February 24, 2009

जापानको स्वास्थ्य-प्रणाली-ब्यक्तिगत अनुभवबाट केहि कुरा

(Image Source)


वार्ड अफिसबाट छोरीको तीन वर्षे स्वास्थ्य परीक्षणको बारेमा चिठ्ठी आयो, अस्तिहुँदी। छोरी तीन वर्षकी हुनलागेकी त याद थियो तर तीन वर्षमा गरिनुपर्ने उस्को स्वास्थ्य परीक्षणको कुरा भने दिमागको कुनै कुनामा लुकिरहेको थियो। यो चिठ्ठी नआएको भएपनि अरु कुनै प्रसंगले याद दिलाऊँथ्यो होला, तर चिठ्ठी आइदिनाले चाँडै भयो, राम्रै भयो। दैनिक जीवनको झमेलामा परेर यस्ता महत्वपूर्ण कुराहरु समेत 'ब्याक सीट'मा पुग्दा रहेछन् कहिलेकाहीँ।

जापानमा स्वास्थ्य बीमा अनिवार्यनै छ। स्वास्थ्य बीमा नगर्ने हो भने साना-साना उपचारले पनि मान्छेलाई जोगी बनाइदिन्छन्। विद्यार्थीहरु, स्वरोजगारहरु (र बेरोजगारहरु) लाई राष्ट्रिय स्वास्थ्य-बीमाले समेट्छ भने कर्पोरेट क्षेत्रको बीमालाई स्वास्थ्य-बीमामात्रै भनिन्छ। दुबै थरीको अनुभव भयो जापान बसाईमा, उपभोक्ताको आँखाबाट हेर्दा केहि फरक देखिँदैन, खर्च राज्यले बेहोर्ने वा सम्बन्धित कम्पनीले भन्ने सवालमात्रै हुनसक्छ। स्वास्थ्य बीमा गरेपछि वयस्कहरुले उपचार खर्चको ३०% मात्रै तिरे पुग्छ भने बच्चाहरुको उपचार भने नि:शुल्क हुन्छ (कुन उमेरसम्म हो भन्ने ठ्याक्कै याद भएन अहिले; फेरि प्रान्त (prefecture) र शहर हेरी फरक पनि हुनसक्छ)। अमेरीकी चुनावमा जहिले पनि Universal health care को पक्ष-विपक्षमा ब्यापक वहस सुनिन्छ। विपक्षमा उभिनेहरुका पनि आफ्नै तर्कहरु होलान् र कुनै पनि देशको राजनीतिक/सामाजिक परिवेशलेपनि Universal health care सफल हुने-नहुने कुरामा धेरै असर पार्छ होला; तर जापानमा भने यो तरिका एकदम सफल देखिन्छ। मेरो बुझाइ सीमित पनि हुनसक्छ, त्यो कुरा भने म स्विकार गर्छु। आफ्ना साना-ठूला उपचार बाहेक, छोरी यहीँ जन्मेकीले जापानको बालबच्चासम्बन्धी नीतिहरुको बारेमा पनि धेरै कुरा प्रत्यक्ष रुपमा अनुभव भयो। एक-दुई साना घटनाहरुलाई छोडेर (जसको बारेमा पछि कुनै दिन लेखौंला) अहिलेसम्मको मेरो अनुभव अत्यन्त सकारात्मक छ।

बच्चा जन्मिँदा लाग्ने खर्च लगभग सबै फिर्ता हुन्छ। बच्चाहरुको उपचार नि:शुल्क हुनुका साथसाथै बच्चा हुर्काउन भरथेगका लागि राज्यले अलिकति पैसा पनि दिन्छ निश्चित उमेरसम्म। जापानको महंगीको अनुपातमा रकमको परिमाण थोरै भएपनि यो धारणा आफैं पनि अत्यन्त राम्रो हो। दुई भन्दा बढी बच्चा छन् भने तेश्रो, चौथो--- बच्चाको नाममा आउने पैसा पहिलो, दोस्रोको नाममा आउने भन्दा बढी हुन्छ। जनसंख्या द्रुत गतिमा ओरालो लाग्न थालेपछि जनताले बच्चा धेरै जन्माउन् भनेर ल्याईएको होला यो नीति। तर यति हुँदा-हुँदै पनि जापानको जनसंख्या ओरालो लाग्न भने छोडेको छैन अझै, त्यो बेग्लै कुरो हो, जन्मदर झन्-झन् घटदै छ।

बच्चाको स्वास्थ्य परीक्षण गराउने वा र भ्याक्सीनहरु लगाउने समय हुन आँटेपछि वार्ड अफिस वा सिटी अफिसबाट जानकारी-पत्र र भर्नुपर्ने फारामहरु सबै आऊँछन्। महिलाहरुको हकमा हरेक वर्ष जन्मदिनको आसपासमा पाठेघर अथवा स्तन क्यान्सरको Preventive check up गर्ने अनुरोध गर्दै चिठ्ठी पनि आऊँछन्। जागिरेहरुलाई पनि वर्षको एकपल्ट पूर्ण स्वास्थ्य-परीक्षण अनिवार्य छ जसको खर्च अलिकति पनि आफूले ब्यहोर्नुपर्दैन।

हाम्रो देशमा Universal health care एकैपटक अहिल्यै ठ्याक्क लागू गर्न सकिने स्थिति छैन। नेपालीको औसत आर्थिक स्थिति अहिलेभन्दा धेरैनै माथि पुग्नु आवश्यक हुन्छ त्यसका लागि। बीमाकै हकमा पनि दुर्घटना बीमा, जीबन बीमा आदि पहिल्यैदेखि अस्तित्वमा रहेपनि हामीकहाँ स्वास्थ्य बीमाको शुरुवात अझै भएको छैन (विगत ५-६ वर्ष यता शुरु भईसकेको भए माफ पाउँ।) वि. सं. २०५८ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि बनेको मन्त्रीमण्डलका स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटाले यो धारणालाई अगाडि बढाउने कोशिश गरेका थिए। राजनीतिको भूत सवार कांग्रेस-कम्युनिष्टले अरु कुराका साथसाथै यो धारणाको समेत विरोध गरेका थिए। कसरी अगाडि लाने भन्ने कुरा एउटा हो तर स्वास्थ्य बीमाको अवधारणालाईनै गलत भन्नु बिल्कुलै नाजायज हो। त्यतिखेर राजनीतिक कारणले विरोध गरेपनि उनको यो धारणालाई पछि आएर आफैंले समातेको भएपनि राम्रै हुनेथियो। असल राजनीति गर्नेहरुले आफ्ना विरोधीकै भएपनि राम्रा अवधारणाहरुलाई भने टिप्न सक्नुपर्छ। हाम्रा दलहरुका नीति र घोषणपत्रहरु मैले पढेको छैन, पट्यार लाग्छ मलाई त्यस्ता कुरा पढ्न:), यस्ता कुराहरुपनि कसैले समेटको छ भने राम्रो हो।

स्वास्थ्य-बीमाको अवधारणालाई सरकारी कर्मचारीहरुको एउटा हिस्सा र नीजि क्षेत्रका केहि संस्थाहरुबाट शुरु गर्न र बिस्तारै ब्यापक बनाउँदै लैजान सकिन्छ जस्तो लाग्छ मलाई।

February 18, 2009

आजका तीन कुरा

बिहानको खाजा खाने तयारी हुँदै थियो, हल्का भूकम्प आयो। छोरी अझै निद्रामै थिई, उसलाई उठाएर बाहिर वा कुनै सुरक्षित ठाऊँतिर कुद्नुपर्ने हो कि भन्ने दिमागमा आईसक्दा भूकम्प पनि बिदा भईसकेको थियो। यस्ता सानातिना भूकम्प जापानमा सामान्यनै मानिन्छन्, अब हामीलाई पनि सामान्यनै लाग्न थालिसक्यो। पहिला-पहिला भने धेरै डर लाग्थ्यो।

एकछिनपछिनै टेलिभिजनले भूकम्पको बारेमा बताउँदै थियो। यो भूकम्पको SHINDO (seismic intensity)नागोयामा रहेछ। जापानमा भूकम्प मापनको प्रविधि अन्यत्र प्रयोग हुने रेक्टर स्केल भन्दा फरक , त्यसको बारेमा यहाँ पढ्नसक्नुहुन्छ।

भूकम्पको बारेको मेरो पुरानो टाँसो यहाँ छ।
---------------------------------------------------------------------------------
अमेरिकी विदेश मन्त्री (सजिलोको लागि मन्त्री भन्दिएको, अमेरिकीहरु Secretary शब्द प्रयोग गर्छन्) हिलारी क्लिन्टन छाइरहेकी थिईन् बिहानको समाचारमा। आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणको पहिलो गन्तब्यको रुपमा हिलारीले जापानलाई छानेकोलाई जापानीहरुले निकै महत्व दिएको देखिन्छ। जापान-अमेरिकी सम्बन्ध निश्चयनै विशेष तर भ्रमण कार्यक्रमको यो सानो काकतालीलाई यस्तरी बढाई-चढाई गरेको देख्दा हाँसो उठ्छ मलाई। अमेरिकासंगको प्रसंगमा यस्तै छन् जापानीहरु।

टोक्यो विश्वविद्यालयमा हिलारीको भाषण रहेछ हिजो। भाषण सुनेर फर्केकाहरु निकै प्रभावित देखिन्थे हिलारीको charisma बाट। एकजना बूढीआमै "जापानले पनि यस्तै महिला नेतृ कहिले पाऊँछ होला?" भन्दैथिन्। महिलाप्रति अत्यन्त अनुदार जापानी समाजमा हिलारी वा राइस जन्मिन अझै अलिक समय लाग्छ होला। युवराजसंग बिहे गरेर दरबारको सुनौलो पिँजडामा युवराज्ञीकी रुपमा कैद नभएकी भए मासाको ओवादा एउटी प्रभावशाली जापानी महिलाको रुपमा उदाउन सक्थिन् होला, राजनीतिज्ञको रुपमा नभएपनि कूटनीतिज्ञको रुपमा। यो मामिलामा मेरो बुझाई कम पनि हुनसक्छ, सबै क्षेत्रमा उदाऊँदै गरेका महिला नेतृहरु पनि धेरै होलान्। आशा गरौं, त्यस्तै होस्। तर जापानी समाजले दिने एउटा दह्रो प्रभाव भनेको महिलाप्रति अनुदारनै हो

धेरै पहिलाको मेरो टाँसो "जापान-मनका केहि तरंगहरु" पढ्नुभयो भने जापानका केहि पक्षका बारेमा मैले बनाएका धारणाहरु बुझ्न पाउनुहुनेछ।
---------------------------------------------------------------------------
अर्थमन्त्री शोइची नाकागावा पनि उत्तिकै छाइरहेका थिए समाचारमा। टेलिभिजन वा पत्रिकाहरु कमै हेर्ने इण्टरनेटमा पनि नेपालकै समाचारमात्र हेर्ने बानी लागेकाले जापानका कतिपय बहुचर्चित घटनाहरुका बारेमा पनि थाहै हुँदैन। यो बानी हटाउन सकिएको छैन अझै।

तिनले हिजो साँझ राजिनामा दिएछन्। जी- को हालैको रोम बैठकपछिको एउटा पत्रकार सम्मेलनमा तिनको भाव-भंगिमा प्रस्तुति जँड्याहाको जस्तो हुनाले देशको बेइज्जत भयो भन्ने हल्ला चलेको रहेछ। विपक्षी दलहरु सरकारमै सम्मिलित एउटा दलले पनि राजिनामा मागेपछि तिनी गोल्खाडी भएछन्।

आर्थिक संकटको सामनामा जुटिरहेको जापानका लागि यो अस्थिरताको अर्को एउटा झट्का हो। उता आफ्नो सरकारको लोकप्रियता ओरालो लागेर १० प्रतिशतभन्दा कममा पुगिसकेको बेला प्रधानमन्त्री तारो आसोका लागि झन ठूलो झट्का हो।

पत्रकार सम्मेलनमा ती असाध्यै गडबड देखिएका रहेछन्। तल भिडियोमा हेर्नुस्।

February 14, 2009

"हाम्रो समाज:एक अध्ययन" को प्रसंगमा एक-दुई कुरा


केहि समय पहिला हात परेको जनकलाल शर्माज्यूले लेख्नुभएको "हाम्रो समाज:एक अध्ययन" पढीभ्याईयो। यो पनि पूरै टुक्रे तालले, सब-वे र बसमा एक्लै परिएका बेलाहरुमा पढेर सिध्याइयो। कुनै केन्द्रीय विषयवस्तु (theme) र त्यसैलाई सघाउने घटनाक्रमहरु वा कथा नभएको, विविध विषयको जानकारीमूलक कृति भएकोले 'क्रमभंग' गर्दै पढ्दा पनि त्यति धेरै फरक भने पर्दोरहेनछ। तैपनि कतै नअल्मलिई लगातार पढ्न पाएको भए अझ राम्रो हुन्थ्यो होला।

यो कृति नेपालमा रहेका बिभिन्न जातजातिहरुको सामाजिक/साँस्कृतिक अध्ययन हो। आफ्नो सीमित ज्ञानका कारण यसमाथि समीक्षा गर्ने मेरो औकात छैन। यसैले यो टाँसोलाई जानकारीको बाँडचूडको रुपमा मात्रै लिईदिनुहोला। समाजको अध्ययन भन्नासाथ इतिहास र राजनीति लगायतका धेरै कुराहरु पनि स्वाभाविक रुपले जोडिएर आउँछन्। नेपाली समाजका बिभिन्न पक्षहरुका बारेमा धेरै नयाँ कुरा जानें मैले यो किताब पढेपछि। यो किताबलाई नेपाली समाज बारेको एउटा सानो विश्वकोष भने हुन्छ र सबैले संग्रह गर्न लायक छ। जातीय र क्षेत्रीय चेतना बढीरहेको र त्यसै अनुरुप राज्यब्यबश्था निर्धारण हुन लागेको यो घडीमा यस्ता पुस्तकहरु हाम्रा नीति-निर्माताहरुका लागि पनि सहायक-सिद्ध हुनसक्छन्।

"मानवविकासको सन्दर्भमा नेपाली समाज" बाट पुस्तकको शुरुवात गरिएको छ। नेपालको भौगोलिक स्थितिमाथि अलिकति चर्चा गरेपछि लेखकज्यूले पृथ्वीको उत्पत्ति र पृथ्वीको कालनिर्णयका बारेमा पश्चिमी र पूर्वीय दुबै धारणाका आधारमा निकै ब्याख्या गर्नुभएको छ। पृथ्वीमा मानवजातिको उदय र विकासका कुरा आऊँछन् त्यसपछि। संस्कृत र अँग्रेजीका "प्राविधिक" शब्दहरुको ब्यापक प्रयोग गरिएको यहाँसम्मको भागलाई पछि पढ्न छोडेर अगाडि बढेपनि खासै फरक पर्दैन, समय कम छ भने। तर एकचोटि पढ्दा राम्रै हुन्छ मानवजाति कसरी आजको अवश्थामा आईपुग्यो भन्ने जान्न। यसपछि नेपालमा मानवविकासको चर्चा छ।

नेपालमा जारी रहेको वर्णवाद, जातिवाद आदिमाथिको ब्याख्या दोश्रो अध्यायमा छ भने प्रजातिवाद (Racism) को चर्चा तेश्रोमा। कुनैपनि समाजमा धर्म, अभिचार र विज्ञानले पार्ने प्रभावको सम्बन्धमा चौथो अध्यायमा ब्याख्या गरिएको छ भने पाचौं र छैठौं अध्याय क्रमश: 'लोकआख्यान' र
'लोककथा'मा केन्द्रित छन्। अध्याय ६ देखि २१ मा नेपालमा रहेका बिभिन्न जातिहरुको बारेमा ब्याख्या गरिएको छ। हिमाली र पहाडी भेगमा बसोबास गर्ने लगभग सबैजसो र तराइमा बस्ने धिमाल र थारुसमाज समेटिएका छन्।

कुनै जातिविशेषको चर्चा अलि बढी र कुनैको अलि कम छ (बाहुन-क्षेत्रीका केहि थरविशेषकै लागि सिंगै अध्याय समेत छुट्याइएको छ) तर लेखकले कुनै जाति/समाजविशेषप्रतिकतै पनि पूर्वाग्रह राख्नुभएको छैन। मलाई अलि खट्केकोचाहिँ यो पुस्तक तराइमा बसोबास गर्ने नेपाली जनताहरुको एउटा समूह (जो अचेल आफूलाई 'मधेशी' भन्दै पहिचानका लागि संघर्षरत छ) को बारेमा भने मौन छ। उनीहरुलाई 'मूलधार'का नेपाली नमान्ने तत्कालीन शाशकीय नीतिको छायाँ जनकलाल शर्माज्यूमा पनि रहेको देखिन आऊँछ। जानकारीनै नभएको भन्ने कुरा पत्यारिलो लाग्दैन। पहाडका 'ओझा' र तराइका 'झा' निकटका सम्बन्धी हुन् भन्ने जस्ता प्रसंगपनि लेखकज्यूले राख्नुभएको छ। कारण अरुनै पनि हुनसक्ला तर नेपालको समाजभित्रको एक अंगको रुपमा मधेशी समाजको पनि ब्याख्या आएको भए यो किताब एउटा पूर्ण किताब हुनेथियो। आशा गरौं, भविष्यका संस्करणहरुमा यो कुरा थप भएको देख्न पाइनेछ।

अन्तिम (२२औं) अध्याय तेश्रो संस्करण(२०५८ साल)का लागि थप गरिएको रहेछ। "हाम्रो समाजले आर्जेको भौतिक र सांस्कृतिक उपलब्धि" नाम दिईएको यो अध्याय पुस्तकभित्रका अरु अध्यायहरुको दाँजोमा कता हो कता फितलो छ। हाम्रो समाजमा रहेको जननेन्द्रीय पूजा (शिवलिंग आदि) लाई केन्द्रभागमा राखेर चर्चा गरिएको छ। यसको इतिहास खोज्दै लेखकज्यू भारतवर्षलाई नाघेर धेरै पुराना सभ्यताहरुसम्म पुग्नुभएको छ। निश्चित रुपमा जननेन्द्रीय पूजाका आफ्नै सांस्कृतिक/धार्मिक/दार्शनिक मान्यता छन् र हाम्रो समाजमा यसको ब्यापक प्रभाव पनि छ तर हाम्रो समाजले आर्जेको भौतिक र सांस्कृतिक उपलब्धिका रुपमा यसकै मात्र वरिपरि घुम्नु त्यति ठिक होईन कि? फेरि यो अध्यायको वर्णनशैली पनि चित्त बुझेन मलाई। एकदम हतारमा लेखेजस्तो लाग्छ। उनै कुराहरु धेरै ठाऊँमा दोहोरिएका छन्।
-----------------------------------------------------------------------------
लेखकज्यूले सन्दर्भ-सामाग्रीका रुपमा धेरै ठाऊँमा शिखरनाथ सुवेदीद्वारा लिखित "थरगोत्र-प्रवरावली" नामक पुस्तकलाई उल्लेख गर्नुभएको छ र उक्त पुस्तकका थुप्रै श्लोकहरुलाई प्रमाणको रुपमा पेश गर्नुभएको छ।

बच्चै हुँदा हाम्रो गाऊँको कुनै घरमा 'शिखरनाथ भाष्य' छ भन्ने कुरा सुनिन्थ्यो। 'शिखरनाथ भाष्य'लाई 'शिखरनाथ भास्यो' को रुपमा सुनिएछ पहिला, त्यसैले 'शिखरनाथ' भन्ने कुनै मन्दिर भासिएको कुरा लेखिएको किताब होला भन्ने दिमागमा बस्यो केहि समय। "यो कुरा हल्ला नगर्नु, फेरि पुलिस आऊँछ त्यो किताब खोस्न!" भनिएको पनि थियो एकचोटि। ठूलो हँदै गएपछि 'शिखरनाथ भाष्य' भनिएको हो भन्ने ज्ञान भयो, "थरगोत्र-प्रवरावली" भन्न गाह्रो लागेर 'शिखरनाथ भाष्य' भनिएको हुनुपर्छ। तर यसबारेमा बढी जानकारी लिने चाहना र प्रसंग दुबै मिलेन। "हाम्रो समाज:एक अध्ययन" पढेपछि अलि-अलि यसका बारेमा पनि जानकारी पाईयो।

नेपालमा रहेका बिभिन्न जातजातिहरुको थर र गोत्रका बारेमा लेखिएको पुस्तक रहेछ यो। सामाजिक कर्मकाण्ड विशेष गरी विवाहलाई ध्यानमा राखेर, कसको विवाह को संग चल्छ-को संग चल्दैन भन्ने कुराका लागि सन्दर्भपुस्तकका रुपमा तयार पारिएको रहेछ। "जातभातको कुरा उचालेर समाजमा फूट ल्यायो" भन्ने आरोप लगाउँदै राणाहरुले वि. सं. १९७८मा यो पुस्तकमाथि प्रतिबन्ध लगाएका रहेछन्। "हाम्रो समाज:एक अध्ययन" को 'परिशष्ट' मा दिईएका तीन सामाग्रीमध्येको दोश्रो, राणाहरुको भारदारीले गरेको यसैसम्बन्धी फैसला हो। प्रतिबन्ध लगाउनुपर्ने मूल कारणको रुपमा "पहिलेनै छिनोफानो भईसकेको 'चारजाते' र 'सोह्रजाते' को कुरा फेरि उचालेर गुरुङहरुका बीचमा फाटो ल्याउन खोजेकाले शिखरनाथ सुवेदीको "थरगोत्र-प्रवरावली" माथि प्रतिबन्ध लगाईपाउँ" भनेर गुरुङहरुले दिएको निवेदनलाई देखाइएको छ। यसबाहेक, आफूलाई अरु 'रैती' सरह देखाएकोमा पनि शीखरनाथ सुवेदीसंग रिस उठेको हुँदो हो राणहरुलाई!

राणाहरुको त्यो प्रतिबन्ध-आतंक राणा-शाशन सकिएको ३०-३५ वर्षपछिसम्म पनि जनताको मनमा आलै रहेको देख्दा अहिले अनौठो लाग्छ मलाई!

उद्धरण गरिएका श्लोकहरुका आधारमा हेर्दा शिखरनाथ सुवेदीज्यूको भाषा एकदम परिष्कृत र माझिएको देखिन्छ, विशेष गरी परिशिष्टमा देखाइएका सरकारी कागजातको भाषाको दाँजोमा। हाम्रा धेरै सरकारी कागजातमा अझै पनि त्यस्तै काइते भाषाको प्रयोग जारी छ।
-----------------------------------------------------------------------
यो किताब पढ्ने मौका दिनुभएकोमा कुमारजीलाई धन्यबाद!
************************************************************************
जनकलाल शर्माज्यूले लेख्नुभएका पुस्तकहरुमध्ये मैले पढेको यो दोश्रो हो। दश वर्षजति पहिला होला, उहाँको "कौतुकमय डोल्पो" भन्ने मनोरम यात्रा-विवरण पढेको थिएँ। यसमा उहाँले माथिल्लो डोल्पो(डोल्पा) को सुन्दर प्रकृति र त्यहाँको समाज/संस्कृतिको बारेमा लेख्नुभएको छ। अहिलेसम्म आफूले पढेका यात्रा-संस्मरणहरुमध्ये सबैभन्दा राम्रो एउटा छान्नु प-यो भने यहि छान्छुहोला मैले।

"कौतुकमय डोल्पो" पढेको केहि समयपछि एरिक भ्यालीको 'क्याराभान' फिल्म हेरें। 'क्याराभान' आफैंमा अति सुन्दर चलचित्र हो तर "कौतुकमय डोल्पो" पढिसकेपछि 'क्याराभान' नहेरेपनि फरक पर्दैन भन्ने लाग्यो मलाई। त्यति शक्तिशाली छ त्यो किताब! यस्ता शक्तिशाली किताब कमै हुन्छन्।
*******************************************************************************








February 09, 2009

"आज फेरि सपनीमा देश देखें" र चोरीबाट सावधान!

आफ्नो रचना, त्यो पनि साह्रै आत्मीयलाई यस्ता काइते प्रसंगमा जोडेर राख्ने मन थिएन। कुनै दिन यसलाई सोझै यहाँको आँखामा पारौंला भन्ने लागेको थियो। तर यहाँहरुलाई पनि होशियार बनाउनुनै ठीक होला भनेर यो प्रसंगपनि लेख्दैछु।

नेपाली युनिकोडमा हात बसेपछि आफ्ना नयाँ-पुराना धेरै रचनाहरुलाई बिभिन्न साइटहरुमा राखियो। मैले विशेष गरी साझामा धेरै लेखें केहि समय। त्यसबाहेक अरु केहि साइटहरुमा पनि फाट्टफुट्ट लेखें, धेरैजसो याद छैन अब।

२००५को लक्ष्मी-जयन्तीका लागि भनेर रचना गरेको परदेशी शिर्षकको एउटा कविता साझाको "कविताको देश" भन्ने धागोमा पनि टाँसेको थिएँ। पछि त्यो कवितालाई कुरुप 'कस्मेटिक सर्जरी' गरेर, कतै काटेर-कतै ऐंजेरु थपेर एकजना मित्रले कुनै अर्को साइटमा आफ्नै नाममा छपाएको भेटियो। बलजफ्ती गरिएको काँटछाँटबाट त्यो चोरिएको कविता हो भन्ने सजिलै थाहा हुन्थ्यो। ति मित्र "कविताको देश" का नियमित सहभागी थिए पहिला, कविता चोरी गरेपछि देखिन छाडे। साझामै अलि-अलि चर्चा गरेपछि यो घटनलाई बिर्सेछु मैले, तर बिर्सन नहुने रहेछ।

साझाबासकै बेला गजलबारे केहि प्रारम्भिक ज्ञान पाएको हो मैले, त्यसभन्दा पहिला पढ्न-सुन्न राम्रो लागेपनि गजलको ब्याकरणको बारेमा फुट्टी पनि ज्ञान थिएन। साथीहरुका संगतमा लागेर दश-बाह्र वटा गजल लेखेंपनि। त्यो यात्रा अहिले रोकिएको छ; कारण धेरै हुनसक्छन्, त्यता नलागौं अहिले।

त्यतिखेर लेखेको एउटा गजल इण्टरनेटको कुन-कुन अड्डामा राखिएको रहेछ भनेर खोज्ने सूर चल्यो, अस्ति एउटा प्रसंगवश र गुगलमा "आज फेरि सपनीमा देश देखें" लेखेर ठेल्दिएँ।

मिलेको सूचिको टाउकैतिर मेरो गजलका हरफहरु बोकेको म कहिल्यै नपसेको एउटा अड्डा (साइट) देखियो। पसेर हेर्दा मेरो गजल त्यहाँ पनि टाँसिएको रहेछ, तर रचनाकारको नामै नराखी। मैले लेखिसकेर साझाको गजलको धागोमा राखेको नौ महिनापछि यसमा राखिएको रहेछ। अरु कसैको नाममा नराखिएको हुँदा चोरीको नियत छैन पनि भन्न सक्ला कसैले, तर राखेको यति लामो समयसम्म पनि नाम नदेखिनु पनि खराब नियतै हो। राखिएको पर्सिपल्टै 'रचनाकारको नाम राख्ने' अनुरोध गर्दै एकजना पाठकको प्रतिकृया पनि आईसकेको रहेछ। तैपनि नराखिनु भनेको अर्काको रचनालाई कौडीमा पनि नगनिएको, रचनाकारको आत्मसम्मान नगरिएको उदाहरण हो।

मैले पनि त्यो गजल आफ्नो भएको जानकारी दिँदै गल्ती सच्याउन अनुरोध गरेको तीन दिन भयो, तर अझै सच्चिएको छैन।

तपाईँ-हाम्रा प्यारा रचनाहरु कति यसरी अर्काकै नाममा अथवा गुमनाम भेटिन सक्छन् खोज्दा। गुगल अथवा कुनै पनि सर्च ईञ्जिनले नदेखाउने पनि होलान् कति। यो क्रम बढ्दै जाँदा भविष्यमा कुनै दिन आधिकारिकता सम्बन्धी समस्या आउने निश्चित छ। इण्टरनेटले गर्दा लेख्ने र छपाउनेलाई सजिलो भएको छ, तर चोर्नेलाई झन सजिलो भएको छ। यो समस्यामाथि गम्भिर विचार गर्नेपर्ने भएको छ। चोरहरुको पाएसम्म भण्डाफोर गर्नैपर्छ। पेशेवर या सौखिन, हाम्रो रचना भनेको हाम्रो सम्पत्ति हो, त्यसमा हामीले प्रशस्त समय र सृजनात्मक उर्जा खर्चेका हुन्छौं। यसलाई बिटुल्याउने र बजारमा सस्तो बनाउने कामको जति निन्दा गरेपनि कम हुन्छ।

तपाईँहरु पनि होशियार बन्नुहुनेछ भन्ने आशा गरेको छु।


चोरिएको गजलको स्क्रीन शट
----------------------------------------------------------------
त्यो मेरो साह्रै आत्मीय गजल रचना राख्दैछु अब। २००५, डिसेम्बर ८ मा साझाको गजलको धागोमा पहिलोपटक टाँसिएको थियो यो।


सपनीमा आज फेरि देश देखें

पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा देश देखें।

February 05, 2009

क्या बात नेपाल प्रहरी!!!!


(साभार:नेपाल प्रहरी)
यो ऋषि धमला भन्नेको जगजगी चलेको बेला आफू नेपालमा बसिएन तर यसको चुरीफुरी देख्दा केहि न केहि गडबड छ जस्तो भने लाग्थ्यो। यसको नाटकीय जीवन-शैली र कथित पहुँच हेर्दा सबैलाई त्यस्तो लाग्नु स्वाभाविक हो।

उ पक्राउ परेको समाचार हिजो बिहान पढेको थिएँ। आज बिहानसम्म पनि ब्लगमा आफूले हालसालै पढीभ्याएको एउटा नेपाली किताबको बारेमा केहि लेख्ने योजनामै थिएँ। खासमा ड्राफ्ट आधा तयार पनि भईसकेको छ। तर आज बिहान उ र अरु केहिका बारेमा प्रहरीले गरेको पत्रकार सम्मेलन र प्रहरीले प्रस्तुत गरेको टेलिफोन संवाद उमेशको संसारमा पढिसकेपछि यसै बारेमा केहि नलेखी बस्नै सकिँन। जानकारी त मेरो संसार र अन्त जति भनेपनि छन्, यहाँ मैले आफ्नो विचारमात्रै राख्न खोजेको हो।

अचम्म छ कि ऋषि धमलाको आवतजावत र संबन्ध कहाँ-कहाँ र को को संग छ भन्ने थाहा हुँदा-हुँदैपनि हाम्रो देशका ठूला-ठालूहरु उसको कथित 'रिपोर्टस् क्लब'मा बत्तीमा पुतली झुम्मिएजसरी झुम्मिन्थे। सार्वजनिक सरोकारका विषयमा बोल्न अरु कुनै ठाऊँनै नभएजस्तो गर्थे सबै। आज ती सबै लाजले मर्नुपर्ने हो!

भारतले नेपालभित्र आफ्नो जासुसीको जालोलाई यति गहिरोसंग र सुदूर भविष्यसम्मको योजना गरेर गाडिसकेको रहेछ। २५-३० वर्षको उमेरबाटै एउटा मान्छेलाई 'आफनो' बनाउन सक्ने हो भने कम्तिमा ३५-४० वर्ष सजिलै सेवा पाऊन सकिन्छ। अझ त्यो ब्यक्तिको सामाजिक/राजनितिक हैसियत बढ्दै जाँदा भारतको पहुँच पनि त्यहि अनुसार गहिरिँदै जान्छ। भारतले यस्ता ऋषि धमलाहरु कति तयार पारेर काम लिईरहेको छ होला भन्ने सोच्दा मेरो आङ जिरिङ्ग भएर आयो। भारत एउटा ऋषि धमलाकै मात्र भर परेर बसेको त पक्कै छैन। यो समातिएपछि अब अरु 'ऋषि धमलाहरु' अझ बढी होशियार भएर लाग्लान् देश क्रमैसंग भारतलाई सुम्पने अभियानमा!

अर्को एउटा कुरो के पक्का भएको छ अब भने नेपालमा अहिले जारी अराजकताका कारण- घटनाहरुमध्ये धेरैजसोको भारत प्रत्यक्ष-परोक्ष मूल कर्ता हो। भारत नेपाललाई सकेसम्म यस्तै अराजक संक्रमणकालमा राखिरहन र आफ्नो दूनो सोझ्याइरहन चाहन्छ। यता आफ्ना चम्चा ऋषि धमलाहरुलाई बम पड्काउन लगायो र नेपालीलाई अल्मल्यायो, उता आफुले सिमाना ताछ्यो---।

कुरो ऋषि धमलाको मात्र होईन, हाम्रो देशको राजनीतिक संस्कारको हो। ऋषि धमलाजस्तो भारतीय प्यादा त हाम्रो राजनितिक कुसंस्कारको एउटा सानो बाइ-प्रोडक्टमात्रै हो। परिमाणमा घटीबढी होला त्यो बेग्लै कुरो हो, तर सारमा हाम्रा सबै दलहरु र नेताहरु पनि उसकै कोटिमा पर्छन्। दिल्ली पुग्न कुदिने 'लिगलिगे दौड' लाईनै सरकार बनाउने-ढाल्ने निर्विकल्प बाटो बनाएका हाम्रा सबै दलहरु र नेताहरु, दुई-चार छात्रवृत्तिमा बिक्ने हाम्रा उच्चपदस्थहरु--- यी सबै ऋषि धमला हुन्, अझ ठूला ऋषि धमला हुन्। साना ऋषि धमलाहरु समातिए, ठूला भने शानका साथ बसिरहेछन्।

अत्यन्त संयमित भएर र प्रमाण पु-याएर देशद्रोही ऋषि धमलालाई ङ्याकेर नेपाल प्रहरीले गज्जबको बहादुरी देखाएको छ। आज नेपाल प्रहरीमाथि हरेक सच्चा नेपाली गौरवान्वित छन्। कुनैपनि प्रहरी संगठन आफैंमा लाचार र खत्तम हुने होईन, देशको राजनीतिक नेतृत्व जस्तो छ त्यस्तै हुनपुग्छ किनभने प्रहरी-प्रशाशन राजनीतिको छायाँमा हुन्छ सधैंभरी। हाम्रो नेपाल प्रहरीमा केहि समय यताबाट देखिएको अकर्मण्यता र ढिलासुस्तीको दोष पनि देशको राजनीतिले लिनुपर्छ। यति हुँदा-हुँदैपनि, वर्षौंदेखि ब्यापक राजनीतिक बलात्कार सहिरहेको र सीमित स्रोत-साधनमा खटनुपर्ने बाध्यताको बीचमा पनि यस्तो ठूलो सफलता हात् पार्न सक्छ भने राजनीतिक दबाबबाट मुक्त हुन पाए र अलिकति बढी स्रोत-साधनमा खेल्न पाए अझ कति योगदान दिन्थ्यो होला यसले! हाम्रा नेताहरुको मतिमा यस्ता कुरा किन पस्दैनन?!

अहिले समातिएकाहरु सजिलै छुट्न पनि सक्छन; शोभराजलाई समेत देउता बनाउने मान्छेहरु भएको समाज हो हाम्रो। भारतको खल्तीका नेताहरुलाई पसिना छुटिरहेको होला, ऋषि धमलाले अब हामीलाई पनि डुबाउने भो भनेर। त्यसैले ऋषि धमलालाई निर्दोष बनाउने र छुटाउने अथवा सकेसम्म कम सजाय गराउने खेल चल्न सक्छ ती नेताहरुको योजनामा। हाम्रो कानूनका छिद्रहरुलाई सकेसम्म फट्टाएर यस्ता धेरै ऋषि धमलाहरु पहिलेपनि उम्किसकेका छन्। यो पनि उम्कियो भने देशको निधारमा अर्को एउटा ठूलो कलंक थपिनेछ। अथवा कुनै नाटकीय 'जेल-ब्रेक' को पनि आयोजना हुनसक्छ।

भारत आफैं पनि लाग्ला केहि हदसम्म तर उसको कुनै पनि कदमले नेपालमा भारत-घृणा अझ बढाउने भएकोले उ नलाग्न पनि सक्छ। उसको लागि ऋषि धमला एउटा सानो गोटीमात्रै हो, अरु गोटीहरु जोगाउन तिर पो लाग्छ उ। पूरै देश आफूलाई सुम्पिने लेण्डुप दोर्जेलाई त भुसुना गन्ने भारतलाई ऋषि धमला समातिनुमा कुन ठूलो टाउको दुखाई होला र?

ऋषि धमलासंग धेरै पहुँचवालाहरुका बारेमा धेरै सूचना छ भने उसको हत्या पनि हुनसक्छ। सम्भावनाहरु धेरै छन्।

अहिलेलाई म नेपाल प्रहरीलाई सलाम गर्न र "क्या बात नेपाल प्रहरी!" "स्याबाश नेपाल प्रहरी!" भन्न ब्यस्त छु। अपराधीलाई ङयाक्ने क्रमको एउटा चरणलाई उसले अत्यन्त पेशेवर ढंगले पार गरेको छ। अब अर्को चरण भनेको अझ बढी अनुसन्धान गरी सकेसम्म धेरै प्रमाणहरु जुटाएर मुद्दा चलाउनु हो। त्यसपछि बल नेपालको कानूनको कोर्टमा पुग्छ, प्रहरीले खासै केहि गर्न सक्दैन।

आउनुस् फेरि एकचोटि भनौं, "क्या बात नेपाल प्रहरी!" "स्याबाश नेपाल प्रहरी!"।

र "थुक्क देशद्रोही ऋषि धमला!"।


(स्रोत: Reporters' Club Homepage)
रिपोर्टर्स क्लबको होमपेजमा हेर्नुस् त, ऋषि धमला समातिएको समाचार पनि घुमिरहेको देख्न सकिन्छ:) जतापनि टाउको घुसाउने ऋषि धमलालाई यस्तो समाचार पनि आफ्नै साइटमा फन्फनी घुम्ने दिन आउलान् भन्ने त सपनामा पनि लागेको थिएन होला।