April 23, 2011

यो ब्लग जिऊँदै छ:)

यो ब्लग जिऊँदै छ, तर यो शीतनिद्रामा छ, बाध्यतावश।

नेपाल फर्केको केहि समयसम्म भरपर्दो ईण्टरनेटको मेसो जुर्न सकेको थिएन, अहिले त्यो समस्या कामचलाऊ हिसाबले समाधान भईसकेको छ, तर आफैं चरम ब्यस्त भईएकोले ब्लगमा पस्ने र एकछिन भलाकुसारी गरेर बस्ने समय मिल्न सकेको छैन।

अनियमितता र लामो अनुपश्थितिका लागि यहाँहरुसंग क्षमाप्रार्थी छु।

ब्लगलाई शीतनिद्राबाट सकदो छिटो जगाउने कोशिश जारी रहनेछ मेरो।


April 08, 2011

आफैंलाई ढाँट्न सकिँदैन

क्याम्पसको मूलगेटको ठिक सामुन्ने सैलुन छ, महिनाको एक पटकको मेरो गन्तब्य। म त्यहाँ पुग्ने कपाल कटाउन हो, दाह्री बनाउन सैलून विरलै पुगिन्छ।

"छोटो पार्ने, हैन त सर?" सैलूनवाला दाइले सोध्छन्। उनलाई थाहा छ मेरो 'माग' यहाँभन्दा अरु हुँदैन भनेर।
"हो।" म जवाफ दिन्छु। कपाल यस्तो बनाईदेऊ, उस्तो बनाईदेऊ भनेर 'स्टाईल' तोक्न कहिल्यै जानिएन।

यसपछि कैंची मात्र बोल्छ, हामी दुबै मौन हुन्छौं।

"कपालमा कालो लगाउने हो सर?" लामो मौनतापछि, कपाल काटीसक्ने-सक्ने बेलाको प्रश्न। यो नियमित प्रश्न हो यहाँको। केहि समय पहिला अरु दुई ठाऊँमा पनि यसै भनेका थिए।

"भयो, नहाल्ने। ----" नियमित प्रश्नको मेरो नियमित उत्तर।

कपाल काटिदिने नाऊले मात्रै होईन, परिवारका केहि सदस्य र केहि साथीहरुबाट नियमितजसो 'कालो हाल्ने' सल्लाह पाऊँदै आएको छु मैले। म १६-१७ हुँदाबाटै फुल्न थालेको मेरो कपालमा अब आएर कालोलाई सेतोले जितिसकेको देखिन्छ। मेरो जवाफ "के हाल्नु र कालो खै! अब कसलाई देखाउनु छ र?---बूढो भईहालियो।" जस्तो हुन्छ।

खासमा मलाई कालो हाल्न मन नलागेको आफू बूढो भएर होईन। म आफूलाई अझै तन्नेरीनै सम्झिन्छु:)  कपाल सेतो हुँदैमा म बूढो भएको लाग्दैन मलाई। कपाल कालै रहीरहनुले ब्यक्तित्व खुल्छ भन्ने कुरा कसैले ठान्छ भने त्यो पनि निरर्थक हो। कपाल छपक्कै सेतै भएका कति वृद्धहरु कालो कपाल हुनेभन्दा झन् ब्यक्तित्ववान देखिन्छन्। ब्यक्तित्व भन्ने कुरो कसैको चिन्तन, उसको दैनिकीको शैली र उसको सार्वजनिक जीवनले निर्माण गर्ने कुरो हो, कपालको रंगले केहि फरक पार्दैन। 

मलाई सेतो कपाल कालो पार्ने काम अरुलाई ढाँट्नु जस्तै लाग्छ। मलाई चिन्नेले त 'यसले कालो हालेछ--' भन्ने बुझीहाल्छन्, त्यसैले त्यहि ढाँट्ने भनेको पनि मलाई नचिन्नेलाई हो। मलाई नचिन्नेलाई मेरो कपाल सेतो होस् वा कालो, कुनै मतलब होला भन्ने मलाई लाग्दैन। त्यसैले यो 'ढँटाई' पनि खासै 'कामको' हुने देखिन्न।  
 
आफ्नो सेतो कपाललाई कालो बनाएर अरुलाई झुक्याएको भ्रम पारेर बाँचेपनि, आफैंलाई भने झुक्याउन सकिँदैन। जति बाक्लो कालो हालेपनि वा कपाल रंगाएर रातो, निलो जस्तो पारेपनि मेरो कपाल सेतै फुलेको यथार्थले मलाई छोडने होईन।

खासमा अरुले नसम्झाईदिँदा मलाई मेरो सेतो कपालको यादै आऊँदैन। कहिलेकाहीँ ऐना हेर्दा हो याद आउन सक्ने तर त्यतिखेर पनि दिमागमा अरुनै कुरा खेलीरहने हुनाले ध्यान त्यता जाँदै-जाँदैन। केहि महिना यता त झन् काईँयोनै नचाहिने गरी छोटो कपाल राख्न थालेकाले ऐनातिर जाने क्रम झन् कम भएको छ।

तपाईँको हाल के छ नि? कालो हालेर अरुलाई झुक्याईरहनुभएको छ कि:)

April 01, 2011

---लाई जाप्नीजमा के भन्छन्?

आर्याले आफ्नो पहिलो वाक्य शायद जापानीमै बोलेकी थिई। एक वर्षकी हुँदासम्म आफ्नी आमासंग घरै बस्दा उसले बढी नेपालीनै सुनेकीले केहि बोली/शब्द भने पक्कै सिकेकी थिई तर उसको बोली प्रस्टसंग 'फुटेको' भने जापानीमै हो। ऊ एक वर्षकी हुनेबित्तिकै किण्डरगार्टेन जानथाली र त्यसको केहि एक-दुई हप्ताबाटै जापानीमा अलि-अलि कुरा गर्न थाली हामीसंग। ऊ दिनको दशघण्टा भन्दा बढी त्यतै हुन्थी, हामीसंग हुने समय भनेको साँझ-बिहान र बिदाका दिनमात्रै हुन्थ्यो। यसैले उसले जापानीनै बढी सुनी र जापानीनै सिकी। हामीले बिस्तारै बोलेको 'घरेलु' नेपाली त केहि बुझ्थी तर हामीलाई पनि बिस्तारै ऊसंग जापानीमै कुरा गर्न सजिलो लाग्न थाल्यो। हामी बूढाबूढी एकापसमा भने नेपालीमै गफ गर्थ्यौं तर आर्याले हाम्रा नेपाली कुरामा खासै चासो दिन्नथी, कहिलेकाहीं उसलाई झर्को लागेका बेलामा "उरुसाई--!" (कति हल्ला गर्छौ तिमेरु?) भनेर थर्काउँथी। कहिलेकाहीँ हामीले ठूलो स्वरले नेपालीमा कुरा गर्दा उसलाई झगडा गरेजस्तो लाग्दो रहेछ र 'झगडा नगर!' पनि भन्थी।

यदाकदा हुने नेपाली भेलाहरुले पनि उसमा नेपाली भाषाप्रति खासै चाख जगाऊन सकेका थिएनन्। अझ त्यस्ता भेलामा भेट हुने 'अंकल', 'अण्टी' हरुले पनि उसंग जापानीमै कुरा गर्दिनुहुने हुँदा उसले नेपाली जान्नै परेन। त्यसपछिका दिनमा उसको जापानी भाषाको दक्षता बढ्दै जाँदा हामीले पनि जापानी भाषा सिक्न प्रशश्त मेहनत गर्नुपर्ने भयो, नत्र ऊसंग सम्वाद हुन गाह्रो हुने थियो। उसैबाट पनि धेरै नयाँ शब्द र अभिब्यक्ति सिकियो।

ऊ सवा चार वर्षकी भएपछि नेपाल फर्केपछि भने स्थिति उल्टो भयो। नेपाली भाषाको वातावरणमा उसलाई केहि दिन अप्ठेरो भयो। त्यसको एक वर्ष पहिला ५ हप्ता नेपाल बसेर गएकीले सोचेजस्तो धेरै अप्ठेरो भने भएन। उसले बिस्तारै नेपालीमा दक्षता बढाऊँदै लगी र स्कूल शुरु गरेपछि भने उसको नेपाली शब्दभण्डार बिष्फोट भएजसरी फैलियो। त्यतिखेरसम्म आफूले सिकेको र नबुझेको नेपाली शब्द  '--- के हो?' भनेर हामीसंग सोध्थी र हामीले जापानीमा बुझाईदिनुपर्थ्यो।

नेपालीको क्षमता बढ्ने क्रमसंगै जापानीको क्षमता घटने क्रमपनि शुरु भयो। घरमा हामीले ऊसंग जापानीमा बोलिदिने हो कि जस्तो पनि लाग्थ्यो तर बाहिर नेपाली-बाऊआमासंग जापानीले गर्दा उसलाई झन् अप्ठेरो पर्ला जस्तो लागेर त्यो बाटोमा लागिएन। हामीले जति कोशिश गरेपनि नियमित जापानी परिवेश उपलब्ध नहुँदासम्म उसको जापानी क्षमतालाई जोगाएर राख्न सम्भव पनि थिएन, एक दुई दिन बढीसम्म हुनसक्थ्यो होला।

नेपाल फर्केको पाँच महिनाजतिमा नेपाली-जापानी बराबर थियो होला, अहिले जापानी लगभग शून्यमा पुगीसकेको छ। बीचमा केहि समय कसैले जापानीमा बोल्न भन्दा झर्किन थालेकी पनि थिई। जापानका उसका साथीहरुका बारेमा भने खुब चासो राख्थी। जापानको हालैको भूकम्प र सुनामीको बारेमा थाहा भएपछि भने 'मेरो जापानको साथीहरुको घर पनि भत्क्यो?' भनेर सोधेकी थिई, हामीले 'छैन।' भनेपछि ढुक्क भएकी थिई।

अचेल दुई हप्ताजति यता भने फेरि जापानीमा स्वत: स्फूर्त रुचि देखाउन थालेकी छे। कुनै नयाँ शब्द सिकेपछि त्यो शब्दलाई 'जाप्नीजमा के भन्छन् नि?' भनेर सोधिहाल्छे।

उसको जिज्ञासा त राम्रै हो, तर समस्या पर्छ आफूलाई। अब 'नाम्लो', 'दाम्लो', 'नाङ्लो' र 'मस्यौरा' लाई जापानीमा के भन्छन् भनेर भन्नु:)

 Image Source: Masyauramaking