February 27, 2012

शहरका केहि क्षणहरु

पीच सडकमा दौडने शहर र पुलमुनि 'सुत्ने' शहर। 


 अघि पोलमा टाँसिएको नारा पढीरहेका पुलमुनिको शहरका एक 'नागरिक', नारा पढीभ्याएर सुत्न फर्कीएका छन्। तिनको मनमा-मुखमा नेताहरुका विरुद्ध एक आमाचकारी गालीनै छ भन्ने कुरामा म उनान्सय प्रतिशत निश्चित छु।

अर्को एक क्षणमा पुलमुनिको शहरका दुई बासिन्दा यसरी डेण्ड्राईट सुँघेर आफ्नो भोक-रोग-शोकलाई मेटिरहेका थिए।
 
आकाशे पुल छँदाछँदै त्यसको प्रयोग नगरी ब्यस्त सडकबाटै वारीपारी गर्न खोज्नेलाई ट्राफिक प्रहरीले समातेर दुई घण्टा यस्तै 'खोर'मा राख्न थालेको छ अचेल। पचास रुपियाँ जरीवाना पनि गर्छ क्यारे।


पुलमुनिको शहरको एउटा परिवारको भान्सा पनि तयार हुँदैछ अर्को एक क्षणमा। 'खोर'मा नयाँ बसिन्दा आईपुगेका छन्।

पुलमाथि हिँड्ने शहर, पीचमाथि दौड्ने शहर भने यस्तो innovative छ! कस्तो होला यो 'कम्प्युटर चूल्हो? कहिल्यै ग्याँस भर्नु नपर्ने भनिएको छ, के ले बल्ने होला? हाम्रा गाऊँघरका चूल्हामा पनि कहिल्यै ग्याँस भर्नु पर्दैन, त्यहि हो कि?


शहरमा स्कूल-कलेज गएर पढ्न महंगो छ, तर सोझै 'विशेषज्ञ' बन्न भने साह्रै सस्तो छ। यति सजिलै पाईन्छ थेसिस:)


यो शहरको पार्कमा पनि भिड पसेको छ, बजार बसेको छ। साला यो शहरले सास कसरी फेर्छ हँ???????


February 19, 2012

मुक्तकमय साढे दुई घण्टा

पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप)ले आयोजना गरेको 'टिकटमा मुक्तक' कार्यक्रममा गतिला, चोटिला र फूर्तिला मुक्तकहरु सुनेर धन्य भईयो आज।

दुई बजे शुरु हुने भनिएको कार्यक्रम पौने तीनबाट शुरु भयो। पोखरा उद्योग वाणिज्य संघको हल लगभग भरिएको थियो, दर्शक/श्रोता सहभागिता उत्साहजनक मान्नुपर्छ। कार्यक्रमका प्रमुख अतिथि चर्चित गजल स्रष्टा तथा प्राज्ञ बूँद राना हुनुहुन्थ्यो। कार्यक्रमा पोखरेली प्राज्ञहरु सरुभक्त, तीर्थ श्रेष्ठ र हरिदेवी कोईराला पनि उपश्थित हुनुहुन्थ्यो, उहाँहरु त पोयुसांपलाई जन्माउने, हुर्काउने व्यक्तित्वहरुनै हुनुभयो। कवि/गीतकार प्रकट पगेनी 'शिव' र कविवर तेजनाथ घिमिरे पनि कार्यक्रमका आकर्षण हुनुहुन्थ्यो। कार्यक्रममा चितवन, भैरहवा र पर्वत लगायतबाट आउनुभएका कविहरुले पनि आफ्ना मुक्तकहरु सुनाउनुभएको थियो।

झण्डै साढे दुई घण्टा चोटिला मुक्तकहरुको वर्षामा नुहाउन पाऊँदा मन एउटा सार्थक अनुभूतिले भरिएको छ। युवा कविहरुका मुक्तकहरु बेजोड थिए। तिनले देशको माया बोकेका थिए र विकृति र विसंगतिलाई कठोरतापूर्वक मुक्का ठोकेका थिए। तिनमा गरीबि र पिडाप्रतिको समवेदना पनि थियो, अनि थियो जीवनप्रतिका दार्शनिक चिन्तनपनि। धेरै मुक्तकहरुले समसामयिक रमाईलो पनि बोकेका थिए।

अनि मैले देखेको अर्को कुरा, युवा पुस्ता (४० मुनिका) का मुक्तकमा जुन भाव, शैली र प्रवाह थियो, पाका साहित्यकारहरुका मुक्तकमा थिएन। सरुभक्तको आख्यानमा जुन सशक्तता पाईन्छ वा उहाँका आधुनिक कवितामा जुन भिन्दै प्रवाह पाईन्छ, त्यो आज उहाँले वाचन गरेका मुक्तकमा धेरै थिएन। प्रकट पगेनी 'शिव' पनि आज आफ्नो नाम अनुसार जम्न सक्नुभएजस्तो लागेन मलाई। बूँद रानाज्यूले त आफू लामो समय यता मुक्तकभन्दा फरक बाटो हिँडिरहेकोले आफ्ना मुक्तकमा स्तरीयता नखोज्न पहिल्यै हामीलाई भनीसक्नुभएको थियो। मलाई लाग्छ, मुक्तकमा नयाँ पुस्ता धेरै अघि बढीसकेको छ, र नेपाली साहित्यमा मुक्तक आफ्ना दरिला खुट्टामा उभिईसकेको छ; संख्यात्मक र गुणात्मक दुवै हिसाबले।

पोयुसांपले २०३५ सालको माघमा पहिलोपल्ट 'टिकटमा मुक्तक' कार्यक्रम गरेको रहेछ। त्यसयता निरन्तर गरीरहेको छ, सलाम पोयुसंपको यो लगन र निरन्तरतालाई। पोखराको सफलताबाट प्रेरित भएर 'टिकटमा मुक्तक' कार्यक्रम अब देशका धेरै ठाऊँमा हुन थालेका छन्।

यो सत्कर्मले सबैतिर, सधैंभरि निरन्तरता पाईरहोस्!

February 15, 2012

बर्ड फ्लू?

'जा गिर्!' संग सम्बन्धित कामको सिलसिलमा ईञ्जिनियरिङ्ग अध्ययन संस्थान (त्रि. वि.) को कार्यालय, पुल्चोक पुगेको थिएँ। डिन कार्यालय पछिल्तिरको चउरमा दुईटा मरेका काग थिए। त्यहाँका कर्मचारीहरुका अनुसार तिन दिन भित्र पाँच वटा कौवा मरीसके रे यसरी।

केहि समय यता नेपालका पूर्वी क्षेत्रमा देखिएजस्तै बर्ड फ्लूनै हुन नसक्ला र यो पनि? वरिपरि फ्याँकिएका विषाक्त खानाका कारण पनि हुनसक्छ यो, तर दिनदिनै यसरी मर्ने शृंखला जारी रह्यो भने चाहिँ त्यो एउटा भयावह स्थितिको संकेत हुनेछ। कुनै फार्मभित्र पालिएका कुखुराहरुमा मात्र फैलिएको बर्ड फ्लू नियन्त्रण गर्न त धेरै कठिन छ भने खुल्ला रुपमा शहरमा विचरण गर्ने कौवा र परेवाहरुमा पनि यो फैलियो भने नियन्त्रण झण्डै असम्भवनै हुन्छ, विशेष गरी हाम्रो जस्तो, चेतना र परिआऊँदाको तयारी ठ्याम्मै नभएको राज्यमा।

काठमाण्डौंको अनियन्त्रित भिडभाड र फोहर दैनिकीले धेरै महामारीलाई खुल्ला निम्तो दिईरहेको यथार्थले जहिलेपनि आतंकित बनाऊँछ मलाई।   




February 06, 2012

लुटिएपछि:)

दशकपछि नेपाली फिल्म हेरियो, त्यो पनि हलमै गएर।

धेरै सकारात्मक समीक्षा पढीसकिएको र सुनिसकिएको थियो ‘लुट’ को। हेर्न जाने मेसो भने अस्तिमात्रै प-यो। चर्चा अनुसारकै बलियो रहेछ ‘लुट’। ‘लुट’बाट सवा दुई घण्टा लुटिएपछि यथार्थमै मनमा एउटा केहि सार्थक कृति हेरेको अनुभव उत्पन्न भयो र नेपाली फिल्म उद्योगमा अब एउटा नयाँ सकारात्मक दिशा पनि थपिएको भान भयो।

२०५८ सालतिर ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ हो कि ‘दर्पण छायाँ’ हेरेपछि मैले नेपाली फिल्म हेरेको थिईन। मूलधारका भनिने फिल्मका प्रोमो र गीतका दृश्यलेनै विकर्षित पार्छन् ती फिल्मबाट। तैपनि ब्लगमा एउटा पोष्ट बनाउनका लागिनै भएपनि कुनै दिन कथित ‘मूलधार’को कुनै एउटा फिल्म हेरौंला भन्ने सोचाई चाहिँ लगातार मनमा रहेको थियो। यस बीचमा राम्रा भनेर चर्चा पाएका केहि फिल्महरु पनि हेर्ने अवसर जुरेको थिएन।

‘लूट’को सबैभन्दा सकारात्मक पक्ष वा मूलधारका भनिने अरु नेपाली फिल्मसँगको तुलनामा यसको प्रमुख सशक्तता भनेकै यसको मौलिकता र दमदार अभिनय हो। कथा बलिउडको कुनै मसलादार फिल्मबाट नक्कल गरिएको छैन, काठमाण्डौंको यथार्थ परिवेशबाट टपक्क टिपिएको छ। चल्तीको ‘फर्मुला’को गन्ध कतै आऊँदैन। संवादमा पनि पूरै मौलिकता छ, काठमाण्डौं वा अरु कुनै शहरमा युवाहरुको समूहले सडक र भट्टीमा प्रयोग गर्ने शब्दहरु र शैलीलाई जस्ताको तस्तै राखिएको छ तर त्यसले फिल्मलाई अश्लील बनाएजस्तो लाग्दैन, बरु स्वाभाविकता थपिएजस्तो लाग्छ। नाटकबाट आएका कलाकारहरु भएर होला, सबैको अभिनय बेजोड छ।

यसका कमजोरीहरु पनि खोज्न नसकिने होईन तर अहिले हामी राम्रा नेपाली फिल्म हेर्न भोकाएको बेला अलि-अलि काँचो भात पनि खीरभन्दा मिठो लाग्छ, होईन र?

एउटा कुरा के चाहिँ ढुक्क भएर भन्न सकिन्छ भने नेपाली सिने उद्योगले बिस्तारै नयाँ बाटो पक्रने जमर्को गरेको छ। र ‘लूट’को टिमसंग नेपाली सिने उद्योगलाई ‘लुट्ने’गरी फिल्म बनाउने संभावना धेरै छ। अझ स्पष्ट भएर भन्नुपर्दा 'रेखा थापाको तिघ्रा र राजेश हमालको पाखुरा' मात्रै नेपाली फिल्मको प्रतीक होईन रहेछन्।

February 01, 2012

मेरा बीपीमय दिनहरु-३

फेरि ‘फेरि सुन्दरीजल’कै कुरा। तर यसपटक पुस्तकका केहि भावुक अंशहरुको उद्धरण। यो ‘लोभ’लाई कसैगरी त्याग्न सकिन मैले।

आफ्नी जीवनसंगिनीलाई सम्झेर वीपी लेख्नुहुन्छ;

“मैले सुशीलालाई नसम्झेको कुनै दिन छैन।----उनीसंग वनारसमा बिताएका भावुक क्षणहरुको सम्झना आऊँछ। -----मैले उनलाई विना संरक्षण छोडेको छु। उनी सधैं एउटी कमजोर केटी हुन्। उनलाई अटूट ध्यान, दृष्टि र माया चाहिन्छ। नत्रभने बेमौसमको दुर्लभ सुनगाभा जस्तै उनी मुर्झाउनेछिन्। उनमा आत्मसम्मानको भाव पनि उत्तिकै धेरै छ। सम्मानको भाव र निरीह अवश्थाको यो सङ्गमको बेला म नहुँदा उनका लागि अत्यन्त दु:खदायी हुन्छ। अब उनी बढी आशक्त भएर आफ्नो भवगवानमाथि भर पर्नेछिन् र आफ्नो नृत्यको सहारा लिनेछिन्। साथमा म नभएसम्म उनीलाई उनका भगवान र नृत्यले बचाउन् भन्ने कामना गर्दछु। यहाँबाट छुटेपछि म उनको राम्रो हेरविचार गर्नेछु। म धेरै माया गर्दिँन भनेर उनी भन्ने गर्थिन्। विवेकशील मानिस भएकोले म उनको हेरविचार मात्र गर्छु रे! (पटनाबाट) प्रस्थान गर्ने दिन उनले मसिनो स्वरमा के भनेकी थिईन् भने; मैले उनलाई माया गरेको भए जेल जानका लागि म काठमाडौँ फर्किने निर्णय गर्दिँनथे होला। मेरी प्रिय सुशीला, तिमी गलत छौ। म तिमीलाई तिमीले भनेजति माया गर्दिँन होला, तिमीलाई पुग्ने गरी माया गर्दिँन होला, तर जे सुकै होस् म तिमीलाई माया गर्छु। यो मैले आफ्नो कर्तव्य पूरा गरेको मात्र हैन, तिम्रो हेरविचार गर्दा, तिमीसँग रहँदा, तिम्रो हात समाऊँदा मात्र पनि मलाई आनन्द आऊँछ। नेपाल फर्किने मेरो निर्णय तिमीप्रतिको माया प्रकट गर्ने उचित तरिका हो भनेर त म भन्दिँन। मेरो राजनीति मेरो मायाको थप अभिव्यक्ति होइन; नत यसको थप पुष्टि नै। यो एक किसिमले मेरो मायाको प्रतिद्वन्दी हो भन्ने म स्वीकार गर्छु। मेरी प्रिय, मेरा राजनीतिक प्रतिबद्धताहरु पूरा हुनुपर्छ। यो सम्पूर्ण जनताको भविष्य र मेरो प्रतिष्ठाको विषय हो। कृपया मलाई बुझीदेऊ।

फेरि अर्को ठाउँमा;

-----आज चार/पाँच दिनपछि मात्र नुहाउँदैछु क्यारे। यो कुरा सुनिन् भने सुशीलाले नाक खुम्च्याऊँछिन्। उनी मलाई हरेक दिन नुहाउन र लुगा फेर्न लगाऊँथिन्। यहाँ म आफूलाई जे मन लाग्यो त्यहि गर्छु, तर म सुशीलालाई सधैं सम्झिन्छु। यो डायरीको जिल्दामा आफैंले टाँसेको उनको फोटो नियाल्छु। यो सानो र अलि फुलिसकेको फोटोमा समेत उनी जीवन्त देखिन्छिन्। उनको आँखाले मसँग कुरा गरीरहेजस्तो लाग्छ। कहिलेकाहीँ फोटो ओल्टाऊँदै पल्टाऊँदै उनका बारे सोच्छु। कहिले उनी दु:खी देखिन्छिन् त कहिले अलि बूढी जस्ती र मलीन। कहिलेकाहीँ थकित जस्ती। तर अक्सर उनी मन्द मुस्काईरहेकी नै हुन्छिन्। मुस्कानको एउटा छनक जसले उनी धपक्क बलेकी छिन्। प्रत्येक पटक उनको तस्बिर हेर्दा भावुक बन्छु।कहिलेकाहीँ भावुक हुँदै मेरा आँखाहरु रसाऊँछन्। कस्तो हुँदो हो उनलेयो कुरो थाहा पाईन् भने कि म उनलाई कति माया गर्छु भनेर। उनी बेसै होलिन् र मेरा बारे बढी चिन्ता लिनन्न् भन्ने आशा र कामना गर्दछु।

अनि एक दिन साँझ एक्लै हुँदा वीपी आफ्नी दिवंगत माताको सम्झनामा यसरी पोखिनुहुन्छ;
-----साँझ एक्लै हुँदा आमाका बारे सोच्छु। कपुरको बोटको अँध्यारो छायाँ एकटकले हेरिरहन्छु। मूर्खता या अन्धविश्वासवश त्यो अँध्यारोबाट आमा आउनुहुनेछ भन्ने आशा गर्छु। म साने छँदा उहाँले कानमा खुसुक्क दीक्षा मन्त्र सुनाउनुभएको थियो। अनायास त्यो मन्त्र सम्झिन्छु। आफूसंगै ल्याएको उहाँको कपालको एक झुप्पा हातमा लिएर, उक्त मन्त्र धेरैपटक दोहो-याऊँछु। उहाँ जहाँ भएपनि सुनिरहनुभएको होला र जहाँ भए पनि दर्शन दिनुहोला भन्ने आशा गर्छु। यो सब वेवकूफी हो तर उहाँको सम्झनाले मलाई एकदम सताएको छ।

अर्को एक दिन उहाँको स्वास्थ्य परीक्षण गरेर डाक्टर फर्किसकेपछि उहाँ लेख्नुहुन्छ;

----उनी गएपछि धन्य हुँदै आमालाई सम्झेँ। मलाई बचाऊन उहाँ यहीँ कतै घुमिरहेजस्तो लाग्यो। मलाई उहाँसंग भेट्न मन लाग्यो।

त्यहि दिन उहाँ अघिल्लो दिनको बयानको बारेमा पनि लेख्नुहुन्छ;

-----तानाशाहीको सबभन्दा गम्भीर अपराध के हो भने यसले पूरै देशलाई दुर्बल बनाऊँछ। जनताको नैतिकतालाई भ्रष्ट तुल्याउँछ।------एक सय वर्षे राणा निरङ्कुशता र त्यसपछि शाह अधिनायकवाद अन्तर्गत नेपालीहरुले आफ्नो चरित्र गुमाएजस्तो छ। नेपालीहरुलाई चरित्र नभएका मानिसहरुको भीडमा झारिएको छ। पतन भएका यस्ता मानिसहरुको उत्थान गर्नु असम्भव हुनसक्छ। केहि समयपछि तिनीहरु बिखण्डित हुनेछन् र इतिहासबाटै बिलाएर जानेछन्। मलाई आफ्नो भविष्यको भन्दा पनि यही चिन्ताले सबभन्दा बढी पिरोलेको छ। मेरो भविष्य त यसै पनि ठगहरुको जमातको हातमा छ।

वीपीले कतै हाम्रो समयको भविष्यवाणी त गरीरहनुभएको छैन त्यहाँ???? हामी त्यहि बाटोमा जाँदैछौं तिब्र गतिमा।

शाह राजाहरुको दम्भका प्रति उहाँ यसरी पनि रोष् प्रकट गर्नुहुन्छ अर्को ठाऊँमा;

----रमाईलो त के छ भने भारतका सबभन्दा ठूला राजा अशोक आफूलाई राजा भन्नमा नै सन्तुष्ट थिए। उनलाई महाराजा समेत भनिनुपरेन। महाराजाधिराज भन्ने कुरा त उनले सपनामा पनि सोचेका थिएनन्, जबकि उनी सम्राट थिए।