March 20, 2018

बन्दीपुरमा, दोश्रो पटक

गत शुक्रबार (चैत २ गते) तीनजना साथीहरुसंग बन्दीपुर गएँ। म बन्दीपुर गएको यो दोश्रो पटक हो। २०६८ सालको कार्तिकमा पहिलो पटक गएको थिएँ सोविता र आर्यासंग।

बिहान पौने ११ बजे एकजना साथीको गाडीमा तीन जना क्याम्पसबाट प्रस्थान गर्‌यौँ। बिन्दवासिनीबाट एकजना साथी थपिनुभयो। केहि किनमेल गरेर बन्दीपुरतिरको बाटो समात्यौं। डुम्रे पुगेर थप केहि सामान किनेर उकालो लाग्यौं। ठाउँ-ठाउँमा रोकिँदै बिस्तारै जाँदा साढे २ तिरै बन्दीपुर पुगियो। बजार नपुग्दैको पार्किङ्गमा गाडी राखेर टुँडिखेल तिर लाग्यौं। त्यहाँको एक विद्यालयमा कार्यरत कृष्णशरणज्यू, जो शिवको आत्मीय साथी हुनुहुन्छ, उहाँ विद्यालयबाट आउन नपाउञ्जेलको समय बिताउनु थियो हामीलाई।

बजारबाट अलिकति ओरालो-उकालो गरेर पुग्नुपर्दो रहेछ टुँडिखेल। अघिल्लो पटक आउँदा त्यता गइएको थिएन, चाँडै पोखरा फर्कने हतारो थियो कि कुन्नि। टुँडिखेल एक छिन सुस्ताउनका लागि राम्रै ठाउँ रहेछ। हामी पुग्दा बदाम, चटपटे, चिया-चुरोट आदिका डाले-नाङ्गले पसले, प्रेमालापमा मग्न २ जोडी र केहि स्थानीय बालबालिकाहरु थिए त्यहाँ। हिमालको दृश्यावलोकनका लागि उपयुक्त ठाउँ भएकाले पर्यटकीय याममा ठूलै भिडभाड हुन्छ होला। सरसफाई चाहिँ थिएन टुँडिखेलमा, 'फोहर' नामको राष्ट्रिय रोग राम्रैसंग सल्केको थियो बन्दीपुरको टुँडिखेलमा पनि।

टुँडिखेल एकछिन घुमेर हामी कृष्णशरणज्यूको कोठातिर लाग्यौं। मुख्य बजारबाट थोरै माथिको एक घरमा बस्नु हुँदो रहेछ उहाँ। उहाँको 'श्रीकृष्ण शतक' भक्ति कविता संङ्ग्रहको  पोखरामा भएको लोकार्पण कार्यक्रममा सामान्य चिनजान भएको थियो मेरो। विगत २७ वर्षदेखि बन्दीपुरको नोट्र डेम स्कूलमा नेपाली अध्यापन गरीरहनुभएका उहाँ एक प्रतिभाशाली शास्त्रीय कवि हुनुहुन्छ। छन्दमाथिको उहाँको पकड बेजोड छ र उहाँका तीन कविता सङ्ग्रह प्रकाशित भैसकेका छन्। उहाँको कोठामा एकछिन बसेर हामी निक्लियौं र थानीमाईतिर उकालो लाग्यौं। 

थानीमाई मन्दिर रहेको टुप्पामा पुगेर कुराकानी गर्दै वरिपरिको दृश्य हेर्न थाल्यौं। हाम्रा गफका विषयवस्तु स्थानीयदेखि राष्ट्रिय-अनर्राष्ट्रिय हुँदै स्टेफन हकिङ्ग र ब्रम्हाण्डसम्मै तन्किए एकैछिन भएपनि। थनाीमाईमा कुने मूर्ति छैन, एउटा शिलामात्र छ। ईँट्टाको मन्दिर बनेको रहेछ, २०६८ सालमा आउँदा यो थिएन जस्तो लाग्छ। मेरो सम्झना ठिक छ भने, त्यो बेला उक्त शिलाको वरिपरि बारबेरमात्र गरेर राखिएको थियो। दृश्यावलोकनको लागि गर्न आवश्यक-गर्न सकिने केहि काम भएका रहेनछन् अहिलेसम्म पनि। त्यहाँ सरसफाइ गर्ने, नजिकका रुखहरु काँटछाँट गर्ने वा दृश्यावलोकनका लागि टावर बनाउने आदि केहि काम पनि भएका रहेनछन्। आकाश खुलेको समयमा त्यहाँबाट हिमशृंखलाको मनमोहक दृश्य देखिन्छ। पश्चिम र पूर्वी नेपालका थुप्रै हिमालहरु खुट्याउन सकिन्छ। यस्तो ठाउँको व्यवश्थापनमा राज्य र स्वयं त्यहाँको स्थनाीय समुदायले पनि देखाएको वेवास्ताले खिन्न बनाउँछ। 

बन्दीपुरको मूल बजार वरिपरिको बस्ती घना हुँदै गएछ, तर योजनावीहिन ढंगले। खासमा बन्दीपुरको मूल बजारमाथिको भागलाई एउटा सानो आधुनिक आवासीय शहरको रुपमा विकास गर्न सकिन्छ। डुम्रे वा अझ दमौली वरिपरिकै मलिला फाँट मासेर शहर बढाउनुभन्दा बन्दीपुरजस्ता ठाउँको नजिकै साना (१ लाखसम्मको जनसंख्या हुने) खालका शहरहरु विकास गर्नु सबै हिसाबले राम्रो हुनेथियो। बन्दीपुरसम्म राम्रै बाटो पुगीसकेको छ, राम्रा विद्यालय-कलेजहरु पनि छन् र जिल्ला अस्पताल पनि यहीँ छ। सार्वजनिक यातायातको राम्रो व्यवश्था हुने हो भने डुम्रे वा दमौलीसम्म काम-ब्यापारका लागि झर्नेहरुका लागि पनि आउने-जाने समय धेरै लाग्दैन। आफ्नै साधन हुनेहरुलाई त झन् सजिलो हुने भइहाल्यो। बन्दीपुरजस्तो प्रदूषणमुक्त सुन्दर ठाउँमा बसेर बच्चाहरु हुर्काउनु र उनीहरुलाई शिक्षादीक्षा दिन पाउनुको आनन्दनै अर्कै हुन्छ।

बस्ती योजनावीहिन त छँदैछ, ठाउँ-ठाउँमा अत्यन्त अप्ठेरा ठाडा सडकहरु पनि खनिएछन् पहाडी छाती चिर्दै। एउटा उदाहरण तलको तस्बीर हो। अरुको फोटो खोच्न बिर्सिएछ। जग्गा दलालहरुको बुद्धि त होला यो! जग्गा दलालहरु  हावी भएपछि इञ्जिनियरिङ्गको के काम, योजनाको के काम!


थानीमाईबाट झरेर अघि गाडी राखीएको ठाउँमा गइयो। कृष्णशरणजीले हाम्रा लागि जुन होमस्टेमा व्यवश्था मिलाउनुभएको थियो, गाडी पार्किङ्गको जग्गा त्यहि होमस्टे ‍चलाउने परिवारकै रहेछ। होमस्टेको सानो रेष्टुरेण्टमा उमालेको चाउचाउ र चिया खाएर आफ्ना झोलाहरु कोठामा लेगेर राख्यौं।

साँझ 'खानपीन'संगै धेरै कुराकानी भए। राजनीति, शाकाहार-मांसाहार लगायतका अनेक विषयमा कुरा भए। कृष्णशरणजीको साहित्यिक यात्राको कुरा पनि धेरै भयो। ६ वर्ष अघिबाट मात्र कविता लेख्न थाल्नुभएको रहेछ उहाँले, आफ्ना पिताजीको स्वर्गवासपश्चात। दश हजार छन्द कविता लेख्ने उद्देश्य रहेछ उहाँको र तीन हजार लेखीसकेको छु भन्दै हुनुहुन्थ्यो। उहाँले आफ्ना केहि कविता पाठ गरेर पनि सुनाउनुभयो। त्यसपछि शिव त्रिपाठीज्यूको अति मिठो गायनमा कृष्णशरणज्यूका कविताहरु सुन्न पाउँदा मन आनन्दित भयो। मैले पनि मेरा २-३ मुक्तकहरु र एउटा कविता सुनाएँ।

भोलिपल्ट बिहानको नित्यकर्मपछि बजारहुँदै तीनधारासम्म पुगियो। शुरुमा तीनवटा मात्रै धारा भएर 'तीनधारा' नाम रहेको होला, अहिले भने पाँचवटा धारा रहेछन्। तीनधारामाथिको डाँडोमा घना जङ्गल रहेछ। कृष्णशरणज्यूका अनुसार डेढ दशक अघिसम्म त्यो डाँडो नाङ्गै रहेछ। वृक्षारोपण र संरक्षणको सफल उहदाहरण रहेछ त्यो नयाँ जङ्गल।

तीनधारा जाने बाटैमा छ नोट्र डेम स्कूल। जापानी मिसनरीद्वारा सञ्चालित यो स्कूल सुन्दर र सफा देखिन्छ। गुणस्तरीय शिक्षाका कारण यो स्कूलको नाम धेरै चलेको छ। २०५७ सालतिर तत्कालीन माओवादीले यो स्कूल बन्द गराए। देवेन्द्र पौडेल भनिने एकजना नेताका भाञ्जा यो स्कूलको प्रवेश परीक्षामा अनुत्तीर्ण भएपछि त्यहि रिसले अनेक निहुँ निकालेर विद्यालय बन्द गराइएको थियो। यो स्कूल बन्द हुँदाका १५ महिना बन्दीपुरको इतिहासको एक अन्धकारमय समय थियो किनभने यहि स्कूलले बन्दीपुरको पुनर्जागरण शुरु गरको थियो।

बन्दीपुर राणाकालबाटै सम्पन्न थियो र यो तनहुँ जिल्लाको सदरमुकाम पनि थियो। २०२५ सालमा सदरमुकाम दमौली सारियो। सदरमुकाम सार्ने क्रममा बन्दीपुरनै राख्नुपर्छ भन्ने पक्ष र दमौली सार्नुपर्छ भन्ने पक्षका बीचमा ठूलो भिडन्त भएर केहि मान्छे हताहत समेत भएका थिए भनिन्छ। तर तत्कालीन राज्यसत्ता दमौलीको पक्षमा रहेका हुनाले बन्दीपुरेको केहि जोड चलेन। त्यसपछि धेरै बन्दीपुरेहरु बसाईँ सरे, धेरैजसो नारायणगढ झरे र केहि काठमाण्डौं, पोखरातिर लागे। बिस्तारै बन्दीपुर निर्जनजस्तै भयो र अघिल्लो पटक बन्दीपुर जाँदा हामीले सबैभन्दा पहिला भेटेका एकजना बुबाका शब्दमा  बन्दीपुर 'दिउँसै हिँड्न पनि डर लाग्ने गरी सूनसान भयो!'

सन् १९८५ मा नोट्र डेम स्कूल स्थापना भएपछि बन्दीपुरले नयाँ जीवन पायो। गुणस्तरीय शिक्षाका कारण उक्त स्कूलको नाम चल्न थाल्यो र देशभरिबाट विद्यार्थीहरु आउन थाले। केहि बन्दीपुरेहरु फर्किए, नफर्कनेहरुले पनि बन्दीपुरलाई फेरि जीवन्त बनाउने अभियानमा साथ दिए। बिस्तारै  बन्दीपुरको पर्यटन उद्योग पनि शुरु भयो। नोट्र डेम स्कूलको प्रगति लोभलाग्दो थियो। आफूलाई एउटा विश्वविद्यालयको रुपमा विकास गर्ने लक्षयका साथ अघि बढीरहेको थियो यो।  तर बन्दीपुरको नयाँ जीवन माओवादीलाई मन परेन र उसले यो विद्यालय बन्द गरायो। एउटा उत्कृष्ट विद्यालयको सम्पूर्ण प्रगति शून्यमा पुग्यो। १५ महिना प‍छि फेरि शुरु भएता पनि धेरै कुरा बिग्रिसकेको थियो। सबै कुरा शून्यबाट फेरि शुरु गर्नुपर्ने स्थिति बन्यो। जापानीहरुको मनमा गडेकोको डरले गर्दा यतिका वर्षपछिपनि उनीहरु पहिलजस्तो खुलेर अझै लाग्न सकेका छैनन् कृष्णशरणज्यूका अनुसार। 'के हुने हो, के हुने हो?' खालको असुरक्षाको भावना अझै छ। विद्यालय अहिले राम्रो हुँदैछ तर त्यो बेला माओवादीले बन्द नगराइदिएको भए यो शायद विश्वविद्यालयको रुपमा विकसित भइसक्नेथियो अहिलेसम्म। कति ठूलो योगदान हुने थियो त्यो बन्दीपुर र पूरै देशका लागि! माओवादीले देशलाई ४० वर्ष पछाडि धकेल्यो बन्दीपुरमा!

तीनधाराबाट फर्केर खाजा खाएपछि हामी पोखरातिर लाग्यौं।