August 29, 2009

जापानमा भोलि चुनाव

जापानमा मान्छेहरुलाई काम खोज्न (र रोजगारदातालाई कामदार खोज्न) सघाउने HELLO WORK भन्ने संस्था छ। जापानका साना-ठूला सबै शहरहरुमा यसका कार्यालयहरु देख्न सकिन्छ। म अड्डातिर लाग्ने बाटोमा पनि एउटा शाखा छ। अचेल हरेक दिन बिहान मानिसहरुको लामो लहर देखिन्छ त्यसको अघिल्तिर। त्यो कार्यालय ८:३० मा खुल्छ होला, तर आठ बजेबाटै मानिसहरुको लाम देख्न सकिन्छ। बिगत केहि महिना यता त्यो लाम क्रमैसंग ठूलो हुँदै गएको छ।

मलाई याद छ, पहोर यहि ताकासम्म पनि यति बिहानै यस्तरी मान्छेहरुको लाम देखिन्नथ्यो। जापानमा बेरोजगारी बढेको र अझ बढ्ने संकेतका लागि यो एउटा प्रत्यक्ष सूचक हो मेरो ब्यक्तिगत अनुभवमा। यसै प्रसंगमा हिजोमात्रै प्रकाशित नयाँ आर्थिक विवरणका अनुसार जुलाई महिनामा जापानको बेरोजगारी दर, विगत ६ वर्षकै उच्च, ५.७% पुगेको छ।

बढ्दै गएको बेरोजगारी विगत केहि समय यताको विश्व आर्थिक मन्दीसंग प्रत्यक्ष रुपले जोडिएको छ र यो जापानले अहिले सामना गरिरहेका थुप्रै समस्याहरुमध्ये एउटा हो र जापानमा भोलि सम्पन्न हुने डायट (जापानी संसद)को प्रतिनिधि-सभाको चुनावको एउटा प्रमुख मुद्दा। विश्व समुदायसंग दाँजिदा जापानको प्रमुख शक्ति भनेको उसको औद्योगिक उत्पादन हो, यो अहिले अत्यन्त समस्याग्रस्त भईसकेको छ। औद्योगिक उत्पादनको निकासी घटिरहेको छ। विश्व पूँजीवाद र स्वयं जापानी पूँजीवाद सस्तो श्रम र कच्चा पदार्थको खोजीमा चीन, भियतनाम र अरु नयाँ गन्तब्यतिर लागिरहेछ। जापानको जन्मदर कम हुँदै जाँदा जापानी समाजको आफ्नै श्रम-शक्तिमा पनि ब्यापक ह्रास भईसकेको छ। अहिलेको उच्च जीवनस्तर कायमै राख्नु र विश्व औद्योगिक गतिबिधिको केन्द्रको रुपमा पनि रहिरहन सक्नु उसको लागि एउटा ठूलो चुनौती हो।

अर्कोतिर, सामरिक हिसाबले पनि चीन बलियो हुँदै आईसकेको छ। एउटा 'आतंक'को रुपमा उत्तर कोरीया सधैं उपष्थित छ। साझा ब्यापारिक-औद्योगिक स्वार्थ बाहेक दक्षिण कोरीयासंगको सम्बन्ध पनि त्यति सुमधुर मान्न सकिँदैन। दोश्रो विश्वयुद्धपछिको अमेरिकासंगको 'विशेष सम्बन्ध' लाई पुनर्परिभाषित गर्नुपर्ने आवाज उठेको धेरै भईसक्यो। प्रशश्त योगदान हुँदाहुँदै पनि विश्व समुदायमा जापानको कूटनैतिक प्रभाव साह्रै कम छ भनेर जापानीहरु स्विकार्छन्। त्यसकारण यो चुनावको परिणामले जापानको सामरिक-कूटनीतिक छविमा पनि परीवर्तन ल्याउने सम्भावना प्रवल छ।

अहिलेसम्मका सर्वेक्षणहरु अनुसार डेमोक्रेटिक पार्टी अफ जापानले अत्यधिक बहुमतका साथ जित्ने सम्भावना बढी छ। २००७ बाट यो माथिल्लो सदनमा पनि सबैभन्दा ठूलो दलको रुपमा रहेको छ र हालैका स्थानीय चुनावहरुमा पनि यो सफल देखिएको छ तर यो संग राष्ट्रिय सरकारको अनुभव भने अझै छैन। विगत पचास वर्ष भन्दा बढी जापानमा लिबरल डेमोक्रेटिक पार्टीले लगभग एकछत्र सरकार चलाऊँदै आएको छ। १९९३ मा एकपटक, त्यो पनि दश महिनाका लागि मात्रै यो सत्ता बाहिर थियो। यो चुनावलाई जापानमा वास्तविक रुपमा दुई दलीय प्रतिस्पर्धा शुरु भएको चुनावका रुपमा पनि लिईन्छ।

यतिखेर जापानी चुनावको प्रचार-प्रसार उत्कर्षमा छ। माईकिङ्ग गर्दै कुदिरहेका बिभिन्न दलका भ्यानहरु बिहानदेखि साँझसम्म सडकमा देखिन्छन्। सब-वे स्टेशनका अघिल्तिर, सुपरमार्केटका अघिल्तिर र अलि भिड-भाड हुने चोकहरुमा उम्मेदवार वा प्रतिनिधिहरु भाषण गरिरहेका हुन्छन् र सहयोगीहरु पर्चा बाँडिरहेका हुन्छन्। जापानमा हाम्रो देशमा जस्तो एक दिनको कामकाजै ठप्प पारेर तामझामको जुलूशसहित आमसभा गर्ने चलन छैन। सम्पूर्ण राजनीतिक गतिबिधिहरु जनताको दैनिक चर्या र ब्यापार-ब्यबसाय-उत्पादनमा कुनै असर नपर्ने गरी सञ्चालित हुन्छन्। पोष्टरहरु टाँस्नका लागि ठाऊँ-ठाऊँमा सूचना-पाटीहरु राखिएका हुन्छन् र सबै उम्मेदवारले तिनैमा मात्र टाँसेको देखिन्छ। चुनावी अभियानमा रेडियो-टेलिभिजनको प्रयोग पनि ब्यापक हुनेनै भयो।
एउटा चुनावी क्षेत्रका उम्मेदवारहरुका पोष्टरहरु टाँसिएको सूचना-पाटी
पहिला-पहिला जापानीहरु राजनीतिमा पटक्कै रुचि नराख्ने हुन् कि जस्तो लाग्थ्यो तर त्यो होईन रहेछ। राजनीतिक रुचिका नाममा कुनै दलको आजन्म घोडा हुनु र मूढे समर्थन र लिंडे विरोध गर्नुमात्रैलाई जानेका हामीलाई जापानको राजनीति राजनीतिजस्तो लाग्न समय लाग्नु स्वाभाविक हो।

१९४५ पछिको तथ्यांक हेर्दा १९९० भन्दा पहिला मतदान प्रतिशत ६५ भन्दा माथि देखिन्छ। नब्बेको दशकमा भने कम हुँदै गएको छ। २००५ को पछिल्लो चुनावमा यो प्रतिशत फेरि ६६.६ मा उक्लेको छ। एक हिसाबले जापानका लागि युगान्तकारी मानिने भोलिको चुनावमा मतदान प्रतिशत सजिलै ७० भन्दा माथि जाने अनुमान गरिँदै छ।

डेमोक्रेटिक पार्टी अफ जापान र लिबरल डेमोक्रेटिक पार्टीमा नीतिगत भिन्नता धेरै छैनन् भन्छन् विश्लेषकहरु। तर जापान ब्यापक परीवर्तनको संघारमा भएको महशूश गर्न सकिन्छ र जसले जितेपनि त्यो परीवर्तनलाई अब रोक्न सक्ने स्थिति देखिँदैन। जापानी जनताहरु परीवर्तनको जिम्मा शायद नयाँ पार्टीलाईनै दिन चाहन्छन्।


*****************************************
[सम्बन्धित थप कुराहरु यहाँ पढ्न सक्नुहुन्छ;
जापानी राजनितिलाई बुझ्न खोज्दा
जापानमा उत्तर कोरीया आतंक

- जापानको यो चुनावको बारेमा दिपन्द्रजीले आफ्नो ब्लगमा एउटा गहण विश्लेषण राख्नुभएको छ।
]

August 24, 2009

ब्लगले पनि तीज मनायो:)

अचेल सधैं पाँच दिनमा केहि न केहि टाँस्ने गरिएको यो ब्लग यस पटक हप्ते हुन पुग्यो। नयाँ कुरा लेख्न नभ्याएपनि 'अड्को-पडको तेलको धूप" गर्न भनेर राखिएका कुरा थिए, झण्डै टाँसिसकेको पनि थिएँ; तर जता हेर्यो उतै, जे पढ्यो त्यतै तीजकै कुरा मात्र। यस्तो बेलामा अरु कुरा राख्दा अप्रासंगिक होला भनेर ब्लगलाई पनि माईत पठाईदिएँ मैले, तीज मनाउन:) गफै त हो:)

यस पटकलाई नागोयाको तीज कार्यक्रमका केहि तस्बीरहरु।






August 17, 2009

'संगठन' कि 'ई-मेल समूह'?

(यो टाँसोमा 'नेपाली ब्लगरहरु' भनेर नेपाल अथवा विदेशमा रहेर नेपाली वा अरु कुनै पनि भाषामा ब्लग चलाऊँदै आएका नेपालीहरुलाई जनाउन खोजिएको हो।)

नेपाली ब्लगरहरुको कुनै प्रतिनिधि समूह/संगठन बनाउने अथवा अरु कुनै हिसाबले संगठित हुने भन्ने बारेमा विगत केहि समयबाट हामीबीच छलफल चल्दै आएको छ। यस प्रसंगमा, केहि वर्ष पहिलानै एउटा Bloggers Association of Nepal (BLOGAN) नाम गरेको समूह बनिसकेको पनि देखिन्छ। तर BLOGAN यसको निर्माणको केहि समय पछिबाट हालसम्म पूर्ण रुपमा निष्कृय देखिन्छ। ब्लग शुरु गरिसकेपछि सम्पर्क गर्न खोज्दा BLOGAN बाट कुनै उत्तर/प्रतिकृया नआएको कुरा हामी सबैको अनुभव हो। यो अवश्थामा, देश-विदेश सबैतिर बढिरहेका नेपाली ब्लगरहरुको एकापसी सम्पर्क र ब्लगिङ्ग सम्बन्धी ज्ञान आदानप्रदानका लागि एउटा साझा सम्पर्क सूत्रको आवश्यकता निश्चय पनि छ। त्यो सम्पर्क सूत्रको संरचना कुन रुपको हुने भन्ने बारेमा भने सबैको एउटै विचार नहुन सक्छ।

Nepali Bloggers लगायत अरु केहि साइटहरुले नेपाली ब्लग र ब्लगरहरुलाई सूचिकृत गरिरहेका छन्। नियमति रुपमा अपडेट हुने नेपाली ब्लगहरु HAMRO CIRCLEनेपाली भाषाका ब्लगहरुमा पनि सूचिकृत छन्। नविनजीले Nepali Blog Updates भन्ने Google Widget विकास गर्नुभएको छ। नेपाली ब्लग जगतका लागि गर्नुभएको योगदानका लागि उहाँहरु सबैलाई हार्दिक धन्यबाद!

नेपाली ब्लगरहरुको एउटा अन्तर्कृयात्मक मञ्च बन्न भने बाँकी थियो। हुनत, फेसबुकमा Nepali Bloggers नामको एउटा समूह पनि छ तर त्यो त्यति अन्तर्कृयात्मक हुन सकेको छैन। फेरि धेरै ब्लगर साथीहरुमा फेसबुकप्रति त्यति लगाव नहुन पनि सक्छ।

केहि समय पहिला 'दौंतरी'को पहलमा भएको नेपाली ब्लगरहरुको प्रथम अन्तर्राष्ट्रिय (अनलाईन) नेपाली ब्लगर भेलामा पनि यस विषयमा धेरै छलफल भयो। त्यतिखेर ब्यक्त विचारहरुलाई मूलत: तीन समूहमा राखेर हेर्न सकिन्छ;

१) नेपाली ब्लगरहरुको ई-मेल समूहलाई सम्पर्क सूत्रको रुपमा विकास गर्ने।
२) कुनै औपचारिक सांगठनिक संरचनाको शुरुवात गर्ने।
३) BLOGAN लाई नै पुन: सकृय गराउने।

दोश्रो र तेश्रो विचार सारमा उस्तै हुन्, सबै नेपाली ब्लगरहरुको एउटा प्रतिनिधि संगठन बनाउने। यस बारेमा केहि कुरा गरौं पहिला।

सामान्यतया प्रतिनिधि संगठन दुई अवश्थामा खडा हुन सक्छन्; पहिलो, उहि वा उस्तै पेशा हुनेहरु पेशागत हकहितको सुरक्षा आदिका लागि प्रतिनिधि संगठनमा आबद्ध हुन चाहन्छन्। दोश्रो, समान विचार र उद्देश्य हुनेहरु कुनै प्रतिनिधि संगठनका माध्यमले संगठित हुन्छन्। ब्लगरहरु यी दुबै स्थितिभन्दा बाहिर छन्। विकसित समाजमा ब्लग गरेकै भरमा बाँच्न सक्नेहरु होलान् केहि, तर अझै पनि ब्लगिङ्ग पेशा बनिसकेको छैन। ब्लगलाई नै पेशा बनाएका नेपाली ब्लगरहरु, जहाँसम्म लाग्छ, छैनन्। ब्लगिङ्गको चरित्रनै यस्तो छ कि भविष्यसम्म पनि यो एउटा औपचारिक पेशा बन्ने सम्भावना अत्यन्त न्यून छ। अर्कोतिर ब्लगरहरु, नेपाली ब्लगरहरु, न एउटै विचारका हुन्छन् न त एउटै साझा उद्देश्य बोकेका हुन्छन्। आफ्नो नीजि जिन्दगीका घटनाहरुका बारेमा लेख्नेहरु, राजनीतिको बारेमा लेख्नेहरु, साहित्य लेख्नेहरु, प्राविधिक विषयमा लेख्नेहरु, तस्बीर ब्लग संचालन गरिरहेकाहरु,स्वास्थ्य सम्बन्धी लेख्नेहरु, अर्थतन्त्र बारे लेख्नेहरु, नेपालीमा लेख्नेहरु, अंग्रेजी र अरु भाषामा लेख्नेहरु---------- ब्लगिङ्गको विविधताको कुनै सीमा छैन र सबै ब्लगरहरुका आ-आफ्नै उद्देश्य छन्। यो अवश्थामा एउटा संगठनले कसरी सबैलाई समेट्न सक्छ? र त्यो कसरी प्रतिनिधि हुनसक्छ? नेपाली ब्लगरहरुको कति संख्यासम्मलाई समेटे 'सबै'लाई समेटेको मान्ने? अझ, नेपाली ब्लगरहरुको यकीन संख्या कति छ भन्ने कसलाई थाहा छ?

यदि त्यस्तो संगठन खडानै भयो भनेपनि संरचनाको कुरा गर्दा-गर्दै त्यसै अल्मलिनेछ र कुनै सानो भूगोलमा सीमित हुनेछ। संसारभरि छरिएर रहेका नेपाली ब्लगरहरुको एउटा सानो अंशलाई पनि समेट्न सक्ने छैन त्यसले। देखाउनका लागि फलानो ठाऊँको प्रतिनिधि फलानो भनेर राख्न सकिन्छ, तर उसलाई सम्बन्धित ठाऊँका अरु नेपाली ब्लगरहरुले प्रतिनिधि मान्नैपर्छ भन्ने के कर छ?

केहि मित्रहरु त्यस्तो संगठन बनाएपछि त्यसले नीति-नियम बनाउने र नेपाली ब्लग जगतलाई अनुशाशित बनाउने खुस्केट कुरा समेत गर्छन्। त्यस्तो संगठनले बनाएको नीति-नियम सबैले मान्नुपर्छ भन्ने के छ? संगठनमा बसेकाहरुले त मान्लान् रे लौ (त्यो पनि के भर छ र!), नबस्नेले किन मान्ने?

हाम्रो नेपाली चरित्रको खोईरो खन्न पनि मन लाग्यो यहि प्रसंगमा। हामी नेपालीहरु जुट्न जति छिटो छौं, जुटेपछि फुट्न त्यसको तीन गुना छिटो छौं। यो कथित प्रतिनिधि संगठनको शुरुवात फुटको शुरुवात पनि हुनेछ। नेपालको काईते दलीय राजनिति यसमा पसेर यसलाई टुक्रा-टुक्रा बनाईदिनेछ।

तर ब्लगिङ्गसम्बन्धी अनुभव र ज्ञान एकापसमा बाँड्न र प्राविधिक कुराहरुका बारेमा छलफल गर्न एउटा अन्तर्कृयात्मक मञ्च भने अत्यन्त जरुरी छ भनेर माथि पनि लेखिसकेको छु मैले।

यिनै कुराहरुको पृष्ठभूमिमानै कथित प्रतिनिधि संगठनको सट्टा एउटा खुकुलो सामूहिक संरचनाको पक्षमा धेरै साथीहरु पुगेका हुन्। ई-मेल समूह (e-mail group) त्यस्तै एउटा संरचना हो र अहिलेका लागि सबैभन्दा भरपर्दो पनि। यो अन्तर्कृयात्मक छ, अन्तर्कृयामा कतिसम्म भाग लिने भन्ने कुराको निर्णय गर्न सदस्यहरु स्वतन्त्र छन् र यसमा कुनै सांगठनिक झमेला र दाउपेच पनि छैन।

Nepali Bloggers नामको त्यो गुगल ग्रुप सकृय गराईसकिएको छ र ब्लगर साथीहरु यसमा सम्मिलित हुने क्रम जारी छ।

अनलाईन भेलामा नेपाली ब्लगरका नामबाट नेपाल भित्र कुनै सामाजिक काम आदि गर्न संगठनको आवश्यकता छ भन्ने आवाज पनि उठेको थियो। त्यस्तो कामको लागि छुट्टै संगठननै चाहिन्छ भन्ने छैन। समाजसेवाको पसल खोलेर बसेका अनगिन्ती संस्थाहरु छन् जसमध्ये केहिले अलि-अलि समाजसेवा पनि गर्छन् (र थोरैले साँच्चै समाजसेवा र समाजसेवामात्रै गर्छन्)। तिनै असल संस्थाहरुमध्ये कुनै एकलाई माध्यम बनाउन सकिन्छ। यथेष्ट आर्थिक क्षमता छ भने ब्यक्तिगत हिसाबबाटै पनि गर्न सकिन्छ। 'नेपाली ब्लगर'कै रुपमा गर्ने मन छ भने भौगोलिक रुपमा नजिक नेपाली ब्लगरहरुको एउटा अस्थायी संरचना बनाउन सकिन्छ। नेपालभित्र भरपर्दो र ईमान्दार सम्पर्क सूत्र भएको खण्डमा भविष्यमा यहि ई-मेल ग्रुपको माध्यमबाट अर्थ संकलन गर्न र पठाउन पनि सकिन्छ।

माथि ब्यक्त गरिएका कुराहरुलाई गलत अर्थमा नलिईयोस् भन्ने आशयले केहि कुरा अब। नेपाली ब्लगरहरुको संगठन हुनु निरपेक्ष रुपले गलत हो भन्ने मेरो विचार होईन। भौगोलिक रुपमा नजिक हुनेहरु अथवा समान विचार हुनेहरुले संगठन बनाउन सक्छन्, त्यो सबैको अधिकारको कुरा हो। मेरो भनाई कुनै पनि यस्तो संगठन सबै नेपाली ब्लगरहरुको प्रतिनिधि संगठन भने हुन सक्दैन भन्ने हो।

छलफलको निरन्तरताको लागि यो टाँसोले केहि योगदान दिनेछ भन्ने मेरो आशा छ। सबै साथीहरुबाट प्रतिकृया र नयाँ विचारहरुको आशा गरेको छु।

August 11, 2009

भूईँचालो आयो!

Image Source:Click Here

आज किन साढे चारै बजे निद्रा खुलेको होला भनेर सोच्दै थिएँ, भूईँचालो जानलाई पो रहेछ:) यो भूईँचालोलाई पनि 'आयो' भन्नु कि 'गयो' भन्नु, आ'को पनि हो, फेरि आएर ग'को पनि हो:)

बिहान ५:०७ मा ठूलै भूईँचालो गयो। शुरुमा थोरै कम्पन थियो र नीच मारेर बसियो तर एकछिन पछि त बेस्सरी नै हल्लिन थाल्यो। छोरीलाई बोकेर दौडियो तर ढोकामा पुग्दा-नपुग्दै भूकम्प रोकियो। छोरी निद्रामै थिई र त्यसपछि पनि अर्को दुई घण्टा सुती। जापानमा सानातिना भूकम्प गईनै रहन्छन् नियमितजसो। केहि महिना यताबाट भने यो भेगमा कम्पनको अनुभव भएको थिएन। अस्ति टोकियोतिर गएको यत्तिकै ठूलो भूकम्पको असर पनि यता त्यति देखिएको थिएन।

बढी प्रभावित भागमा Japanese Seismic Scale अनुसार Magnitude 6 थियो, नागोयामा Magnitude 4 देखाउँदै थियो टेलिभिजनले।

आजको भूकम्पबाट त्यति ठूलो क्षति भएन भन्दैछन् जापानी अधिकारीहरु। जापानका भौतिक संरचनाहरुको उच्च गुणस्तरलाई हेर्दा धेरै क्षति नहुनु स्वाभाविक हो। बेलुकी सात बजेको समाचारमा १११ जना घाईते भएको भन्दै थियो। यो भूकम्पका कारण एउटा आणविक विद्युत गृहका दुई रियाक्टरहरु स्वचालित रुपमा बन्द भएछन्। सुरक्षा जाँचका लागि केहि ट्रेन लाईनहरु दुई-तीन घण्टा रोकिएछन्। सडकका केहि भागहरु भत्केको पनि समाचार छ।

नागोया लगायतको यो भाग भौगोलिक रुपमा जापानको मध्यभाग हो। पूर्वपट्टिको समुद्री भागलाई Sea of Japan अथवा East Sea भन्ने चलन छ। जापानको पूर्वमा प्रशान्त महासागर छ। आइची, मिए, शिजुओका प्रान्त नजिकको प्रशान्त महासागरको भागलाई यदाकदा East Sea पनि भनिन्छ। East Sea जापानीमा "तो(उ)काई"(TOKAI) हुन्छ। त्यसैले यो क्षेत्रलाई 'तोकाई भेग' पनि भनिन्छ। यो 'तोकाई भेग'मा केहि वर्षभित्रै एउटा गम्भिर बिध्वंशकारी भूकम्प आउने सम्भावना धेरै छ भन्ने भूकम्पविद्हरुको ठहर छ। त्यो सम्भावित भूकम्पलाई 'तोकाई भूकम्प'(TOKAI earthquake) भनिन्छ। टिभीमा आज बिहानको भूकम्प त्यहि 'तोकाई भूकम्प' हो कि होईन भन्ने बारेमा पनि छलफल हुँदै थियो, तर यो नै तोकाई भूकम्प होईन भने विशेषज्ञहरुले। यत्तिकै टरेको भए त साह्रै राम्रो हुन्थ्यो। साथै आजको भूकम्प 'तोकाई भूकम्प'संग कुनै हिसाबले पनि सम्बन्धित छैन रे।

Image Source:Click Here

विगत ३० वर्षभन्दा बढीबाट जापानीहरु त्यो भूकम्प आऊँदा हुनसक्ने जनधनको क्षतिलाई न्यून पार्ने अभियानमा लागिरहेका छन्, त्यो पनि अत्यन्त गम्भिरताका साथ। 'तोकाई भूकम्प' का बारेमा जनचेतना जगाउने, मान्छेहरुलाई त्यो भूकम्प आऊँदा जहाँसुकै भएपनि कसरी सुरक्षित हुने भन्ने सिकाउने अभियान लगातार चलिरहेका छन्। किण्डरगार्टेन देखि लिएर विश्वविद्यालयसम्म, कार्यालयहरु देखि कलकारखानाहरुसम्म र अस्पताल देखि शपिङ्ग सेन्टरसम्म; सबैमा वर्षको एक वा दुई पटक 'तोकाई भूकम्प अभ्यास' गरिन्छ र मान्छेहरुलाई साँच्चैको भूकम्पका लागि तयार गराईन्छ। कुनै दुर्घटना घटिसकेपछि मात्रै त्यसका बारेमा सोच्ने हामी नेपालीहरुका लागि त यस्तो तयारी फजूलमात्रै पनि लाग्न सक्छ; तर जापानीहरु हामीजस्ता होईनन्।

नेपाल पनि यस्तै विध्वंशकारी भूकम्पको सम्भावना बोकेर बसेको छ भन्ने कुरामा विशेषज्ञहरु एकमत छन् तर हाम्रो तयारी अत्यन्त न्यून छ। जापानीले जसरी पैसा खन्याउन सक्ने स्थिति नहोला हाम्रो, तर जनचेतना जगाउन थोरै पैसामा पनि नसकिने होईन। त्यस्तै भौतिक संरचनाको निर्माण मापदण्डलाई कडाईका साथ लागू गर्ने-गराउने कुरा पनि देशको प्रशाशनिक-राजनीतिक संयन्त्र अहिलेभन्दा अलिकति मात्रै बढी ईमान्दार भईदिए खासै गाह्रो होईन। देशको शहरीकरणलाई अहिलेभन्दा योजनाबद्ध बनाउने, कम्तिमा चाहिएको बेलामा जहाँसुकै पनि दमकल, एम्बुलेन्स आदि जानसक्ने सडक बनाउने कुरा पनि थोरै आँटलेनै हुने कुरा हो। हाम्रो समस्या मूलत: तुच्छ ब्यक्तिगत स्वार्थका लागि समाज र देशको वृहत्तर स्वार्थको बलि दिने घटिया मनोवृत्ति हो।

भूकम्पको लगत्तै सम्पूर्ण संचार माध्यमहरु त्यसकै विषयमा केन्द्रित थिए। यहि महिनाको अन्त्यमा हुने डायटको चुनावको कुरा समेत थिएन आज दिनभरिका समाचारहरुमा। भूकम्पको केहि बेरपछिनै सम्बन्धित मन्त्री जनतालाई आश्वस्त पार्न आईसकेका थिए र तुरुन्तै मन्त्रीपरिषदको बैठक हुने समाचार सुनाउँदै थिए रेडियो-टेलिभिजन। जाजरकोटमा हैजाको डढेलो लागेको बेला पनि विदेश शयरमा पुगेर डकार्ने अधम प्रवृत्तिका मन्त्री र नेताहरुको बोलवाला भएको हाम्रो देशको हाल देखेर रुन मन लाग्छ यस्तो बेलामा र मुखबाट अनायास निक्लन्छ; 'यस्तो पो सरकार---!'

मैले तपाईँलाई फेरि उहि पूरानै नेपाली राजनीतिको फोहर तिर तानें कि क्या हो! माफ पाऊँ। आउनुस् कुरोलाई आफ्नै अनुभवतिर मोडौं।

कुरो चाहिँ फेरि भूईँचालोकै हो। जापान आउनुभन्दा पहिला भूकम्प त्यति धेरै भोगिएको थिएन। अलिक राम्रोसंग याद भएको २०४५ सालको भूकम्प हो जस्ले नेपालको पूर्वाञ्चलमा बिध्वंश गरेको थियो। त्यसैले केहि समयसम्म सानोतिनो भूकम्पमै पनि आत्तिईन्थ्यो।

२००४ सालमा जापानमा धेरै ठूला भूकम्प आए, एउटाले त निकै ठूलो क्षति ग-यो। त्यहि वर्षको जुलाई-अगष्ट ताकाको एउटा आईतवार दिऊँसोको कुरा हो। आईतवार भएपनि म ल्याबमै थिएँ। म भएको तल्ला सूनसान थियो। अचानक भूईँचालो आयो, म डराएर बेतोडले कुदें। दुई तल्ला ओर्लेर भवनको मूल ढोकामा पुगेपछि बल्ल सास फेरें। भूकम्प रोकिईसकेको थियो। म बिस्तारै माथितिर फर्कँदै थिएँ, एकजना वृद्ध प्रोफेसर अलमस्ती चालले तल झर्दै थिए। प्रोफेसर मेरो अनुहार हेरेर 'भूकम्प आयो है! तँ डराईस् कि क्या हो? डराउनु पर्दैन, साह्रै सानो थियो।'भन्दै ओर्लिए। अब ती बूढा जस्तो भूकम्पसंगै नाचेर हुर्केको मान्छे परिएन आफू, के गर्ने त:)

त्यसकै केहि दिनपछि फेरि यस्तै भयो। रातको साढे बाह्र तिर भूईँचालो आयो। म बेतोडले बाहिरतिर कुदें। अरु पनि कुदेर आउने आशा थियो मेरो, तर बाहिर सूनसान थियो। आफैलाई 'हत्तेरी---!" भन्दै भित्र फर्किएँ एकछिन पछि। सानै थियो होला त्यो पनि, वा आएकै पो थिएन कि:)

भूकम्पकै प्रसंगमा मैले पहिला पनि केहि कुरा गरेको छु, आजका तीन कुराYet another earthquake शिर्षकका टाँसोहरुमा।

August 06, 2009

गाईजात्रे हाँसो!

Image Source:nowgasm

आज गाईजात्रा, तपाईँहरु सबैलाई गाईजात्रे शुभकामना!

गाईजात्रामा हाँस्ने र ब्यंग्य गर्ने चलन छ। हाम्रो देश सधैं गाईजात्रामै छ अचेल; स्थिति रुनु न हाँस्नुको छ। यो स्थितिमा लान 'योगदान' दिने, हामीलाई अहिलेसम्म शाशन गर्नेहरुका नाममा सराप्न मन लाग्छ हाँस्नुभन्दा पनि।

खैर, आज हाँसौं। कुनै पनि बहानामा दिल खोलेर हाँस्नु साह्रै राम्रो मानिन्छ। हाँस्नु शारीरिक, मानसिक र आत्मिक तिनै तहको लागि फाईदाजनक छ भन्छन् जान्नेहरु।

केहि विशेष लेख्न नसकेकोले स्मृतिको पेटारोबाट केहि जोकहरु राख्दैछु आज; कतै सुनेका, कतै पढेका। दुई वर्ष पहिलाको गाईजात्रमा लेखेको कुरा यहाँ पढ्न सक्नुहुन्छ

पाँच शब्दको झूट

'हमजाएगा' को साथी (सय रपियाँको नोट देखाऊँदै): तैंले तुरुन्तै ठ्याक्कै पाँच शब्दमा झूट बोलिस् भने यो नोट तेरो।
'हमजाएगा' (नोट तान्दै): "यो दश रुपियाँको नोट हो।"

गरीबको बयान

एउटा असाध्यै धनीकी छोरीलाई गरीबको बारेमा केहि कुरा लेख्न भनियो। उसको लेख यस्तो थियो, "एउटा गरीब थियो, उसको भान्से पनि गरीब थियो, उसका नोकरहरु पनि गरीब थिए, उसको ड्राईभर पनि गरीब थियो, उसको माली पनि गरीब थियो, ---------- "

परीकथाहरु

छोरी: बाबा, बाबा; सबै परीकथाहरु "एकादेशमा---" बाट शुरु हुन्छन् हो?
बाबु: होईन छोरी, धेरै परीकथाहरु "मैले चुनाव जितें भने---" बाट पनि शुरु हुन्छन्।

अल्छी देश

एउटा देशलाई हाम्रो नेपाललाई जस्तै 'अल्छी रोग' लागेछ। कुरो के भने देशभरिका सबैका सबै मान्छे असाध्यै अल्छी भएछन्। यो रोग जनावरहरुमा पनि सल्केछ। कतिसम्म सल्केछ भने कुखुराका भालेहरु समेत बिहान "कुखुरी---काँ---!" गर्न अल्छी मान्न थालेछन्। सबै भालेहरु, कतिखेर अरु कुनै भालेले "कुखुरी---काँ---!" गर्ला र टाउको हल्लाएर 'हो! हो!!' को सहि थापौंला भनेर कुर्न थालेछन्। अब परेन फसाद!

यो देखेर त्यो देशको राजालाई साह्रै झोंक चलेछ। आच्या! देशाँ 'गाँडतन्तर' आईसक्या बेलाँ पनि मेरो मुखाँचैं अझै यो राजा किन आम्छ गाँठे:) त्यो देशको राष्ट्रपतिलाई साह्रै झोंक चलेछ। राष्ट्रपतिले देशभरि 'अल्छी प्रतियोगिता' आयोजना गर्ने उर्दी दिएछन्। गाऊँ-गाऊँ र नगर-नगरका विजेताहरु जिल्लास्तरीयमा भिड्ने भए। त्यसमा अरुलाई उछिन्नेहरु अञ्चलस्तरीयमा भिडे। र अन्त्यमा देशभरिका अल्छीहरु मध्येका महाअल्छीहरु, 'टप क्रिम'नै भन्दिऊँन; तिनीहरुको बीचमा राष्ट्रिय भिडन्त हुनेभएछ।

महाअल्छीहरुको राष्ट्रिय प्रतियोगिता शुरु भयो। एउटा थोत्रो घरको बुईँगलमा सबैलाई राखियो र ढोका बन्द गरियो। अल्छीज्यूहरु त तुरुन्तै सबै सुकला गर्नुभयो! अनि राष्ट्रपतिले त्यो घरमा आगो लगाउने आदेश दिए। घर हुर्हुरी बल्न थालेपछि महाअल्छीहरु सब जुर्मुराएर उठे। अब जति अल्छी भएपनि ज्यानमाथि खतरा आऊँदा त सबै जाँगरिला हुने भैहाले। कोहि झ्यालबाटै हाम्फालेर भागे, कोहि ढोकै फोडेर निक्ले।

दुईटा अल्छी पातकीहरु भने निक्लेनछन्। पहिलोले अर्कोलाई कोट्याएर भन्दो रहेछ; "होईन ए भाई, आगो लाग्यो भनेर कराऊँछन् नि बाहिर त!"। दोश्रोले जवाफ दिँदो रहेछ, "कति बोल्ने जाँगर चल्या होला, चूप लागेर सुत्!"। राष्ट्रिय अल्छी प्रतियोगिताको विजेता "कति बोल्ने जाँगर चल्या होला, चूप लागेर सुत्!" भन्ने चाहिँ र उप-विजेता "होईन ए भाई, आगो लाग्यो भनेर कराऊँछन् नि बाहिर त!" भन्ने घोषित भएछन्। पुरस्कार स्वरुप दुबैलाई जंगलको छेऊको एउटा सूनसान, मान्छे विरलै हिँड्ने बाटोमा लगेर छोडिएछ।

एक दिन ती दुईटा झगडा गर्दै रहेछन्।
पहिलो: तँ पनि के साथी?! त्यो बयरको बोटमा त्यस्तरी लटरम्म बयर फलेका छन्, दुई-चारवटा टिपेर मेरो मुखमा राख्दिन्छस् कहिल्यै? यस्ता पनि साथी हुन्छन्?"
दोश्रो: तँ झन् के साथी नि? हिजो एउटा कुकुरले मेरो मुखैमा पिसाब फेर्दिँदा त्यति जाबो कुकुर त धपाईदिनस्!

संयोगवश एक जना बटुवा हिँड्दै रहेछन् त्यतिखेर। दया लागेर बयर टिपेर दुबैका मुखमा हाल्दिएछन् र आफ्नो बाटो लागेछन्।

उनी अलि परे के पुगेका थिए, दुईटै अल्छी कराएछन्; "ए हजुर! बयर मुखमा हाल्दिनुभयो, अब दया गरेर मुखबाट बियाँ निकालेर फ्याँक्दिनुस् न!"

अब अन्त्यमा ओशोको कुनै प्रवचनमा पढेको यो जोक। हाँस्नु राम्रो हो; मूल्ला नसरुद्दीनझैं आफैंमाथि, आफ्नो नियतिमाथि हाँस्न सक्नु झन् राम्रो।

उहिले र अहिले

मूल्ला नसरुद्दीन र उनकी बेगमको बिहे भएको पचास वर्ष पुगेछ। यो खुशीको अवसरलाई उनीहरुले दोश्रो हनीमूनको रुपमा मनाउने निधो गरेछन् र उनीहरु हनीमूनको बेलामा जस्तै स्विट्जरल्याण्ड जाने भएछन्। हनीमूनकै बेलाको होटलमा बस्ने भए उनीहरु र भाग्यवश उहि कोठा पनि मिलेछ। भित्र पस्दा देखे, कोठा ठ्याक्कै उस्तै छ, पर्दा, तन्ना सबै उस्तै छ। छक्क परेछन् उनीहरु!

"हेर शबनम", एकछिन पछि मूल्ला बोलेछन्, "अल्लाहको कृपाले सप्पै पचास वर्ष पहिलाको हनीमूनको दिनको जस्तै मिलेको छ। त्यसैले हामी पनि आज त्यो दिनका सबै कुरा दोहोर्याऊँ है। त्यो दिन तिमी घुम्टोले मुख छोपेर बेडको ऊ त्यो कुनामा टाउको झुकाएर बसेकी थियौ। म पिसाब फेर्न गएको थिएँ, अनि आएर बिस्तारै तिम्रो घुम्टो उठाएको थिएँ---"

मूल्ला ट्वाईलेट भित्र पसे।

एकछिनमा मूल्लाको अट्टहास सुनियो। बाहिर निस्कुञ्जेलसम्म पनि अट्टहास जारी थियो।

"मूल्ला, त्यो बेलामा म नयाँ दुलही थिएँ; लाज लागेर सोध्न सकेकी थिईँन। आज भने सोध्छु।" शबनमले भनिन्, "तिमी सुहागरातको त्यो दिन पनि यसैगरी हाँसेका थियौ, आज पनि हाँस्यौ। किन?"

"अब तिमीलाई के बताऊँ शबनम!" मूल्ला अझै हाँस्दै थिए, "त्यो दिन मैले पिसाब फेर्दा सिलिङ्ग भिजेको थियो र हाँसेको थिएँ, आज जुत्ता भिज्यो र हाँस्दैछु।"
------------------------------
सबैको जय होस्!

August 01, 2009

गुँड

जुनको आधा-आधीतिरको कुनै घमाइलो दिन थियो, बिदाको दिन हुनाले म अलि ढिला उठेको थिएँ। बाहिर बरण्डामा एकजोडी परेवा थिए। यता परेवा धेरै देखिएपनि आफ्नै बरण्डामा अहिलेसम्म देखेको थिईँन।

एक-दुई दिनपछि अड्डा जाँदै गर्दा बाटोको एउटा घर बाहिर एकजना जापानी बृद्ध आफ्नो एक हातमा एउटा परेवा राखेर अर्को हातमा रहेको चारा खुवाईरहेका थिए। मलाई पनि त्यस्तै गर्ने रहर जाग्यो तर मलाई थाहा थियो मेरो बरण्डामा आउने परेवाहरु त्यसरी सजिलै मेरो हातमा आउनेछैनन् किनभने त्यस्तो हुनका लागि परेवासंग गहिरो आत्मीयता बनिसकेको हुनुपर्छ। भोलिपल्ट बरण्डामा अलिकति चामल छरिदिएँ मैले। त्यसपछि हरेक दिन बिहान अलिअलि चामल छरिरहेछु परेवाका लागि। चामल छरेपछि ह्वार्र्--- आउने परेवाको बथान देखेपछि मन साँच्चिनै शान्त हुन्छ।

एक दिन देखें एउटा परेवा कतैबाट ल्याएको सिन्का मुखले च्यापेर बरण्डामा बसिरहेको थियो। "गुँड बनाउँदै छ जस्तो छ!" भन्ने आयो मनमा, कता बनाऊँदैछ भनेर खोजिन । जुन २२ को बिहान परेवा बरण्डाको एक छेऊमा रहेको एअर-कण्डिशनर यूनिटमा छेलिएर बसिरहेको देखें। पहिला पनि देखेको थिएं र चारो खोजिरहेको होला भनेर त्यति वास्ता गरेको थिईँन। हेरेको, परेवाले गुँड बनाईसकेछ। बेलुका फर्केर आएपछि फेरि हेरेको, एउटा फुल थपिएछ दिऊँसो। त्यसको भोलिपल्ट हेर्दा दुईटा फुल थिए। परेवा फुल कुरेर बसिरहेको थियो र म नजिक गएपछि भुर्र--- उडेर नजिकको बिजुलीको तारमा गएर बस्यो। यो अवश्थाको परेवालाई ब्यबधान खडा गर्नु उचित नलागेर फोटो लिनेतिर लागिँन। साँझ भने नजिकै गएर हेर्दा पनि परेवा भागेन।




परेवा र परेवाको गुँडले बाल्यकालको एउटा घटनाको याद गाढा भएर आयो। हाम्रो घरको बाँसको दलिनमा कुमालकोटीले गुँड बनाएको थियो। म त्यतिखेर २ कि ३ मा पढ्थें। एक दिन दिऊँसो मैले कुमालकोटीको गुँड लठ्ठीले घोचेर भत्काईदिएँ। राती धेरै बेरसम्म कुमालकोटी भुन्भुनाएर आफ्नो घर भएको ठाऊँमा रोईरहेको थियो। मलाई साह्रै पछुतो लागेको थियो त्यतिबेलै। तर म कुमालकोटीलाई तुरुन्तै घर बनाएर दिन सक्दिंनथे! कुमालकोटीको कति समयदेखिको श्रम र सपनालाई मैले एक निमेषमा ध्वस्त बनाईदिएको थिएँ। मेरो छुकछुके बाल्यकालमा घटेको त्यो घटनाको लागि म आजसम्म पनि पछुताईरहेछु। तपाईँलाई पत्यार नलाग्न सक्छ तर हरेक दिन एक पटक र कहिलेकाहीँ त धेरै पटक त्यो घटना मेरो मनमा आएकै हुन्छ, मलाई पश्चातापले गलाएकै हुन्छ।

सानो होस् या ठूलो, हरेक जीवको गुँड उसका सपनाहरुले बनेको हुन्छ, उसले तिनै सपनाहरुका भित्तामा अडेस लगाएर, सपनाहरुमाथि सुतेर र सपनाहरुमाथि नाचेर आफूलाई सुरक्षित ठानेको हुन्छ। आफ्नो जीवनलाई भविष्यसम्म तन्काउन र आफ्ना अधूरा सपनाहरु प्रक्षेपण गर्नका लागि नयाँ पुस्ता पनि उसले त्यहि गुँडमा हुर्काऊँछ। त्यस्तो त्यो गुँड भत्कँदा कोहि किन नरोओस्!

हाम्रो मनमा कुमालकोटीको छवि कुनै हानी नगर्ने सुधो जीवको भएर पनि होला, त्यो घटनाले ममा यस्तरी छाप छोडेको। नत्र त जानीजानी घर नजिकका अरिंगाल वा बारुलाका गोलामा आगो लगाऊँदा वा स्प्रे हानेर साङ्गला संहार गर्दा कहिल्यै पछुतो लागेन। जिन्दगीमा जानी-नजानी अरु कति स-साना जीवको पनि गुँड भत्काईन्छ होला।

अब लागौं परेवातिरै। परेवा धेरै दिनसम्म फुललाई ढाकेर बसेको देखिन्थ्यो। हामी परेवाको नजिकै पर्नेगरी चारा छर्दिन्थ्यौं। हामीले छोरीलाई भने देखाएनौं, लठ्ठीले घोचेर परेवालाई सास्ती देली फेरि भनेर। जुलाई ८ सम्म पनि परेवा फुललाई ढाकेर बसिरहेको थियो, त्यसपछि केहि दिन त्यति ध्यान गएन।

जुलाई १४ को साँझ परेवा नभएको मौकामा हेर्दा भने एउटा बच्चा र एउटा फुल देखियो। बच्चा झुसिलो देखिन्थ्यो, एक-दुई दिनको भईसकेको हुनुपर्छ। एउटा मात्रै बच्चा कोरलिएको (?) देख्दा अचम्म लाग्यो। परेवाको जीवन-चक्र/प्रजनन चक्रका बरेमा मसंग खासै ज्ञान छैन। समय निकालेर अलि-अलि यसबारेमा पढ्नुपर्ला जस्तो लागेको थियो, त्यो 'समय' खासै धेरै जुरेन। जति पढियो तिनको आधारमा बुझ्दा, परेवाले सामन्यतया दुईटा फुल पार्ने रहेछ। दुईटा फुलबाट केहि दिनको अन्तरमा चल्ला निक्लने रहेछन् कि कुन्नि, त्यो कुरो भने बुझिएन।


यस्तै फुलको सुरक्षा गर्न र चल्ला (?)हुर्काउन भाले-पोथी दुबै लाग्छन् रे। त्यसकारण मैले हरेक दिन देख्ने फुल छोपेर बसेको परेवा पोथिमात्रै नभएर भाले वा पोथी कुनै पनि हुन सक्थ्यो। भाले र पोथीको शारीरिक बनौटमा हुने फरक पनि अलि-अलि पढेको हुँ तर त्यतिका भरमा खुट्याउन सकिँन।

जुलाई १९ मा यस्तो भएको छ परेवाको त्यो बच्चा वा चल्ला, जे भनिन्छ। माउको रंगमा ढल्दै आएको देखिन्छ। साँझ-बिहान हामीले हेर्दा माऊ भने देखिएको थिएन।



एउटा फुल भने अझै जस्ताको तस्तै छ। त्यो फुल पूरै विकसित नभएकोले बच्चा ननिक्लिएको होला शायद।

त्यसपछि पनि हरेक दिन बिहान र साँझ घर फर्केपछि परेवाको बच्चा हेर्ने काम नियमितनै रह्यो। हामीले हेर्दा माऊ नदेखिएपनि बिहान सबेरै भने पखेटा फडफडाएको आवाज सुनिन्थ्यो, त्यस्तै रात परेपछि परेवा घुरेको र बच्चो चीं--चीं गरेको सुनिन्थ्यो। त्यसैले रातभरि पक्का पनि माऊ पनि हुन्थ्यो होला। दिऊँसो हामी नहुँदा पनि चारा बोकेर आऊँथ्यो होला।

जुलाई २५को यो फोटोमा त वयस्क परेवाजस्तै देखिएको छ र गुँडभित्रै ठाऊँ सरेर बस्न थालेको देखिन्छ।



जुलाई २९ मा नजिकैको ब्लकमाथि चढेर बसेको छ। साहसिक यात्राको पहिलो प्रयास होला यो उस्को! जुलाई ३१ मा हेर्दा फेरि पहिलेकै ठाऊँमा देखिन्छ। अब त टाउको पनि पूरै कालो भईसकेछ।




यो लेखिरहँदा, एक छिन पहिला एक पटक हेर्न पुगेको थिएँ। माऊ-बच्चा भलाकुसारी गर्दै थिए। मैले झ्याल खोल्दाको आवाजले गर्दा माऊ भुर्र्---- उड्यो। बच्चो अँध्यारो ठाऊँमा थियो, राम्रो फोटो खिच्न सकिएन। रंग-ढंग र बसाई पूरै माऊको जस्तो थियो र तुरुन्तै उड्ला जस्तो लाग्थ्यो।

आजभोलिनै उड्ला शायद। यसरी परेवाको एउटा पुस्ता हुर्काउने काम सफलतापूर्वक सम्पन्न हुनेछ।

परेवाले एकचोटि बनाएको आफ्नो गुँडलाई के गर्छ, मलाई थाहा छैन; तर हाम्रो गुँडको एक छेऊमा खडा यो गुँडको भविष्य भने अब उसको वशमा छैन।

'भत्काईने हुँदा यो घर छोड्न' भनेर हामीलाई धेरै पहिला सूचना आईसकेको छ। यो घर केहि वर्षभित्र भत्काईनेछ भन्ने कुरा हामीलाई यहाँ पस्नुभन्दा पहिल्यै भनिएको थियो। हामीले सोचेका थियौं हामी जापान बसुञ्जेल भने नभत्काईएला। यो स्थितिमा पाउनुपर्ने सुविधा, निश्चित अवधिको पैसा फिर्ता आदिको कुरा भईसकेको छ, त्यता समस्या छैन। तर नयाँ घर-नयाँ गुँड खोज्नु एउटा झञ्झट हो र पोका-पन्तरा सार्नु झन् महाझञ्झट! तर गुँडविना जिन्दगी चल्दैन!

हामी नयाँ गुँडमा जाऊँला, परेवाले नयाँ गुँड बनाऊलान्।

आ-आफ्ना गुँडमा हामी आ-आफ्ना सपनाहरुमा अडेस लगाएर र आ-आफ्ना सपनाहरुसंग नाचेर आ-आफ्ना जिन्दगी बिताऊनेछौं।

कसैले एउटैमा जिन्दगी कटाऊलान्, कसैको जिन्दगी धेरैमा बाँडिएर कट्ला; तर जिन्दगी भनेको गुँड हो, सिर्फ गुँड, टाउको लुकाउने गुँड।