January 29, 2011

यस्सो पसेको मात्रै:)

यो ब्लग अचेल केहि निष्कृय देखिएपनि यसको आत्मा जिऊँदो-जाग्दोनै छ भन्ने खबर दिन पसेको मात्रै आज:)

कुरो के भने, आफू कार्यरत 'अड्डा'को ईण्टरनेट त्यति भरपर्दो छैन, अनि बत्ती नहुँदा आवास क्षेत्रमा ईण्टरनेट चल्दैन। नजिकका साईबरहरु पनि त्यति भरपर्दा छैनन् भन्ने लागेर पसेको छैन अहिलेसम्म। साईबर पस्नै भनेर बजार झर्ने जाँगर पनि छैन:)

यो लोडशेडिङ्ग भन्ने जिनिस परमधाम भएपछि भने दिनदिनै ब्लग लेखुम्ला, कि कसो:)

January 21, 2011

अंधेर नगरी, चौपट जिन्दगी

एउटा प्रसिद्ध लोकवचन छ, 'अंधेर नगरी, चौपट राजा-टका सेर भाजी, टका सेर खाजा' भन्ने। लोकवचन कसरी बन्यो र नगरी अंधेर भएकाले राजा चौपट बने या राजा चौपट भएकाले नगरी अंधेर बन्यो भन्ने थाहा छैन मलाई; तर अहिलेको नेपालमा भने पूरै नगरी 'अंधेर' छ र नेपाल र नेपालीको जिन्दगी पनि 'चौपट' भएको छ। यस्तो स्थिति विगत केहि वर्षदेखिको निरन्तरता बनिसकेको छ। तर 'राजा'हरुलाई सत्ताको मादल र कुर्सीको बाँसुरी बजाऊँदै ठिक्क छ। 'लोडशेडिङ्ग आतंक'ले दल र सरकारका कुरामा ठाऊँ बिल्कुलै पाएको देखिन्न। हाम्रा हिजोका 'राजाहरु' र आजका 'राजाहरु'मा खासै ठूलो चारित्रिक भिन्नता देखिन्न, तिनका चिन्तनका विषयहरु र तिनको सोच्ने आयाम पनि उस्तै लाग्छन्।

केहि दिन भयो, दिनको १२ घण्टे लोडशेडिङ्गको 'उपहार' पाईएको। यो दुई, पाँच, आठ, दश, एघार हुँदै यहाँ आईपुगेको हो। अब छिट्टै नयाँ तालिका पनि हात लाग्ला। १४-१६ घण्टा हुने त पक्का-पक्का मानिसकिएको छ यसपाला।

नेपाल छाड्नुअघि कहिलेकाहीँको १-२ घण्टे 'आतंक' मात्रै भोगेका मेरा लागि यो पहिलो 'भयावह' अनुभव हो। नेपालमै बसिरहेका साथीहरु 'हामीलाई त बानी लागिसक्यो!--' भन्दै निरीह सुस्केरा मिसिएको मरन्च्याँसे हाँसो निकाल्छन्। कुनचाहिँ साल त दिनको अठाह्र घण्टासम्म पुगेको थियो रे यो 'लोडशेडिङ्ग'को आतंक! 

आधुनिक जीवनका लागि बिजुली अक्सिजन जस्तै हो, जिन्दगी बिजुलीमाथि यस्तरी आश्रित भईसकेको छ। एउटा ब्यक्तिको जीवनमात्र होईन, हरेक समाज र हरेक राष्ट्रको विकास र समृद्धि आज बिजुलीमै अडेको छ।

यो लोडशेडिङ्ग आतंकले जिन्दगीका सम्पूर्ण कर्महरुलाई चौपट बनाईदिएको छ। हरेक कुरालाई बत्ती आउने समयसंग तालमेल गरेर मात्र योजना बनाउनुपर्ने बाध्यता छ, तर त्यस्तो 'पर्फेक्ट' तालमेल मिल्ने भन्या पनि त्यस्तै हो। बत्ती ढुक्कले आउने धेरैजसो आधा रातपछिमात्रै हो, त्यतिखेर नसुती काम गरेर बस्न सकिँदैन। अरु बेला बत्ती हुँदा आफू घरमा भईन्न, आफू घरमा हुँदा बत्ती हुँदैन। कहिलेकाहीं मोबाईल चार्ज गर्ने तालमेल समेत मिल्दैन। बिजुलीबाट चल्ने सामानहरु पनि किन जोगाड गरिएछ जस्तो लाग्छ अचेल। 

जता बिजुली छ, उतै जाने एउटा 'मोबाईल' घर चाहिया छ अब:))

लोडशेडिङ्ग आतंकबाट जोगिने अस्थायी/स्थायी 'सुरक्षा कवच' पनि बजारमा धेरै पाईँदा रहेछन्। 'के लिँदा ठिक होला?' भनेर दशैंपछिदेखि गम्न थालेको म, अझै गमेको गम्यै छु; गम्दा-गम्दै यो पालिको लोडशेडिङ्ग सकिएला जस्तो छ; केहि छैन अर्को पालि पनि लोड्शेडिङ्ग भईहाल्छ:) 

हरेक पटक लोडशेडिङ्ग 'आतंक'को मात्रा वृद्धि गरिएपछि आफ्नो भेगको भागमा परेको नयाँ 'आतंक तालिका' को जोहो गर्नु जिन्दगीको अर्को 'प्रमुख' कर्म बनेको छ। पत्रिकाकै पानु राख्नु सट्टा तालिका आफ्नै हातले सार्नु एउटा कला पनि हो:) यो 'कला' एउटा बानी बन्दै छ, अम्मलजस्तै बन्दै छ। भोलि देशमा छेलोखेलो बिजुली भएर लोडशेडिङ्ग इतिहासको 'बासी अखबार' बन्यो भने यो अम्मलले दु:ख दिनसक्छ:) त्यतिखेर के को 'आतंक तालिका' खोजेर मोर्नु ल:)

यस बीचमा जोगाड गरिएका 'आतंक तालिका'हरु हेर्नुस् (यी बाहेक पनि थिए होलान् एक-दुई, ती 'अभागी' लाई च्यातेर फ्याँकिएको हुनसक्ने सम्भावना प्रवल छ)। यी सबै आतंक तालिकाहरु एउटै किलामा झुण्ड्याईन्छन्, सबैभन्दा नयाँले सबैलाई थिचेर झुण्डिएको हुन्छ। यी सबलाई थिच्ने अर्को पनि चाँडैनै ढिम्किँदै छ रे। त्यसको र त्यसपछिकाको दर्शन गराउने सौभाग्य मिल्ला-नमिल्ला, हाम्ले हात बजार्ने कम्पुटर पनि बिजुलीकै नातेदार जो प-यो:)


January 15, 2011

बिजुली निभेको रात


अस्तित्वहीनझैं लाग्छ-
डराएर लुकेजस्तो
कसैको कर्कश आदेशमा
लत्रिएर झुकेजस्तो
चारै सूरमा लहर लागेर
विपत्ति र पिडाले ढुकेजस्तो
अन्धकारको भारले थिचिएर
पाईलाहरु रुकेजस्तो,
यो बिजुली निभेको रात
मलाई अचेत बनाउन
सघन हुँदै सोहोरिएका छन्
यो बस्तीका सम्पूर्ण पिडाहरु,
र म
थुप्रिएका पिडाहरुबाट फुत्किन
कहिले रोगी जूनमुनि कठ्याङ्ग्रिँदै
कहिले मलीन ताराहरुसंग गुँडुल्किँदै
आफूलाई दौडाईरहेछु
यो बस्तीको शिर-पुछार,
किन यस्तरी कान्तिहीन छ बस्ती?
कहिल्यै बैंश नआउने गरी
जन्मिँदै आत्मा सुकेजस्तो
किन यस्तरी झोक्राएको छ यो बस्ती?
अक्षता हान्दै कसैले
कालो मन्तर फुकेजस्तो
किन हरबखत सन्त्रस्त छ बस्ती?
कसैले अविराम कानमा
घोर आतंक भुकेजस्तो।

(माघ १, २०६७; राती ११:३५ बजे; पोखरा)

January 09, 2011

स्पन्दन कविता पुरस्कार - २०१०

एउटा खुशीको खबर बाँड्न चाहन्छु आज।

मेरो कविता "परदेशी" ले "'स्पन्दन' कविता पुरस्कार - २०१०" प्राप्त गरेको छ। फेसबुक सन्देशका माध्यमबाट आदरणीय अग्रज होम बहादुर क्षेत्रीज्यूले यो खबर दिनुभएको हो मलाई। 'स्पन्दन' मासिकमा वर्षभरि छापिएका कविताहरुमध्येबाट सम्पादकमण्डलले उत्कृष्ट ठह-याएको कवितालाई दिईने रहेछ यो पुरस्कार।

"स्पन्दन"मासिक अभि-जमान स्मृति ट्रस्टद्वारा प्रकाशित हुन्छ र संसारभरि नि:शुल्क वितरण गरिन्छ।  "स्पन्दन" को 'आर्थिक' मूल्य 'नि:शुल्क' हो तर यसको सांकेतिक मूल्य भने "हरेक दिन आधा घण्टा नेपाली साहित्यलाई" हो। तपाईँ पनि "स्पन्दन" प्राप्त गर्न चाहनुहुन्छ भने क्षेत्री सरलाई सम्पर्क गरेर अनुरोध गर्नसक्नुहुन्छ। उहाँको सम्पर्क ई-मेल चाहिएमा यो पोष्टमा प्रतिकृया दिँदा सो कुरा जनाउनुहोला। उहाँलाई फेसबुकमा पनि भेट्न सकिन्छ,  Hom Bahadur Chetri खोजी गरेर।

सामाजिक र साहित्यिक सेवाको पवित्र उद्देश्य राखी आफ्ना पूज्य माता-पिताको स्मृतिमा श्री होम बहादुर क्षेत्रीज्यूले अभि-जमान स्मृति ट्रस्टको स्थापना गर्नु भएको हो। "स्पन्दन" प्रकाशनका साथै यो ट्रस्ट अरु साहित्यिक प्रकाशन, छात्रवृत्ति वितरण, साहित्यिक पुरस्कार वितरण, साहित्यिक संघ-संस्थाहरुलाई सहयोग, कुवेतमा नेपाली साहित्य चर्चा आदि बिभिन्न गतिबिधिहरुमा सकृय रहेको छ। 

क्षेत्री सर पेशाले एक पेट्रोलियम ईञ्जिनियर हुनुहुन्छ र हाल कुवेतमा कार्यरत हुनुहुन्छ। उहाँ एक चर्चित साहित्यकार पनि हुनहुन्छ र केहि कृतिहरु प्रकाशित भईसकेका छन्। आफ्नै पसिनाको कमाईलाई नेपाली भाषा र साहित्यको सेवामा लगाएर र ब्यस्त पेशागत जीवनका बीचपनि लगनका साथ भाषा-साहित्यका लागि समय निकालेर उहाँले देखाउनुभएको उदाहरणले हामीजस्ता नेपाली भाषा-साहित्यका नयाँ सेवकहरुलाई ठूलो हौसला मिलेको छ।

म आफूलाई एउटा सिकारु लेखक/साहित्यकार मान्छु र कुनैपनि पुरस्कार प्राप्त गर्न सक्ने हैसियतको ठान्दिन। 'स्पन्दन' जस्तो मासिकले मेरा रचनाहरु छापिदिनुनै मेरा लागि ठूलो पुरस्कार भईसकेको थियो। यसैले होम सरको सन्देश मेरा लागि एक सुखद् आश्चर्य र हौसला बनेको छ अहिले:) 

पुरस्कार वितरण कार्यक्रम आगामी भानु-जयन्तीमा आसाममा हुनेछ।

  'स्पन्दन' को एक अंक (साभार: होम सरको फेसबुक पाना)

January 03, 2011

बच्चा खानेहरु

भाऊ लाग्न थालेको छ गर्भैबाट अचेल
बच्चा खानेहरु बढेका छन् शहरमा!