एमालेको जापानस्थित भातृ-संगठन 'नेकपा-एमाले प्रवास कमिटि'को नागोया शाखाले अस्ति आइतबार एउटा जलपान कार्यक्रमको आयोजना गरेको थियो, नेपालमा एमालेको नेतृत्वमा सरकार बनेको उपलक्षमा। त्यसलाई एउटा विचार-गोष्ठीको रुप पनि दिईएको थियो।
-------------------------------------------------------------------------------
एमालेको कुरा गर्दा यसलाई सबैभन्दा बढी लाग्ने दोष भनेको यो ढुलमुले छ र यसको केहिमा पनि स्पष्ट अडान छैन भन्ने हो। मध्यमार्गी राजनीतिका कतिपय बाध्यताहरु हुन्छन् त्यो सत्य हो तर एमालेले वास्तवमै आफूलाई परिभाषित गर्न नसकेको अथवा जनताको माझमा आफ्नो नीतिलाई स्पष्ट राख्न नसकेको भने अवश्य हो।
२०४६ सालपछिको लामो अवधिमा यो प्रायश: प्रतिपक्षमै रह्यो। सत्तामा रहेको कांग्रेस सत्तामा रहेर भ्रष्ट भयो र बिग्रियो। एमाले सत्तामा थिएन तर यो प्रतिपक्षमा रहेर, सत्ता बाहिरै रहेर पनि भ्रष्ट भयो र बिग्रियो। यसले बिग्रने र पत्रु बन्ने कुरामा कांग्रेससंग प्रतिस्पर्धा ग-यो। यसरी यसले आफूलाई कांग्रेसको सहि विकल्पको रुपमा उभ्याउनै सकेन। जनताको नजरमा यो कांग्रेसको विकल्प होईन, भाइ-कांग्रेसको रुपमा चिनियो। जनताले 'कांग्रेस-एमालेजस्तो भ्रष्ट' भन्न थाले र विकल्पमा अरुनै कोहि उदायो।
अलिक पछि आएर एमालेले कांग्रेससंगको प्रतिशोधलाईनै आफ्नो राजनीति बनायो। गिरिजा एण्ड कम्पनीले बेला-बेलामा एमालेलाई थाङ्ग्नामा नसुताएको होईन तर त्यहि रिसमा यसले कहिले पञ्चलाई प्रधानमन्त्री बनाएर सरकारमा गयो, कहिले दरबारमा निवेदन हाल्न गयो, तपाईँहरुलाई थाहै छ।
केहि समय यताको शान्ति-प्रकृयामा यसको भूमिकाको भने सबैले सराहना गरेका छन्।
संविधान-सभाको चुनावमा गोल्खाडी भएपछि एमाले कति चेतेको र भविष्यका लागि कस्ता योजना छन्, त्यो उनीहरुलाई नै थाहा होला।
मैले माथिनै भनिसकें, दुई अतिवादको बीचमा रहेर राजनीति गर्नु गाह्रो काम हो। राम्रो र प्रभावशाली नेतृत्व हुँदा यस्तो राजनीतिले देशको लागि सबैभन्दा बढी काम गर्न सक्छ, तर गलत वा असलै भएपनि अप्रभावी नेतृत्व हुँदा कुनै तरंग ल्याउन सक्दैन र भूमिकाहीन भएर सुक्दै जान्छ। एमाले यसकारण अहिले अवसर र संकटको अन्तिम दोसाँधमा उभिएको छ।
----------------------------------------------------------------------
विचार-गोष्ठीमा हामी केहिले आफ्ना मन्तब्य राखेका थियौं। म 'निर्दलीय' मान्छे, मैले पनि त्यहाँ बोल्नु पर्ला भन्ने सोचेको थिईँन। साथीहरुले 'नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्र'को पूर्व अध्यक्षको रुपमा भएपनि बोल्ने अनूरोध गरे। ('नागरिक समाज' बनिसकेछु म त:) हे हे हे!)
संविधान निर्माण एउटा प्रमुख प्राथमिकता हुँदै हो सरकारको तर देशभरि ब्याप्त हत्या-हिंसा, अराजकता र दण्डहीनतालाई बेलैमा लगाम लगाईएन भने संविधान बने पनि नबने पनि हाम्रो देश एउटा गम्भिर दुष्चक्रमा फँस्ने निश्चित छ। नेताहरु र दलहरुमा देशको माया कति छ भन्ने कुरा यो जटिल परिश्थितिमा ब्यक्तिगत र दलीय स्वार्थबाट को कत्तिको माथि उठ्छ भन्ने कुराले देखाउनेछ। हामीले दिएका सुझाव यस्तै थिए। हाम्रा सुझाव देश चलाउनेका कानसम्म पुग्लान्-नपुग्लान्, त्यो बेग्लै कुरो हो।
एउटा सामान्य नेपालीले अहिले सबैभन्दा पहिला चाहेको भनेको शान्ति-सुरक्षानै हो। यसको अगाडि सँविधान निर्माण पनि गौण बन्न जान्छ। एउटा जिऊँदो-जाग्दो र सभ्य समाज बनाउन सकेनौं हामीले भने, लोकतान्त्रिक संस्कारलाई हाम्रो चिन्तन र ब्यबहारमा स्थापित गर्न सकेनौं हामीले भने, जति राम्रो संविधान लेखिए पनि त्यो खोष्टो सरह हुनेछ। समाज सभ्य छ भने संविधानका बुँदा पनि तपसील बन्न जान्छन्। बेलायतजस्तो एक हिसाबले लिखित संविधाननै नभएको देश यो संसारको आधुनिक लोकतन्त्रको जननी हो। मलाई त अचेल यो गणतन्त्र, संघीयता सब तपसीलका कुरा लाग्न थालेका छन। राजतन्त्र भएरै पनि यूरोपका त्यति धेरै देशहरु र जापान माथि पुगेकै छन्, ती मध्ये धेरै देश संघीय पनि होईनन्। कुनै पनि तन्त्रभन्दा महत्वपूर्ण कुरा संस्कार हो।
एमालेलाई दिईएको अर्को सुझाव गर्नु पर्ने कामहरुको सहि प्राथमिकता निर्धारण र सहमतीय निर्णय थियो। माओवादीको सरकार ढलेको एउटा प्रमुख कारण उसको गलत प्राथमिकता निर्धारण हो। अर्को कारण दुई तिहाई बहुमत भएझैंको उसको दम्भ र गठबन्धनको सरकारलाई आफ्नो पार्टी सचिवालयको आदेशका भरमा चलाउन खोज्ने हठ हो। एकजना साथीले राम्रो उदाहरण दिनुभएको थियो। बाटो सजिलो हुँदा मान्छे (दल) मात्तिने संभावना बढी हुन्छ र मात्तिएपछि ऊ लड्छ। तर बाटो अप्ठेरो छ भने मान्छे होशियार भएर हिँड्छ र नलडी बाटो पार गर्ने सम्भावना धेरै हुन्छ। साथीले 'माओवादी पात-पातमा नाचेर हिँड्न खोज्नाले लडेको हो!' भन्दा अलिक हाँसो पनि गुञ्जेको थियो। तर यथार्थ त्यहि हो।
June 23, 2009
एउटा राजनीतिक 'जलपान'मा
Labels:
जापानमा नेपाली,
समसामयिक
Subscribe to:
Post Comments (Atom)
हाम्रा नेताहरुले हाम्रो सुझाब सुन्ने भइदिएको भये देशको यो गति पकै पनि हुने थिएन।
ReplyDeleteनेताहरु र दलहरुमा देशको माया कति छ भन्ने कुरा यो जटिल परिस्थितिमा ब्यक्तिगत र दलीय स्वार्थबाट को कत्तिको माथि उठ्छ भन्ने कुराले देखाउनेछ भन्ने कुरा एकदमै चित्त बुझ्दो लाग्यो (भलै अहिले सम्म कुनै नेताबाट पनि यसको संकेत मिलेको छेन)
ReplyDeleteविश्वकै उत्कृष्ट शासन पद्दती र राजनैतीक व्यबस्था पनि 'असफल' हुन लागेको दखेपछी सबैलाई अनुभब भएकै हो, हाम्रो पछौटेपन र नाकामीमा हाम्रै नेता र दलहरुका कू-संस्कार प्रमुख छन ।
आफु पनि पूर्णतया निर्दलीय (फेरी पञ्चे र मण्डलेको बात नलागोस है:), भएकोले कुन दल वा को मान्छे भन्दा पनि देशको भलो गर्ने मान्छे जो भएपनि समर्थन गर्ने स्थितिमा छु ।
देशमा शान्ती र स्थिरता आओस ... एबमस्तु !!
कुरा गर्यो कुरैको दु:ख.. शायद बिषयन्तर होला कङ्रेस्स मा रामचन्द्र ले जितेको मा मलाई पनि मजा लागिराछ.. अनी अर्को कुरा एमाले कङ्रेस्स मा बहुन नेताहरु धेरै भये तेस्को फाईदा माओवादी ले लिदैछ
ReplyDeleteनेपालमा लोकतन्त्र आए पनि, गणतन्त्र आएपनी केही हुने छाट्काट देखिदैन, जब सम्म नेपाली नेताहरु मा कुनै संस्कार नै हुँदैन
ReplyDeleteढुलमुले, दोधारेपन र अस्पष्टताले कतिको हानी गर्छ भन्ने कुरा अहिले सम्म उसले बुझिसकेको हुनुपर्छ, अब उसले हिड्ने बाटो, लिने निर्णयहरु र कार्यक्रम -स्पष्ट, विवेकपूर्ण र दिशानिर्दिष्ट होस् -यति भन्छु ।
ReplyDelete'माओवादी पात-पातमा नाचेर हिड्न खोज्नाले लडेको हो' भन्ने वाक्यांश मलाइ पनि सही लागे, अब पात पातमा हिड्ने ओभर कन्फ़िडेंस त कहा होला र यिनका ? दरिलो हाँगा चिन्ने र समाउने आत्मविश्वाश सम्म उमार्न सकेन भनेपनि पारा उही हो, "गोल्खाडी" भन्ने विनाशकारी शव्द फेरी सम्झिए हुन्छ ।
हो अब एमालेको हातमा धेरै चुनौति र अवसरहरु पनि छन । यदि अब पनि पहिले जस्तै ढुलिमुलि र कछुवाको चालमा हिडने हो भने यो पनि गोल्खाडी नै हुनेछ । अवसरको सहि सदुपयोग गरेर बिगतका कमि-कमजोरिहरुलाई ढाक्न सक्ने हो भने मात्रै उभो लाग्ला नत्रभने पतित हुनेछ
ReplyDeleteहुन त गिरिजा एण्ड कम्पनिको सहारामा बनेको सरकार के गर्न देलान राम्रो काम, मलाई त शंकै लाग्छ ।
जे होस बसन्त जी ले पनि कार्यक्रममा सहभागिता जनाएर सुझावका शब्दहरुको आदान प्रदान गर्न पाउनु भएकोमा खुसि लाग्यो ।
कङ्ग्रेसपछि एमालेको चिरफारको क्रममा भाइ कङ्ग्रेसको नाम गजब खुलेको चिनारी लाग्यो । जबसम्म नेताहरू दलका मात्र रहन्छन् देशका हुँदैनन् र देश उनीहरूको हुँदैन तबसम्म नेपालको दिन सुध्रिँदैन । सत्तामा गएको एमाले र निकै नराम्ररी बल्ड्याङ खाएर चेतबाबा भएका माधव नेपाल देशको कार्यकारी तहको शीर्ष स्थानमा पुगेका बेला पनि हामी देशका हौँ भन्ने भावनाले काम गरेनन् भने बलियो विकल्पको रूपमा कहिल्यै नदेखिएको एमाले शून्य भएर हराउनेछ । आजको जस्तो देशमा चौतर्फी विकरालको घडी कहिल्यै थिएन पनि, सामाजिक-राजनीतिक र सांस्कृतिक हरेक रूपमा । तर एमालेलाई मात्र कुम्लो बोकाएर 'लौ हेरूँ के गर्दो रहेछस्' भनेर छाड्ने अरू गुट-उपगुटीय चरित्र देशका नम्बर एक शत्रु हुनेछन् । सबै मिलेर जानुमा नै भलाइ छ देशको । देशको लडाइँमा पार्टीविशेषको नाममा एकले अर्कोलाई लत्याउने र दोस्ने कामले खाडल-यात्रा जारी नै रहनेछ । तपाईँको विस्श्लषण फरक-फरक रूपर स्रोतबाट उनीहरूसम्म पुगिरहेकै होला । आशा गरौँ ।
ReplyDeleteसबैलाई धन्यबाद! हाम्रा कुरा, हाम्रा चिन्ता सम्बन्धितका कानमा पुगुन् र एमाले मात्रै होईन सबै दलले ठिक बाटो समातुन्। सहमतीय राजनीतिविना दलहरु न देशभित्रका समस्याहरु हल गर्न सक्षम हुनेछन्, न देश बाहिर बाट आउने चुनौतीलाई झेल्न सक्नेछन्। यो बाटोमा देशलाई लानको लागि सरकारको नेतृत्व गरिरहेको दलको रुपमा एमाले बाट अझ धेरै त्याग र विनम्रताको आवश्यकता हुन्छ।
ReplyDelete