June 25, 2010

यो याम ढल्किँदैछ!

Image Source: Click Here


"यो याम यसरी पिएर ढल्किँदैछ
यो रातलाई साथ लिएर ढल्किँदैछ

टुट्नुको के कुरा? पग्लिसकेपछि
पानीमाथि उभिएर ढल्किँदैछ

फूल र काँडाको खाता पोल्नुअघि मेट्नुअघि 
 जोड-घटाऊ एक जिएर ढल्किँदैछ

यो याम यसरी पिएर ढल्किँदैछ
यो रातलाई साथ लिएर ढल्किँदैछ"
                                       

[केहि दिन यता केहि शब्दहरु खेल्न थालेका थिए मनमा। त्यहि खेललाई एउटा आकार दिने कोशिश गरेको छु माथि। गजल लेखनमा आत्मविश्वास भएको मान्छे ठान्दिन म आफूलाई,  तर खेल्ने क्रममा गजलकै अस्थिपञ्जर बोके मेरा भावनाले। मतला र दुई शेरमात्रै छन्। एक या दुई शेर थपौं कि जस्तो पनि लागेको थियो तर जुन सहजतापूर्वक यी फुरेका थिए, त्यति सजिलै अरु नफुर्ने देखिए। कनी-कनी केहि थपें भने तिनमा ज्यान बिल्कुलै नहुन सक्छ। त्यसैले यत्तिनै पस्किएँ। समय हुँदा यिनै शेरलाई अझ मिलाउने कोशिश भने गर्नेछु।

अनि एउटा निर्णय पनि गरें, अब म गजल पूरा गर्न भनेर कनी-कनी शेर बनाउने काम गर्न छोडिदिनेछु। सहजतासाथ जति फुर्छन्, त्यत्तिमै चित्त बुझाउनेछु।]

June 20, 2010

'खत्तम' खेल अफ दि सेञ्चुरी

स्थान: नेपाल दंगशाला
समय: सधैं; हप्तामा आठै दिन, दिनमा पच्चीसै घण्टा
खेलाडीहरु: जबर्जण्ड, माकुने, झामचन्द्र, हुचीलदा, काबुराम, केपीगोली, कोहुन् वैद्य, झल्लु, बामहल्लु, लेऊबा, गच्छेजाल, लुजाता र अरु गरी चानचुन १००० जति।
कोच: नारत, छिन, चम्रिका, ब्युरोप आदि।
रेफ्री: नामवरण, अहिलेसम्मको प्रमुख कदम: एउटा कटवाल कार्ड। कटवाल कार्ड खानेले तिनलाई 'निदहरण' पनि भन्छन्:)
निरीह दर्शक: तीन करोड भन्दा बढी

खेलको स्थिति: 
मैदानको आधा ब्यारेक र क्याण्टोनमेण्टले भरिएकोले खेल बाँकी आधा मैदानमा मात्रै जारी छ। हावा फुस्कन थालेको बल मैदानको मध्यभागमा फ्याँकिएको छ।  गोलपोष्टमा माकुने र डिफेन्समा केपीगोली, झामचन्द्र र हुचीलदा छन्।

जबर्जण्ड: (जुँघा मिलाऊँदै) मलाई गोल गर्न देओ! मने निश्चित रुपमा पोष्ट खाली गर्देओ, एउटा क्रान्तिकारी गोल गर्ने ठहर छ मेरो।
कोहुन् वैद्य: हो, हो। पोष्ट खाली गर्दिनै पर्छ।
केपीगोली, झामचन्द्र र हुचीलदा (एकै स्वरमा): किन छोड्ने पोष्ट? बल चलाएर, छलाएर र शट हानेर गरे पो गोल। खाली पोष्टमा त जल्ले पनि गोल गर्छ नि! आफू गतिलो स्ट्राईकर हुन नसक्ने अनि हुन्छ----!

गोलपोष्टमा माकुने मुसुमुसु मुस्काऊँदै:)

जबर्जण्ड:मने निश्चित रुपमा त्यसो हो भने म यो बलै फोड्दिन्छु मने जनगोली हान्दिऊँ--?
कोहुन् वैद्य: हो, हो। बलै फोड्दिऊँ अब।
केपीगोली, झामचन्द्र र हुचीलदा (एकै स्वरमा): सके फोडे भो!
(एकछिन कानेखुशी चल्छ, अनि मुसुमुसु हाँस्दै।) अर्को गतिलो स्ट्राईकर आए त हामी छोड्ने विचार पनि गरौंला तर अहिले त---।

यो सुनेर काबुराम 'वार्म अप' शुरु गर्छन्।

काबुराम (वार्मअप गर्दै): कमरेडहरु, म स्ट्राईकर भएर हेर्नुप-यो एकबाजी। एउटा नाथे गोल त सजिलै छिराईदिन्छु।

अचानक हो-हल्ला शुरु हुन्छ। जबर्जण्ड र कोहुन् वैद्य मिलेर काबुरामलाई दुईतिरबाट छिर्के हान्छन् र लडाईदिन्छन्। उता लेऊबा किन हो अंकुशेले झामचन्द्रको खुट्टा तान्न थाल्छन्। एक हुल गाई पनि कता'ट ह्वार्र् मैदानमा छिर्छन्, कसैले 'गाई कार्यनीति-सत्ता रणनीति' को अभ्यास गरेको हुनसक्छ:)

उता झल्लु र हल्लु यहि मौकामा आत्मघाती पेनाल्टी हान्ने तयारीमा लाग्दैछन्। यो हुलमुलमा आफ्नो भागमा एउटा फ्रि-किक झर्ने र आफैंले 'गोल' हान्ने दाऊमा मुख मिठ्याऊँदै गच्छजाल 'कोच'संग छुट्टै टयुशन लिँदैछन्।    
-----------
खेल जारी छ, तर यो खेल देशका लागि भारी छ!
-----------
यस्तो खेललाई रेड कार्ड!
Image Source: Click Here

June 15, 2010

केहि फुटबल जोकहरु

यो फुटबलको महौलमा गम्भिर कुराले तपाईँको मुड नबिगारौं, आज यताउता भेटिएका फुटबलकै जोकले रमाईलो गरौं।
---------------------------------------------------------------------
Reasons to become a referee

You love football, but can't quite understand the rules
You have the strange desire to run aimlessly around in the wind, rain and snow
You love the sound of verbal abuse
You find it hard to make decisions and whenever you do your always wrong

---------------------------------------------------------
Q. Why doesn't Pakistan have an international football team?
A. Because each time they get a corner, they open a shop. 
-----------------------------------------------------------
Definition of a good referee

1) Must be fair
2) Must be consistent
3) Must make correct judgements
4) Must be able to stay in control
5) Must award your team at least two penalties and give out two red cards to opposition players
------------------------------------------------

One Argentine and one Englishman were walking through a cemetery when they happened upon a tombstone that read:
"Here lies John Sweeney,
an English footballer and a good man."
So, Argentine asked the Englishman: "When the hell did they start putting two people in one grave?"

------------------------------------------------------‍-
यो तलको चाहिँ शायद मैले पढेको पहिलो फुटबल जोक हुनुपर्छ, 'हमजाएगाको डायरी' को कुनै भागमा पढेको। 

एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ ।
हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् ।

दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे;

"कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?"
"पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"
------------------------------------------------------------------------------------
हस् त यहाँहरु सबैको जय होस्! 
 

June 10, 2010

फुटबल 'कुम्भमेला'को याम


फूटबलको चारवर्षे 'कुम्भमेला' को अर्को संस्करण विश्वकप-२०१० फूटबलप्रेमीहरुको दैलैमा आईपुगिसकेको छ। आफूलाई यो एकमहिने 'पागलपन'को ठूलै 'शिकार' बनाउने निश्चय गरेको छु मैले पनि:) मलाई थाहा छ तपाईँले पनि त्यस्तै निश्चय गरिसक्नुभएको छ, अब तपाईँ फूटबलै नभएको अर्कै ग्रहबाट भर्खर आउनुभएको हो भने चाहिँ तपाईँको ठेक्का लिन सक्दिन, हे हे हे।

यो मेलामा भाग लिन नपाउने देशहरु थुप्रै छन्। हामी पनि त्यस्तै एउटा देशका अभागी हौं। हाम्रो देशले खेल्नसक्ने दिन चाँडै आउला जस्तो छैन, कुरुप राजनीतिक खेलको सेपमा परेर अरु सबै क्षेत्रजस्तै खेलकूद पनि टाक्सिएको छ। यति हुँदा-हुँदै पनि विशुद्ध फूटबलको 'मजा' लिनैपर्छ।

खेलकूद आफैंमा एउटा सुन्दर चिज हो, स्वस्थ जीवनको आवश्यकता हो, यसमा दुई मत छैन। खेलकूदका बिभिन्न विधाहरुमध्येको 'बादशाह' भने फूटबलनै हो भन्ने कुरामा कसैको विमति छैन होला। विमति हुनेले पनि यो विश्वकपको याममा त्यस्तो कुरा गरेर 'शत्रु बढाउने, मित्र घटाउने' काम नगर्नुहोला; विश्वकप-२०१० ले सृजना गरेको गर्मी नसकिऊञ्जेल, मने २०११ को फेब्रुअरीसम्म चूप लागेरै बस्नुहोला:))

अँ, कुरो 'महाबादशाह', 'महासम्राट' फुटबलको हुँदै थियो। फूटबल एउटा समग्र र सम्पूर्ण (perfect) विधा लाग्छ मलाई खेलकूदको। फूटबलमा शारीरिक क्षमताको जति आवश्यकता पर्छ, उत्तिकै आवश्यकता मानसिक क्षमताको पनि पर्छ। फूटबलमा एउटा खेलाडीको ब्यक्तिगत क्षमता जसरी स्पष्ट देखिन्छ, उसैगरी एउटा समूहको रुपमा मानवजातिले गर्नसक्ने समन्वय र समझदारी पनि उत्तिकै झल्किन्छ। यसैले मलाई त फूटबल खेल एउटा उच्चस्तरको कला लाग्छ।

फूटबल भनेपनि बल भनेपनि यो मोरोलाई चिनेको भने सानैबाट हो, भलै मोजामा पराल, कपडाका टुक्रा कोचेर बनेको होस् वा ज्यान लिन नपाउँदै झरेको भोगटे होस्। गाऊँका चउरमा फूटबल खुब खेलिन्थे त्यो ताका, तर लिखुरे र डरपोक भएकाले खासै मौका पाईन्थेन आफूले। पछि बिस्तारै फूटबल खेल्ने सपना देख्न छोडियो र हेर्ने मात्र भईयो। मेरो अनुभव पूरै सत्य नहुनसक्छ तर मलाई के लाग्छ भने पञ्चायत कालमा फूटबल खेलहरु (र समग्र खेलकूद गतिबिधि) अहिलेभन्दा धेरै हुन्थे। टिभी मान्छेको कल्पनामा पनि पसिसकेको थिएन त्यसताका, रेडियोको 'प्रत्यक्ष प्रसारण' खुब सुनिन्थ्यो। श्रीराम रञ्जितकार, वाइ. बी. घले, रुपकराज शर्मा जस्ता त्यो बेलाका नेपाली फूटबल सिताराहरुको नाम सुन्दा पनि गज्जबको तरंग मनमा दौडिने बाल्यकाल थियो त्यो।

विश्वकपको बारेमा मैले सबैभन्दा पहिला कहिले थाहा पाएँ, याद छैन तर १९८६ को विश्वकपपछि म्याराडोनाको बारेमा लेखिएको एउटा लेख पढेको याद छ, गोरखापत्रमा हो कि मधुपर्कमा हो (साहित्यिक पत्रिका भएपनि त्यो ताका मधुपर्कको अन्तिम पृष्ठहरुतिर कतै खेलकूदसम्बन्धी छोटा चर्चा हुनेगर्थे)। त्यो लेखको अन्त्यमा पेले र म्याराडोनालाई दाँजेर यस्तो निष्कर्ष दिईएको छ; "फूटबल जगतमा पेले एक कोशेढुंगा हुन् भने म्याराडोना त्यो कोशेढुंगालाई नाघ्न खोज्ने 'डार्क हर्स'"।

विश्वकपका खेलहरु हेर्ने सौभाग्य भने १९९० बाट मिल्यो। श्यामश्वेत टिभीहरु सामान्य हुन थालेका थिए गाऊँमा त्यो ताका। १९९० मा म्याराडोना विवादित हुन थालिसकेका थिए र उनमा पहिलाको जस्तो धार पनि बाँकी थिएन। च्याम्पियन अर्जेण्टिनालाई हराएर क्यामेरुन चर्चित बनेको थियो। अर्जेण्टिनाका क्यानिजिया खुब मन परेका थिए मलाई। अर्जेण्टिना र जर्मनी बीचको फाइनल भने निरस थियो, एउटा पेनाल्टी गोलले जर्मनीले जितेको थियो।

१९९४ मा नाईजेरियाले इटालीलाई झण्डै प्रि-क्वार्टरफाईनलबाटै घर फर्काईदिएको थियो, रोबर्टो बाज्जियोले खेलको नियमित समय सकिने बेलामा गरेको एउटा low angle shot गोलले समय थपेको थियो र थप समयमा पनि (जहाँसम्म लाग्छ) बाज्जियोलेनै अर्को गोल थपेका थिए। इटाली पछि फाईनलसम्म पगेर ब्राजिलसंग पेनाल्टी शूटआउटमा पराजित भयो। त्यो शूटआउटमा बाज्जियोले पनि मिस गरेका थिए। 

१९९४ मा अर्का चर्चित खेलाडी बुल्गेरियाका स्टोईच्कोभ थिए। बुल्गेरियाली टिम त्यो बेला जर्मनीलाई क्वार्टरफाईनल (?) मा हराएर चर्चित भएको थियो। पछि मैले एउटा पत्रिकामा पढेको थिएँ, त्यो जितले बुल्गेरियामा यति गौरबवोधको सृजना ग-यो रे कि बुल्गेरियामा केहि समय चोरी र अपराधनै घट्यो रे। खेलका हिसाबले सबैभन्दा रोमाञ्चक चाहिँ ब्राजिल र हल्याण्डबीचको क्वार्टरफाईनल थियो जसमा ब्राजिल ३-२ ले विजयी भएको थियो।

१९९४ पछि विश्वकपको जादूमा परेर म पनि फुटबल खेल्न थालें। त्यसपछिका केहि वर्ष निकै खेलियो फूटबल।

१९९८ जिदान, रोनाल्डो आदिको समय थियो। इङ्ग्ल्याण्ड र अर्जेण्टिनाको खेलमा माइकल ओवेन उदाएका थिए, दुनियाँलाई प्रभावित पार्ने गरी। रेड कार्ड खाएर १० कि ९ जनामा सीमित भईसकेको इङ्ग्ल्याण्डले खेल जित्न भने जितेन तर एउटा स्मरणीय खेल थियो त्यो। २००२, २००६ मा ब्राजिलका रोनाल्डिन्होको जादू देखेपछि त मलाई रोनालडिन्होको बारेमा एउटा कवितानै लेखौं जस्तो लागेको थियो:) रोनाल्डिन्होले ड्रिबल गर्दै बल अगाडि बढाईरहेको देख्दा/सम्झिँदा जहिले पनि मलाई गड्गडाऊँदै अघि बढीरहेको एउटा पहाडी खोलाको याद आऊँछ। फूटबल एउटा कला, एउटा काब्य हो भन्ने कुराको प्रमाण यहि होला शायद:)

यसपालिका नायकहरु को हुने होलान्, रोमाञ्चक प्रतीक्षा छ यो। पहिला-पहिला लिग फूटबल खुब हेरिन्थ्यो र खेलाडीहरुको बारेमा धेरै थाहा हुन्थ्यो, अचेल हेर्ने मेसो मिल्दैन त्यसैले खासै थाहा छैन। कलात्मक ल्याटिन अमेरिकी फूटबल मन पर्ने त छँदैछ, मलाई इङ्ग्ल्याण्डको 'आक्रामक' शैलीको फूटबल पनि असाध्यै मन पर्छ। 

अनि पक्ष कसको, कुन देशको लिने नि? 

फूटबल भनेको "जल्ले गोल हान्यो, उसैले जान्यो-कप तान्यो!" भन्ने सिद्धान्तको खेल भएकाले म चाहिँ जित्नेकै पक्षमा हात धोएर लाग्ने भएँ:)) तपाईँ नि?

June 04, 2010

आधुनिक जापानको इतिहास


यो मैले हालसालै भ्याएको किताबको शीर्षक, मेरो जागिरे दैनिक यात्राको अर्को बाली:)

केहि समय अघि मात्रै "जापान:प्राग्इतिहादेखि आधुनिक कालसम्म" नाम गरेको यस्तै विषयको किताबका बारेमा लेखेपनि फेरि उहि कुरा गर्न लागेकोमा माफी चाहन्छु।

अघिल्लो किताब भ्याएपछि मैले चेखोभका केहि कथाहरुको संग्रह A Woman's Kingdom and Other Stories शुरु गरेको थिएँ। त्यो आधी जति पढेपछि, राम्रो लाग्दा-लाग्दै पनि, साहित्यइतर विषयका केहि किताब पहिला पढ्ने विचारले त्यसलाई फिर्ता गरेर अरु किताब खोज्न थालें। खासमा म कुनै नयाँ शहर बसाऊने-योजना गर्ने वा कुनै पूरानो शहरको योजनाबद्ध पुनर्निर्माण गर्ने कुरासंग सम्बन्धित केहि पढ्न चाहन्थेँ। त्यो विषयको प्राविधिक पक्ष होईन, फरक क्षेत्रको विद्यार्थी भएकोले मैले त्यति बुझ्ने कुरो पनि भएन, म शहरको निर्माण-पुनर्निर्माणको दार्शनिक र सौन्दर्यशास्त्रीय धारणाहरु पढ्न चाहन्थें। त्यस्तो किताब भेटिएन, तर त्यहि क्रममा यसमा आँखा लाग्यो। यो जापानको १८६८ पछिको इतिहासमा केन्द्रित रहेछ। 

जापानमा औपचारिक रुपमा शोगुनतन्त्र (र त्यससंगै सामन्तवादी सामजिक/आर्थिक/राजनीतिक प्रणाली) समाप्त भएको सन् १८६८ को वर्षबाट यताको समयलाई जापानको आधुनिक काल मानिन्छ। यो पुस्तकमा सन् १८५० पछिको कालखण्डलाई बिस्तृत रुपमा केलाईएको छ, साथमा त्यो भन्दा पहिलाको समग्र जापानी इतिहासलाई पनि पुस्तकको प्रारम्भिक अंशमा संक्षिप्त तर सारपूर्ण रुपमा चर्चा गरिएको छ।

अहिले फेरि एकचोटि जापानको इतिहासको बारेमा लेख्ने विचार होईन मेरो, यो किताब पनि मन परेकोले थोरै चर्चा गर्ने जमर्कोमात्रै हो। जापानको बारेमा रुचि भएका र किताब खोजिरहेका साथीहरुलाई एउटा सन्दर्भ-सामाग्री होला यो भन्ने आशा छ मेरो। फेरि आफूले पढेको किताबको अभिलेख ब्लगमा राख्नुपनि राम्रै काम हो। 

इतिहासकार Richard Storry ज्यूको प्राज्ञिक जीवन जापानमै शुरु भएको र धेरै जापानमै बितेको रहेछ। यसैलेनै होला, उहाँको लेखनमा प्रष्ट आत्मविश्वाश झल्किन्छ। वर्णित ऐतिहासिक घटनाक्रमहरु अघिल्लोमा जस्तै छन्, दुबै किताबको शैली पनि उस्तै लाग्यो मलाई। तर "आधुनिक जापानको इतिहास" मा घटनाक्रमहरुलाई, समय लिएर मीहिन रुपमा केलाईएको छ। जापानी समाजका परीवर्तन, राजनीतिक उथलपुथल र संकटहरुलाई आफ्नै आँखा अगाडि देखिरहेझैं लाग्ने गरी पेश गरिएको छ। बिभिन्न कालखण्डका प्रभावशाली ब्यक्तिहरुका स्वभावका सकारात्मक-नकारात्मक पक्षहरुको पनि ब्यापक चिरफार गरिएको छ। 

किताब सन् १९६० ताकाको एउटा काल्पनिक जापानी परिवारको बेलुकीको खानापछिको दृश्यबाट शुरु हुन्छ। परिवारमा हजुरआमा, आमा, बाऊ, छोरा र छोरी छन् र तिनको मानसिकतामा देखिने भिन्नताको चर्चा गरिएको छ। दोश्रो विश्वयुद्ध र अझ पहिलो विश्वयुद्धभन्दा पनि पहिलाको जापान सम्झेर बस्ने हजुरआमा, दोश्रो विश्वयुद्धको विभिषिकापछि जापान बनाएको मेहेनती कर्मवीर बाऊ, सामजिक-राजनीतिक रुपमा आफ्नो लोग्नेभन्दा धेरै उदार आमा, मार्क्सवादी चिन्तनको प्रभाव परेको छोरो र पप-संस्कृतिमा रमाएकी छोरी- यिनीहरु बीचको वैचारिक द्वन्द्वलाई तत्कालीन जापानी समाजको प्रतिविम्बको रुपमा देखाईएको छ र त्यसको पृष्ठभूमिका रुपमा जापानी इतिहासको अध्ययन गरिएको छ। किताबको पहिलो संस्करण १९६० मा निक्लेकाले बढी चर्चा त्यतिबेलासम्मकै छ, तर पछिका संस्करणहरुमा संक्षिप्तनै भएपनि त्यसपछिका घटनाक्रमहरुलाई पनि समेटिएको छ। मेरो हातमा परेको सन् १९८२ को पाचौँ संस्करण हो। 

किताबभित्रैबाट केहि झलकहरु अब।

१) पृष्ठ ३१ मा, जापान र जापानीहरुको मूल चरित्रलाई परिभाषित गर्ने क्रममा Storry ज्यू लेख्नुहुन्छ;

 "---we can perceive that characteristics of the Japanese that has been active whenever they have been brought into contact with a civilization differing from their own; namely a quite indefatigable curiosity, a passion to learn, and an aptitude for choosing, borrowing, adapting, and 'japanizing' foreign ideas and techniques." जापानको विशेषता र जापानको आधुनिक सफलताको रहस्य पनि यहि हो। 

२) माथि १ मा उल्लेख गरिएको अवधारणाकै आधारमा उन्नाईसौं शताब्दीको चीनसंग तत्कालीन जापानको तुलना गरिएको छ एक ठाऊँमा। चीन सजिलै पश्चिमीहरुको दबदबामुनि पुग्यो, जापान भने १८६८ पछिको दुई दशकमै पश्चिमी शक्तिहरुलाई चुनौती दिनसक्ने भयो, जापानीहरुको अरुबाट निरन्तर सिक्ने र अरुभन्दा दक्ष भएर निक्लने तत्परतालाईनै यो भिन्नताको कारण भनिएको छ। 

"---The nervous, hearty gathering of foreigners who formed the merchant community of Yokohama, and later Kobe, was watched and studied by the Japanese with eyes that might be hostile or envious or admiring, but which were invariably alive with curiosity. Form among the Japanese there has never been the disdainful indifference that has often characterized the Chinese attitude towards foreigners. The Japanese have never been too proud to learn."

३) आधुनिक जापानको सबैभन्दा ठूलो गल्ती दोश्रो विश्वयुद्धमा होमिनुलाई देखाईएको छ। यसको कारणको रुपमा १९२० तिरबाट शुरु भएको जापानी समाजको सैनिकीकरण र राजनीतिमा सेनाको चरम हस्तक्षेपलाई लिईएको छ। १९३० को दशकको मध्यदेखि जापानले दोश्रो विश्वयुद्धमा आत्समर्पण गरुञ्जेलसम्म जापानमा वास्तवमा सैनिक-शाशन थियो। जापानी नश्लवाद र सम्राटको नाममा सैन्य-नेतृत्वले देश चलाएको थियो।

"The Pacific War" शीर्षकको अन्त्यमा Storry ज्यू लेख्नुहुन्छ;

"So ended a war of peculiar savagery. Japan would never have entered it had the armed forces kept out of politics, or, failing this, if the army had been content to allow the Foreign Ministry - its quality was impressive - unimpeded control of the handling of Japan's relations with China and the west during the 1930s. ------ Thoughtful, imaginative, politically gifted, and sophisticated officers were overshadowed, therefore, by narrow-minded bigots, prisoners of their own neo-samurai mntality. These men, it must be said, brought the good name of Japan into disrepute throughout Asia; and they very nearly destroyed for ever the monarchy and the state they were pledged to serve." 

४) लडाईँमा निरन्तर हार बेहोरिसक्दा र जनताको जीवन असहनीय कष्टकर भईसक्दा पनि सैन्य-नेतृत्व आत्समर्पण नगर्ने मनस्थितिमा थियो। उनीहरु, अमेरिकीहरु जापानी भूमिभित्रै पसेपछि पनि लडिरहने मनस्थितिमा थिए। १९४५, अगष्ट ६ मा अमेरिकाले हिरोशिमामा अणुबम खसालिसकेपछि पनि लडाईँको बारेमा जापानको तत्कालीन सैन्य-नेतृत्वले देखाएको अन्यमनस्कता र जापानी जनताको कष्टप्रतिको संवेदनहीनता देख्दा छक्क पर्छ जो कोहि पनि। अगष्ट ९ मा नागासाकीमा अर्को अणुबम खसिसकेपछि पनि लडाईँ जारी राख्ने मनस्थितिमा थियो सैन्य-नेतृत्व। तत्कालीन जापानी सम्राट हिरोहितोको हस्तक्षेपपछिमात्रै युद्धअन्त्य सम्भव भएको रहेछ। विनाशर्त आत्मसमर्पण गर्ने निर्णय १४ अगष्टको राति गरिएको रहेछ र निर्णयसंगै सम्राटले जापानी जनताको नाममा सन्देश रेकर्ड गराएका रहेछन्, भोलिपल्ट रेडियोमा बजाउनका लागि। रेकर्ड बजाईनुअगाडिका १२ घण्टामा सेनाभित्रको लडाईँ अन्त्य गर्न नचाहने एउटा सानो समूहले विद्रोहको असफल प्रयास समेत गरेको रहेछ। उक्त समूहले दरबार घेरेर उक्त रेकर्ड खोजेपनि भेट्न भने सकेनछ। त्यो समूह सम्राटले रेकर्ड गरेको सन्देश नष्ट गर्न र आवश्यक परे सम्राटका नाममा सम्राटलाईनै 'सिध्याएर' भएपनि युद्ध जारी राख्ने योजनामा रहेछ। 
 
५) दोश्रो विश्वयुद्धमा पूरै जापान अमेरिकी बमवर्षाले ध्वस्त भएको थियो, तर एउटा प्रमुख शहर क्योटोलाई भने बमबारीले बिल्कुलै छोएको थिएन। छ वर्ष पहिला क्योटो घुम्न जाँदा हाम्रा निमन्त्रक जापानी बाट पहिलो पटक सुनेको थिएँ मैले यो कुरा। संयोग मात्रै होला भन्ने ठानियो त्यतिखेर र अरु कारण सोध्नेतिर लागिएन। मनको एउटा कुनामा भने क्योटोमा भएका धेरै बौद्ध-मन्दिरहरुको रहस्यमय 'आध्यात्मिक' प्रभाव पनि हुनसक्छ भन्ने विचारले घर बनाएको थियो त्यतिखेर। यो पुस्तकमा पनि त्यो प्रसंग छ। क्योटो जोगिनुमा बोष्टोन म्युजियमका क्युरेटरको हात रहेको मानिँदो रहेछ। त्यो प्रसंगका बारेमा किताबबाटै अलिकति लेखौं;

"----Forty percent of the built-up area of more than sixty cities and towns was destroyed----presented the spectacle of charred wood and ashes with scarcely a building standing. ----Among the largest cities only Kyoto was untouched-thanks, so it was said, to persistent representations in Washington by the Curator of the Boston Museum of Fine Arts." 

विकिपेडियामा भने तत्कालीन अमेरिकी युद्ध मन्त्री (Secretary of War) Henry L. Stimson लाई दिईएको छ क्योटो जोगाउने श्रेय। दुबै सही पनि हुनसक्छ, बोष्टोन म्युजियमका क्युरेटरबाट क्योटोका बारेमा जानेका हुनसक्छन् ती युद्ध मन्त्रीले। जसका कारण यो निर्णय सम्भव भयो, ती धन्यबादका पात्र हुन्। क्योटो शहर सधैंभरिका लागि जोगाईराख्नुपर्ने, मानवजातिको अमूल्य सम्पदा हो।

६) र अन्त्यमा Storry ज्यूले जापानी चरित्रको बारेमा दिनुभएको संक्षिप्त तर सूक्ष्म र सटीक विश्लेषण;

"---For all their formalism they are an exceedingly competitive people. They make loyal friends, as staunch as any in the world, tireless rivals and determined enemies. With bouts of intense and, at times, quixotic sentimentality they combine an emotional realism that makes them resemble the French perhaps more than any other European race; and indeed France has long enjoyed a peculiarly high reputation among the Japanese. This has been the result, it must be said, of French excellence in the arts.

-----The appreciation of beauty, both in nature and in art, is a fundamental ingredient of Japanese character.

----Irrepressible vitality and an instinctive love of beauty form the basic constituents of the Japanese character and are among its most admirable traits. Possessing these this race has much to give the world."


विश्वयुद्धको अन्त्यपछि जापान केहि वर्ष अमेरिकी अधीनमा रह्यो। अमेरिकाले जापानलाई उपनिवेशको रुपमा भन्दा पनि एउटा स्वतन्त्र र बलियो पूँजीवादी प्रजातन्त्रको रुपमा विकास हुने बाटोतिर तान्यो। चीन र उत्तर कोरीयामा साम्यवादी सत्ताको स्थापना भईसकको र पूरै एशियामा पनि साम्यवादी प्रभाव फैलिरहेको अवश्थामा अमेरिकाका सामु यहिनै सबैभन्दा राम्रो विकल्प थियो, जापानलाई आफ्नो भरपर्दो मित्रको रुपमा स्थापित गर्ने।
 
किताबको अन्त्यमा Storry ज्यू फेरि त्यहि काल्पनिक सातो परिवारतिर फर्किनुहुन्छ र उनीहरुका माध्यमबाट जापानको विश्लेषण गर्नुहुन्छ। द्रुत आर्थिक विकास, परम्परा र आधुनिकताको द्वन्द्व, साम्यवादीहरुका केहि असफल गतिबिधि/आन्दोलनहरु, टोकियो ओलम्पिक र ओसाका एक्स्पोले जापानीहरुमा जन्माएको गौरवभाव आदिलाई त्यहि सातो परिवारको मानसिकताको आधारमा चर्चा गरिएको छ।
-----------------------------------------------------------
यो (र अघिल्लो पनि) किताबबाट म एकदम प्रभावित भएको छु। विना कुनै पूर्वाग्रह लेखिएको एउटा इतिहासको पुस्तक पढ्नुजति रोमाञ्चक अरु केहि पढ्नु हुँदैन जस्तो लाग्न थालेको छ मलाई अचेल।  

यो पुस्तकको अर्को सकारात्मक पक्ष भनेको सन्दर्भ-स्रोतहरु प्रशस्त दिईएका छन् हरेक खण्डमा। किताबको अन्त्यमा जापानको बारेमा लेखिएका अंग्रेजी किताबहरुको १० पेज लामो सूचि पनि दिईएको छ। त्यहि सूचिबाट छानेर A Short Economic History of Modern Japan भन्ने अर्को किताबको 'बाली' पकाउन पनि शुरु गरेको छु, मेसो परे त्यस बारेमा पनि केहि लेखौंला पछि।

शुभ सप्ताहान्त! सबैको जय होस्!