सबैजसो जगजीत-चित्राप्रेमी छन्।

सन् १९९१-१९९६ सम्मको आधा दशक चीनमा विद्यार्थीको रुपमा बस्दा उहाँका 'हम तो हैं परदेशमें---', 'वो कागजकी कस्ती---', 'सारे पिण्ड चुपवाडे---' जस्ता गजलहरु दिनदिनै जसो सुनिन्थ्यो। संगीतले भाषा र राष्ट्रियताको सिमानालाई अस्विकार गर्छ, यो मानवजातिलाई एककार बनाउन सक्षम हुन्छ। जगजीत सिंह संगीतको त्यहि शक्तिको एउटा शक्तिशाली प्रतीक हुनुहुन्छ।

उहाँका सबै गजलहरु प्रिय लाग्छन् मलाई। कहिलेकाहीँ कुनै अलि बढी प्रिय लाग्छन्, अलि बढी सुनिन्छन्। २००३ मा जापान पसेपछिको केहि समय "Someone, Somewhere" संग्रह एकदम सुनें। आफ्नो छोराको असामयिक मृत्युको पिडामा जगजीत-चित्राले गाउनुभएको यो संग्रहले जीवनका गहन दार्शनिक प्रश्नहरुलाई केलाएको छ। यो एल्बम आफैंमा एउटा उत्कृष्ट एल्बम हो, यसभित्र पनि मलाई 'आदमी आदमीको क्या देगा---' र 'मेरी जिन्दगी किसी औरकी---' अति प्रिय लाग्छन्।

उहाँका गजलहरुबाट सबैभन्दा मनपर्ने वा उत्कृष्ट छान्न खोज्नु एउटा दुस्साहस हो भन्ने जान्दा-जान्दै पनि अर्को एक गजल 'शायद मैं जिन्दगीकी----' पनि विशेष लाग्छ मलाई भन्ने लोभ त्याग्न सकिन। अचेल मैले सबैभन्दा बढी सुन्ने गजल यहि बनेको छ। उहाँका भजनहरुपनि सशक्त र आध्यात्मिक शक्तिले भरिएका लाग्छन् मलाई।

गजल सम्राटमा हार्दिक श्रद्धाञ्जली! वहाँको आत्माले चीरशान्ति पाओस्!

2 comments:

  1. 'वहाँका गजलहरुबाट सबैभन्दा मनपर्ने वा उत्कृष्ट छान्न खोज्नु दुस्साहस हो' - सही कुरा वसन्तजी, जगजीतका सबै गजलहरु जादुमय छन्, लठ्याईरहने । मैले सबैभन्दा धेरै सुन्ने स्वर जगजीतकै हो । वहाँको निधनले सबैलाई जस्तै मलाई पनि अघोर दुखी बनाएको छ । जगजीतमा श्रद्धाञ्जली यहाँको आँगनबाट पनि ।

    ReplyDelete
  2. मैले पनि एकपल्ट सुनेपछि सुनिरहें , जगजीतलाई | उनका बंगाली र नेपाली गीत पनि सुनें | उनी बेग्लै गायक हुन् , बिशिष्ट गायक हुन् | उनीप्रति मेरो ठुलो श्रद्धा छ , मेरो पनि श्रद्धान्जली उनलाई !

    ReplyDelete