त्यसको एकछिनपछि हामीलाई भान्छाघरतिर लगियो। स्थानीय रक्सी र केहि खानेकुराहरु थिए। त्यस्तो विशेष केहि थिएन, सामान्य थिए परिकारहरु। शाकाहारी भएकाले मलाई भने अलि-अलि अप्ठेरै भयो, म भुटेको (तारेको) कालो बोडी बढी खानेमा परें। उकालो लाग्नु अगाडि खैरेनीटारमै किनेको स्याऊ पनि थियो अलिकति। समूहका अर्का एक सदस्यचाहिँ अरु बेला मासु खाए पनि रक्सीसंग भने मासु नखाने हुनुहुँदोरहेछ। त्यसैले हाम्रो जोडी मिल्यो:)
लोड-शेडिङ्ग रहेछ त्यो दिन। हामीले खाना खान थाल्दा-नथाल्दै भयंकर हुरीसंगै पानी बर्सिन पनि शुरु भयो। आधा घण्टाजतिमा रोकियो र एकछिनमा बत्ती पनि आयो। खानासंगै अलिअलि नाचगान पनि शुरु भएको थियो। वर्षायाम भएकोले सबै खेतीपातीमा ब्यस्त हुँदा साँस्कृतिक तयारी त्यति हुन नसकेको कुराको जानकारी गराउँदै हुनुहुन्थ्यो नन्द सर। हाम्रो समूह पनि सानै थियो, फेरि समूहका सबै नेपालीमात्रै। यो कारण पनि हुनसक्छ त्यति उत्साहित माहौल नदेखिनुमा। जे होस् रमाईलै भयो भन्नुपर्छ समग्रमा। दोहरी निकै रन्कियो एक छिन्। हाम्रो समूहका शिव सर खप्पीस हुनुहुँदोरहेछ दोहरीमा। उहाँको गायकीको बारेमा थाहा थियो, तर दोहरीमा पनि पोख्त हुनुहुन्छ भन्ने चाहिँ थाहा थिएन। बाँकी हामी अरुको काम भनेको थप्पडी बजाउने र नाच्नेमात्रै भयो। खाना खाईसकेपछि एकछिन स्थानीय कौडा नृत्य पनि हेर्ने अवसर पाईयो।
दोहरीको स्थानीय टिम
नृत्यमग्न क्षणहरु
कौडा गाऊँदै स्थानीयहरु
कार्यक्रमको बीचतिर फिट्टान भएर ढल्पलिँदै एकजना युवा आईपुगे र उफ्री-उफ्री नाच्न थाले। ती बेला-बेलामा "तिमी टाढा, मैपनि टाढा; माछी काँडे डाँडैमा घर सार" भाकाको फर्माईश पनि गरीरहेका थिए। चालढालले ती भाइ स्थानीय होईनन् भन्ने सहजै थाहा हुन्थ्यो। उनी जुम्लाका रहेछन्। नेपाली सेनाका जवान ती भाइ यतिखेर भने दगामको छेवैको अर्को डाँडाको टुप्पोमा रहेको दूरसञ्चारको टावरको रक्षार्थ खटिएका रहेछन्।
तिनको चुरीफुरी 'साह्रै' भएपछि हामीमध्येकै एकजना साथी पोखराको फूलबारी ब्यारेकको क्याप्टेन बन्नुभयो। अर्को एकजना साथी ती भाइका गणपतिका साथी बन्नुभयो र आफ्नो गणपति 'साथी'संग मोबाईलमा 'कुरा गर्न' थाल्नुभयो। क्याप्टेनलाई नजिकै देखेपछि र गणपतिका कुरा सुनेपछि जुम्ली भाइलाई रक्सीले छोडेजस्तो भयो, ती त्यसपछि शान्त भएर एक छेऊमा बसे। भोलिपल्ट बिहानै हामी नउठ्दै आईपुगेका थिए रे ती र नन्द सरसंग 'हिजो बेलुका सरहरुसंग नराम्रो गरें कि क्या हो?' भनेर पीर मान्दै थिए रे।
क्याप्टेन (ज्याकेटमा) र जवान। जवानले क्याप्टेनलाई 'चिन्नु' भन्दा पहिले:)
हामी त्यसपछि सुत्नका लागि संगै बनाईएको पाहुनाघरतिर लाग्यौं। स्थानीयहरुको घरमा एक-एक जनाको दरले सुत्ने ब्यवश्था पनि थियो तर हाम्रो सल्लाह पाँचजना एकै ठाऊँमा सुत्ने भन्ने भएकोले पाहुनाघरतिर लगिएको थियो।
बिहान छ बजेतिर उठेर बाहिर निस्कँदा चिसो तर मिठो हावा सर्सराईरहेको थियो र वरिपरि हरियालीको महासागर छचल्किरहेको थियो। वर्षातको याम अझै नसकिएकोले दिन पूरै खुलेको भने थिएन। बस्तीहरु बादलमुनि लुकिरहेझैं लाग्थे। त्यहाँबाट हिमश्रृंखलाको लामो भाग देख्न सकिने रहेछ। बिहान एफएममा कायाकैरन सुन्दै गर्नुभएका नन्द सरले ऊ 'ऊ त्यता लमजुङ्ग हिमाल पनि देखिन्छ, आज अलि खुलेको छैन।' भनेर देखाऊँदै हुनुहुन्थ्यो। त्यो बाहेक अरु हिमाल भने देखिएका थिए।
रुपाताल लगभग पूरै देखिन्थ्यो त्यहाँबाट। "ऊ त्यो देखिएको चाहिँ रुपाताल, नदेखिएको चाहिँ वेगनास ताल!" भनेर ठट्टा गर्दै हुनुहुन्थ्यो एकजना साथी।
बादलमुनिका बस्तीहरु र बादलमाथिका हिमालहरु
दगामसंग आँखा जुधाएर उभिएको यो पहाड थाप्रेक गाविसको एक भाग रहेछ। एउटा लामो बादलको टुक्रा धेरै बेर बिस्तारै हिँडिरहेको देखेपछि यो तस्बीर लिएको थिएँ मैले।
नन्द सरसंग एकछिन अरु कुरा पनि भए। दगामको सबैभन्दा ठूलो समस्या पानीको रहेछ। अनि अर्को समस्या गाऊँबाट युवा पलायनको पनि रहेछ। यथार्थमै, अघिल्लो रातको भेलामा पनि कि १७-१८ सम्मका युवाहरु थिए, कि ५० कटेकाहरु थिए, बीचका छँदै-थिएनन्। नन्द सरका आफ्नै छोराछोरी पनि काठमाण्डौंतिर रहेछन्। गाऊँका धेरै युवा अरबमा रहेछन्। अरबको कमाई पनि गाऊँमा खासै आईपुग्दो रहेनछ, सबैले काठमाण्डौं र खैरेनीटार वा दुलेगौंडा जस्ता चल्तीका बजारमा घरघडेरी जोड्दा रहेछन्। नन्द सरजस्ता केहि स्थानीय दगामलाई एउटा राष्ट्रिय-अन्तर्राष्ट्रिय पर्यटक गन्तब्य बनाउन कस्सिएर जति लागे पनि युवापुस्ताको सकृय सहभागिताविना त्यो असाध्यै गाह्रो हुने निश्चित छ। उहाँहरुको योजना अरु-अरु पनि रहेछन्, जस्तै प्रशश्त मात्रामा रहेको चरन क्षेत्रको सदुपयोग गर्दै ठूलो आयतनमा बाख्रापालन गर्ने। यस्ता योजनालाई सघाउन एउटा सहकारी पनि शुरु भईसकेको रहेछ। तर यहाँपनि नयाँ ढंग, नयाँ ब्यवश्थापनका लागि शिक्षित युवा रगतको जरुरत छ। कम्तिमा दशजना पढेलेखेका युवाले गाऊँमै बसेर केहि गर्ने कम्मर कसे भने नन्द सरजस्ता पाकाको अभियान धेरै अगाडि बढ्न सक्ने निश्चित छ। अलिकति सुझबुझपूर्ण योजना र लगानी पाउने हो भने २-३ वर्षमै दगामले स्थानीय रुपमै आत्मनिर्भर मौलिक पर्यटन उद्योगको विकास गर्ने छ र यो एउटा चर्चित गन्तब्य बन्ने छ।
एकछिनमा एकजना साथी उठेर आउनुभयो। अरु तीनजनालाई पाहुना घरमै छोडेर म र उहाँ नजिकैको अर्को डाँडातिर लाग्यौं। फेदीमा एउटा प्राथमिक विद्यालय रहेछ, २०११ सालमै स्थापना भएको। २०११ सालमै विद्यालय स्थापना भईसकेको कुराका आधारमा यहाँको शैक्षिक चेतना धेरै माथिल्लो स्तरको भईसक्नुपर्ने जस्तो लाग्छ, तर त्यस्तो हुन नसकेको स्पष्ट देखिन्थ्यो दगाममा। अलिकति भौगोलिक दुर्गमता, अलिकति राज्यको वेवास्ता र अलिकति शिक्षित दगामेलीहरुको पलायन सबै मिलेर यो स्थितिको निर्माण भएको हुनुपर्छ।
त्यहि विद्यालयनै नन्द सरको कार्यस्थल पनि रहेछ।
विद्यालय कटेर उकालो उक्लिसकेपछि दुईटा समथर भूभाग देखिए; एउटा त्यहाँको पूजाआजा गर्ने-बलि दिने कोट थियो, अर्को समथर भूभाग बनभोजस्थलका रुपमा प्रयोग गर्न मिल्दो देखिन्थ्यो। त्यहाँबाट पनि पोखरासम्मको दृश्य र हिमालहरु देखिन्थ्यो।
दक्षिणतिर फर्किएर हेर्दा। बादलको समुद्रले छोपिएका छन् बस्तीहरु।
कोटबाट पोखरातिर फर्किएर हेर्दा।
कोट दगामभन्दा केहि अग्लो ठाऊँमा छ। तलको तस्बीर कोटबाट दगाम हेर्दाको हो। छेऊतिर दूरसंचारको टावर देखिएको छ। बीचतिर देखिएको हामी बास बसेको गाऊँ हो, जसको खास नाम 'माझ दगाम' रहेछ, अर्को दगामलाई पल्लो दगाम कि त्यस्तै के भनिन्छ भनेर कुरा भएको थियो।
फर्केर गएर हामीले कोदोको रोटी र स्थानीय महको नास्ता ग-यौं। दुई घण्टाजति अल्मलिएर कोदोको ढिँडोसहितको खाना खायौं र फूलका गुच्छा समातेर दगामसंग बिदाबारी भयौं।
फर्कँदा हामीले अर्को बाटो समात्यौं, जुन दुलेगौंडातिर जान्थ्यो। यो फराकिलो तर कच्ची मोटरबाटो थियो, बर्खामा भने त्यति प्रयोगमा आएको/आउनसक्ने देखिँदैनथ्यो। हिँडेको एक छिन पछि भिरालो बाटोमा हिजोका जुम्ली भाइ भेट्टिए, मध्यान्हमै ती आफूलाई सम्हाल्नै नसक्ने गरी फिट्टान थिए र अर्का एकजना भाइ उनलाई सम्हालेर बाटो हिँडाऊँदै थिए।
हामीलाई देखेपछि ती भाइ अलि सतर्क भए र 'क्याप्टेन' को नजिकै उभिएर जीऊ तनक्क तन्काएर स्यालुट गरे। 'क्याप्टेन साप' ले उनलाई 'ल राम्रोसंग ड्युटी गर्नु!' भनेपछि हामी हाँस्दै बाटो लाग्यौं।
ती भाइले सुरक्षा गरेको टावर कत्तिको सुरक्षित होला! धन्न अहिले द्वन्द्व छैन यो क्षेत्रमा!
दगाममा एक रात-१
(समाप्त)