“गुँड” सर्दा-सर्दै यतिखेर म एउटा क्याम्पसको शिक्षक-कर्मचारी आवास क्षेत्रको एउटा घरमा आईपुगेको छु। जापान जानुअघि पनि यहिँ बस्थें, घर भने फरक परेको छ।
कुनै शुक्रवार साँझबाट यो गुँडमा पोका-पन्तरा सार्ने योजना थियो र त्यसै दिन बिहानबाट सरसफाई थालियो। चालीसको दशकको शुरुतिर बनेपछि सबै आवासगृहहरुमा कुनै गतिलो मर्मत-सम्भार गरिएको छैन। यसैले धेरैजसो आवास-गृहहरुको हालत ठीक छैन। पानी चुहिने, भित्ता चर्किने, ड्रेन बिग्रेका, अधिकाँश बत्तीहरु नबल्ने आदि समस्याहरु छन् धेरैमा। सरकारी सम्पत्तिको कत्ति पनि माया नगर्ने नेपाली बानीका कारण धेरैजसो फर्निचरहरु पनि बिग्रिसकेका छन्।, दुई दशकभन्दा बढी प्रयोग गरेपछि धेरै कुरा पुराना हुनु, बिग्रिनु स्वाभाविक हो तर लापर्वाहीपूर्ण प्रयोगका कारण बिग्रिनै नपर्ने कुराहरुको पनि अवश्था ठीक छैन धेरै आवासहरुमा। भन्न पनि लाज लाग्छ, कतिपयले छोडेर जाने बेला आवासगृहका सामानहरु बोकेर हिँडेका घटना पनि भेटिन्छन्।
सौभाग्यवश यो आवासगृह भने तुलनात्मक रुपमा राम्रोसंग स्याहार-सम्भार गरिएको भेटियो। यो घरमा पहिला बस्नुहुनेहरुसंग राम्रो परिचय छ हाम्रो। यहि घरमा लगभग बीस वर्ष बस्यो होला उहाँहरुको परिवार। उहाँहरुको स्वभावको आधारमा आफू निराश हुनुनपर्ने कुरामा म ढुक्क थिएँ, हुनुपरेन पनि। उहाँहरुले नफ्याँकी हिँडनुभएका पूराना किताब, पत्रिका र जुत्ताहरुका थुप्रा भने ठूलै थिए। एक वर्षदेखि लगभग खालीजस्तै रहेकाले फोहर, माकुराका जाला, धूलो आदि पनि प्रशस्त जम्मा भईसकेको रहेछ।
माथिल्लो कोठा सफा गर्ने क्रममा किताब–याकका फोहर पन्छाऊँदा त्यहाँबाट एउटा मूसो निक्लेर खुर्र दौडियो र तलतिर लाग्यो। पहिलाको आवासमा पनि मूसाहरुले दु:ख दिएका थिए, यहाँपनि दु:ख पाईने भयो भन्ने लाग्यो।
नभन्दै साँझबाटै मूसाहरुको ‘खेलकूद’ शुरु भयो। एक वर्ष देखिको आफ्नो एकछत्र राजमा ‘अतिक्रमणकारी’हरु पसेकाले उनीहरु धेरै रिसाएका पनि होलान्:) रातभरि मूसाहरुले भाँडाकुँडा बजाए, लडाए र पस्न सकेजति ठाऊँमा उनीहरुले आफ्ना लिँड उपहार पनि छोडेर गए। ‘भोलि नबिर्सिकन मूसाको विष वा खोर किनेर ल्याउने’ घर सल्लाह भयो।
तर बिर्सियो। नयाँ गुडँमा ब्यबश्थित हुन धेरै किनमेल गरियो तर धेरै दिनसम्म त्यहि मूसाको औषधि किन्न भने बिर्सिरहियो र रातभरि मूसाहरुको ‘खेलकूद’ र ‘कन्सर्ट’ बाट ‘आनन्द’ पाउने क्रम जारी रह्यो।
मूसाहरु धेरै भएको स्पष्ट थियो तर सधैं बाहिर देखिने उनीहरुको प्रवक्ताजस्तो एउटा ठूलो मूसो थियो। यो माऊ मूसो पनि हुनसक्छ। एकदम निडर लाग्थ्यो यो मूसो। टक्क रोकिएर हामीतिर हेर्थ्यो र नडराई हामीसंग आँखा जुधाऊँथ्यो यो मूसो। यसरी टाउको ठड्याएर चुनौतीका साथ हामीलाई आँखा तर्ने मूसो गणेशको वाहन नभएर गणेशका बाकै बाहन हुनुपर्ने, कसरी मूसो भएर जन्मिएछ बजिया! धरोधर्म! यो मूसोलाई देख्दा मलाई जहिलेपनि गजधुम्म बाटो छेकेर बसीरहेको साँढे देखेजस्तो लाग्थ्यो।
मूसाको विष किन्न लगातार बिर्सिरहेपनि सुत्नुअगाडि खानेकुराहरु मूसाले नभेट्नेगरी राख्न भने बिर्सिने कुरा भएन। साथै महत्वपूर्ण किताबहरु, लुगाहरु आदि पनि जोगाउने मेसो गरियो। सुत्ने कोठाको ढोका राम्ररी ढप्काए मूसा पस्न नसक्ने रहेछ। बैठक कोठा र भान्छाका ढोकाहरु ढप्काएपछि पनि मूसाहरुको आवतजावत रोकिने रहेछ। तर मूसाहरुको एउटा गुँड भान्छाको ठूलो –याकको पछाडि भएको कुरामा कुनै शंका थिएन। त्यो –याकको पछिल्तिर फोहर राम्रैसंग जम्मा भएको छ, त्यता सरसफाई गर्ने साईत अझै जुरेको छैन। त्यो –याक ‘एकदमै गह्रौं’ भएको निहुँ पारेर आलटाल गरिराखिएको छ अहिलेसम्म। ढोकाहरु सबै राम्रोसंग बन्द गर्दा बढीमा बाहिरका मूसा बहिरै र भित्रका मूसा भित्रै हुने थिए होलान्।
दोश्रो तल्लाको सानो चाहिँ कोठामा बसेर केहि गर्दै थिएँ एक साँझ, ढोका खुल्लै थियो। अलिअलि स-याकसुरुकको आवाज आयो र पछाडि हेरेको, चुनौतीका साथ आँखा जुधाउन उपश्थित थियो उहि ‘साँढे’ मूसो! यो मूसो तल-देखि माथि पूरै घर चहार्दो रहेछ।
हामीले ढोकाहरु सबै राम्ररी बन्द गरेर सुतेपछि मूसाहरुलाई साह्रै रिस उठेछ कि क्या हो, ढोकामै ‘नारा लगाउन’ र ‘तोडफोड गर्न’ थाले। राति मूसाले ढोका अगाडि केहि चिज कुटुकुटु काटेर निदाउन दिएन। ढोका खोलेर हेर्दा मूसो खुरुर्र भागिसक्थ्यो र देखिन्थ्यो मूसाले गरेको तोडफोडको नतीजाको रुपमा काठका साना-मसिना टुक्राहरु। आवासका ढोकाहरुमा काठमाथि एकपत्र पातलो प्लाई (?) टाँसिएको रहेछ र पूरानो हुँदै गएपछि त्यो प्लाई कतै-कतै उप्किन थालेको रहेछ। त्यहि प्लाई काटेर बस्दो रहेछ मूसो रातभरि। कुटुकुटु आवाजले असैह्य भएपछि ढोका खोल्ने र मूसो लखेट्ने क्रम जारी रह्यो केहि रात।
कोठामा सरेको पाँच दिनपछि बल्ल आईपुग्यो मूसाको विष। त्यो विष खाएपछि मूसो घर बाहिर गएर मर्छ भनेर लेखिएको थियो संगैको कागतमा। झट्ट हेर्दा साबुनजस्तो देखिने विषादि आठ टुक्रा पारेर प्रयोग गर्ने निर्देशन पनि लेखिएको थियो। ती टुक्राहरुलाई भान्छा, ढोकाहरुका अगाडि, भ-याङ्गमुनि आदि गरेर छरेर अलिक ढुक्कको सास फेरेर सुतियो।
राती मूसाहरुको ‘गतिबिधि’मा खासै कमी भने आएन। भोलपल्ट बिहान हेर्दा विषादिका सबै टुक्राहरु गायब भैसकेका थिए र ठाऊँ-ठाऊँमा मूसाका हरिया लिँडहरु देखिए, विषादि खाएपछिको असर होला शायद हरियो लिँड।
त्यो दिनबाट ‘साँढे’ मूसो देखिन छाड्यो।
‘साँढे’ नदेखिएपनि मूसाहरुको जुलुश भने ठूलै बाँकी रहेजस्तो लाग्यो। ढोका काट्ने काम अब तल्लो तल्लामा मात्रै बाँकी रह्यो। भ-याङ्ग चढेर माथिल्लो तल्लासम्म आउने ‘आँट’ शायद ‘साँढे’ मूसोमा मात्रै थियो:)
त्यो –याकको प्रयोग नगरिएको एउटा घर्रा सफा गर्दा अर्को मूसो निक्लियो र बैठक कोठातिर पुगेर बिलायो। यो मूसो धेरै पटक बैठक कोठातिर बिलाएकोले मूसा भित्र-बाहिर गर्ने प्वाल होला त्यो कोठामा कतै भनेर धेरै खोजियो तर पत्तो लागेन।
अर्को एक पोको औषधि पनि भित्रियो घरमा।
यो दोश्रो पोकोलाई टुक्र्याएर छरेको भोलिपल्ट दिऊँसो एउटा सानो मूसो भान्छाको –याकसंगैको झ्यालमा ऊँघेर बसिरहेको थियो। विषको असर हुनसक्छ। त्यति शक्ति नभएको देखेर उसलाई बढार्ने र डष्ट कलेक्टरमा हालेर बाहिर फ्याँक्ने विचारमा पुगें म। केहि घण्टामा त्यो मूसो बाहिरै मर्ने थियो। तर मैले उसको नजिक कूचो लानासाथ मूसो ज-याकजुरुक उठेर टाप कस्यो र –याकमुनि पुग्यो।
त्यो साँझ लोडशेडिङ्ग थियो र म घरमा एक्लै थिएँ। त्यो ‘बिरामी’ मूसोलाई निकाल्न र लखेट्न मैले धेरै कोशिश गरें। धेरै बेरसम्म –याकमुनि रड घुमाईरहें, तर मूसो निक्लेन।
भ-याङ्गमुनि ध्यान दिएर हेरेको, मूसाले प्वाल बनाएको रहेछ। केहि दिनअघि भ-याङ्गमुनि त्यस्तरी युद्धस्तरमा सफा गर्दा पनि यो देखिएनछ। भ-याङ्गमुनि सधैं अँध्यारो हुने, त्यसैले होला। अहिले बत्ती नहुँदा ईमर्जेन्सी लाईट बोकेर त्यता गईएछ र प्वाल देखियो। मूसाहरु बैठक कोठामा होईन, यतै आएर बिलाउँदा रहेछन्।
भ-याङ्गमुनिको प्वाललाई ईँट्टाका टुक्राहरुले टालटुल पार्ने कोशिश गरें मैले र फेरि भान्छातिर फर्किएँ। भान्छाको एक छेऊमा ‘बिरामी’ मूसो अल्मलिईरहेको थियो। पछाडिबाट सुटुक्क गएर एउटा मोटो लठ्ठीले जोडले थिचें एकछिन्। आर्तनाद गरिरहेको मूसोलाई त्यहि लठ्ठीले घिसार्दै ढोकासम्म लगें र हुच्चिएर बारीतिर हुर्र्याईदिएँ। पानी परीरहेको थियो, केहि बेरमै म-यो होला त्यो मूसो।
दोश्रो पोको औषधिका आठ टुक्रा मध्ये दुई टुक्रा त्यतिकै बाँकी रहेछन्। त्यो रात र भोलिपल्ट बिहानसम्म तलको कोठाको ढोका काटेको आवाज सुनिँदै थियो, त्यसपछि सुनिएन। विषादिका बाँकी दुई टुक्राहरु पनि देखिएनन् त्यसको एक रातपछि।
त्यसपछिका चार दिन घर बसिएन। फर्किएर आऊँदा पूरै घर डुङ्डुङ्ती गन्हाईरहेको थियो। तीनवटा मूसा मरेर कुहिन थालिसकेका रहेछन्। दुईटा ट्वाईलेटमा थिए र एउटा भान्छासंगैको स्टोरमा थियो। विषादिमा लेखिएको सही हो भने ‘मर्न’ का लागि खुल्ला ठाऊँ खोज्दा-खोज्दै त्यहाँ पुगेका होलान्, बाहिर निस्कने बाटो भेटेनन् होला। तीनलाई फालेपछि गन्हाउन छोड्यो।
यतिखेर भने मूसाले दु:ख दिएका छैनन् तर एक हप्ताको मूसा आतंकले छोडेको प्रभाव भने ज्यूँदै छ। कतै केहि स-याकसुरुक गरेजस्तो लाग्यो कि मूसा आयो भनेर उठ्न र बत्ती बाल्न छोडेको छैन:)