May 29, 2009

'कतै नजाने बाटो--' को मेरो यात्रा


Image Source:Blue Mountain

म जीवनको बारेमा ब्याख्यान दिनसक्ने दार्शनिक होईन, रहस्यको अनुभूति भएको कुनै साधक त झन हुँदै होईन। ध्यान र साधनाको मेरो यात्रा सतहमै छ र पहिलो पत्रलाई पनि उप्काउन सकेको छैन मैले। तर जीबनको बारेमा, यो के होला र यसपछि के होला जस्ता भावनाहरु मनमा बेला-बखत तैरिरहन्छन्। यो जीवन भौतिक पदार्थहरुको आकस्मिक संयोगमात्रै हो भन्ने कुरामा मलाई बिल्कुलै विश्वाश छैन। भौतिकता भन्दा पर कुनै रहस्यमय उर्जा छ जसले हामीमा जीवन भरेको छ। त्यसैले यो जीवनपछि म यत्तिकै माटोमा बिलाउँछु होला भन्ने मलाई लाग्दैन। यो जीवनपछिको स्थिति मेरो कल्पनाभन्दा बाहिरको कुरा होला, र स्वयं यहि जीवनपनि मेरो पूर्ण वशमा नहोला, तर मेरो मूल अस्तित्व आजपनि र भोलिपनि निर्विवाद छ।

जीवन र जगतको को बारेमा सोचिरहँदा धेरैजसो ममा डरमिश्रित रोमांचकता भरिन थाल्छ। यो भावनालाई सहन नसकेर म थोरै अगाडि नपुग्दै फर्किदिन्छु। बाल्यकालको एउटा प्रसंग याद आऊँछ। घरमा सरल हिन्दी अनुवाद सहितको 'गीता' थियो। "यो किताब नपढ्नु, पढ्यो भने बहुलाईन्छ" भनिएको थियो मलाई धेरै पटक। बाल्यकालमा पढेपनि के नै बुझिन्थ्यो होला र?! मार्ग-निर्देशनविनाको यात्रा रोक्ने एउटा उपाय थियो होला यो। पछि पढियो, बहुलाईएन, सतहमात्रै पढेर होला। विश्वविद्यालय जीवनमा ताओमार्गका प्रवर्तक चिनियाँ रहस्यदर्शीहरु 'लाओ त्च' र 'च्वाङ त्च' का कृतिहरुको सरल अंग्रेजी अनुवाद पढ्न पुगियो, काकतालीवश। अन्तर्निहित आध्यात्मिकता बुझ्न नसकेपनि पढ्दा रमाईलो लागेको थियो। तैपनि बहुलाईएन, फेरि पनि सतहमै अल्मलिएर होला। त्यसपछि वर्षौंसम्म ओशोवाणी पढ्दा/सुन्दा, बीच-बीचमा जे. कृष्णमूर्ति र यू. जी. कृष्णमूर्तिका सन्देशहरु पढ्दा पनि बहुलाईएन। जीवन-यात्राको अर्को आयाम भेट्न गहिरिनु, अझै गहिरिनु र एकपटक 'बहुलाउनु' अनिवार्य छ शायद, तर त्यो पागलपनतिर हाम्फाल्ने आँट अझै बटुल्न सकेको छैन मैले।

जीवनको बारेमा सोच्दा मेरो मनमा बढी आउने एउटा चित्र सूनसान जूनेली रातमा सानो झोला बोकेर एक्लै हिँडिरहेको एउटा मानव-आकृति हो। मेरो दिमागमा थुप्रिएर रहेका, विगत केहि वर्षयता पढेका आध्यात्मिक प्रसंगहरुले जन्माएको हुनसक्छ यो बिम्बलाई, मेरो वास्तविक अनुभूति नभएर अनुभूतिको भ्रममात्रै हुनसक्छ किनकि सबै सद्गगुरुहरुले जीवनलाई एउटा यात्राकै रुपमा ब्याख्या गरेका छन्। तर धेरै आध्यात्मिक कथाहरु पढेर बनेको चित्रनै भएपनि ठिक छ, गहिराईको संगीत मेरो मनमा नबजेपनि सतहमा धमिलै भएपनि सही, चित्र त बनेको छ।

कहिलेकाहीँ यो यात्रा, यो जीवन-यात्रा अर्को कुनै यात्राको तयारी जस्तो लाग्छ मलाई। एकचोटि यो भावना अलि बढीनै गहिरियो म मा। पुस महिनाको एउटा जूनेली रातमा भोलिपल्टको यात्राको लागि झोला कस्दै थिएँ। आवास-क्षेत्र सूनसान थियो, म एक्लै थिएँ। असैह्य हुँदै गहिरिँदै गएको यो भावनाबाट मुक्ति पाउन एक टुक्रा लेख्नै प-यो मैले।

"?"
जुनेली साँझ-
म यात्राको तयारीमा छु
लाग्छ म सधैंभरि यात्राको तयारीमा छु
भगवान्!
जीवन के हो?
यात्रा वा यात्राको तयारी?


यस बारेमा मैले धेरै पहिलाको एउटा अंग्रेजी टाँसो The Moonlit Road मा पनि कुरा गरेको छु।

मेरो ब्लग मेरा सबैथरी यात्राहरुको सहयात्री हो। त्यसैले यात्राको प्रतीक बाटोलाई कुनै हिसाबले म ब्लगमा प्रतिबिम्बित गर्न चाहन्थें। यहि कविता (?)को भावसंग मिल्दोजुल्दो, रहस्यमय देखिने कुनै बाटोलाई ब्लगको हेडरमा राख्ने सूर बन्यो मेरो (त्यतिखेरसम्म यो ब्लग BLOGGING BASANTA मात्रै थियो)। यात्राको कुरा गरेपछि त्यसलाई प्रतिबिम्बित गर्न बाटोभन्दा उत्कृष्ट अरु के हुनसक्छ?

चित्त बुझ्दो 'बाटो' नभेटेपछि यहि टुक्रोलाई नै हेडरमा राख्दिऊँजस्तो लागेको थियो एक पटक। तर यो अलि लामो भयो।

त्यतिखेर मनमा ओशोले सुनाएका केहि जेन कथाहरु/प्रसंगहरु पनि हिँडिरहेका थिए। ती मध्ये दुईटा त मेरो दिमागमा जतिखेर पनि हुन्छन्। एउटा प्रसंगमा, यो यथार्थनै होला, एक जेन गुरु आफ्ना चेलाहरुलाई मार्गदर्शन गर्दै हुन्छन्। अचानक ठूलो भूईँचालो आउँछ र सबै बाहिरतिर भाग्छन्। बाहिर सबै जम्मा भईसक्दा चेलाहरुले गुरुलाई भने देख्दैनन्।
"गुरुदेव, भूईँचालो आयो, हामी सबै भाग्यौं, हजूर किन भाग्नुभएन?" एकछिन पछि भित्र पस्दा गुरुलाई शान्त, आफ्नै आसनमा देखेपछि चेलाहरुले प्रश्न गर्छन्।
"म पनि भागें।" गुरुले जवाफ दिन्छन्।
"--तर हामीले त हजूरलाई बाहिर देखेनौं नि!"
"होईन, हामी भागेको दिशा फरक थियो। तिमीहरु बाहिरतिर भाग्यौ, म भित्रतिर भागें।"
चेलाहरु कुनै गन्तब्यतिर हिँडेका थिए, गुरुले भने अस्तित्वको अनुभूति हुने बाटोको यात्रा समाते।

अर्कोचाहिँ कथानै हो। ओशोले भन्नुभएको छ "कथा हो यो, तर यो कथा मलाई यति सुन्दर लाग्छ कि साँच्चै हो भनेर विश्वाश गर्न मन लाग्छ"। एकजना मानिस कुनै जेन साधकले बनाएको एउटा सुन्दर चित्र हेरिरहेका हुन्छन्। हराभरा सुन्दर पहाडहरु छन् चित्रमा। फेदीमा सानो खोला कल्कलाऊँदै बगिरहेको छ। अलिक माथि एउटा सानो सुन्दर बस्ती छ। बस्तीको बीच-बीचबाट एउटा बाटो गएको छ। बाटो बस्तीलाई पार गरेर एउटा पहाडतिर लागेको छ र चित्रको एक छेऊमा पुगेर टुंगिएको छ।
"यो बाटो यसपछि कहाँ पुग्ला है?" तन्मय भएर चित्र हेरिरहेका महानुभावले सोध्छन्।
"ए---! मलाई पनि थाहा छैन। पख्नुस् है म हेरेर आऊँछु।" भनेर ती जेन साधक त्यो चित्र भित्र पस्छन् र त्यो बाटोमा हिँडेर बिलाऊँछन्। त्यो बाटोसंगै साधक विलीन भए, अस्तित्वसंग एकाकार भए।

केहि पछि आएर ब्लगलाई आफ्नो कविताभन्दा पनि यिनै कथाहरुसंग मिल्ने भाव दिन मन लाग्यो र सुहाउँदो नाम खोजिरहेको थिएँ (अझै पनि खोजमै छु), जुन ब्याबहारिक र आध्यात्मिक दुबै आयाममा फैलिएको होस्। दिमागमा The Road to Nowhere Goes Everywhere---आयो र तत्कालका लागि यसैलाई प्रयोग गर्ने निर्णय गरें। अलिक लामो लागेपनि मैले चाहेको, मेरो बुझाईको अर्थ धेरै हदसम्म बोकेको छ यसले। यतिका समय संगै बसेपछि अब त यो अत्यन्त स्वाभाविक र आत्मीय बनेको छ। अर्को 'राम्रो' नाम भेटें भनेपनि यसलाई छोडेर त्यता फड्किन सक्छु कि सक्दिन, शंका लाग्न थालेको छ।

यो बाटोले मनमा झन् स्पष्ट आकार ग्रहण गर्दैछ अब। जूनेली रातमा एउटा सानो गोरेटोमा एक्लो मानव आकृति हिँडिरहेको छ। यात्रा अगाडि बढ्दै जाँदा, बिस्तारै-बिस्तारै बाटो र यात्री दुबै फैलिँदै र फिका हुँदै जान्छन्। यो फैलिने र पारदर्शी हुने क्रमको लामो निरन्तरता पछि, धेरै लामो यात्रा पछि, सुदूर क्षितिजमा न बाटो बाँकी देखिन्छ न यात्री। दुबै अस्तित्वमा विलीन हुन्छन् र सर्वब्यापक हुन्छन्।

May 24, 2009

नेपाली ब्लगको वर्तमान र भविष्य

मूलत: नेपाली भाषामा लेखिने ब्लगहरुको वर्तमान र भविष्यको बारेमा कुराकानी गर्ने जमर्को गर्दैछु आज।

हुनत म मेरो ब्लगिङ यात्रा लामो भईसकेको छैन। आफैं ढिलो गरी शुरु भएको नेपाली ब्लग दुनियाँमा पनि केहि ढिलै आईपुगेको हुँ म। फेरि जीबनका अरु सबै पक्षहरुजस्तै ब्लगिङको संसारसंगको सम्बन्धका पनि सीमितता हुन्छन्। मलाई थाहा छ, म नेपाली ब्लग जगतको एउटा अंशसंगै मात्रै परिचित छु। त्यसैले मैले जति कुरा गर्छु तीनले सबै पक्षलाई समेट्न नसक्नु स्वाभाविक हो। तैपनि, यो विषय छलफल शुरु गर्नै पर्ने विषय जस्तो लागेर एउटा दुस्साहस गरेको हुँ।

आफैंले ब्लग शुरु गर्नुभन्दा पहिले मैले चिनेको नेपाली ब्लग 'माईसंसार' मात्रै थियो। ब्लग शुरु गरे यता बितेका दुई वर्षमा सैयौं ब्लगहरुमा पुगियो। यस बीचमा नेपाली भाषामा ब्लगहरुको बाढीनै आयो भने पनि हुन्छ। यो निश्चय पनि अत्यन्त सकारात्मक कुरा हो, नेपाली ब्लगजगत र समग्र नेपाली भाषाकै लागि। धेरै ब्लगमा भाषिक वा सृजनात्मक गुणस्तरका कुरा पनि उठाउन नसकिने होईन तर मलाई के लाग्छ भने 'गुणस्तर'को समस्या भएका केहि ब्लगहरु सम्बन्धित ब्लगरले निरन्तरता दिएका खण्डमा र अरु ब्लगरहरुबाट सुझावमिश्रित आलोचनाहरु पाईरहेमा सुध्रिँदै जानेछन्, केहि भने बिस्तारै निष्कृय हुँदै जानेछन्। तत्कालका लागि बढिरहेको ब्लग संख्यानै नेपाली ब्लगजगतको ठूलो पूँजी हो।

धेरै संख्यामा ब्लगहरु हुनुको एउटा सकारात्मक पक्ष यसले ब्लगरहरुका बीचमा उब्जाउने प्रतिष्पर्धात्मक भावना पनि हो। आफ्ना पाठक बढाउन कोहि अलि बिस्तारै लाग्ला, कोहि अलि कस्सिएर लाग्ला, त्यो बेग्लै कुरो हो, तर मूल सत्य के हो भने प्रायश: सबै ब्लगरहरुले धेरै पाठकहरु खोजिरहेका हुन्छन्। (लेख्ने कुरामा आत्मसन्तुष्टिको उद्देश्य अलिकति त हुन्छ नै, तर खुल्ला ब्लग चलाउनु भनेको अरुले पनि पढिदिउन् भनेर नै हो। यदि यो उद्देश्य नहुने हो भने मान्छेले कि त लेख्दै-लेख्दैन कि त कसैलाई पनि थाहा नदिई लेख्छ।) जब नेपाली 'ब्लग-बजार'मा ब्लगहरुको संख्या बढ्छ, पाठकहरुले छानी-छानी पढ्नेछन् र हामीलाई 'डार्बिन बूढाको जय!' भन्न बाध्य पार्नेछन्। प्रतिष्पर्धाबाट आफना लागि पाठकको ठूलो हिस्सा तान्ने सबैभन्दा ठूलो उपाय भनेको ब्लगको गुणस्तर र विविधतालाई माथि लानुनै हो। प्रचारबाजी र अरु बिभिन्न 'बजारमुखी' उपायले एक हदसम्म त सघाऊँछन, कम्तिमा कुनै पाठकलाई पहिलो पटक ब्लगसम्म ल्याउँछन् तर गुणस्तर र विविधता देखेन भने त्यो पाठक फेरि फर्केर ब्लगमा आउने सम्भावना ज्यादै कम हुन्छ।

मेरो ब्यक्तिगत बुझाईमा (गलत पनि हुनसक्छु म), नेपाल र विदेश दुबै ठाऊँबाट बाट सञ्चालित नेपाली भाषाका ब्लगहरुमा साहित्यिक अंश बढी देखिन्छ। धेरैजसो ब्लगहरु पूर्णतया साहित्यमा समर्पित छन् र बाँकीले पनि साहित्यलाई प्रमुख ठाऊँ दिएका छन्। राजनीतिक टिप्पणी/विश्लेषण नेपालबाट सञ्चालित ब्लगमा भन्दा विदेशबाट सञ्चालित ब्लगमा बढी देखिन्छन्। देशभित्र मूलधारका मिडियालेनै यस्ता राजनीतिक टिप्पणी/विश्लेषणहरु प्रशस्त गर्ने भएकोले ब्लगहरुमा त्यति नदेखिएको हुनसक्छ। हो, राजनीति बढी पस्कने केहि ब्लग पनि छन्, तर तीन लाई ब्लग भन्दा बढी 'न्यूज-पोर्टल' को रुपमा लिँदा अन्यथा नहोला।

खेलकूद, प्रविधि, फोटोग्राफी, स्वास्थ्य, रंगमञ्च/चलचित्र जस्ता 'भिन्दै' विषयमा समर्पित नेपाली ब्लगहरुको संख्या एकदम कम छ। साहित्यकै सवालमा पनि कविता र गजलले धेरै ठाऊँ ओगटेका छन। मूलधारको प्रकाशन क्षेत्रमा जस्तै निबन्ध वा कथाहरुको स्थिति नेपाली ब्लगजगतमा पनि राम्रो छैन। त्यस्तै बाल-साहित्यमा समर्पित ब्लगहरुको लागि पनि ठूलो ठाऊँ खाली छ। यो कुरा उप्काउनुको मेरो उद्देश्य नयाँ ब्लग शुरु गर्न लागेका साथीहरुलाई अलिक फराकिलो आयाममा सोच्न सल्लाह दिनु पनि हो। सबैले उस्तै ब्लग चलाउनुपर्छ भन्ने छैन; आफ्नो रुचि र ज्ञानको संयोजन जुन विषयमा राम्रो देखिन्छ त्यतै लाग्नु ठीक हो।

नेपाली ब्लग पढ्ने नेपालीहरुको संख्या बढ्दै गएको छ तर अझै पनि नेपाली ब्लग जगतले नेपालभित्रै भने यथेष्ट पाठकहरु पाईसकेको छैन। एकजना ब्लगरले लेखेको पढेको थिएँ केहि समय पहिला (कता हो याद भएन), "----नेपाली ब्लग भनेको मूलत: विदेशमा बसेका नेपालीलाई लक्षित गरेर लेख्ने हो।" यो कुरा मलाई पनि धेरै हदसम्म चित्त बुझ्छ। नेपालमा ब्लग पढ्ने मान्छे छैनन् भन्न खोजेको होईन, धेरै छन् र बढ्दै पनि छन् तर नेपालको जनसंख्याको ठूलो भाग अझै सूचना-प्रविधिको पहुँचबाट बाहिरै छ र पहुँच हुनेहरुको पनि एउटा हिस्साले मात्रै ब्लग पढ्ने हो। त्यसकारण कम्प्युटर/इण्टरनेटको प्रयोग नेपाली समाजमा बढ्दै जाँदा हामी ब्लगरहरुले पाउने 'हिस्सा' पनि बढ्दै जाला भन्ने आशा गर्नुभन्दा बढी केहि गर्न सकिँदैन तत्काललाई। नेपालबाटै सञ्चालित हुने ब्लगहरुको संख्या बढ्न पनि नेपाली समाजमा सूचना-क्रान्तिलाई पर्खनुको विकल्प छैन।

अर्कोतिर, 'ब्लग' भनेको कि त पत्रकारले कि त काम नभएका 'बूढाखाडा' ले मात्रै गर्ने चिज हो भन्ने धारणा पनि नेपाली समाजमा ब्लगले ब्यापकता लिन नसक्नुमा जिम्मेवार छ। हामीले परिवार, समाज र अध्ययनस्थल/कार्यस्थल सबैतिर यो धारणाको सशक्त वैचारिक प्रतिकार गर्नु अति आवश्यक छ।

नेपालीहरु विश्वब्यापी रुपमा छरिँदै जाँदा नेपाली ब्लगले 'भूगोल'को नेपाललाई नाघिसकेको छ र नेपाली राष्ट्रियताको विश्वब्यापी भावनात्मक संवाहकहरुमध्येको एकका रुपमा आफूलाई स्थापित गर्ने क्रममा छ। अब नेपाली ब्लगले नेपाली राष्ट्रियता बाहेकको बिशुद्ध नेपाली भाषिक पक्षलाई पनि समेट्नुपर्ने आवश्यकता छ। नेपाल बाहेक भारत, भुटान, बर्मा आदि ठाउँमा पनि थुप्रै नेपालीभाषीहरु बसोबासरत छन्। राष्ट्रियता फरक भएपनि सांस्कृतिक र भाषिक रुपमा एक हुन हामीलाई कसैले छेक्न सक्दैन। ब्लग पनि यो अभियानका लागि एउटा सशक्त माध्यम हुनसक्छ। दार्जलिङ, आसाम, देहरादून वा कुनै पनि नेपालीभाषी क्षेत्रबाट सञ्चालित नेपाली ब्लगसंग गाँसिएर आफ्नो सञ्जाल फैलाउनु र ती ब्लगहरुलाई नेपाल र विदेशमा रहेका नेपालीहरुको माझमा फैलिन सहयोग पु-याउनु हाम्रो अर्को काम हुनसक्छ। नेपाली भाषाको श्रीवृद्धि गर्न र नेपालीहरुमाझ सांस्कृतिक एकता कायम राख्न त यो महत्वपूर्ण हुनेनै छ, पाठकहरुको कमीको समस्यालाई समाधान गर्न पनि यो कार्यले हामीलाई सघाउनेछ।

मैले देखेको नेपाली ब्लगको एउटा अर्को समस्या भनेको पाठकहरुको निष्कृय सहभागिता हो। हाम्रा पाठकहरुले ब्लगमा प्रतिकृया दिँदैनन्। विगत दुई वर्षदेखि मैले देख्दै आएको छु, ब्लगमा प्रतिकृया लेख्नेहरु ९५ प्रतिशत अरु ब्लगरहरुनै हुन्छन्। मेरो आफ्नो ब्यक्तिगत चिनजानका मान्छेहरु धेरै छन् जो मसंग भेट्दा वा फोनमा कुराकानी हुँदा 'तैंले फलानो दिनको पोष्टमा लेखेको फलानो कुरो चित्त बुझेन!' वा '---साह्रै ठीक लाग्यो!' भन्छन् तर ब्लगमै भने कहिल्यै प्रतिकृया दिँदैनन्। कति अपरिचितहरु बरु इ-मेल पठाऊँछन् तर ब्लगमा प्रतिकृया लेख्दैनन्। ती पाठकहरुले ब्लगमै प्रतिकृया लेखिदिए अरु पाठकहरुले पनि पढ्न पाऊँथे र ब्लगमा निहित अन्तर्कृया अझ बढी जीबन्त हुन्थ्यो। अरु भाषाका ब्लगहरुमा यो समस्या छ कि छैन थाहा छैन तर 'विशुद्ध' पाठकहरुका प्रतिकृया नबढुञ्जेल हामी एक हिसाबले असफलनै छौं भनेपनि हुन्छ। यस्ता 'निष्कृय पाठक' लाई कसरी 'सकृय पाठक' बनाउन सकिएला?
----------------------------------
हतारमा लेखिएको एउटा छोटो टाँसोले सबै कुरा समेट्न निश्चय पनि सक्दैन। अपूर्णनै भएपनि यो टाँसोलाई आज यहाँहरु समक्ष राख्नुको मेरो उद्देश्य नेपाली ब्लग जगतलाई अझ सशक्त बनाउन हामी बीचको छलफल र वादविवादको शुरुवात गर्नु हो।

May 19, 2009

दोश्रो खोला तरेपछि

Image Source:Trek for life--

आज यो ब्लगको जन्मदिन हो, यसले दुई वर्ष पुरा गरेको छ।

यो अवसरमा, सबैभन्दा पहिला, निरन्तरको माया र हौसलाका लागि सम्पूर्ण पाठकहरु, सहयात्री ब्लगरहरु र शुभचिन्तकहरुमा मुटुदेखिनै हार्दिक धन्यबाद दिन चाहन्छु। मेरो लेखन यात्राको उर्जा भनेकै यहाँहरुकै निरन्तरको साथ र सद्बाव हो।

पोहरको यहि दिन, एक वर्ष पूरा हुँदा, मैले ब्लग शुरु गर्नु अघिको आफ्नो लेखन यात्राका बारेमा केहि कुरा राखेको थिएँ यहाँहरु समक्ष। लेखाई बारेको मेरा मान्यताहरुका बारेमा पनि अलि-अलि कुरा गरेको छु मैले। त्यो टाँसो यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ। केहि कुरा 'दौंतरी' संगको भलाकुसारीमा पनि राखेको छु। आज, बितेको एक वर्षलाई नै आधार मानेर कुरा गर्ने जमर्कोमा छु।

यो वर्षले धेरै नयाँ पाठकहरु र सहयात्री ब्लगर साथीहरुसंग चिनजान गरायो। ब्लगको अस्तित्व जिन्दगीको एउटा महत्वपूर्ण पाटोको रुपमा झन्-झन् गाढा भयो, रुचि र सौखहरुको सबैभन्दा माथि ब्लगनै आएर बस्यो। जिन्दगीनै 'ब्लगपूर्व' र 'ब्लगपश्चात' का रुपमा दुई भाग भएजस्तो लाग्छ अचेल।

पोहरको जन्मदिनको टाँसो १००औँ टाँसो थियो भने यसपटक १९२औं हुँदैछ। यो हिसाबले हेर्दा पहिलो वर्ष भन्दा दोश्रो वर्ष केहि सुस्ताएको जस्तो पनि लाग्छ तर पहिलो वर्षमा अरु साइटका कुरा हू-बहू 'कपेर पेष्टिने' पनि गरिएको थियो दुई-चार पटक, यो पाली त्यो गरिएन वा असाध्यै कम, सन्दर्भको रुपमा मात्रै गरियो होला; जस्तो लाग्छ। त्यसैले मौलिक रचनाको संख्या दुबै वर्षमा उस्तै-उस्तै होला। रचनाको लम्बाईका हिसाबले पछिल्लो वर्षका रचनाहरु बढी लामा होलान्। दुबै वर्षमा 'ईतिहासको ब्याज' पनि मनग्गे 'खाईएको' छ:)

ब्लग लेखन(र समग्र लेखन) लाई आफूले सोचेजति समय दिन अझै सकेको छैन। अरु ब्लगहरु चाहार्ने समय पनि झन्-झन् कम हुँदैछ। पारिवारिक, पेशागत दायित्वका माझबाट लेखनलाई डो-याउनु असाध्यै गाह्रो काम रहेछ। (भ्याए त दिनदिनै लेखिँदो हो) कम्तिमा पनि तीन दिनको एउटा टाँसोको योजना थियो पहिला। त्यो योजनामा अडिने त कुरै छोडौं, हप्तामा एउटा टाँसो पनि मुश्किलले भ्याईयो एक-दुई पटक। केहि समय यता आएर बल्ल 'पाँच दिने' बनेको छ मेरो ब्लग। यसमा भने अडिने कोशिश हुनेछ अब। अर्कोतिर अलिक लामा विश्लेषणात्मक टाँसोहरु पाँच दिनमा एउटाका दरले लेखेपनि बीचमा राजनीतिक घटनाक्रमहरुमाथिका 'अचार स्वाद' का छोटा टिप्पणी भने एक-दुईवटा लेख्ने हो कि जस्तो पनि लाग्छ। हेरौं, कस्तो स्वरुपमा लान सकिन्छ अबको वर्ष।

बितेको वर्षमा सबैभन्दा बढी पढिएका टाँसोहरु तल छन्;

क्या बात नेपाल प्रहरी!!! थुक्क ऋषि धमला!!!
ओशोसंगको मेरो नाता
जीवनको मूल्य बुझ्दैनन् माओवादीहरु!
माओवादी-अराजकता र दण्डहीनताको स्रोत
पढन्ते जापानीहरु
जय शम्भो!!!!!
'तिम्रो ठेगाना'- एउटा अधूरो गजल दुई रुपमा

पहिलो स्थान ओगट्न सफल ऋषि धमला काण्डसम्बन्धी टाँसो दोश्रो स्थानमा रहेका दुई टाँसोहरुभन्दा झण्डै तीन गुना हेरिएको छ। यो टाँसो इ-मेलका माध्यमबाट धेरैतिर घुमिरहेको देखिन्थ्यो FEEDJIT को Live Traffic Feed मा। एक दिन कुनै एउटा सम्बन्धित लिंकलाई पछ्याऊँदै म पश्चिम अफ्रिकी मुलुकहरुमा कार्यरत नेपाल प्रहरीका अधिकृतहरुको याहू ग्रुपमा पुगेको थिएँ। त्यो प्रहरी-प्रहरीहरुको बीचमा बढी घुमिरहेको हुनुपर्छ शायद। प्रहरी दाजुभाइ/दिदीबहिनीहरुले कसरी लिए यो टाँसोलाई थाहा भएन तर बिडम्बनापूर्ण रुपमा अहिले नेपालमा ऋषि धमलाको जगजगी फेरि शुरु भएको छ।

सोझै यो ब्लगमा आउने वा अरु ब्लगमा राखिएका लिंक हुँदै आउनेहरुको संख्याको दाँजोमा सर्च इञ्जिनमा खोजेर आउनेहरुको संख्या एकदम कम छ; त्यसमा पनि blog basanta, blogging basanta, basanta gautam, gautambasanta आदिनै बढी खोजिएको देखिन्छ।

यस पछिका दुई वा तीन टाँसोहरु पनि ब्लग र ब्लगिङ्ग सम्बन्धीनै हुनेछन्। ती टाँसोहरुलाई पाँच दिनभन्दा छोटै अन्तरालमा पेश गर्ने कोशिश गर्नेछु।

फेरि एकपटक यहाँहरुलाई हार्दिक धन्यबाद दिँदै प्रतिकृया र सुझावहरुको निरन्तरताको अपेक्षा गर्दछु।

Image Source:Funny Times

May 14, 2009

भिडियो र नाटकहरु

प्रचण्ड र माओवादीको वास्तविक अनुहार उदांगिएपछि र प्रचण्डले "---बाग्मतीमा धेरै पानी बगिसक्यो--" भनेर कथित 'स्पष्टीकरण' दिएपछि पनि बाग्मतीमा केहि दिनको पानी बगिसकेको छ। यस बारेमा केहि कुरा अघिल्लै टाँसोमा लेखौं कि भन्ने लागेको थियो तर पावन बुद्ध जयन्तीको दिनमा माओवादीको हिँसारञ्जित जुँघाको कुरा गर्नु ठीक लागेन।

माओवादीले यो भिडियोलाई जति असान्दर्भिक भनेर घोक्रो फुलुञ्जेल चिच्याएपनि कसैले पत्याउँदैन। उनीहरुको ब्यबहारलाई यो भिडियोले एउटा स्पष्ट आकार दिएको छ र माओवादीको वास्तविक उद्देश्यका बारेमा धेरै मान्छेहरुमा रहेको भ्रम चिरिएको छ।

वर्तमान अन्तरिम संविधान र राजनीतिक परिवेश सबैको सम्झौताकारी बाध्यता हो। संसदीय दलहरुलाई तत्कालीन राजा ज्ञानेन्द्रले सेनाको भरमा पाखा लगाएका थिए। अर्कोतिर, माओवादी नेतृत्व आफ्नो 'जनयुद्ध'को लागि सुरक्षित अवतरण खोजिरहेको थियो (भन्ने अरु सबैको विश्वाश थियो।)। यी दुबैको मिलन बिन्दू खोज्ने क्रममा संघिय लोकतान्त्रिक गणतन्त्रको सूत्र फेला परेको हो। यो संघीय लोकतान्त्रिक गणतन्त्रमा परिभाषित हुन बाँकी थुप्रै कुराहरु छन् तर पनि सारमा यसले खुल्ला समाज, बहुदलीय प्रतिस्पर्धा र वैचारिक स्वतन्त्रतालाई अंगीकार गर्नेछ भने अर्कोतिर माओवादीले उचालेका वर्गीय, जातीय, आर्थिक र सामाजिक मुद्दाहरुको पनि उचित समाधान पनि खोज्नेछ भन्ने हाम्रो आशा हो। त्यसैले एउटा पक्षले हारेको र अर्को पक्षले जितेको भन्दा पनि दुबै पक्षले जित्ने बाटो समातिएको हो भन्नु उपयुक्त हुन्छ।

तर प्रचण्डको भिडियो हेरिरहँदा यो कुराको बोध पटक्कै भएन मलाई। उनी अरुलाई सोत्तर बनाएर आएको भाव-भंगिमामा बोलिरहेका थिए। माओवादीको घमण्ड त धेरैनै देखिएको थियो तर उनीहरुको सर्वोच्च नेतृतवमै यस्तो चरम अहंकार र अरुप्रति निषेधको भावना देख्दा अनौठो लाग्यो।

यो भिडियोबाट ब्यक्त भएको राजनीतिक बेइमानीको बारेमा धेरै कुरा लेखिईसकेका/बोलिईसकेका छन्। माओवादीले कसरी जनता, अरु दल र अन्तर्राष्ट्रिय समुदायलाई थाङ्नामा सुताएर आफ्ना हरेक अभीष्ट पूरा गर्दै आईरहेको रहेछ भन्ने छर्लङ्ग भएको छ। केहि मित्रहरुले यसलाई 'संविधान-सभानै हुन नदिने संभावना भएको बेलामा आफ्ना लडाकूहरुको मनोबल कायम राख्न गरिएको भाषण' भनिदिए। तर भिडियोमा प्रचण्ड बडो गर्वका साथ 'हामीले नजित्ने खण्डमा हामी आफैं चुनाव हुन दिँदैनौ!' भन्छन्। यो कस्तो राजनीतिक इमान्दारी हो? उनी अझ 'संविधान-सभानै नहुने र त्यो स्थिति जनताको असन्तुष्टिलाई उपयोग गर्दै सशस्त्र विद्रोह'का लागि अति उपयुक्त अवसर हुने कुरा पनि गर्छन्।

शान्ति-प्रकृया शुरु भए यता माओवादीका यो वा त्यो नामका भातृ-संगठनहरुले देशभरि ब्यापक ताण्डब मच्चाइरहेका छन्। फरक विचार राख्नेहरु उनीहरुबाट कुटिएका र लखेटिएका वा मारिएका छन्, जनताका सम्पत्ति लुटिएका छन्। यी कुरा देखाएर कसैले प्रश्न राख्दा माओवादीको नेतृत्व भने जहिले पनि गुलिया कुरा कुरा गर्थ्यो (अहिले पनि गर्छ); 'यो हाम्रो दलको नीति होईन, केहि ब्यक्तिले गरेको कामका लागि हाम्रो पार्टी पूरैलाई दोष नलगाउनुहोला। दोषीलाई कारवाही गर्न हामी सघाउनेछौं---' आदि-आदि। धेरैलाई जस्तै मलाई पनि शुरुमा लाग्थ्यो, माओवादी नेतृत्वले नचाहँदा-नचाहँदै पनि कार्यकर्ताहरुले केहि बदमाशी गरेका होलान् वा केहि कार्यकर्ता शान्ति-प्रकृयाका विरोधी होलान्, समयक्रममा माओवादी नेतृत्वले आफ्ना सबै कार्यकर्तालाई नियन्त्रण गर्न र अराजकता रोक्न सक्षम हुनेछ। तर समय बित्दै जाँदा माओवादी नेतृत्वको 'ओंठे प्रतिबद्धता'मा विश्वाश घट्दै गयो। माओवादीहरु देशभरि कानूनभन्दा माथि बसिरहे। लुटिएका घर-जग्गा फिर्ता गर्ने प्रतिबद्धता मात्रै प्रचण्डले दश पटक ब्यक्त गरे होलान्। फिर्ता हुनु त कता हो कता उल्टो झन् लुट्न थालियो। प्रचण्ड बाहिर त नाटक मात्रै पो गर्दा रहेछन्!

यो भिडियोले ती सबै कुरापनि पार्टीकै नीति हुन् भन्ने देखाउँछ। आफ्ना कार्यकर्ताले के-के गर्छन् भन्ने प्रचण्डलाई सब थाहा छ। उनी भन्छन्; 'हाम्रा साथीहरुलाई कस्तो लाग्यो भने कुनै घर जलाइदियो भने विद्रोह हुन्छ कि कसैलाई गोद्दियो भने विद्रोह हुन्छ कि त्यस्तो जस्तो गर्छन् साथीहरु। एउटा घर जलाएर र पिटेर विद्रोह हुने होइन नि।' उनको भाव-भंगिमा आफ्नो बच्चा कुनै खेलौनासंग खेलेको देखेर रमाएको जस्तो छ। घर नजलाउन वा अरुलाई विना उचित कारण नगोद्न आफ्ना कार्यकर्तालाई कडा निर्देशन बिल्कूलै दिएका छैनन्। बरु अर्को ठाऊँमा अरु दलका कार्यकर्ता-समर्थकको 'खुट्टा भाँच्दिने' धम्की दिन्छन् र आफ्नो दल र लालसेनाले अरुमा सृजना गरेको 'आतंक' माथि बहुत गौरब गर्छन्। अब आफूले सृजना गर्न सकेको आतंकमा गौरब गर्नेलाई हामीले के नाम दिने?!

चुनावताका अरु दलका उम्मेदवारका आमसभा बिथोल्ने, उम्मेदवारलाई घाइते बनाउने काम पनि पार्टीको नीतिनै हो रहेछ।

शहीदको नाममा वा लडाकूको जीविकाको नाममा पैसा लिने र त्यसको ठूलो अंश हतियार किन्नमा लगाउने कुराले माओवादी शान्ति-प्रकृयाप्रति बिल्कूलै इमान्दार थिएन भन्ने प्रष्ट हुन्छ। आफैं सरकारमा गईसकेर पनि उसले राज्यलाई धम्क्याएर, फकाएर जसरी भएपनि दुहुनो गाइकै रुपमा मात्रै उपयोग गरिरहेको रहेछ। यति सबै भईसकेपछि पनि माओवादीसंग अरुलाई सुशाशन र नैतिकताको पाठ पढाउने अलिकति पनि हक छ र?

नाटक जारी छ!
माओवादीले भन्ने कुरा र गर्ने कुरा फरक छ भन्ने लोकलाई थाहा भईसक्यो तर पनि माओवादी नौटंकी जारी छ। "विदेशी प्रभुसंग नझुक्ने" भन्दै सरकारबाट राजीनामा दिने तर संसद अवरुद्ध पारेर अर्को सरकार बन्नै नदिने कामलाई शायद उनीहरु द्वन्द्वात्मक भौतिकवाद भन्छन् होला। यता काठमाडौंमा उनीहरु 'नागरिक सर्वोच्चता' को खोल भिरेर राष्ट्रपतिविरुद्ध तल्लो तहका गाली-गलौजमा उत्रेका छन् उता जिल्ला-जिल्लाबाट अरु दलका कार्यकर्ता/समर्थकहरु खेदिन थालेका छन्, माओवादीका केन्द्रीय नेताहरु आफैं पुगेर प्रोत्साहन गरेका छन् यस्ता कामलाई। तर काठमाडौंमा प्रचण्ड अझै भनिरहेछन् 'त्यो हाम्रो पार्टीको नीति होईन'!

तस्बीर-साभार:कान्तिपुर दैनिक

यो 'विदेशी प्रभुसंग नझुक्ने' नाटकका अरु अध्यायहरु पनि एक-एक गरी खुल्दैछन्। माओवादी कार्यकर्ता र समर्थकहरु भारतीय अखवार 'हिन्दू' ले दुई दिन लगाएर छापेको प्रचण्डको अन्तर्वार्तालाई शुतूरमूर्गी पाराले नदेखेझैं गर्छन् तर माओवादी नेतृत्वको 'राष्ट्रवाद'को धोती नराम्रोसंग फुस्किरहेको छ त्यहाँ। कटवाल काण्डमा भारतको 'ठूलै' मान्छेसंग 'सल्लाह' गर्न लागेका रहेछन् उनले। अब नेपालमा भारतको हस्तक्षेप भयो, भारत विस्तारवादी हो र अरु सबै दल भारतका पूच्छर हुन् भनेर चिच्याउने मान्छेले आफ्नो निर्णयमा भारतले लालमोहर लगाइदिन्छ कि दिँदैन भनेर किन जोखना हेर्नु? किन उनीहरुसंग सोध्नु? माओवादीहरुसंग यस्ता प्रश्नको जवाफका रुपमा कांग्रेस-एमालेका विरुद्ध गाली बाहेक केहि पनि छैन।

त्यहि अन्तर्वार्तामा उनले "भारत विस्तारवादी होइन" भनेर स्पष्ट पारेका छन्। यतिसम्म देखिसकेपछि "भारतीय विस्तारवाद" को विरोधमा देशभरिका सडकमा बौलाईरहेका उनका चेलाहरु त बेहोश हुनुपर्ने हो, आत्मग्लानिले!

अर्को एक ठाऊँमा उनी 'चीनसंग कुनै सन्धि हुन लागेको' कुरालाई अस्विकार गर्छन्। यो पनि अहिले भारतलाई रिझाउन बोलिएको एउटा झूट मात्रै हो। उक्त सन्धिको कुरा नेपाल सरकारकै एक उच्चपदस्थ कर्मचारीले सार्वजनिक गरेका हुन् केहि महिना पहिलेनै (अहिले ती मान्छे कुनै यूरोपियाली देशका लागि राजदूत भइसकेका छन्)।

राष्ट्रहितका लागि नेपालले चीनसंग सन्धि गर्नु नराम्रो भन्न खोजेको होईन मैले। प्रधानमन्त्रीले भारतको अगाडि यसरी जिब्रो चपाएको देख्दा अचम्म लागेको मात्रै हो।

यो टाँसो धेरै लामो भयो जस्तो छ। यहाँभन्दा बढी तपाईँहरुलाई सकस दिन चाहन्न:)

यस बीचका केहि समाचारसंग सम्बन्धित सूत्रहरु छन् तल। पढ्न/हेर्न भ्याउनुभएको छैन भने पढ्नुहोला/हेर्नुहोला।



PKD Video

Prachanda's Interview with The Hindu-1

Prachanda's Interview with The Hindu-2

भारतसंग कुरा गर्न खोजेको थिएँ

भारत विस्तारवादी होइन-प्रचण्ड

माओवादी पोस्न १ अर्ब-----

एमाले-कांग्रेस खेद्ने क्रम शुरु

May 09, 2009

बुद्धं शरणं गच्छामी

भगवान बुद्धका चरणमा आफनो शिर राखेर विगत, वर्तमान र आगतका सम्पूर्ण बुद्धहरुमा श्रद्धा-सुमन अर्पण गर्न चाहन्छु।

आज बुद्ध जयन्ती, यो दिनले सबैमा शान्तिको अभिलाषा जगाओस् भन्ने कामना गर्न चाहन्छु।

भगवान बुद्धका बारेमा केहि थाहा पाउन थालेको स्कूल पढेबाट हो। परिवार र पूरै गाऊँमा कोहि पनि बौद्ध धर्मावलम्बी नभएकोले त्यसभन्दा पहिला थाहा नहुनु स्वाभाविकै हो। विद्यालय क्याम्पसहरुबाट बुद्धका बारेमा जानेका कुरा भनेका 'तिनले शान्तिको सन्देश फैलाए' वा 'तिनी हाम्रा राष्ट्रिय विभूति हुन्' भन्ने कुराभन्दा माथि कहिल्यै गएन। सतहलाई अलिक खोस्रने र बुद्धगाथा अझ बढी बुझ्ने कुरामा न कतैबाट प्रेरण मिल्यो न आफैंमा वोध आयो।

हुनत म अझै पनि आफूलाई भगवान बुद्धका बारेमा धेरै जानकारी छ भनेर भन्दिन तर हाम्रो युगका बुद्ध ओशोका प्रवचन सुन्न र पढ्न थालेपछि भने जानकारी पहिला भन्दा धेरै थपिए। जानकारी केहि पाइयोनै तर त्यो भन्दा महत्वपूर्ण भगवान बुद्धका वचनहरुको सारलाई केहि न केहि महशूश गर्न सकेको अनुभव भयो।

हुनत ओशोले आफ्ना प्रवचनहरुमा सबै बुद्ध, महावीर, कृष्ण, कबीर, जिसस, महम्मद, राबिया, परमहंश आदि सबै रहस्यदर्शीहरुका बारेमा अत्यन्त प्रेमपूर्वक वर्णन गर्नुभएको छ र सबैलाई अत्यन्त सम्मान दिनुभएको छ तर गौतम बुद्धमा बारेमा बोलेका कुराहरु अझ सुन्दर र कोमल लाग्छन्।

भगवान बुद्धका वचनहरुमाथि ओशोले दिनुभएका प्रवचनहरु दश ठेली पुस्तकमा संग्रहीत छन् मैले ती मध्ये एउटा मात्रै (भाग ४) पढेको छु। यी बाहेक अरु धेरै प्रवचनहरुमा पनि ओशोले बुद्धको जीबनका धेरै प्रसंगहरु उल्लेख गर्नुभएको छ। बुद्धको महिमामण्डित जीबनगाथाका कथाहरु ओशोका मुखबाट सुन्न पाउनुनै एउटा महान संयोग हो। एउटा बुद्धको साँचो बयान गर्न सक्षम अर्को बुद्ध बाहेक को हुनसक्छ?!

अंगुलीमाललाई एक क्षणमा परीवर्तन गर्न सक्ने त्यो मुहार कति आभामय र कति सौम्य थियो होला!

मलाई बुद्ध जीबनका सम्पूर्ण कथाहरुमा अत्यन्त गहिरो विश्वाश छ। कतै पढेको थिएँ, भगवानलाई दु:ख दिन भनेर उहाँका विरोधहरुले एक पटक एउटा पागल हात्ती उहाँतिर छोडिदिएका थिए। हान्निएर आएको त्यो पागल हात्ती उहाँको नजिक आएपछि अचानक शान्त भयो र उहाँको चरणमा आफ्नो सूँड राखेर रुन थाल्यो। अर्को प्रसंग छ, तिनै शत्रुहरुले भगवान ध्यान गरिरहनुभएको देखेपछि माथि डाँडाबाट ठूल्ठूला ढुंगाहरु गुडाइदिन्थे तर हरेक पटक भगवानको नजिक पुगेपछि ती ढुंगाहरुले अचानक बाटो बदल्थे। कति उर्जामय र शान्त थियो होला भगवानको सान्निध्य!

एकपटक मलाई बुद्ध धर्मका अनगिन्ती सम्प्रदायहरुका बारेमा पढ्ने-बुझ्ने रहर जागेको थियो। अब बाँकी छैन त्यो रहर किनभने ओशोबाट मैले जानेको कुरा के हो भने सम्प्रदायहरु बुद्धका देन होईनन्, 'बौद्ध'हरुका देन हुन्, ती कसैले बुद्धमाथि आफना मान्यताहरुलाई थोपरेर शुरु गरिएका हुन्। हरेक बुद्ध आफैंमा समग्र धर्म हो, आफैंमा निर्विकल्प सत्य हो। अब सम्प्रदाय के, समूह के?!

आउनुहोस् आजको पूर्णचन्द्रमा भगवान बुद्धको आभा महशूश गरौं र समस्त लोकमा शान्तिको लागि प्रार्थना गरौं!

बुद्धम शरणं गच्छामी!!!




May 04, 2009

खाडलमा देश!

Image Source:APOD-Google Earth Community

देश भयानक खाडलमा गएर फँसेको छ। अँध्यारो झन बढेको छ। सबैभन्दा पहिला प्रार्थना गरौं, यो विपत्तिबाट देशले एउटा पनि मानवीय र भौतिक क्षतिविना चाँडै मुक्ति पाउनेछ।

दलहरु अन्तत: सहमतिको बाटोमा पुग्नेछन्, कि त एमालेको प्रस्ताव (विवादितहरु सबैलाई हटाएर छत्रमान गुरुङलाई प्रधानसेनापति बनाउने) सबैले मान्नेछन् कि त सबैको स्विकृतिमा कडा 'अन्तिम' चेतावनी पत्र दिएर कटवाललाई पदावधि पुरा गर्न दिनेछन् भन्ने लागेको थियो मलाई। जापानको Golden Week को धूनले एक दिन समाचार हेर्न भ्याईएको थिएन, देशमा यति धेरै परीवर्तन भईसकेछ।

दरबारको कब्जाबाट उम्केपछि सेना राजनीतिबाट अलग हुनेछ भन्ने हाम्रो आशामाथि तूषारापात भएको छ र सेनाभित्र चिरा पार्न माओवादी सफल भएको छ। हामीलाई थाहै छ राजनीतिक दलहरु बीच एकापसमा दोषारोपण शुरु भएको धेरै भईसक्यो। को कति दोषी छ भन्ने कुराको सही मूल्यांकन इतिहासले गर्नेनै छ।

सरकारमै बसेर पनि सडक नछाडेको माओवादीलाई 'राजनीति' गर्न अब झन सजिलो भएको छ। प्रतिपक्षको राजनीति, विरोधको राजनीति अत्यन्त सजिलो राजनीति हो। जे बोल्दिए पनि हुन्छ, गर्नु केहि पनि पर्दैन। गर्ने ठाऊँमा बसेर त माओवादीले प्रतिपक्षकै स्वभाव देखायो भने अब झन् देखिने पक्का छ।

सरकारले केहि गर्न नसकेकोमा विशेष गरी अरुलाई दोष दिएर उम्कन खोजेका छन् प्रचण्ड। तर उनी र सबै माओवादीहरुले के सम्झनु आवश्यक छ भने कांग्रेस बाहेकका अरु प्रमुख विपक्षी दलहरु सरकारमै थिए। कांग्रेसले गतिलो सडक आन्दोलन एउटा सम्म पनि उठाउन सकेको थिएन (कांग्रेसले अब आन्दोलन गर्न सक्छ जस्तो लाग्दैन कसैलाई पनि)। हो, सदन उनीहरुले अवरुद्ध पारेका थिए तर द्वन्द्वकालमा लुटिएका घर-जग्गा तुरुन्त फिर्ता गर्छु भनेर दशौं पटक 'वाचा' गर्ने तर कहिल्यै नगर्ने माओवादी बानीबाट आजित भएपछि अरु उपाय बाँकी पनि थिएन। ठैव हत्याकाण्ड पछि एमालेले पनि सदन अवरुद्ध पा-यो। यि कुरालाई माओवादीहरु 'सानातिना' कुरा भनिदिन्छन्। अब ठूला कुराचाहिँ के हुन् कुन्नि? आफ्ना समर्थक-कार्यकर्ताका घरजग्गा फिर्ता नहुँदा पनि कांग्रेसले 'त्वं शरणम्' गरिदिनुपर्ने, आफ्ना कार्यकर्ता जति गिँडिएपनि एमालेले माओवादीको 'जी हजुरी' गरिदिनुपर्ने हो भने लोकतन्त्र र गणतन्त्र माओवादीकै लागि मात्रै आएको माने हुन्छ।

खासमा माओवादीको सरकार बनेदेखि यता कांग्रेस‍-एमालेका भातृ-संगठनहरु लगभग निष्कृयझैं छन् भने माओवादीका आफ्नै भातृ-संगठनहरु भने बेलगाम र छाडा भएका छन्। पूरै सडक उनीहरुकै कब्जामा छ। फ्याक्ट्री बन्द गराउन पनि उनीहरुनै पुगेका छन्, मिडिया-हाउसभित्र पसेर कूटपीट गर्न पनि उनीहरुनै पुगेका छन्, अस्पताल ठप्प पनि उनीहरुलेनै पारेका छन्, उप-कूलपतिलाई कालोमोसो पनि उनीहरुलेनै दलेका छन्, अरु दलका कार्यकर्ता (र आफ्नै दलका समर्थक)लाई पनि उनीहरुलेनै सूईँक्याएका छन्---। यो अवधिमा, द्वन्द्वकालमा माओवादीले गरेझैं, न कसैले पुललाई बमले उडायो, न कसैले झोलुंगे पुल काट्यो, न कसैले कुनै सडक-योजनालाई बिथोल्यो, न कसैले विद्युत-गृह पड्कायो, न कसैले दूरसञ्चारको टावर पड्कायो----। जातीय राजनीतिले सृजना गरेको अराजकतालाई पनि बिर्सनु हुँदैन यहाँ तर त्यो पनि आफ्नो लालसेनाको आकार बढाउन र चुनावमा भोट बढाउन माओवादीले रोपेको विषवृक्षको साख्खै सन्तान हो। यसैले अरुलाई मात्रै दोष दिएर माओवादी साँचिलो हुन सक्ने छैन।

संविधान लेखन लगायतका सबै कुरा छोडी 'सेना-सेना-सेना' भनेर माओवादी एक रटानले सेनाको पछि लागेपछि माओवादी बाहेकका अरु सबै सशंकित र त्रसित हुनु स्वाभाविक हो। माओवादीको घोषित उद्देश्य अझै पनि उनीहरुको आफ्नै तानाशाही हो। हिजो-अस्तिमात्रै पनि महरा 'नेपालमा जनगणतन्त्र ल्याउने' कुरा गर्दैथिए। त्यो जनगणतन्त्र भनेको माओवादी बाहेक अरुको अस्तित्व नहुने 'एनिमल फार्म' बाहेक केहि पनि होईन। उनीहरुको आफ्नै सेना छ र त्यो सेना माओवादीको राजनीतिक विचारबाट दिक्षित छ। त्यो माओवादी सेनालाई वैचारिक शुद्धीकरण र व्याबसायीकरण विना र सग्लै ढिक्कै नेपाली सेनामा पसाउनु भनेको पूरै नेपाली सेनालाई तहसनहस पार्नु हो र 'जनगणतन्त्र' को बाटो सहज बनाउनु हो।

लालसेनालाई नेपाली सेनामा मिसाउने सवालमा माओवादीले अलिक उदार भएर सोचेको भए सबैलाई र देशलाई फाइदै हुन्थ्यो। छापामारहरुको ब्यक्तिगत रुचि सोधेर र उनीहरुलाई केहि विकल्पहरुबाट एउटा छान्न लगाएर पहिलो चरण पूरा हुन्थ्यो। बाँकीलाई नेपाली सेनाको मापदण्ड अनुसार सेनामै समाहित गर्नु दोश्रो चरण हुनसक्थ्यो। तर 'जनसेनाको छाती नाप्न दिँदैनौ!' भन्ने त माओवादीको एउटा प्रमुख नारानै भईदियो। लोकलाजका लागि प्रचण्डले अलि-अलि उदार कुरा बोलेपनि अरु नेताहरु त सबैभन्दा पहिला दुबैतिरका अधिकृतहरुको 'भौतिक समायोजन' गरेपछिमात्रै अरु काम गर्ने रट लगाऊँछन्। यो तरिका न सेनालाई मान्य हुन्छ न माओवादी बाहेकका अरु राजनीतिक दललाई।

एउटा गम्भिर संकटमा देश पुगेको छ। जतिसुकै वाद-विवाद र झगडा भएपनि एउटा पनि मानवीय र भौतिक क्षतिविना नयाँ निकास निस्कियोस् भन्ने प्रार्थना गरौं।