May 23, 2013

आज कति नम्बर आयो??

आर्यालाई हेर्ने कामको भाग लगाएका छौं हामीले। बच्चा एउटै भएपनि एकात्मक परिवारमा बसीरहेको र दुबैको आ-आफ्नो ब्यस्त 'क्यारीयर' भएकाले समय ब्यवश्थापन अलिक जटिल भईदिँदोरहेछ। यो जटिलताले हामीलाई दुःख भने कत्तिपनि लागेको छैन, एउटा सुखद् चुनौतीका रुपमा लिँदै छोरीलाई केन्द्रमा राखेर आफ्नो समयको ब्यवश्थापन गरीरहेका छौं हामी।

छोरी स्कूलबाट घर फर्कने बेलामा म हुन्छु घरमा। 'लचिलो' प्राध्यापन पेशामा भएकाले यतिखेर समय निकाल्न सक्छु म। मेरो त्यसपछिको पहिलो काम ऊसंग दश-पन्ध्र मिनेट बसेर स्कूलका कुरा सोध्नुहुन्छ। उसले हातमुख धुने, लुगा फेर्ने काम सकेपछि खाजा बनाएर बाऊ-छोरी गफ गर्दै खानुमा कम्ति मजा छैनः)

स्कूलको पोशाकको सेतो शर्टको भने बिजोग भैसकेको हुन्छ ऊ फर्केर आऊँदासम्म। बाहुलाको नाडीमुनिको भाग त रंगीचंगी बनीसकेको हुन्छ। खेल्दा-खेल्दै अलिअलि धूलोमैलो अनुहारतिरपनि पुगीसकेको हुन्छ। बच्चा हुनाले यो स्वाभाविक हो, तर यसैलाई एउटा रमाईलोमा बदल्न मन लाग्यो मलाई र दुई हप्ताजति पहिलाबाट 'नम्बर' दिन शुरु भयो। 

नम्बर दुईटा कुरामा। पहिलो, यहि शर्ट र अनुहारको फोहरलाई हेरेर दिने। कत्ति पनि फोहर नभए १०० हुने अनि फोहर देखिए अनुसार एक-एक नम्बर घटाऊँदै जाने। रमाईलोकै लागि यो 'सम्झौता' गरिएपनि यसले केहि न केहि असर भने देखाउन थालेको छ। सरसफाईमा आर्याले अझ बढी ध्यान दिन थालेको देखिईसकेको छ। नम्बर त ९८ भन्दा घटेको पनि छैन। रमाईलोको लागि गरेको कामलाई मैले पनि रमाईलै पाराले नम्बर दिन्छु, अस्ति एकदिन त १०० नै दिएँ, १-२ नम्बर घटाउन सक्ने ठाऊँ हुँदाहुँदै पनिः)

दोश्रोचाहिँ, लुगा फेर्ने, लुगा र जुत्ता मिलाएर राख्ने कुरा हेरेर नम्बर दिने। पहिलोमा भन्दा पनि धेरै सुधार आएको छ यसमा। पहिला 'लुगा फेर' भनेर पाँच-सातचोटि कराऊँदा पनि 'एकछिन क्या एकछिन! कस्तो थकाई लागीरा'छ आफ्लाई!' भनेर धेरै बेरसम्म अलमल गरीरहन्थी, उसका साथीहरु खाजा खाईवरी आईसक्दापनि उसले लुगा फेर्न थालेकै हुँदैनथ्यो। अहिलेचाहिँ दश-पन्ध्र मिनेटको 'भलाकुसारी'पछि "कौन बनेगा करोडपति"को स्टाईलमा "आर्या, तिम्रो समय शुरु भयो अब!" भनेर मैले भन्ने र उसले त्यसपछि फटाफट लुगा फेर्ने र आफ्ना सामान मिलाउने 'भद्र सहमति' पनि भएको छः)

दुबै 'विषय'का नम्बर घरको सेतो पाटीमा चढ्छन् हरेक दिन।

अब हामीलाई पनि नम्बर दिन थालेकी छे उसले, ऊ पनि के कम! ऊ भन्दा ढिला आउँदा दुबै विषयमा हाम्रो जाँच-पड्ताल हुन्छ र नम्बर चढ्छ सेतोपाटीमा।


May 16, 2013

कवि सम्मेलन

मोबाईल टोनहरुको नौमती बजीरहेछ 
झुण्ड-झुण्ड जन्ती गफ चालू छन्
सभाध्यक्ष ऊँघिरहेछ
प्रमुख अतिथि घुँडामा मुन्टो जोतेर-
शायद कुनै मोबाईलमन्त्र फुस्फुसाईरहेछ
कवि कविता पढीरहेछ
अजीर्ण हुने गरी अंग्रेजी शब्द खुवाईएको
उसको ‘छोटो’ ‘नेपाली’ कविताको पाँचौ पृष्ठ
कवि सम्मेलन जारी छ
कवि सम्मेलन जारी छ
र एउटा प्रश्न पनि जारी छ,
कविताचाहिँ कसले सुनिरहेछ?
(साँझ ५ बजे, बैशाख ७, २०७०; पोखरा)

May 06, 2013

कवि राजेन्द्र भण्डारीसंग एक साँझ

अस्ति (वैशाख २१गते) साँझ पोखरेली युवा साँस्कृतिक परिवार (पोयुसाँप) को 'अनुभव र अनुभूति' मा सिक्किमका कवि राजेन्द्र भण्डारीका कुराहरु-कविताहरु सुन्ने सौभाग्य मिल्यो।

 कवि भण्डारी गत वर्ष साहित्यतर्फको नोबेल पुरस्कारका १० संभावित बिजेताको सूचिमा परेर चर्चित हुनुभएको थियो। 

उहाँको आगमन एउटा अर्को प्रसंगमा पनि स्मरणयोग्य बन्यो। उहाँलाई कालिम्पोङ्गमा नेपाली साहित्य पढाउने गुरुआमा प्रा.डा. चन्द्रा पाण्डे र उहाँको चालीस वर्षपछिको भेटले हामी सबैपनि भावुक र आनन्दित बन्यौं। आफ्नी गुरुआमासंगको परिचयको नवीकरण हुनासाथ कवि भण्डारीले शिर झुकाएर गुरुआमालाई प्रणाम गर्नुभयो। त्यहाँ गुरु-शिष्यको चारपुस्ता उपश्थित थियो। गुरुआमा, कवि भण्डारी, कवि भण्डारीका शिष्य साहित्यकार पारसमणी दंगाल र साहित्यकार दंगालका युवा शिष्यहरु। 

पछि कवि भण्डारीको 'अनुभव र अनुभूति' सुन्दा र उहाँसंग कुराकानी गर्दा पनि कवि भण्डारीलाई अत्यन्त भद्र र शालीन ब्यक्तिको रुपमा पायौं हामी सबैले।

कार्यक्रममा साहित्यकार दंगाल (उहाँले आफ्नो साहित्यिक नाम 'पारसमणी शम' बताउनुभएको थियो।)ले आफ्नो परिचयका साथमा सिक्किमको नेपाली साहित्यको विगत र वर्तमानको बारेमा चर्चा गर्नुभयो। हाल उहाँ नेपाली साहित्य परिषद, सिक्किमको सचिव (साहित्य) हुनुहुन्छ। आफ्नो बक्तव्य र पछि कुराकानीका क्रममा उहाँले सिक्किममा नेपालबाट प्रकाशित हुने पत्रपत्रिका र पुस्तकहरुको अप्राप्यताका बारेमा पनि गुनासो गर्नुभयो। यसका लागि उहाँका विचारमा दुबै तिरको ब्यवस्थापकीय कमजोरी दोषी छन् र अलिकति ध्यान दिनासाथ यो समस्या समाधान हुनसक्छ। उहाँ एउटा ब्लगर पनि हुनुहुँदो रहेछ। उहाँ सिक्किम फर्केपछि एकापसका ब्लगहरुलाई जोड्ने कुरो भयो। 

त्यसपछि कवि राजेन्द्र भण्डारीले आफ्नो साहित्यिक यात्रामा लानुभयो हामी सबैलाई। आफ्नो वाल्यकाल, युवाकालबाट शुरु गरेर आफ्नो साहित्यिक रचनाकर्मको शुरुवात, आफूले गरेका प्रयोगहरु र आफूले जीवनका बिभिन्न कालखण्डमा पछ्याएका बिभिन्न दर्शनहरु आदिको सरस-सरल चर्चा गर्नुभयो उहाँले। र अन्त्यमा केहि 'स्याम्पल' कवितापनि सुनाउनुभयो। उहाँका अनुसार हाल उहाँ कवितामा जीवनको अर्थ खोज्नुहुन्छ र यसैले अचेलका कविता बढी आध्यात्मिक छन्। बिभिन्न दर्शनमा भौंतारिने क्रममा उहाँलाई बौद्ध दर्शन जीवनको सबैभन्दा नजिक र जीवनका धेरै प्रश्नहरुको जवाफ दिनसक्ने लागेको रहेछ।

अरु वक्ताले नोबेल पुरस्कारको प्रसंग उप्काएपनि उहाँले भने आफ्नो 'अनुभव र अनुभूति'मा त्यसबारेमा केहि कुरा गर्नुभएन। पछि प्रश्नोत्तरका क्रममा उहाँले केहि बोल्नुभयो यस बारेमा। २०११ र २०१२ दुबैमा उहाँको नाम चर्चामा रहेछ तर त्यो सूचि नोबेल पुरस्कार कमिटिको नभएर कुनै सट्टेबाजी (betting) कम्पनीको रहेछ। नोबेल पुरस्कार कमिटिले कहिल्यै पनि त्यस्तो सूचि सार्वजनिक गर्दैन रे।

प्रश्नोत्तरका क्रममा नेपालमा अति प्रयोग हुने 'लेण्डुप दोर्जे' र 'सिक्किमीकरण' को पनि चर्चा निक्लियो। नेपालमा अत्यन्त नकारात्मक बिम्बका रुपमा प्रयोग हुने यी छविहरुलाई सिक्किमकै जनताले भने कसरी लिन्छन् भनेर सोधियो उहाँलाई र यो पनि सोधियो कि लेण्डुप दोर्जे सिक्किमेलीका मनमा 'हिरो' का रुपमा छन् कि 'भिलेन'का रुपमा। कवि भण्डारी र सिक्किमबाट आएका सम्पूर्णले एक स्वरले गर्वका साथ 'हिरो' भने लेण्डुप दोर्जेलाई। कवि भण्डारीले अरु अर्थ्याउने क्रममा के पनि बुझियो भने सिक्किम कहिल्यै पनि नेपालजस्तो सार्वभौम-स्वतन्त्र राष्ट्र थिएन, १९७५ मा भारतमा 'गाभिनु' अघि पनि यो भारतको एउटा protectorate राज्यमात्रै थियो। त्यतिखेरको सिक्किममा सामाजिक-आर्थिक विभेद र नामग्याल वंशको अत्याचार सहिनसक्नु रहेछ। सिक्किमका आम जनताले सिक्किमको भारतमा विलयलाई मुक्तिको रुपमा लिएका छन् कवि भण्डारीका अनुसार। त्यसपछिको सिक्किमको उन्नतिले पनि यो कुरा प्रमाणित गर्छ। झन् त्यहाँका नेपालीका लागि त त्यो विलयले उन्मुक्ति, समानता र पहिचानको इज्जत दिलाएछ। 

साहित्यको सत्संगका साथमा नेपाली नेताहरुले नेपालमा निरन्तर फुकीरहने एउटा ऐतिहासिक-राजनितिक भ्रमबाट आंशिक रुपमै भएपनि मुक्त भएको भान भयो मलाई, यो कार्यक्रम सकेर घर फर्कँदै गर्दा।